Sunday, March 26, 2023

पर्यटक लोभ्याउँदै ‘दि टेरेसेस रिसोर्ट एन्ड स्पा’ हेलिकोप्टरबाट सोझै लुक्ला उडानको सुविधा

 मधुजंग पाण्डे/राजधानी 

काठमाडौैं 


३८ वर्षअघि सामान्य मकैबारीको रुपमा सिमित भक्तपुरको सूर्यविनायक नगरपालिका–७ ललितपुरको लाकुरी भन्ज्याङमुनीको पखेराबारीमा करिब १ अर्ब रुपैयाँ लगानीमा सञ्चालन गरिएको ‘दि टेरेसेस रिसोर्ट एन्ड स्पा’होटलमा अहिले दैनिक स्वदेशी एवं विदेशी पर्यटकको निकै चहलपहल बढ्न थालेको छ । 

होटल सञ्चालनकालागि आवस्यक सबै पूर्वाधार निर्माणको काम सम्पन्न भई २०७८ सालको असोजबाट औपचारिक रुपमा व्यवसायीक सेवा सञ्चालन गर्न थालिएको डेढवर्षको छोटो अवधीमै अहिले यस रिसोर्ट विलासी पर्यटक आकर्षणको हब नै बनिसकेको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–७  र ललितपुरको लाकुरी भन्ज्याङको सिमा क्षेत्रमा रहेको यस रिसोर्टबाट अहिले हेलिकोप्टर यात्रा मार्फत सोझै सोलुको लुक्ला लगायत विभिन्न क्षेत्रमा चाटर्ड उडानको समेत व्यवस्था भएकाले यहाँ दैनिक आवतजावत गर्ने पर्यटकको बाक्लो भीड देखिन थालेको हो । 

काठमाडौं उपत्यका नजिकैको रमणीयस्थल लाकुरी भन्ज्याङमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नि समूहको संयुक्त लगानीमा ‘दि टेरेसेस रिसोर्ट एन्ड स्पा’ होटल सञ्चालनमा ल्याईएको हो । चारैतिर हरियाली बनजंगलले घेरिएको पाखो बारीमा संयुक्त लगानी गरि अहिले यतिराम्रो पर्यटकीय होटल चलाएका पर्यटन व्यवसायी द्दोय आङछिरिङ शेर्पा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष हुन भने अग्नि ग्रुपका सञ्चालक अर्जुन शर्मा नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टस(नाट्टा)का पूर्व अध्यक्ष हुन ।  


यस होटलका सञ्चालक एवं एस्ट्रेक समुहका अध्यक्ष शेर्पा पर्वतारोहण विज्ञ पनि हुन । शेर्पाले यस होटलमा मात्र नभएर मुलुकको पर्यटन पूर्वाधारकालागि देसका धेरै ठाउँमा विभिन्न किसिमबाट लगानी गरेका छन ।  हाल उनले आफ्नो एस्ट्रेक समुहको तर्फबाट यस होटल सेवा सञ्चालनको जिम्मा भने कान्छो छोरा तेन्जिङ शेर्पालाई दिएका छन । तेन्जिङ शेर्पा यस होटलका प्रवन्ध निर्देशक हुन । 


नेपाल आउने विलासी पर्यटकलाई संघिय राजधानी काठमाडौ उपत्यकाको सबैभन्दा नजिकको पर्यटकीय क्षेत्र लाकुरी भन्ज्याङमा यस्तो शान्त वातावरणमा हिमालयको दृस्यावलोकन गराउने उदेश्यसहित यस रिसोर्ट सञ्चालनमा ल्याइएको आङछिरिङ शेर्पाले जानकारि दिए । ३८ वर्षअघि यहाँको पखेराबारी खरिदगरि अहिलेसम्म यो होटल निर्माणगरि सञ्चालनमा ल्याउँदासम्म आफुले धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै उनले हाल यो अवस्थामा आइपुगेको यस होटलको पूर्वाधार निर्माणमा आफुहरुले अनेक समस्या समेत भोग्नुपरेको बताए । पूर्वाधार निर्माणको क्रममा आइपरेका अनेक समस्यासँग जुधेर मात्र अहिले आफुहरु यो होटलमा पर्यटन लोभ्याउने अवस्थामा आइपुग्न सफल भएको उनको भनाई छ ।   


