Monday, January 25, 2016

चन्द्रागिरीको केवलकार बैशाखदेखि सञ्चालनमा आउने , ९० प्रतिशत निर्माण पुरा, सवा ३ अर्ब रुपैयाँ लगानी

मधुजंग पाण्डे
चन्द्रागिरी, ९ माघ –काठमाडौको थानकोटदेखि चन्द्रागिरी डाँडामाथीसम्म जाने केवलकार आगामी १ बैशाखबाट सञ्चालनमा आउने भएको छ । पहिलो चरणमा प्रति घण्टा एक हजार यात्रु आवत–जावत गर्ने क्षमता सहित निर्माण हुँदै गरेको सो केबलकार सवा ३ अर्ब रुपैयाँ भन्दाबढी लगानीमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भाटभटेनी सुपर मार्केट प्रालिका अध्यक्ष मिनबहादुर गुरुङ, हाथवे इन्भेष्टमेन्ट नेपाल प्रालीका प्रवन्ध निर्देशक अम्बिकाप्रसाद पौडेल, उत्तम नेपाल र उमा जिसी सहित ५ जना मिलेर सञ्चालनमा ल्याउन लागेका हुन । यि सबै व्यवसायीको संयुक्त लगानीमा निर्माणाधिन केबलकार अहिले काठमाडौं फनपार्क लिमिटेडले चन्द्रागिरी डाँडाको ७ सय ३६ रोपनी जग्गा आगामी ४० वर्षकालागि सरकारसँग भाडामा लिएर ठुलो मेगा परियोजनाका रुपमा सञ्चालनमा ल्याउन लागेको हो ।  चन्द्रागिरी नगरपालिका–६ मा ५ तारे रिसोर्ट, जिप फ्लायर, प्याराग्लाइडिङ लगायत अत्याधुनिक सुविधासहित तिब्रताकासाथ निर्माण हुँदै गरेको सो केबलकार ‘चन्द्रागिरी हिल्स’ ब्राण्डको रुपमा बिस्तार हुने छ ।
राजधानीको मुख्य केन्द्रिय शहरदेखि छोटो दुरीमा रहेको थानकोट प्रहरी चेकपोष्ट भन्दा केही माथी गोदामचौरको बटम स्टेशनबाट चन्द्रागिरी डाडामाथी २ हजार ५ सय ४० मिटर उचाइमा रहेको भालेश्वर महादेवको मन्दिर र भ्यु टावर सम्म पुग्ने सबै सुविधायुक्त अत्याधुनिक केबलकारको दुरी जम्मा साढे २ किमी रहेको छ । जसमा विभिन्न ठाउँमा गरी ११ ओटा टावर निर्माण भईसकेका छन । अब टावरमा तार टाँगी केबलकारको गोन्डला झुन्ड्याउने काम मात्र बाँकी रहेको छ ।
आइएमई ग्रुप एवं चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी बैशाखसम्म व्यवसायीक रुपमा सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको यस केवलकार निर्माणको काम अहिले करिब ९५ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले आगामी १ बैशाखको नव वर्षको दिनबाट यस केबलकारलाई पूर्ण व्यवसायीक रुपमा सञ्चालनमा ल्याउने तयारी भईरहेको जानकारी दिए ।  उनले बिशेषगरि मलेसियाको ग्यान्तेनहिल साइडको कन्सेप्टमा सञ्चालनमा ल्याइने यस केबलकारले काठमाडौ शहरबाट नजिकै घुम्ने र मनोरञ्जन लिने उपयुक्त गन्तव्यको अभाव खेपिरहेका लाखौं राजधानीवासीलाई छिट्टै मनोरञ्जनको नयाँ गन्तब्य दिलाउन सफल हुने अपेक्षा गरिएको बताए ।
