Friday, April 15, 2022

२०७८ साल आर्थिक संकट र पुँजी पलायनको वर्ष

मधुजंग पाण्डे/राजधानी

काठमाडौं

बुधबार मध्ये रातको १२ बजेदेखि बिदा भएको २०७८ साल नेपालको अर्थतन्त्रकालागि निकै संकटको त्रास फयाँकेर बित्यो । २०७८ सालको असोज महिनादेखि नै बैंकिङ तरलता बढेको थियो । जसका कारण बैंकहरुमा निक्षेप ह्वात्तै घटेर माग गर्ने ऋणीलाई धेरै बैंकहरुले कर्जा उपलब्ध गराउन सकेकै थिएनन् । 

गत वर्षको करिब मध्ये अवस्थामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ गठबन्धन सहितको मिलिजुली सरकार बन्यो । त्यतिबेलासम्म देसको आर्थिक अवस्था अहिलेको जस्तो संकटग्रस्त भएको थिएन । मुलुकको सम्पूर्ण आर्थिक सूचक राम्रो नै थियो । 


तर, वर्तमान अर्थमन्त्री जर्नादन शर्माले अपेक्षा गरिए अनुसार मुलुकको अर्थतन्त्र चलायमान बनाउनकालागि हुनेपर्ने गतिलो काम नगरिदिएकाले अहिले देसमा यस्तो आर्थिक संकटको अवस्था आइलागेको सम्बन्धीत सरोकारवालाहरु एवं अर्थविद्हरुको भनाई छ । उनीहरुले गत वर्षको प्रारम्भको अवस्थामा खासै नबिग्रिएको देसको आर्थिक अवस्था यहि वर्तमान सरकारको कमजोरीले नै विग्रिएको आरोप लगाएका छन ।  

यसअघि पनि नेपालको अर्थतन्त्रले अनेकन संकट पार गरेको थियो । २०७२ सालको बैशाखमा गएको विनासकारी भूकम्प, नाकाबन्दी र २०७६ सालको चैत महिनादेखि नै सुरु भएको कोरोना विश्व महामारि जस्ता दुःखद् घटनाक्रम र विपतको बेला समेत खासै नविग्रिएको देसको अर्थतन्त्र २०७८ सालमा भने निकै विग्रिएर आर्थिक संकट थप गहिरिएको सम्बन्धीत सरोकारवालाहरुले विश्लेषण गरेका छन । 

उनीहरुको विश्लेषण अनुसार नेपालको अर्थतन्त्रमा २०७८ सालको जस्तो त्रासदी अघिल्ला कुनै पनि वर्षमा उत्पन्न भएको थिएन ।  २०७८ साल प्रारम्भकै बेला लामो समय कोरोनाले थलिएको अर्थतन्त्र विस्तारै चलायमान हुने चरणतिर उन्मुख भएको थियो । त्यतिबेला चौतर्फी बस्तुको माग थियो । २०७६ सालको ११ चैतबाट मुलुक लकडाउनमा परेदेखि दुई वर्षसम्म बन्द भएका एलसी धमाधम खुल्न थालेका थिए । त्यतिबेला नेपाल राष्ट्र बैंकसँग विदेशी मुद्राको सञ्चिति पनि पर्याप्त थियो । बैंकसँग लगानीयोग्य रकम पनि पर्याप्त मात्रामा थियो । ब्याजदर पनि ६ प्रतिशत हाराहारीमै थियो । 

त्यस्तो अनुकूल समयमा दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्र एकाएक तात्न थालिसकेको थियो । सबै क्षेत्र चलायमान हुन थालेको थियो । त्यतिबेलाको अवस्थालाई सरकार र राष्ट्र बैंकले पनि सकारात्मक रुपमा लिएका थिए । 

