Tuesday, September 6, 2016

चन्द्रमामा पहिलो पाइला टेक्ने बजले गरे लुम्बिनी भ्रमण

मधुजंग पाण्डे÷राजधानी 
काठमाडौ, २० भदौ चन्द्रमामा पहिलो मानव पाइला टेकेका जीवित अन्तरिक्षयात्री एवं नासाका ६ जना वैज्ञानिकहरुले सोमवार धार्मिक पर्यटकीय गन्तब्यस्थल तथा विश्वशान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको भ्रमण गरेका छन्। आजभन्दा करिब ४७ वर्षअघि चन्द्रमामा पहिलो मानव पाइला टेक्ने एकमात्र जीवित अन्तरिक्षयात्री एवं नासाका बैज्ञानिक बज अल्ड्रिनको नेतृत्वमा नेपाल भ्रमणमा आएका ६ जनाको समुहले लुम्विनीको स्थलगत अवलोकन भ्रमण गरेका हुन् ।

चन्द्रमामा पहिलो मानव पाइला टेक्ने ८७ वर्षीय एकमात्र जीवित अन्तरिक्षयात्री एवं नासाका बैज्ञानिक बजलाई काठमाडौको दरबारमार्गस्थित बेष्ट फ्लाई ट्राभल र एभरेष्ट साइन्स सेन्टरले अहिले नेपालको पर्यटकीय भ्रमण गराएको हो । 
सन् १९६९ मा अपोलो–११ अन्तरिक्ष यान मार्फत अमेरिकी वैज्ञानिक निल आर्मस्टङको नेतृत्वमा ८७ वर्षीय एकमात्र जीवित अन्तरिक्षयात्री बज अल्ड्रिन सहितका नासाको टोली चन्द्रमामा पुगेको थियो । त्यो समयभन्दा केही महिनापछि देखि नै विश्वको सर्बोच्च शिखर सगरमाथाको देस नेपालको पर्यटकीय भ्रमण गर्ने इच्छा राखेका विश्व अन्तरिक्षयात्री एवं नासाका बैज्ञानिक बजको समुहलाई बेष्ट फ्लाई ट्राभल र एभरेष्ट साइन्स सेन्टरले सोमबार बिहान काठमाडौंबाट बुद्ध एयरको नियमित उडान नम्बर–८५१ बाट गौतमबुद्ध विमानस्थल भैरहवा पु¥याएको थियो ।
बेष्ट फ्लाई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले ८७ वर्षिय बृद्ध अन्तरिक्षयात्री बज सहित मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्ष समेत रहेका अर्का वैज्ञानिक अल्ड्रिनका छोरा डा. एन्ड्रयु अल्डिभ, नासाका अध्यक्ष एलिजावेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङले संयुक्त रुपमा मुलुकको धार्मिक पर्यटकीय गन्तब्यस्थल लुम्विनीको अवलोकन भ्रमण गरेको जानकारी दिए । उनले अहिले अन्तरिक्षयात्री बज सहितको अमेरिकी वैज्ञानिकहरुको समुह नितान्त निजी भ्रमणमा नेपाल आएको बताए ।  उनले ती वैज्ञानिकहरुलाई उनीहरुकै चाहना अनुसार नेपाल आएलगत्तै सबैभन्दा पहिले लम्बिनीको पर्यटकीय भ्रमण गराएर भगवान बुद्धको जीवनी र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्विनीको विकासक्रम बारे जानकारी दिएको बताए ।  अन्तरिक्षयात्री बज काठमाडौबाट भैरहवा विमानस्थल पुग्दा समेत त्यहाँको विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरु, रुपन्देहीका सुरक्षा अधिकारी एवं लुम्विनी विकास कोषका पदाधिकारी कसैले पनि पतै पाएका थिएनन्।
बेष्ट फ्लाई ट्राभलका प्रमुख कार्यकारी अधिकृत सापकोटाले बज अल्ड्रिनको समुहले लुम्विनी भ्रमणपछि मंगलबार सुनसरीको अमाहीबेन्हा सीतागन्जस्थित एभरेष्ट साइन्स सेन्टरको अवलोकन भ्रमण गर्ने जानकारी दिए । उनले बजको समुह मंगलबार बिहान बुद्ध एयरको विमानबाट बिराटनगर जाने कार्यक्रम तय भएको बताए ।  उनले पाँच दिने नेपाल भ्रमणमा रहने चन्द्रमामा पहिलो मानव पाइला टेक्ने जीवित अन्तरिक्षयात्री बजको समुहले बिराटनगरबाट काठमाडौ फर्किएपछि बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा  एभरेष्ट साइन्स सेन्टर र बेष्ट फ्लाई ट्राभलको आयोजनामा हुने विशेष कार्यक्रममा भाग लिने बताए । उनले सोही कार्यक्रममाअन्तरिक्षयात्री बजले पहिलोपटक चन्द्रमामा मानव पाइला राख्ने क्रममा भोगेका र नेपाल भ्रमणमा देखिएका आफ्ना अनुभव सुनाउने कार्यक्रम तय भएको समेत जानकारी दिए । आइतबार नेपाल भ्रमणमा आएका सो समुह बिहीबार बेलुका नै अमेरिका फर्किने बताईएको छ । 

No comments:

Post a Comment