सो परियोजनाका प्रवन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले संसारकै उत्कृष्ट्र केबलकार निर्माता कम्पनी डुपल मेयरको प्राविधिक सहयोगमा निर्माण भईरहेको यस केवलकार अहिलेसम्मकै निकै सुरक्षित र आकर्षक रहेको बताए । उनले ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसावले निकै आकर्षक यस चन्द्रागिरी डाडालाई आकर्षक पर्यटकीय गन्तब्यस्थल बनाउन यो केबलकार निकै उपयोगी र फलदायी हुने दावी गरे । उनले राष्ट पिता पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका लगायत पुरै नेपाल एकिकरण गर्नुअघि  यहाँ आएर मनले चिताएको पुरा होस भनि बर मागेको ठाउँ चन्द्रागिरीमा रहेको भालेश्वर महादेवको मन्दिर, भ्यु टावर, नुवोकोटको सात तले दरबार जस्तै ५ तारे रिसोर्ट लगायतका पर्यटकीय पूर्वाधार सँगै मुलुककै नमुना पर्यटकीय गन्तब्यस्थल बनाउन आफुहरुले यस ठाउँमा केबलकार निर्माण गरेको बताए ।  सोही परियोजनाका सुरक्षा प्रमुख सशिहजुर सिलवालले यस केबलकारको हरेक टावरमा अत्याधुनिक सेन्सर जडान गरिएकाले  सुरक्षा व्यवस्था एकदमै राम्रो हुने दावी गरे ।  उनले आगामी बैशाखसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको यस केवलकार निर्माणको काम  अहिले ९५ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले चन्द्रागिरी डाँडालाई थानकोटबाट केवलकार मार्फत जोडेर मुलुककै नुमना पर्यटकीय गन्तब्यस्थलका रुपमा विकास गर्न लागिएको बताए  । गोदामचौरबाट चन्द्रागिरीसम्म जम्मा साढे २ किमी दुरी रहेको केवलकारबाट यात्रा गर्न जम्मा ८ मिनेट लाग्ने छ ।
अन्य पर्यटकीय गतिविधी सञ्चालन गर्नकालागि सो कम्पनीले केबलकारको बटम स्टेशन मुनी गोदामचौरमा छुट्टै ५५ करोड रुपैयाँमा १ सय रोपनी जग्गा खरिद गरेको छ ।
चन्द्रागिरी केबलकारको निर्माणाधिन टप स्टेशन नजिकै भ्यु टावर र भालेश्वर मन्दीर रहेको छ । जहाँ बालबालिकादेखि बुढाबुढीसम्म रमाउन मिल्ने थिम (मनोरञ्जन) पार्क, सपिङ सेन्टर, रेष्टुरेन्ट, बोटानिकल गार्डेन, फोरडी थियटर, पाँचतारे स्तरको आकर्षक पर्यटकीय लक्जरी होटल, जीप फ्लायर, गल्फ कार्ट लगायतका सुविधाहरु उपलब्ध हुने अर्का लगानीकर्ता मिनबहादुर गुरुङले जानकारी दिए ।
उनले केवलकार सहित यहाँको पुरै परियोजनाको काम सम्पन्न हुँदा करिब सवा तीन अर्ब रुपैयाँ भन्दा बढी लगानी हुने बताए । उनले यस केबलकार सञ्चालनमा आएपछि राजधानीबासी लगायत विदेशी पर्यटकलाई चन्द्रागिरी निकै आकर्षक गन्तव्य बन्ने दावी गरे । अहिले बटम स्टेशन र टप स्टेशनमा केवलकारको भवन तथा टावरहरु निर्माण कार्य सम्पन्न भईसकेको छ । यससँगसँगै माथी चन्द्रागिरी डाँडामा मनले चिताएको इच्छा पुरा हुने भालेश्वर महादेवको मन्दिर र दृश्यावलकोनका लागि भ्यू टावर निर्माण लगायत अन्य पर्यटकीय पूर्वाधार बनाउने काम अन्तिम चरणमा पुगिसकेको छ ।  थानकोटदेखि चन्द्रागिरीसम्म जम्मा ११ ओटा केबलकारको टावर (पोल) निर्माण भइसकेका छन। यस चन्द्रागिरी डाडाबाट काठमाडौ उपत्यका लगायत उत्तरी पूर्वमा विश्वको सर्वोच्च शिखर सगरमाथा र दक्षिणमा विरगञ्ज शहरको दृस्यावलोकन गर्न सकिन्छ ।