सो समय देशमा कोरोना भाईरस संक्रमणकोदर र मान्छेको ज्यानजाने तथा विरामी हुने असर पनि विस्तारै कम हुँदै जानु, कोरोना संक्रमण फैलिनबाट रोक्ने उपाए स्वरुप सरकारले लगाएको स्वास्थ्य प्रोटोकल पनि हटाउँदै लैजानु, पुनः कोरोनाको नयाँ भाइरस सहित बीचमा देखिएको तेस्रो चरणको ओमिक्रोनको असर कम हुँदै गएपछि देसको अर्थतन्त्र चलायमान हुन थालेको थियो । 

जसका कारण गत वर्ष २०७८ सालको वैशाखदेखि असोजसम्म चहलपहल बढेर देसको अर्थतन्त्रले अर्कै रुप लिइसकेको थियो । हरेक व्यापारिक क्षेत्र पुरानै लयमा फर्किन थालेको अवस्था थियो ।त्यो बेला जुर्मुराउँदै गरेको अर्थतन्त्र देखेर अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले चालु आर्थिक वर्षकालागि ल्याएको बजेट अमान्य हुने भन्दै आफुले पुनः प्रतिस्थापन बजेटमार्फत आर्थिक वृद्धिको लक्ष्य ७ प्रतिशत राखेका थिए । तर, प्रतिस्थापन बजेट आउनुपूर्व राष्ट्र बैंकले मौद्रिक नीति ल्याइसकेको थियो । सो मौद्रिक नीतिले निजी क्षेत्रको कर्जा विस्तारलाई १९ प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । 

त्यसबाहेक कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि लागू गरेको अवस्था थियो । जसले आगामी दिनमा लगानीयोग्य रकमको चरम अभाव हुने संकेत गरेको थियो । बैंकहरुलाई १९ प्रतिशतमा कर्जा सीमित गर्न र सीडी रेसियो कायम गर्न कम चुनौति थिएन । सो समय मौद्रिक नीति आएको एक महिनामै बैंकहरुले निजी क्षेत्रतर्फको कर्जा विस्तार ३३ प्रतिशत पु¥याइसकेका थिए ।

निजी क्षेत्रको संधिय प्रतिनिधीमुलक छाथा संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले यो सरकारले बेलैमा अहिलेको अवस्थाबाट बच्ने उपाए गर्न नसकेको बताएका छन । यसैगरि, अर्थविज्ञ डा. पोषराज पाण्डेले पनि २०७८ को सुरुवातदेखि नै उत्साहजनक आयात र बीचमै अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्य आकाशिँदा भुक्तानी सन्तुलनमा पहिलो पटक यति धेरै दबाब पर्न गएको बताए । 

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पछिल्लो आठ महिनाको वित्तीय विवरण अनुसार  देसको भुक्तानी सन्तुलन २ खर्ब ५८ अर्ब रुपैयाँले घाटामा छ । त्यति मात्रै होइन्, विदेशी मुद्रा सञ्चितिमा समेत ठूलो दबाब परेको अवस्था छ । सो तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को वितेका आठ महिना गत फागुनमसान्तसम्मको अवस्था अनुसार आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलब ४ महिनाको वस्तु आयात र करिब ६ महिनाको वस्तु तथा सेवा आयात धान्ने क्षमता मात्र छ । त्यपिछि यस्तै अवस्था कायम रहेको खन्डमा भने देसले औषधी लगायत अत्यावस्यक बस्तु समेल आयत गर्न नसक्ने अवस्था भोग्नुपर्ने छ ।  

अर्थविद् पाण्डेका अनुसार सरकारले निकै चलायमान  भइसकेको अर्थतन्त्रलाई अहिलेको संकटपूर्ण  अवस्थामा आउन नदिन बेलैमा सरकारले राम्रो कदम चालेको भए मनौवैज्ञानिक असर पर्दैन थियो र नेपालीले श्रीलंकासँग तुलना गर्ने अवस्था नै आउने थिएन । 

सामान्यतया सम्पत्ति वा रकम एउटा मुलुकबाट अर्को मुलुकमा बाहिरिने प्रक्रियालाई पुँजी पलायन भन्ने गरिन्छ । हाल नेपालबाट पनि पुँजी पलायन भइरहेको सर्वत्र चर्चा भइरहेको छ । अर्थमन्त्री शर्माले नै सार्वजनिक कार्यक्रममा बोल्दै नेपालबाट पुँजी पालयन भइरहेको जानकारि गराएका थिए । 

