Sunday, March 26, 2023

पर्यटक लोभ्याउँदै ‘दि टेरेसेस रिसोर्ट एन्ड स्पा’ हेलिकोप्टरबाट सोझै लुक्ला उडानको सुविधा

 मधुजंग पाण्डे/राजधानी 

काठमाडौैं 


३८ वर्षअघि सामान्य मकैबारीको रुपमा सिमित भक्तपुरको सूर्यविनायक नगरपालिका–७ ललितपुरको लाकुरी भन्ज्याङमुनीको पखेराबारीमा करिब १ अर्ब रुपैयाँ लगानीमा सञ्चालन गरिएको ‘दि टेरेसेस रिसोर्ट एन्ड स्पा’होटलमा अहिले दैनिक स्वदेशी एवं विदेशी पर्यटकको निकै चहलपहल बढ्न थालेको छ । 

होटल सञ्चालनकालागि आवस्यक सबै पूर्वाधार निर्माणको काम सम्पन्न भई २०७८ सालको असोजबाट औपचारिक रुपमा व्यवसायीक सेवा सञ्चालन गर्न थालिएको डेढवर्षको छोटो अवधीमै अहिले यस रिसोर्ट विलासी पर्यटक आकर्षणको हब नै बनिसकेको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–७  र ललितपुरको लाकुरी भन्ज्याङको सिमा क्षेत्रमा रहेको यस रिसोर्टबाट अहिले हेलिकोप्टर यात्रा मार्फत सोझै सोलुको लुक्ला लगायत विभिन्न क्षेत्रमा चाटर्ड उडानको समेत व्यवस्था भएकाले यहाँ दैनिक आवतजावत गर्ने पर्यटकको बाक्लो भीड देखिन थालेको हो । 

काठमाडौं उपत्यका नजिकैको रमणीयस्थल लाकुरी भन्ज्याङमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नि समूहको संयुक्त लगानीमा ‘दि टेरेसेस रिसोर्ट एन्ड स्पा’ होटल सञ्चालनमा ल्याईएको हो । चारैतिर हरियाली बनजंगलले घेरिएको पाखो बारीमा संयुक्त लगानी गरि अहिले यतिराम्रो पर्यटकीय होटल चलाएका पर्यटन व्यवसायी द्दोय आङछिरिङ शेर्पा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष हुन भने अग्नि ग्रुपका सञ्चालक अर्जुन शर्मा नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टस(नाट्टा)का पूर्व अध्यक्ष हुन ।  


यस होटलका सञ्चालक एवं एस्ट्रेक समुहका अध्यक्ष शेर्पा पर्वतारोहण विज्ञ पनि हुन । शेर्पाले यस होटलमा मात्र नभएर मुलुकको पर्यटन पूर्वाधारकालागि देसका धेरै ठाउँमा विभिन्न किसिमबाट लगानी गरेका छन ।  हाल उनले आफ्नो एस्ट्रेक समुहको तर्फबाट यस होटल सेवा सञ्चालनको जिम्मा भने कान्छो छोरा तेन्जिङ शेर्पालाई दिएका छन । तेन्जिङ शेर्पा यस होटलका प्रवन्ध निर्देशक हुन । 


नेपाल आउने विलासी पर्यटकलाई संघिय राजधानी काठमाडौ उपत्यकाको सबैभन्दा नजिकको पर्यटकीय क्षेत्र लाकुरी भन्ज्याङमा यस्तो शान्त वातावरणमा हिमालयको दृस्यावलोकन गराउने उदेश्यसहित यस रिसोर्ट सञ्चालनमा ल्याइएको आङछिरिङ शेर्पाले जानकारि दिए । ३८ वर्षअघि यहाँको पखेराबारी खरिदगरि अहिलेसम्म यो होटल निर्माणगरि सञ्चालनमा ल्याउँदासम्म आफुले धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै उनले हाल यो अवस्थामा आइपुगेको यस होटलको पूर्वाधार निर्माणमा आफुहरुले अनेक समस्या समेत भोग्नुपरेको बताए । पूर्वाधार निर्माणको क्रममा आइपरेका अनेक समस्यासँग जुधेर मात्र अहिले आफुहरु यो होटलमा पर्यटन लोभ्याउने अवस्थामा आइपुग्न सफल भएको उनको भनाई छ ।   


विशेषगरि टेरेसेस घरको बरन्डाबाट देखिने दृस्यको झल्को दिनेगरि निर्माण गरिएको समुन्द्री सदहबाट दुईहजार मिटर उचाइमा रहेको यस रिसोर्टका सबै कोठा एवं शयन कक्षबाट हिमालका दृस्य देख्न सकिने उनले जानकारि दिए । 

शेर्पाका अनुसार हाल यस होटलमा आउने पाहुँनाकालागि रिसोर्ट भन्दा केही माथी डाँडामा हेलिप्याड निर्माण गरि हेलिकोप्टर यात्राको समेत व्यवस्था गरिएका कारण अहिले विलासी पर्यटकको रोजाई यो होटल पर्न थालेको हो । 