अहिले थानकोटबाट चन्द्रागिरीसम्म जानकालागि ३८ ओटा केवलकार झुन्ड्याइने छ । एउटा कारमा ८ जनाले यात्रा गर्न सक्ने प्रवन्ध निर्देशक पौडेलले जानकारी दिए ।  उनले यस केवलकारबाट प्रतिघण्टा एक हजार जनासम्म मान्छे बोक्ने गरी पूर्वाधार निर्माण भइरहेको बताए । उनले केबलकारका सबै सामान एवं उपकरणहरु अस्ट्रेलिया र सिंगापुरबाट ल्याइएको बताए । केवलकार गत बैशाखमा नै सञ्चालनमा ल्याइसक्नुपर्ने भएपनि भूकम्प, नाकाबन्दी लगायतका कारण बाटो निर्माणसँगै अन्य पूर्वाधार निर्माणमा केही ढिलाई हुन पुगेको बताए । उनले सो परियोजना पुरा गर्नकालागि अहिले चित्लाङ भञ्ज्याङदेखि माथी केबलकारको टप स्टशनसम्म करिव साढे ३ किमि मोटरबाटो आफै खनिएको बताए । उनले अब यस चन्द्रागिरी डाँडालाई सजिसजाउ र सुबिधायुक्त बनाउने  कम्पनीको लक्ष्य रहेको बताए । समुन्द्री सतहबाट २४ सय ४० मिटर उचाई रहेको चन्द्रागिरीमा केवलकारबाट हरियो घना जंगलको दृस्यावलोकन गर्दै यात्रा गरिने छ । केवलकारको टप स्टेशनमा पुग्ने वित्तिकै आँखै अघि १ सय ६० डिग्रीको कोणमा सेतै हाँसेका हिम श्रृंखलाका दृस्यावलोकन गर्न पाइनेछ । त्यहाँबाट काठमाडौं, ललितपुर भक्तपुरका अधिकांश भागहरु सजिलै आँखाले देख्न पाइन्छ । अब यस भ्यूटावरमा फोरडी थियटर समेत बनाउन लागिएको छ । जहाँ शैक्षिक सामाग्री, चन्द्रागिरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पती, पशुपन्छीदेखि किरा फट्याङग्रासम्मको भिडियो हेर्न पाइनेछ ।
करिव २०÷२५ मिनेटको भिडियो एक पटकमा ४० जनासम्मले हेर्न सक्छन् । भ्यू टावर पनि केवलकार सँगसँगै सञ्चालनमा आइसक्ने छ । जहाँ आकर्षक बोटानिकल गार्डेन बनाइने छ । हरियाली मेन्टेन गर्नका लागि कम्पनीले बायो इञ्जिनियरिङ गर्ने बताएको छ । केवलकारबाट ओर्लिएपछि यात्रुले चन्द्रागिरी डाँडामा रहेको मनको इच्छा पुरा हुने भालेश्वर महादेवको मन्दिरमा पुगेर दर्शन गर्न सकिन्छ ।
मन्दिरसँगैको भ्यू टावरबाट पर्यटकले त्यहाँबाट देखिने मनोरम दृस्यमा रमाउन पाउने छन । भ्यू टावरको भुँइतलामा सर्वसाधारणका लागि फुड कोर्ट हुनेछ भने त्यसमाथिको तलामा खर्चालु पर्यटकलाई लक्षित गरी फाइनडाइन रेष्टुरेन्ट सञ्चालन हुने छ । सो डाँडाबाट करिव एक किलोमिटर तल झरेपछि पाँचतारे स्तरको रिसोर्टमा पुगिने छ । भ्यू टावरबाट रिसोर्टसम्म पुग्ने बाटोको दायाँबायाँ फुल लगाएर सुन्दर बनाइने छ ।