क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपरफन्ट लगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेको अर्थमन्त्री शर्माले विगत केही महिना देखि नै सुनाउँदै आएका थिए । त्यति मात्र नभएर अर्थमन्त्री शर्माले क्रिप्टोकरेन्सी, हाइपरफन्ट लगाायतका माध्याम मार्फत नेपालबाट ठुलो मात्रामा पूँजी पलायन  भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएको समेत बताएका थिए । उनले नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर नेपालबाट पूँजी पलायन हुने गरेको आफुले जानकारी पाएको दावी गर्दै आएपनि किन त आफैं नियमनकारी निकाय अर्थमन्त्रीको पदमा बसेर पनि यस्तो कार्यलाई नियन्त्रण गर्न सकेनन् त भन्ने प्रस्न पनि उठिससकेको छ । 

अर्थमन्त्रीको भनाई जस्तै नेपालबाट क्रिप्टोकरेन्सी, हाइपरफन्ट लगायत क्षेत्रमा पूँजी पलायन भइरहेको योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पनि बताएका छन । उनले दुई चार पैसा भएका र बचत गर्न सक्नेहरुले क्रिप्टोकरेन्सीमा लगानी ग¥यो भने नाफा हुने रहेछ भनेर उक्सिएर लुकिछिपी लगानी गरेका छन् भन्ने आफुले पनि सनेको बताए ।  जसका कारण नेपालबाट अन्य देसमा विस्तारै पूँजी पलायन भईरहेको उनको अनुमान छ । अर्थमन्त्री शर्मा र  पूर्व गर्भनर क्षेत्रिले बताएझैं हाल    नेपाली अर्थतन्त्रका अधिकांश परिसूचकहरु घटेका छन् । 

व्यापार घाटा हालसम्मकै उच्च छ । शोधानान्तर स्थितिको अवस्था पनि उस्तै छ । मूल्य वृद्धि पनि ७ प्रतिशत भन्दा बढी नाघेको छ । रेमिट्यान्स आप्रवाह पनि १ दशमलब ७ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव उस्तै छ । रेमिट्यान्स मार्फत आउने पैसा विलासी वस्तु सुनचाँदी, ल्यापटप, महँगा मोबाइल लगायत मार्फत नेपाल भित्रिएको हुने सक्ने उनीहरुको अनुमान छ । 

अर्थमन्त्री शर्माले पनि केही साता अघि मात्र नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका थिए । पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा आफूले खोज्न थालेको बताउँदै अर्थमन्त्री शर्माले भनेका थिए, ‘पुँजी कतै हराइरहेको त छैन? ।  हाल बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा आफु लागेको बताउँदै गरेका अर्थमन्त्री शर्माले बोले अनुसारको काम व्यवहारमा नगरिदिएकाले अहिले देसको अवस्था यो हालतमा पुगेको अधिकाँश सरोकारवालाहरुको भनाई छ । उनीहरुले बैंकिङ प्रणालीमा पैसा नआउनुमा आगामी ३० चैतमा हुने भनिएको स्थानीय तहको निर्माचनमा खर्च गर्नका लागि राजनीतिक दलका शीर्ष नेताहरुले घरघरमा पैसा राखेको समेत आरोप लगाएका छन । 

यति मात्र नभएर हाल नेपालमा देखिएको तरलतासम्बन्धी समस्याको प्रमुख कारणमध्ये एक पुँजी पलायन नै रहेको स्पष्ट बुझ्न सकिने अर्थविद्हरु बताउँछन् । त्यस्तै, नियमित रूपमा हुने आयातको मात्रा नेपालको निमित्त पुँजी पलायनको कारण बनेको देखिन्छ । नेपालीहरुले विलासीका वस्तुहरु खरिद गर्दा पूँजी बाहिने क्रम बढेको उनीहरुको तर्क छ ।

