Sunday, June 26, 2016

सगरमाथा ढलेपनि आरोहण गरि छाड्ने शेरचनको अठोट

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ९ बैशाख ८३ वर्षिय बृद्ध आरोही मिनबहादुर शेरचनले सगरमाथा ढलेपनि यसपाली आफुले सगरमाथाको सफल आरोण गरि छाड्ने अठोट गरेका छन ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणकालागि आगामी शुक्रबार आधार शिविर तर्फ जाने सबै तयारी पुरा भएको जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सबैभन्दा जेष्ठ आरोही शेरचनले यस्तो अठोट गरेका हुन । उनले करिव दुई दर्जन भन्दाबढी पत्रकारलाई नै छक्क पार्ने गरि  ८३ वर्षको बृद्ध शरिलाई भर्खरैको तन्नेरी युवाको झैंै  एकदमै उर्जाशिल र फर्तिलो बनाएर सगरमाथाको शिखर चुमिछाड्ने अठोट लिएको बताए ।  त्यतिबेला उनको अनुहारमा निकै चमक र स्फुर्ति थियो । मानौँ उनी भर्खर २०, २२ वर्षका तन्नेरी युवा जस्तै कडा र बलवान । यसअघि ७६ वर्षको उमेरमा पनि सगरमाथाको शिखरमा पुगेर संसारलाई मज्जासँग नियालिसकेका शेरचनले अहिले आफुले बृद्ध शरिरको बलले मात्र नभएर पहिलेको अनुभवका आधारमा थप जुक्ति लगाएर सफल आरोहण गर्ने लक्ष्य लिएको बताएका छन ।
अहिले ८३ वर्ष ९ महिनाको बृद्ध शरिरलाई  निकै तेजिलो बनाएका शेरचनको बोलीमा पनि उत्तिकै फुर्ती र दम छ ।  यही साहसी स्फुर्तिले नै उनलाई यो उमेरमापनि सगरमाथाको शिखर चुमेर पुनः संसारकै सबैभन्दा जेष्ठ आरोहीको नयाँ किर्तिमान राख्ने अठोट जगायो ।   म्याग्दी भुरुङ तातोपानीका बृद्ध आरोही शेरचनलाई उमेरले छेकेको छैन । अहिले उनको दृढ इच्छाशक्तिले जसरी पनि सगरमाथा चढिछाड्न निकै च्यालेन्ज दिइरहेको छ । उनले पुनः विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुमेर यसअघि खोसिएको आफ्नो विश्व गिनिज बुकमा नयाँ रेकर्ड कायम गराउँदै छन् ।
सन २००८ मा ७६ वर्षको उमेरमा शेरचनले जापानका ७५ बर्षिय युचिरो मिउराले गरेको किर्तीमान तोडेर सगरमाथाको शिखर चुम्ने सबैभन्दा जेष्ठ आरोहीको उपाधि पाएका थिए । सन् २०१३ मा तिनै युचिरो मिउराले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि बृद्ध स्वदेशी आरोही शेरचनको किर्तीमान खोसिएको थियो ।  तीनै जापानी आरोहीको रेकर्ड तोड्न अहिले शेरचन पुनः कस्सिएका हुन । उनको यसवर्ष सगरमाथा चढ्ने साहसी यात्रा आगामी शुक्रबारदेखि काठमाडौँबाट सुरु हुँदै छ । सगरमाथा आरोहण आफ्नालागि नौलो नभएको बताउँदै बृद्ध आरोही शेरचनले राजधानीसँग भने, ‘ यसपाली म जसरी पनि सगरमाथाको शिखरमा पुगेर फर्किन्छु ,बरु सगरमाथा ढल्ला म ढल्दिन’। विगत २ वर्ष अघि आरोहण गर्न खोज्दा पनि आफु बिरुद्ध सिंहदरबार र आधार शिविरबाट निकै ठुलो खेल भएको गुनासो गर्दै उनले यसपाली त्यो झेली खेलको बदला लिन पनि आफुले यस्तो अठोट गरेको बताए । उनले सन् २०१३ मा जापानी नागरिबाट आफ्नो किर्तिमानी भंग गराउन आफु बिरुद्ध लागेकाहरुले धेरै पैसा खर्च गरेको समेत आरोप लगाए । त्यसबेला आफुलाई आरोहण अनुमति दिन ३ महिना लगाएर अन्तिम २४ मे मा अनुमति दिएर २९ मे मा आरोहण नै बन्द गरेको स्मरण गर्दै उनले त्यसबेला सिंहदरबारदेखि आधार शिबिरसम्म धेरै ठुलो खेल भएको दावी गरे । उनले भने, ‘मेरो उद्देश्य भनेको सगरमाथा चढेर बहादुरी देखाउने मात्र होइन, मेरा तीन आमा छन् । जन्म दिने, कर्म दिने र पृथ्वी आमा । पृथ्वी आमाको शान्ति सुरक्षाको लागि म अहिले सगरमाथा चढ्दैछु’। उनले आफ्नो यस आरोहणले बृद्ध बृद्धालाई साहस, युवायुवतिहरुलाई उत्साह र सबैलाई लक्ष्यमा पुग्ने थप प्रेरणा मिल्ने बताए ।