त्यो सँगै भ्यू टावरबाट रिसोर्टसम्म जिप फ्लायर बनाइने छ । करिव ९ सय मिटर दुरी रहने जिप फ्लायरको ल्यान्डिङ स्टेशन रिसोर्ट नजिकै रहने छ । यसैगरि यहाँ यात्रा गर्नकालागि अब यस कम्पनीले वातावरणमैत्री इलेक्ट्रिक भेहिकल (गल्फ कार्ट्र)को व्यवस्था गर्ने छ ।रिसोर्टमा बँगैचाको आनन्द लिँदै हिँडेर जान पनि सकिन्छ, जिप लाइनरबाट पनि जान सकिन्छ, गल्फ कार्टबाट पनि जान सकिन्छ । फर्किदा भने कि त हिँड्नुपर्ने हुन्छ कि त गल्फ कार्ट चढ्नुपर्ने हुन्छ ।
उनले  यस चन्द्रागिरीमा एकै पटकमा १० हजार व्यक्तिलाई होल्ड गर्नेगरी पर्यटकीय पूर्वाधार  निर्माण गरिने बताए । उनले खर्चालु पर्यटकलाई लक्षित गर्दै यहाँ पाँचतारे स्तरको रिसोर्ट निर्माण गरिने बताए । आगामी दुई वर्षिभत्रमा सो रिसोर्ट पूर्ण रुपले सञ्चालनमा आइसक्ने बताए । करिव ८० करोड लगानी रहने रिसोर्टमा १ सयओटा डिलक्स रुमहरु रहने छ । सो रिसोर्टमा दुईओटा स्वीट रुम समेत बनाइने छ । रिसोर्टमा स्वीमिङ पुल, स्पा, ज्याकुजी, स्वना, स्टीम वाथ, जीम हाउस, मिनी क्यासिनो लगायतका सबै सुविधाहरु हुने उनले जानकारी दिए । सो रिसोर्टमा ४ ओटा छुट्टाछुट्टै भवन निर्माण गरिने छ । दुईवटा भवनमा २४÷२४ रुमहरु रहनेछन भने दुईओटा भवनमा २६÷२६ रुम रहने छन् । पर्यटकलाई थानकोटबाट केवलकार हुँदै चन्द्रागिरी डाँडामा लगिने छ ।  त्यहाँबाट जीप फ्लायर वा गल्फ कार्टबाट रिसोर्टमा लगिने छ ।
रिसोर्ट पुग्ने अधिकांश ग्राहक विदेशी हुने र त्यससँगै यहाँका ठुला व्यवसायीहरु, उच्चपदस्थ सरकारी अधिकारी, गैरसरकारी संस्थाका कर्मचारी, एवं कर्पोरेट हाउसका बैठक तथा सेमिनारलाई लक्षित गरि यस रिसोर्ट बनाइने छ ।
रिसोर्ट माथीको बटम स्टेशनमा रहेको १ सय रोपनी जग्गा मध्ये ५० रोपनीमा केवलकारको भवन बनिरहेको छ भने बाँकी ५० रोपनी जग्गामा थिमपार्क (मनोरञ्जन पार्क) निर्माण गरिने छ । करिव ५० करोड लगानी रहने पार्कमा बच्चादेखि बुढा बुढीसम्म रमाउन सक्नेछन् । भवनको सबैभन्दा तल सर्वसाधारणका लागि फुड कोर्ट हुने छ । त्यसभन्दा माथि खर्चालु ग्राहकलाई लक्षित गर्दै फाइनडाइन रेष्टुरेन्ट खोलिने छ भने त्यसभन्दा माथि ब्रान्डेड शप हुनेछ । यहाँ आगन्तुकका २ सय कार, ४ सय मोटरसाइकल र १ सयओटा बस पार्किङ गर्न मिल्ने ठाउँ बनाइँदै छ । अहिलेसम्म यस परियोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, ग्रान्ड बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकले कर्जा लगानी गरेका छन् । 



No comments:

Post a Comment