उनीहरुका अनुसार नेपालीको क्रयशक्ति कृत्रिम रुपमा बढाईएको छ । यसो हुनुमा बैंक तथा वित्तीय संस्थाहरुले सस्तो दरमा कर्जा दिएर नै हो  । बैकहरुले सस्तो ब्याजदरमा ऋण दिएर घर घडेरीमा लगानी गर्नेदेखि शेयर, गाडी लगायत खरिद गर्न पाउनु पर्छ भन्ने खालको काम गरियो । नसले गर्दा पनि गाडी लगायत विलासीका वस्तु खरिद गर्न ठूलो विदेशी पुँजी गइरहेको हुन सक्ने उनीहरुको अनुमान छ ।   

यसैगरि, नेपालमा आयातमूखि व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले विदेशमा नेपालीहरुले कमाएको पैसाको दुरुपयोग गर्न थालेकालाई नेपालमा रेमिट्यान्स कम आएको उनीहरुको अनुमान छ । व्यापारीले वैद्यानिक च्यानहरुबाट रकम पठाउँदा केहि महँगो पर्ने भएकोले विदेशमा रहेका नेपालीहरुको कमाई उनीहरुले खरिद गरेको समानको भुक्तानीका रुपमा प्रयोग गर्न अवैध च्यानलबाट पैसा पाइरहेका छन् । यसको मतलब नेपालमा रेमिट्यान्सको आँकडा नबढ्नुमा रेमिट्यान्सको सट्टा हुण्डीको कारोबार बढेको र सरकारले पुँजीगत खर्च नबढाउनु मुख्य तरलता अभावको कारणका रुपमा देखिको उनीहरुको दावी छ ।  यसैगरि, राजनीतिक रुपमा अस्थिरता र व्यवसाय गर्ने व्यापारीको सम्पत्तिको सुरक्षामाथी खतरा देखिदै गएपछि आफ्नो सम्पतिको सुरक्षा गर्न उनीहरुले सुरक्षित स्थानमा पैसा स्थानान्तरण गरिरहेको हुन सक्ने अर्थविद् एवं सम्बन्धीत सरोकारवालाहरुको अनुमान छ । 

अर्थमन्त्री शर्माले गत सोमबार मात्र अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्ता कार्यमा संलग्नहरुले नेपालबाट दुवईमा पैसा लगेर ठूला ठूला भिल्ला खरिद गरेको समेत बताएका थिए । अर्थमन्त्री शर्माले नै सो कार्यक्रममा भनेका थिए ‘नेपालमा किन तरलताको अभाव भइरहेको छ । विदेशबाट रेमिट्यान्स किन नेपालमा आउन कम भइरहेको भन्ने खोज्न दुबईमा नेपालीले खरिद गरेको भिल्ला तिर भेटिन्छ ।’


लयमा फर्कंदै पर्यटन

मधुजंग पाण्डे/राजधानी

बेला–बेला आइपर्ने प्राकृतिक विपत्तिलगायत मानव घटनाबाट कहिल्यै अछुतो नभएको नेपालको पर्यटनले २०७२ वैशाखको भूकम्पपछि ११ चैत २०७६ देखि लामो समय कोरोना संक्रमणकाल झेल्नुप–यो ।

विश्व महामारी कोरोनाबाट आफ्ना नागरिकलाई बचाउने प्रयासबापत गरिएको लकडाउनका बेला होटल, कलकारखना, पसल, उद्योगलगायत क्षेत्र पूर्ण बन्द भए । त्यो समय सरकारले हवाई उडानलगायत सम्पूर्ण पर्यटकीय गतिविधि ठप्प पारेर साता हुँदै महिना, चार महिना, ६ महिना र वर्षदिनसम्म पनि घरभित्र बस्न ‘सर्कुलर’ जारी ग¥यो ।


