Sunday, January 31, 2016

क्यानडा, पोल्याण्ड र सिंगापुरमा कामदार लैजाने तयारी, थप १५मुलुकमा पठाउन सकिने समितिको सुझाव

मधुजंग पाण्डे
काठमाडौ, १६ माघ

अब सरकारले नेपाली कामदारलाई वैदेशिक रोजगारीकालागि नयाँ अवसर दिन क्यानडा, पोल्याण्ड,सिंगापुर सहित विभिन्न ५ ओटा गन्तब्य मुलुकसँग औपचारिक प्रस्ताव गर्ने भएको छ । नेपाली युवा जनशक्तिको नयाँ रोजगार गन्तब्य बन्न सक्ने भन्दै पहिचान गरिएका यि मुलुकहरुमा नेपाली कामदार लैजाने गरी छलफल अघि बढाउन लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तीनओटा देशसँग भने छिट्टै नेपाली कामदार लैजाने समझदारी (एमओयु) गर्ने सरकारको तयारी रहेको छ । सरकारको यस्तो तयारी अनुसार नेपाली कामदारकालागि थप नयाँ रोजगारी खुल्न लागेका आकर्षक गन्तब्य देशहरुमा क्यानडा, सिंगापुर, पोल्याण्ड, रसिया र फिनल्याण्ड रहेका छन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड अन्तरगतको नयाँ बजार खोजी तथा पुराना बजार व्यवस्थापन उच्चस्तरीय समितिका संयोजक डा. हरि लम्सालले यी देशहरुमा दक्षिण कोरियामा जस्तै सरकारी निकायबाटै नेपाली कामदार लिनेगरी छलफल अघि बढाउन लागिएको जानकारी दिए।
यसअघि ती मुलुकसँग सरकारी तहमा नेपाली कामदार लैजाने विषयमा यस्तो छलफल भएको थिएन । अब भने सम्बन्धित सरकार र रोजगारदाता कम्पनीहरुसँग नै छलफल गर्न नेपाली टोली ती मुलुकहरुमा जाने तयारी भएको उनले बताए ।
उनले अहिलेसम्म नयाँ पहिचान भएका मध्ये क्यानडाले नेपाली कामदार लिन सक्ने सम्भावना बढी देखिएको बताए । उनले क्यानडामा दक्ष कामदारको माग उच्च भएकाले सीप भएका नेपाली कामदार पठाउनेबारे अब सरकारी तहमै छलफल गरिने बताए । नयाँ रोजगारी खुल्न लागेका देशमा क्यानडा, सिंगापुर, पोल्याण्ड, रसिया र फिनल्याण्ड छन्  भन्दै उनले ‘यसअघि त्यहाँ रहेका कुटनीतिक नियोग र गैरआवासीय नेपालीहरुबाट लिएको सूचनामा आधारमा सम्भावना पहिल्याइएको बताए । अब भने सम्बन्धित देशका सरकारी अधिकारी र रोजगारदातासँग नै छलफल गरेर उचित वातावरण बनाउँने बताउँदै लम्सालले भने,‘यी मुलुकमा नेपाली कामदार पठाउन सुरु गर्न सके बढी जोखिमयुक्त बनेको खाडीको विकल्प तयार हुनेछ’।  संयोजक लम्सालका अनुसार दक्ष नेपाली कामदार लैजाने विषयमा क्यानडा पनि सकारात्मक रहेको समितिको ठहर छ । गत १२ बैशाखमा गएको विनासकारी भूकम्पपछि एक क्यानेडेली मन्त्रीले नेपाली कामदारलाई अवसर दिने विषयमा चासो व्यक्त गरेका थिए । यसैगरी एसियाली देश सिंगापुरमा पनि दक्ष कामदारको माग उच्च रहेकाले त्यहाँ बजार प्रर्वद्धन गर्न सकिने समितिको ठहर रहेको छ । युरोपेली मुलुक पोल्याण्ड, रसिया र फिनल्याण्डमा पनि दक्ष नेपाली श्रमिक पठाउन सक्ने सम्भाव्यता बढी देखिएको उनले जानकारी दिए ।
दक्षिण एसियाली देश माल्दिभ्ससहित युरोपका पोर्चुगल, नर्वे, स्पेन लगायतका मुलुक पनि दक्ष नेपालीको श्रम गन्तब्य हुन सक्ने सो समितिले निश्कर्ष निकालेको छ ।
समितिले १५ ओटा मुलुकमा नेपाली कामदार पठाउन सकिने ठम्याए पनि पाँच ओटालाई प्राथमिकता दिएर बजार प्रर्वद्धन गर्न लागेको हो ।
नयाँ बजार खोजी समितिले यसअघि नै ति देशहरुमा नेपाली कामदार पठाउन सम्भाव्य रहेको भन्दै तत्काल प्रक्रिया अघि बढाउन श्रम तथा रोजगार मन्त्रालयमा सिफारिस गरेको थियो । श्रम मन्त्रालयले गत साता सार्वजनिक गरेको १ सय दिने प्रतिवद्धता पत्रमा ३ ओटा देशसँग नेपाली कामदार लैजानेबारे सरकारी तवरमा छलफल अघि बढाउने उल्लेख छ । 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सहायक निर्देशक दिपेन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि पहिचान भएका एशियाली, अमेरिकी र युरोपेली मुलुकमा आकर्षक आम्दानी हुने बताए । ती देशमा श्रम कानुन सहज र व्यववहारिक भएको तथा अन्य देशमा भन्दा अवसर पनि पर्याप्त रहेको उनको भनाई छ । यसैगरि, समितिले नेपाली कामदार पठाउन सकिने भनेर तयार गरेका मुलुकको प्रारम्भिक सुचीमा केही अफ्रिकी मुलुकसम्म परेका छन् । जसमा डाक्टर, इन्जिनियर लगायत दक्ष कामदारको उच्च माग रहेको छ । केन्या, दक्षिण अफ्रिका लगायतका मुलुकमा दक्ष नेपाली कामदार जान सक्ने सम्भावना देखिएको पनि सो समितिको ठहर छ ।
‘व्यक्तिगत श्रम स्वीकृतिमा यी देशमा कामदार गइरहेको भेट्यौं । यसलाई संस्थागत गर्न सके आकर्षक श्रम गन्तब्य बनाउन सकिने हाम्रो लक्ष्य हो,’ डा. लम्सालले भने । दक्षिण एसियाली देश माल्दिभ्ससहित युरोपका पोर्चुगल, नर्वे, स्पेन लगायतका मुलुक पनि दक्ष नेपालीको श्रम गन्तब्य हुन सक्ने सो समितिले निश्कर्ष निकालेको छ । तर, पहिलो चरणमा भने बढी सम्भावना देखिएका क्यानडा, सिंगापुर, पोल्याण्ड, रसिया र फिनल्याण्डमा सरकारी टोली नै पुगेर छलफल गर्ने भएको उनले जानकारी दिए ।

No comments:

Post a Comment