विशेषगरि टेरेसेस घरको बरन्डाबाट देखिने दृस्यको झल्को दिनेगरि निर्माण गरिएको समुन्द्री सदहबाट दुईहजार मिटर उचाइमा रहेको यस रिसोर्टका सबै कोठा एवं शयन कक्षबाट हिमालका दृस्य देख्न सकिने उनले जानकारि दिए । 

शेर्पाका अनुसार हाल यस होटलमा आउने पाहुँनाकालागि रिसोर्ट भन्दा केही माथी डाँडामा हेलिप्याड निर्माण गरि हेलिकोप्टर यात्राको समेत व्यवस्था गरिएका कारण अहिले विलासी पर्यटकको रोजाई यो होटल पर्न थालेको हो । 

यस रिसोर्टबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धवलागिरिसम्मका हिमश्रृंखलाका मनमोहक दृश्य देख्न सकिन्छ । आफुले ३८ वर्षअघि नै नेपाल आउने विलासी पर्यटकलाई यहाँको शान्त वातावरणमा रिसोर्ट सञ्चालन गरि पर्यटकीय सेवा दिने सोचसहित त्यतिबेला त्यसै खेर गईरहेको पाखो बारी खरिद गरेको र अहिले सोही जग्गालाई यसरी सदुपयोग गर्ने क्रममा धमाधम पर्यटक लोभिन थालेको शेर्पाले बताए । 

यस होटलका प्रबन्ध निर्देशक तेन्जिङ शेर्पाले जग्गा खरिददेखि अहिलेसम्म रिसोर्टमा करिब १ अर्ब रुपैयाँ लगानी भईसकेको बताए । आफ्नो बुबाले ३८ वर्षअघि गरेको लगानी जोड्दा त्यसको मूल्य धेरै हुने बताउँदै उनले रिसोर्ट निर्माण कार्य सन् २०१४ मा सुरुवात गरेपनि भूकम्प,नाकाबन्दी,कोरोना महामारीको कारण ७ वर्ष निर्माणमा नै समय खर्च भएको बताए ।

उनले हाल यस होटलतथा  रिसोर्टलाई लक्जरी स्तरको मापदन्डमा सञ्चालन गरिएको बताए । उनले यस रिसोर्टमा स्वदेशी तथा विदेशी पर्यटक आउने वातावरण बनाईएको बताए । यस रिसोर्टका जिएम सुमनसुन्दर श्रेष्ठले यहाँ आउने विलासी पर्यटकका लागि जंगलको माथी डाँडामा हेलिप्याड निर्माण गरि सोझै सोलुखुम्बुको लुक्ला हेलिकोप्टर उडानको प्याकेज पनि थपिदिएका कारण अहिले यहाँ पर्यटकको चहलपहल निकै बढ्न थालेको बताए ।  


यस होटलका सेल्स एन्ड मार्केटिङ मेनेजर अमृत ढकालले जानकारि गराए अनुसार ४० रोपनी क्षेत्रफल जग्गामा फैलिएको यस रिसोर्टमा दुईवटा सुईट रुम ,२८ वटा स्ट्यान्डर रुम,  लिभिङ रुम, बेडरुम, बाल्कोनी, ज्याकुजी, स्पा सहितका ४६ वटा कोठा रहेका छन । सबै कोठा विलासी पर्यटक लक्षित हुन् । राम्रो खर्च गर्ने पर्यटकलाई नै लक्षित गरेर १६ वटा डिलक्स रुम बनाइएको छ ।

यसैगरी, मध्यमवर्गीय पर्यटकलाई लक्षित गरी स्टान्डर्ड रुमको व्यवस्था गरिएको छ । यस्ता रुम २८ वटा छन् । हाल यस रिसोर्ट वरिपरिको वन जंगल मासिन नपाओस भनेर ८०० रोपनी जंगल भाडामा समेत लिइएको छ । 