लकडाउनका बेला अत्यावश्यक कामबाहेक सडकमा निस्कनसमेत दिइएन । पहिलो र देस्रो चरणमा फैलिएको उच्चकोरोना संक्रमणका समय पर्यटन क्षेत्र सम्बन्धित होटल र ट्राभल, ट्रेकिङ, बैंक तथा अन्य वित्तीय संस्था, सवारी साधनलगायत हरेक क्षेत्र ठप्प भए । हाल, सञ्चालित होटललगायत क्षेत्र तथा उद्योगले संक्रमणदर उच्च भएको बेला धेरै कामदार कर्मचारी हटाए भने कैयौं होटलले कामदार कटौती गरी सीमित पारे ।

कोरोना संक्रमित हुनेको संख्या दैनिक बढेको बेला लकडाउन थप कडा पार्ने र संक्रमण हुनेदर केही कम भएपछि विस्तारै लकडाउन खुकुलो पारिए पनि त्योक्रमले झन्डै साढे दुई वर्षभन्दा बढी समय लियो । यस अवधिमा कोरोना संक्रमण फैलिने तरीकाले समेत तीन चरणको स्वरुप परिवर्तन ग¥यो । पर्यटन व्यवसायी, कामदार र उनीहरूका घरपरिवारले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनुप¥यो । 

कोरोना संक्रमणकालका बेला कामबाट हटाइएका तथा कटौतीमा परेका कामदारलाई अहिले अवस्था सहज भएसँगै फर्काउन थालिएको छ । होटल मालिकले ‘दुःखका बेला निकालेको’ भन्दै अझै केही कामदार पहिले आफूले काम गरेको होटलले बोलाइरहे पनि फर्किन मानिरहेका छैनन् । धेरै विदेशिएका छन् । केहीले आफ्नै व्यवसाय थालिसकेको अवस्था छ । यस्ता गतिविधिले अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ ।

गत पुसयता भने तेस्रो चरणमा फैलिएको कोरोना संक्रमणदर विस्तारै घटेको र धेरै नागरिक तथा विदेशीले कोरोनाविरुद्धको डोज पूरा गरेका कारण थलिएको पर्यटन उठ्न थालेको छ ।

पर्यटकीय गतिविधि बढेसँगै विभिन्न देशबाट भित्रिने पर्यटक आगमन संख्या बढिरहेको छ । गत मार्चमा भित्रिएका उत्साहजनक आगमन संख्या आशा लाग्दो छ । नयाँ वर्ष २०७९ सालले अब आमपर्यटन व्यवसायी र समग्र देशले पर्यटकीय गतिविधिबाट मनग्य आम्दानी गर्न पाउनेमा हामी आशावादी छौं ।कोरोना संक्रमणकालका बेला कामबाट हटाइएका तथा कटौतीमा परेका कामदारलाई अवस्था सहज भएसँगै काममा फर्काउन थालिएको छ ।

सात दशकदेखि पर्यटन व्यवसायमा सक्रिय एसियन ट्रेकिङका प्रबन्ध निर्देशक तथा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा कोरोना संक्रमणकालमा जस्तो अप्ठयारो अवस्था ‘अब कहिल्यै भोग्न नपरोस’ भन्ने कामना गर्छन् । कोरोना संक्रमण झन्डै आमनेपालीका लागि निकै कष्टकर र दुःखद् भएर बितेको स्मरण गर्छन्, उनी ।‘नयाँ वर्ष २०७९ ले ती कष्ट र दुःख भुलाएर मुलुकको पर्यटन क्षेत्रका लागि एकदमै सुखद् र सहज हुने सुनौलो बिहानी हुने’ अपेक्षा शेर्पाको छ ।

उनका अनुसार कोरोना संक्रमित संख्या घटेर विस्तारै होटल खुल्न थालेपछि स्वदेशी पर्यटकले काठमाडौं उपत्यका आसपासका होटल, पोखरा, चितवन र लुम्बिनीका होटल भरिन थालेका छन् । ‘हाल स्वदेशीले पनि विदेशीभन्दा बढी खर्च गर्न थालेका छन्,’ उनी भन्छन्, ‘मेरो ललितपुर लाकुरी भञ्ज्याङमा रहेको होटलमा पुग्ने ग्राहकबाट यस्तो महसुस गरेको हुँ ।’