सगरमाथा आरोहणलाई सफल पार्नकै लागि शेरचनले विगत एक महिनादेखि दैनिक ३० किलोको बोरा बोकेर आफ्नो घरको छतबाट भुईतलासम्म तल–माथि गरिरहेको जानकारी गराउँदै शेरचन सहभागी आरोहण दलका अर्का आरोही शिब सापकोटाले भने, ‘ यसपाली शेरचनले आफु जन्मिएको मातृभुमी नेपाल आमालाई खुसी पार्न भन्दै पुनः सगरमाथा चड्न लागेका हुन’ । उनलाई सगरमाथा चढाउने प्राविधिक र व्यवसायिक जिम्मा लिएको हिमालयन गाइड्स नेपालका निर्देशक इश्वरी पौडेलले अहिले शेरचनको आरोहणमा निकै चुनौती रहेको बताए ।  शेरचनलाई सगरमाथा चढाउन निकै च्यालेन्जिङ र खचिर्चो छ भन्दै उनले अहिले आफुहरुले पाँच सिलिण्डर अक्सिजन लाग्नेमा १० सिलिण्डरको व्यवस्था गरेको जानकारी दिए ।  उनले यसपाली विशेष व्यवस्थाकासाथ बृद्ध आरोहीलाई सगरमाथा चढाउने बताए । उनले यसवर्ष ७५ लाखको खर्चमा शेरचनलाई सगरमाथा चढाउन लागेको जानकारी दिए । पौडेलका अनुसार आगामी ३५ दिन भित्रमा शेरचनले सगरमाथा चढेर काठ्माडौं आइपुग्ने छन ।
गैरआवासीय नेपाली संघ युकेको आर्थिक सहयोगमा शेरचन सगरमाथा चढ्न लागेका हुन् । शेरचनको आरोहण सहयोगीको रुपमा सगरमाथा आरोहीहरु मिङ्मा दोर्जे, मिङ्मा तेन्जी शेर्पा, दावा ग्यान्जेङ शेर्पा, छेतोन शेर्पा र  शिव सापकोटा रहने छन् । यसपाली शेरचनले ७५ हजारमा सरकारी इजाजत पत्र लिएर सगरमाथा चढ्न लागेका हुन् ।
बुधबार आयोजित कार्यक्रममा नेकपा एमाले निकट पर्यटन प्रबद्र्धन विभाग प्रमुख सूर्य थापा, पत्रकार महासंघका महासचिव उजिर मगर, गैरआवासीय नेपाली संघ (एनआरएनए)का अन्तर्राष्ट्रिय समितिका सदस्य, सुष्मा राई, एनआएन बेलायतका कल्पना आङबुहाङ, थकाली सेवा समाजका अध्यक्ष खगेन्द्र भट्टचन लगायतले शेरचनलाई आरोहण सफलताको शुभकामना दिएका थिए । नेकपा एमालेका युवा नेता एवं केन्द्रीय सदस्य सूर्य थापाले सोही कार्यक्रममा वृद्ध आरोही शेरचनलाई बिदाई गरि आफुले पनि शेरचनबाट आशिर्शाद लिएर कार्य प्रारम्भ गरेका छन् । एमाले प्रचार विभागका उप प्रमुख समेत रहेका थापालाई पार्टीले पर्यटन प्रबर्धन विभाग प्रमुखको जिम्मेवारी सुम्पेको थियो । आरोही शेरचनले थापालाई पनि कार्य सफलताको शुभकामना दिएका थिए । यसअघि १२ बर्षसम्म एमाले प्रचार विभागमा रहेका थापा बितेको ८ बर्ष प्रचार विभागको सचिव थिए । एमालेको नवौँ महाधिवेशनबाट थापा केन्द्रीय सदस्य भएका हुन् ।
विगत २ वर्ष अघि आरोहण गर्न खोज्दा पनि आफु बिरुद्ध सिंहदरबार र आधार शिविरबाट निकै ठुलो खेल भएको गुनासो गर्दै उनले यसपाली त्यो झेली खेलको बदला लिन पनि आफुले यस्तो अठोट गरेको बताए । उनले सन् २०१३ मा जापानी नागरिबाट आफ्नो किर्तिमानी भंग गराउन आफु बिरुद्ध लागेकाहरुले धेरै पैसा खर्च गरेको समेत आरोप लगाए । त्यसबेला आफुलाई आरोहण अनुमति दिन ३ महिना लगाएर अन्तिम २४ मे मा अनुमति दिएर २९ मे मा आरोहण नै बन्द गरेको स्मरण गर्दै उनले त्यसबेला सिंहदरबारदेखि आधार शिबिरसम्म धेरै ठुलो खेल भएको दावी गरे ।

No comments:

Post a Comment