अहिले यस रिसोर्टमा खुला स्वीमिड पुल र ज्याकुजी र स्पा पनि छ । पाहुनाको  मनोरञ्जनको लागि २ वटा विलियर्ड रुम छन् । योगा,स्पा र जिमका अलग अलग कक्ष छन् । यहाँ नेपाली, भारतीय, कन्टिनेन्टल र भूमध्यसागरीय क्षेत्रका परिकार पाइन्छ । सभा, सम्मेलन र सेमिनारसहित विभिन्न पार्टी गर्ने सुविधाका लागि २ सय जना क्षमताको सुविधा सम्पन्न कन्फ्रेन्स हल समेत छ । 


माउन्ट मोनास्ट्री प्रालिद्वारा निर्माण गरिएको यस होटलबाट काठमाडौ शहरको दृस्य एकदमै मनमोहक देखिन्छ । यस रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटर र ठमेलबाट २३ किलोमिटर दूरीमा पर्दछ ।

अझै लाकुरी भन्ज्याङ क्षेत्रमा यस्तो सुविधासम्पन्न होटल छैन । यस्तो प्राकृतिक सुन्दरताले  भरिएको जंगलको बीचमा होटल बनाउनुको कारण आफूहरूको मुख्य लक्ष्य विभिन्न संघसंस्थाको बैठक र सेमिनार गर्नु पनि रहेको होटल सञ्चालक शेर्पाको भनाई छ ।  

काठमाडौं उपत्यकाको दक्षिणपूर्वी भागमा समुद्री सदहबाट करिब २०१० मिटरको उचाइमा रहेको रिसोर्टबाट हिमालका मनमोहक दृश्य नियाल्न सकिने छ । त्यसैले अहिले यहाँ धमाधम स्वदेशी र विदेशी पर्यटक आ आफ्ना समुह तथा प्याकेज नै बनाएर पुग्न थालेको सो होटलले जनाएको छ । 








Wednesday, March 15, 2023

बरिष्ठ पत्रकार मधुजंग पाण्डे पुरस्कृत

राजधानी समाचारदाता

काठमाडौं 

नेपाल निर्माण व्यवसायी महासंघले राजधानी राष्ट्रिय दैनिक पत्रिकाको बरिष्ठ उप सम्पादक मधुजंग पाण्डेलाई पुरस्कृत गरेको छ । 

आइतबार काठमाडौमा सम्पन्न देसभरका निर्माण व्यवसायीहरुको छाता संस्था महासंघको २४ औं साधारण सभा र ‘एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण समारोहमा पाण्डेलाई उत्कृष्ठ पत्रकारको रुपमा पुरस्कृत गरिएको हो । 

महासंघले मुलुकको निर्माण क्षेत्रको प्रवद्र्धन तथा पूर्वाधार विकासकालागि पत्रकारिता मार्फत उल्लेखनीय काम गरेको भन्दै व्यत्तिगततर्फ नगद पुरस्कार सहित पाण्डेलाई ‘एफक्यान उत्कृष्ट सञ्चारर्की’ पुरस्कारले सम्मान गरेको हो । 

पत्रकार पाण्डे झन्डै तिन दशकदेखि पत्रकारीतामा सक्रिय रुपमा लागिरहेका छन । एफक्यान एक्सीलेन्स उत्कृष्ठ संचारकर्मी परस्कारद्धारा सम्मानित पाण्डे बेल्कोटगढी नगरपालिका–११ का स्थाईवासिन्दा हुन । हाल पाण्डेले काठमाडौमा बसेर पत्रकारिता गरिरहेका छन ।  