विशेषगरी सेवा तथा आथित्य सत्कार र हिमाल आरोहणलगायत साहसिक गतिविधिसँग जोडिएको पर्यटन वैदेशिक मुद्रा आर्जनका लागि रेमिट्यान्सपछिको नेपालको सबैभन्दा ठूलो उद्योग हो ।

पछिल्लो समय यो क्षेत्र विदेशी मुद्रा आर्जन र राजस्वको प्रमुख स्रोत पनि बनिरहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत संसारका १० उच्च हिमाल नेपालमै छन् । पर्वतारोहण र रक क्लाम्बिङ, क्यानोनिङ, चट्टान तथा हिमशिखर आरोहणका लागि नेपाल उच्चत्तम तथा प्रमुख गन्तव्यसमेत हो ।

अनेकौं पर्यटकीय गतिविधिलाई नै आयआर्जनको उचित सम्भावना ठानेर अहिले स्वदेशी र विदेशी लगानीकर्ता पर्यटन क्षेत्रमा धमाधम ठुलो लगानी गरिरहेका छन । यो लगानी त्यसै खेर जान नदिने वातावरण बनाउने दायित्व र संकल्प सरकारले गर्नुपर्छ ।

सम्भावना र आशाबीच लगानीकर्ताले कोरोना संक्रमणकालमा समेत पर्यटन उद्योगमा थप लगानी बढाउने, पूर्वाधार विस्तार र नयाँ प्रविधिसहित निजी क्षेत्रको लगानी विस्तार हुनेक्रमले तीव्रता पाइरहेको छ । यो अवधिमा सरकारले पर्यटन पूर्वाधारका लागि अत्यावश्यक ठानिएका क्षेत्रा नयाँ विमानस्थल बनाउने, सडकमार्ग, पदमार्ग, पर्यटन गन्तव्य विकासलाई विशेष प्राथमिकतामा राखेको छ ।

गौतमबुद्ध विमानस्थलमा उडान

२०७९ प्रारम्भदेखि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय व्यवसायिक हवाई उडान सुरु हुने छ । त्यसपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान पहुँच विस्तार अभियानमा सरकार तीव्रतासाथ निर्माण काम अघि बढिरहेको छ । यसलाई पनि आमपर्यटन व्यवसायीले पर्यटक आगमन संख्या वृद्धिमा ठूलो महŒव राख्ने अपेक्षा गरिरहेका छन् ।

पर्यटक वृद्ध १३८.६५ प्रतिशत

सन् २०२२ को मार्चसम्मको बितेका तीन महिनाको अवधिमा पर्यटक संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको छ । सन् २०२२ मार्चमा मात्र कुल ४२ हजार ६ पर्यटक हवाई मार्गबाट भित्रिएका थिए ।पर्यटक आउनेक्रम बढेसँगै हेलिकोप्टर व्यवसायमा समेत चहलपहल बढेको छ । जसकारण अहिलेदेखि नै हिमाली क्षेत्रमा जाने उडान समय पाउनै मुस्किल हुन थालिसकेको अवस्था छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२२ को गत मार्चमा मात्रै ४२ हजार ६ जना विदेशी पर्यटक नेपालमा आएका छन् । सन् २०२१ को सोही महिना कुल १४ हजार ९ सय ७७ पर्यटक भित्रिएका थिए भने २०२२ फेब्रुअरीमा १९ हजार ७ सय ६६ पर्यटक आएका थिए । यो संख्या गत महिनाभन्दा २२ हजार २ सय ४० जनाले बढी हो ।गत वर्षभन्दा ७ गुणाले पर्यटक भित्रिएसँगै अहिले हेलिकोप्टर क्षेत्रमा पनि व्यवसायीबीच नयाँ आशा जागेको छ ।

विगत दुई वर्षको तुलनामा अहिले धेरै पर्यटक आएको र व्यवसायीमा थप उत्साह जागेको कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे बताउँछन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढेको हवाई इन्धनको मूल्यवृद्धिमा हेलिकोप्टर क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको पनि उनले सुनाए । अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाले पछिल्लो केही साता हिमाली जिल्लामा मौसममा समस्या आउँदा अन्य जहाज जान नसकेको र हेलिकोप्टर प्रयोग बढेकाले व्यस्तता देखिएको बताए ।

