Tuesday, August 27, 2019

नयाँ हवाई मार्ग ‘हिमालयन–२ रुट’ कार्यान्वयन गर्न म्यानमार सहमत १ सय १४ नटिकल माइल हवाई दूरी घट्ने


मधुजंग पाण्डे 
काठमाडौं  
नयाँ हवाई मार्ग ‘हिमालयन–२ रुट’ कार्यान्वयनमा नेपाल र म्यानमार सहमत भएका छन् । दुवै देशका नागरिक उड्डयन प्राधिकरण प्रमुखबीच बुधबार सम्पन्न छलफलमा यस्तो सहमति भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस प्रयोजनका लागि छिट्टै म्यानमारमा दुवै देशका प्रतिनिधिबीच औपचारिक छलफल अघि बढाइनेछ ।

गत सोमबारदेखि काठमाडौंमा जारी एसिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको सम्मेलनका लागि म्यानमारको टोली काठमाडौंमा छ । यही अवसरमा म्यानमार र नेपाली प्रतिनिधिबीच द्विपक्षीय छलफल भएको हो ।

हवाई मार्ग हिमालयन–२ रुट महाकाली–काठमाडौं–बागडोग्रा, गुहाटी, सिलचर, इम्फाल, मुनमिङ हुँदै हङकङसम्म पुग्छ । यस रुटका लागि नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मै प्रस्ताव गरेको छ । हाल यो रुटका सरोकारवाला मुलुकमा भारत, चीन र म्यानमार पर्छन् । भारतले यो रुट कार्यान्वयन गर्न अनुमति दिएको छ । चीन पनि सकारात्मक छ ।

यसअघि म्यानमारले भने सञ्चार प्रणालीको तयारी नभएको भन्दै यो रुटमा अनुमति दिन आनाकानी गरिरहेको थियो । हिमालयन–२ रुट कार्यान्वयनमा आउँदा नेपाल मात्र नभई अब यस आसपासका अन्य मुलुकका वायुसेवा कम्पनीको हवाई उडानले लाभ उठाउनेछ । अहिले नेपालबाट उडेको विमान बंगलादेशको आकाश हुँदै हङकङसम्म पुग्नुपर्छ । हिमालयन–२ रुट कार्यान्वयनमा आउन सके १ सय १४ नटिकल माइल हवाई दूरी छोट्टिनेछ ।

यसैगरी, भारतको नयाँ दिल्लीबाट उडेको विमान कुनमिङ वा हङकङ पुग्नुप‍¥यो भने पनि कोलकाता र बंगलादेश हुँदै जानुपर्छ । जुन लामो रुट हो । तर, दिल्लीबाट उडेको विमान नेपाली आकाश हुँदै महाकालीबाट बाहिरिएर कुनमिङ हुँदै हङकङ पुग्दा हवाई दूरी निकै छोट्टिनेछ । सम्बन्धित सरोकारवालाले यस नयाँ रुटको सहमतिले नेपाललाई फाइदा भएको बताएका छन् ।

हिमालयन–२ रुट कार्यान्वयनमा आउँदा नेपालको आकाश हुँदै विदेशी विमानहरू उड्न थाल्नेछन् । ती मुलुकले नेपालको रुट प्रयोग गरेबापत पैसा तिर्नुपर्छ । त्यसकारण, हवाई रुट बेचेर मुलुकले आम्दानी गर्न सक्छ ।

अर्कोतर्फ नेपाली विमानको उडान समय घट्दा त्यसले नेपाली वायुसेवा कम्पनीको इन्धनसहित समग्र सञ्चालन खर्च कटौती हुने उनीहरूको भनाइ छ । हिमालयन–२ रुट कार्यान्व्यनमा आएपछि अब काठमाडौंबाट युरोपसम्म पुग्ने दूरीसमेत छोटो हुनेछ ।

अर्कोतर्फ जापानको टोकियोबाट लन्डन उड्ने विमानले पनि सिधा रुटका लागि नेपाली आकाश प्रयोग गर्न सक्नेछ । ठूला विमानका लागि २० मिनेटको उडान समय घट्यो भने त्यसले करिब १ हजार लिटर हवाई इन्धन बच्ने उनीहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको ५६औं सम्मेलनमा सहभागी प्रतिनिधिबीच भएको यस्तो सहमतिबाट नेपालले फाइदा लिनेछ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपाल र म्यानमारबीच भएको हिमालयन–२ रुट’ कार्यान्वयनमा ल्याउने सहमति उपलब्धिमूलक र फलदायी भएको बताए ।
एसिया प्रशान्त क्षेत्रका ४६ देशका ३९० विदेशी प्रतिनिधिको सहभागिता रहेको यस सम्मेलनमा आइकाओ काउन्सिलका अध्यक्ष तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक, अन्य उच्च पदस्थ पदाधिकारीलगायत एसिया प्रशान्त क्षेत्रका अन्तर्राष्ट्रिय नागरिक उड्डयनसँग सम्बद्ध १४ संस्थाको प्रतिनिधित्व छ ।

बुबाआमाको आशीर्वाद, श्रीमतीको साथ र मेरो लगनशीलता