यसैगरि, महासंघले यसवर्षको उत्कृष्ट सहयोगी छापा माध्यामका पत्रिकातर्फबाट आर्थिक दैनिकलाई संस्थागत रुपमा सम्मान गरेको थियो । त्यसैगरि, सहयोगी टेलिभिजनतर्फ एपीवान टेलिभिजनलाई सम्मान गरेको थियो ।  महासंघले अनलाइन सञ्चार माध्यामतर्फबाट निर्माणपाटी डटकम र सहयोगी रेडियोतर्फ रेडियो काठमाडौलाई सम्मान गरेको थियो । 

सोही अवसरमा महासंघले विभिन्न ३८ विद्यामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको थियो । 


Wednesday, March 8, 2023

अन्नपूर्ण हिमाल चढ्दै कतारकी राजकुमारी अल्थानी

 मधुजंग पाण्डे/राजधानी

काठमाडौं

हिमाल आरोहणकालागि वर्षकै राम्रो अनुकुल मौसम सुरु भएसँगै अहिले कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नका लागि म्याग्दी पुगेकी छिन् । 

८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणकालागि मरुभूमिको देस कतारकी राजकुमारी अल्थानी सोमबार म्याग्दी पुगेकी हुन । सो हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्दछ । 

इलाईट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न म्याग्दी पुगेकी हुन् काठमाडौंबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण गाउँपालिका –३ दानामा पुगेकी हुन् । 

८ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमानी बनाएका स्वदेशी आरोही निर्मल पुर्जाले अहिले अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न लागेकी कतारकी राजकुमारी अल्थानीको आरोहण दलको नेतृत्व गरेका छन् । 

यसअघि संसारको अग्लो सगरमाथा हिमाल आरोहण गर्ने पहिलो अरबी महिलाको कीर्तिमान राखेकी कतारी राजकुमारी अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न जाने क्रममा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जागँगै सोमबार हेलिकोप्टरबाट म्याग्दीको दानामा ओर्लिएकी हुन्।

अल्थानीले यही मार्च महिनामा अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्ने लक्ष्य राखेकी छिन् । यसअघि विश्वको सर्बोच्च शिखर सगरमाथा, धौलागिरी, कञ्चनजंगा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायत हिमालको सफल आरोहण गरिसकेकी अल्थानी यसपटक पुनः अन्नपूर्ण हिमाल आरोहणको तयारीमा नेपाली आएकी हुन् ।

उनको यो हिमाल आरोहणको तयारीसँगै कोरोना विश्व महामारिले थलिएर विस्तारै चलायमान हुँदै गरेको मुलुकको पर्यटन प्रवद्र्धनमा एकदमै महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।  

उनीहरुले कतारकी राजकुमारी अल्थानीको हिमाल आरोहणले विदेशी पर्यटकबीच अन्य विदेशी आरोहीलाई पनि नेपाल आउन थप आकर्षण गराउने अनुमान गरेका छन । उनको यो साहसिक कदम नेपालको पर्यटन उद्योगकालागि थप उपलब्धीमुलक र फलदायी हुने सम्बन्धीत व्यवसायीहरुको भनाई छ ।   

अन्नपूर्ण हिमाल आरोहणकालागि नेपाल आएकी कतारकी राजकुमारी अल्थानी म्याग्दीको दाना कीर्तिमानी आरोही पुर्जाको जन्मस्थल भएकाले काठमाडौबाट सोझै त्यहाँ पुगेकी हुन ।  राजकुमारी अल्थानी स्वदेशी आरोही निर्मल पुर्जाको जन्मघर दाना पुगेर अवलोकन गर्नुका साथै केही बेर पुर्जाको जन्मघरमा विश्राम गरेकी थिईन । 

अल्थानी र निर्मल पुर्जा मौरिस हर्जोग पदमार्ग पछ्याउँदै आगामी बुधबार बिहान हेलिकोप्टरबाट अन्नपूर्ण साउथ बेसक्याम्प जाने कार्यक्रम तय भएको छ ।

सोमबार हेलिकोप्टरबाट ओर्लेपछि कतारी राजकुमारी अल्थानी र कीर्तिमानी आरोही निर्मल पुर्जालाई स्थानीयवासीले बाजागाजासहित फूलमालाले भव्य स्वागत गरेका थिए ।