काठमाडौंका होटल खचाखच

हिमाल आरोहण र पदयात्रा अनुकुल मौसम भएकाले काठमाडौंका होटलमा झन्डै ८० प्रतिशतसम्म ‘अकुपेन्सी’ रहेको होटल संघमा आबद्ध व्यवसायी बताउँछन् । पछिल्लो समय सबैभन्दा बढी भारतीय पर्यटक आएको उनीहरूले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका सात महिनाको आर्थिक तथ्यांक हेर्दा आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । कोभिडपछि पर्यटन आय ८० प्रतिशतले घटेको जानकारी गराउँदै गोल्छाले थपे, ‘यस्तो अवस्थाबाट पर्यटकीय गविविधि पहिलेकै अवस्थामा फर्काउन हामी पर्यटक ल्याउँछौं ।’

अर्थतन्त्रमा निजी क्षेत्रको लगानी ७७ प्रतिशत र करिब ७५ प्रतिशत रोजगारी व्यवसायीले नै सिर्जना गरेकाले आगामी दिन सरकारले व्यवसायीको हितअनुकुल काम गरिदिनुपर्नेमा गोल्छाको जोड छ ।

हाल, देशको रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ४ सय ७५ अर्ब पुगिसकेकाले अब रेमिट्यान्सले घाटा थेग्न नसक्ने उनी बताउँछन् । ‘अब जतिसक्दो मुलुकमा पर्यटक भित्र्याएर वैदेशिक मुद्रा आर्जन गर्नुभन्दा विकल्प छैन,’ गोल्छा भन्छन् ।

पछिल्लो दुई वर्ष कोभिड पुनरुत्थानका लागि राष्ट्र बैंकमार्फत प्राप्त सहयोगले व्यवसायीलाई तङ्ग्रिन केही सहज भए पनि कोरोना संकट सहज हुनेबित्तिकै हाल सरकारबाट भएका निर्णयले ‘अन्योल’ खडा गरेको गोल्छाको कथन छ । ‘हामी बिजुलीमा आत्मनिर्भर मात्रै होइन, निर्यात गर्न सक्ने भयौं भनिरहँदा एकाएक उद्योगमा बिजुली काट्न थालिएका छ,’ उनी भन्छन्, ‘यसरी पिकआवरमा विद्युत् अवरोध हुँदा जेनेरेटर नचलाई सुखै छैन ।’

गभर्नर यसो भन्छन्

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र लामो समय कोरोना महामारीले थला पारेको पर्यटन क्षेत्रमा संक्रमणदर घटेर पर्यटकीय गतिविधि बढ्न थालेसँगै ‘अब केही समय तन्काएर छाडेको रबर्डजस्तै सामान्यीकरणपछि आर्थिक क्षेत्र विस्तारै पुरानै लयमा फर्किने अपेक्षा’ रहेको बताउँछन् ।

‘आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले पनि पर्यटन क्षेत्रमात्र नभएर पूरै देशकै अर्थतन्त्र चलायमान बनाइरहेको छ । त्यसैले अब विदेशी मुद्रा भित्र्याउन र सञ्चितीको मात्रा जोगाउन जेजे गर्न सकिन्छ गर्दै जानुपर्छ,’ उनी भन्छन्, ‘रेमिट्यान्स आप्रवाह बढाउन अहिले दिइएको थप एक प्रतिशत ब्याजदर प्रभावकारी नभए अन्य उपाय अपनाएर, हुन्डीलगायत कारोबारलाई निरुत्साहित गर्न नीतिगत तथा प्रशासनिक तवरबाट काम सर्न सरकार अघि बढ्नुपर्छ ।’

गैरआवासीय नेपाली (एनआरएन)लाई स्वदेशकै बैंक खाता खोलेर आफूले विदेशमा कमाएको पैसा पठाउनेतर्फ पनि सरकारले कदम चाल्नुपर्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र उनको जोड छ ।