यस रिसोर्टबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धवलागिरिसम्मका हिमश्रृंखलाका मनमोहक दृश्य देख्न सकिन्छ । आफुले ३८ वर्षअघि नै नेपाल आउने विलासी पर्यटकलाई यहाँको शान्त वातावरणमा रिसोर्ट सञ्चालन गरि पर्यटकीय सेवा दिने सोचसहित त्यतिबेला त्यसै खेर गईरहेको पाखो बारी खरिद गरेको र अहिले सोही जग्गालाई यसरी सदुपयोग गर्ने क्रममा धमाधम पर्यटक लोभिन थालेको शेर्पाले बताए । 

यस होटलका प्रबन्ध निर्देशक तेन्जिङ शेर्पाले जग्गा खरिददेखि अहिलेसम्म रिसोर्टमा करिब १ अर्ब रुपैयाँ लगानी भईसकेको बताए । आफ्नो बुबाले ३८ वर्षअघि गरेको लगानी जोड्दा त्यसको मूल्य धेरै हुने बताउँदै उनले रिसोर्ट निर्माण कार्य सन् २०१४ मा सुरुवात गरेपनि भूकम्प,नाकाबन्दी,कोरोना महामारीको कारण ७ वर्ष निर्माणमा नै समय खर्च भएको बताए ।

उनले हाल यस होटलतथा  रिसोर्टलाई लक्जरी स्तरको मापदन्डमा सञ्चालन गरिएको बताए । उनले यस रिसोर्टमा स्वदेशी तथा विदेशी पर्यटक आउने वातावरण बनाईएको बताए । यस रिसोर्टका जिएम सुमनसुन्दर श्रेष्ठले यहाँ आउने विलासी पर्यटकका लागि जंगलको माथी डाँडामा हेलिप्याड निर्माण गरि सोझै सोलुखुम्बुको लुक्ला हेलिकोप्टर उडानको प्याकेज पनि थपिदिएका कारण अहिले यहाँ पर्यटकको चहलपहल निकै बढ्न थालेको बताए ।  


यस होटलका सेल्स एन्ड मार्केटिङ मेनेजर अमृत ढकालले जानकारि गराए अनुसार ४० रोपनी क्षेत्रफल जग्गामा फैलिएको यस रिसोर्टमा दुईवटा सुईट रुम ,२८ वटा स्ट्यान्डर रुम,  लिभिङ रुम, बेडरुम, बाल्कोनी, ज्याकुजी, स्पा सहितका ४६ वटा कोठा रहेका छन । सबै कोठा विलासी पर्यटक लक्षित हुन् । राम्रो खर्च गर्ने पर्यटकलाई नै लक्षित गरेर १६ वटा डिलक्स रुम बनाइएको छ ।

यसैगरी, मध्यमवर्गीय पर्यटकलाई लक्षित गरी स्टान्डर्ड रुमको व्यवस्था गरिएको छ । यस्ता रुम २८ वटा छन् । हाल यस रिसोर्ट वरिपरिको वन जंगल मासिन नपाओस भनेर ८०० रोपनी जंगल भाडामा समेत लिइएको छ । 

अहिले यस रिसोर्टमा खुला स्वीमिड पुल र ज्याकुजी र स्पा पनि छ । पाहुनाको  मनोरञ्जनको लागि २ वटा विलियर्ड रुम छन् । योगा,स्पा र जिमका अलग अलग कक्ष छन् । यहाँ नेपाली, भारतीय, कन्टिनेन्टल र भूमध्यसागरीय क्षेत्रका परिकार पाइन्छ । सभा, सम्मेलन र सेमिनारसहित विभिन्न पार्टी गर्ने सुविधाका लागि २ सय जना क्षमताको सुविधा सम्पन्न कन्फ्रेन्स हल समेत छ । 


माउन्ट मोनास्ट्री प्रालिद्वारा निर्माण गरिएको यस होटलबाट काठमाडौ शहरको दृस्य एकदमै मनमोहक देखिन्छ । यस रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटर र ठमेलबाट २३ किलोमिटर दूरीमा पर्दछ ।

अझै लाकुरी भन्ज्याङ क्षेत्रमा यस्तो सुविधासम्पन्न होटल छैन । यस्तो प्राकृतिक सुन्दरताले  भरिएको जंगलको बीचमा होटल बनाउनुको कारण आफूहरूको मुख्य लक्ष्य विभिन्न संघसंस्थाको बैठक र सेमिनार गर्नु पनि रहेको होटल सञ्चालक शेर्पाको भनाई छ ।  

काठमाडौं उपत्यकाको दक्षिणपूर्वी भागमा समुद्री सदहबाट करिब २०१० मिटरको उचाइमा रहेको रिसोर्टबाट हिमालका मनमोहक दृश्य नियाल्न सकिने छ । त्यसैले अहिले यहाँ धमाधम स्वदेशी र विदेशी पर्यटक आ आफ्ना समुह तथा प्याकेज नै बनाएर पुग्न थालेको सो होटलले जनाएको छ । 








No comments:

Post a Comment