सन् २०१९ अप्रिलमा अन्नपुर्ण आरोहणगरी ‘प्रोजेक्ट पोसिवल १४÷७’ अभियान सुरु गरेका स्वदेशी कीर्तिमानी आरोही निर्मल पुर्जाले २९ अक्टोबर २०१९ को बिहान स्थानीय समय अनुसार ८ बजेर ५८ मिनेटमा चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो सिसापाङ्मा हिमाल आरोहण गरी पुर्जाले विश्व रेकर्ड तोडेका थिए । 

पुर्जाले संसारका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल १ सय ८९ दिन (६ महिना ६ दिन) भित्र आरोहण गरी कोरियाका पर्वतारोही किमच्याङ होको नाममा रहेको ७ वर्ष १० महिना ६ दिनको रेकर्ड समेत तोडेका थिए । कीर्तिमानी आरोही पुर्जाका नाममा अहिले पनि आधा दर्जनभन्दा बढी गिनिज बुकमा वर्ल्ड रेकर्ड कायम छन् । 

अहिले कतारकी राजकुमारी अल्थानीको अन्नपूर्ण प्रथम हिमाल आरोहणकालागि यसरी सहयोग गरिरहेका पूर्जाले भने, ‘यस आरोहणकालागि आवस्यक बन्दोबन्दीका सामग्रीहरु हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन् ।’

दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारी अल्थानीको दाना भ्रमण र अन्नपूर्ण प्रथम हिमाल आरोहणको यात्राले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । उनले ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचार–प्रसारमा थप सहयोग पुग्ने बताए । 

यसअघि सन् १९५० को ३ जुनमा फ्रान्सेली नागरिक मौरिज हर्गोजले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा पहिलो पटक पाइला टेकेका थिए । अन्नपूर्ण ८ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।

नारच्याङका अगुवाहरुले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै–किनार आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ ।

यस हिमाल आरोहणकालागि जाने क्रममा समुद्री सतहदेखि चारहजार पाँचसय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृष्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ । 

खाडी राष्ट्र कतारको राजकुमारी अल्थानीको यो आरोहणको तयारीले अहिले नेपालको हिमाल आरोहणको आकर्षण थप बढाईदिएको पर्यटन विभागले जनाएको छ । उनको यस हिमाल आरोहणले नेपाल भित्रिने पर्यटक आगमन संख्या पनि थप बढाउने विभागको अपेक्षा छ । 


१ अप्रिलबाट ‘एफआइटी’ बन्द ,विदेशी पर्यटक पदयात्रामा जादाँ अब अनिवार्य गाइड राख्नुपर्ने

 मधुजंग पाण्डे/राजधानी

काठमाडौं


नेपाल पर्यटन बोर्डले आगामी १ अप्रिलदेखि लागु हुनेगरी ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’ बन्द गरेको छ । बोर्डले गरेको यो नयाँ निणर्यसंगै अब नेपालमा विदेशी पर्यटकले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रा भ्रमणमा जानुपर्ने भएको छ । 

बोर्डले नेपाल पर्यटन ऐन २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली, संचालन (पहिलो संशोधन) निर्देशिका, २०६६ को दफा १०को उपदफा ‘क’ बमोजिम यो निर्णय गरेको हो ।

नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको पर्यटन बोर्डले जानकारी दिएको छ । यसरी जाने पर्यटक तथा गाइड दुवैको बीमा समेत गरिनेछ । 

यसअघि नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेको थियो । 

यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले समेत चासो दिएको र बोर्ड सञ्चालक समिति तथा टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र पर्यटन श्रमिक टे«ड युनियनका प्रतिनिधीबीच भएको छलफलमा पर्यटकको सुरक्षा,उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै (एफआईटी)’ बन्द गर्ने निर्णय गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनन्जय रेग्मीले जानकारी दिए । 

यस विषयमा पहिले देखि नै कुरा उठेको र नेपाललाई हरतरहले सुरक्षित पर्यटकीय गन्त्वय बनाउन पर्छ भन्ने नै रहेको भन्दै उनले विभागिय मन्त्रीको चासो, निर्देशन तथा सरोकारवालाहरुको सहमतीमा गन्तव्यलाई सुरक्षित, उद्दारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरिएको उनले बताए ।  यसले समग्रमा राम्रौ सन्देश प्रभाव गर्ने उनको भनाई ।  सिईओ रेग्मीले यो निर्णय संगै नेपालमा ट्रेकिङ गार्डडहरूको रोजगारी साथै आय समेत बढ्ने अपेक्षा गरिएको बताए । 

पर्यटन बोर्डको तथ्यांक अनुसार नेपालमा पदयात्रा भ्रमण गर्न आउने कूल पर्यटक मध्ये ३० प्रतिशत एफआइटीवाला रहेको र उनीहरूबाट हुने कुल आय ४७ प्रतिशतको हाराहारीमा थियो ।  नेपालमा कोभिड–१९ भन्दा अघि करिब वार्षिक ४६ हजार पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आउने गरेको बोर्डका प्रवक्ता एवं निर्देशक मणिराज लामिछानेले जानकारी दिए । 

उनले बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्ने जानकारि दिए । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउने गरेकामा अब भने सबैखाले पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ लाग्ने छ । 

यसैगरि, सार्क देशका नागरिकको हकमा यसअघि २ सय रुपैयाँ लाग्ने गरेकोमा अब भने प्रति व्यक्ति १ हजार रुपैयाँ लाग्ने बोर्डले जनाएको छ । यस विषयमा नेपाल ट्रेकिङ, ट्राभल्स राफ्टिङ,एअरलाइन्स श्रमिक युनियन (युनिट्राभ) लगायतका संस्थाले लामो समय देखि आवाज उठाउदै आएका थिए । 

युनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुलीले बोर्डको यो निर्णय स्वागतयोग्य भएको र यसको सहि कार्यन्वयन हुनुपर्ने धारणा राखे । उनले यो निर्णय कार्यान्वयन हुँदा नेपालको पर्वतीय पर्यटनको सुरक्षा चासो समेत सम्बोधन हुने बताए । 

बोडेले गरेको यस नयाँ व्यवस्था अनुसार अब पदयात्रा भ्रमणमा जाँदा विदेशी पर्यटकले अनिवार्य रूपमा गाइड साथमा राख्नुपर्ने छ । नेपाल पर्यटन बोर्डको बैठकले नेपालको कुनै पनि गन्तव्यमा ट्रेकिङ जाँदा विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने व्यवस्था गरेको हो । अहिले फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी) प्रणाली कार्यान्वयनमा छ । एफआईटी टिप्स कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिप्स कार्ड लिएर पर्यटक एक्लै भ्रमणमा जाने गरेका थिए । 

नेपाल पर्यटन बोर्डले आगामी १ अप्रिलदेखि लागू हुनेगरी एफआईटी बन्द हुने निणर्य नै गरिसकेको छ । नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको पर्यटन बोर्डले जनाएको छ । यसरी जाने पर्यटक तथा गाइड दुवैको बीमासमेत गरिनेछ । 

हालसम्म नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेको थियो । अहिले एफआईटी र सामूहिक रूपमा लिने टिप्स कार्डको मूल्य फरक छ । एक्लै भ्रमणमा जानेहरूले २ हजार र सामूहिक भ्रमण जानेहरूले जम्मा हजार रुपैयाँ तिर्नुपर्छ । यो नयाँ निणर्य अनुसार टिम्सकार्डको शुल्क अहिलेको भन्दा शतप्रतिशत बढाईएको छ । 

अहिलेसम्म टिम्सकार्ड लिन नेपाल पर्यटन बोर्ड वा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्था छ । बोर्डले यो प्रावधानलाई सहजीकरण गर्दै अब अनलाइनबाटै टिम्सकार्ड दिन सकिने व्यवस्था गर्ने निर्णय समेत गरेको बताएको छ ।