Saturday, June 17, 2017

आर्थिक सम्बृद्धिको आधार पर्यटन , पूर्वाधार निर्माण र हवाई सेवाको पहुँच विस्तार गर्नुपर्छ

मधुजंग पाण्डे
गत ३१ बैशाखमा पहिलो चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको लहरसँगै अहिले २०७२ साल बैशाखमा गएको विनासकारी भूकम्प र भारतीय नाकाबन्दीले थलापरेको मुलुकको पर्यटन क्षेत्रलाई माथी उकास्न धमाधम बैंकिङ लगानीको आकर्षण बढेको छ । आगामी ९ असारमा हुने भनिएको दोस्रो चरणको निर्वाचनपछि पर्यटन क्षेत्रमा हाल भईरहेको लगानीको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । स्थानीय तहको निर्वाचन पछि हुने विविध आर्थिक एवं अग्रगामी विकासका गतिविधीको सम्भावनालाई लक्षित गरि सरकारले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । अधिकाँश पुराना कार्यक्रमलाई नै निरन्तरता दिँदै राष्ट्रपति विद्यादेवि भण्डारीले प्रस्तुत गरेको सो नीति तथा कार्यक्रममा पनि आर्थिक सम्बृद्धिको आधार पर्यटन र उर्जा क्षेत्रको विकास भनिएको छ ।  यसैगरि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा बाराको निजगढमा निर्माण हुँदै गरेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल, भैरहवाको गौतमबुद्ध र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि कुल १३ अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ ।
राष्ट्रिय गौरबको आयोजना निर्माणकालागि केन्द्रिय सरकारी ढुकुटीबाट नै खर्च हुने गरि सो बजेट खर्च गर्ने लक्ष्य सरकारले लिएको छ । यसैगरि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान क्षमता बृद्धि एवं अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरोन्नति गर्ने सरकारको पुरानै कार्यको निरन्तरतासँगै  आगामी आवको बजेटमा कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङ मार्गमा परिणत गरी त्यसमाथि विमानस्थलको धावनमार्ग र पार्किङ वे थप गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।
अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत विविध काम भइरहेका छन् । सरकारले पहिलोपटक बजेट मार्फत कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङमार्गमा परिणत गरी धावनमार्ग र पार्किङ वे विस्तारको योजना बनाएको छ  । यो मुलुकको पर्यटन पूर्वाधारको निकै महत्वपूर्ण कार्य हो ।  सरकारको लक्ष्य अनुरुप यो बजेट व्यवहारमा कार्यान्वयन भई सकेसम्म छिटो काम भए पर्यटनमा निकै उपलब्धीमुलक कार्यक्रम हुने पर्यटन क्षेत्रका व्यवसायी एवं अन्य सरोकारवालाहरुले बताएका छन । बरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पाले यस बजेट अझै निजी क्षेत्रको अपेक्षा अनुरुप लगानीमैत्री नभएको बताएका छन् । उनले यसपालीको बजेटमा तीन वटा मिानस्थल निर्माणका कुरा बाहेक समग्र रुपमा पर्यटन क्षेत्रको थप विस्तारकालागि खासै नयाँ कार्यक्रम ल्याउन नसकेको बताए । उनले पर्यटन पूर्वाधारको विकासकालागि अझै सरकारले धेरै काम गर्नुपर्ने भन्दै अहिलेसम्मको यस पर्यटकीय गतिविधी निजी क्षेत्रको प्रयासमा मात्र भईरहेको बताए ।
शेर्पा लगायत अन्य सम्बन्धीत अधिकाँश व्यवसायी एवं सरोकारवालाहरुले बल्ल यसवर्ष बजेटमा नै उल्लेख गरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत विमानस्थलको ट्राफिक चाप न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङमार्गमा परिणत गरी धावनमार्ग र पार्किङ वे विस्तारको योजना ल्याइएकोमा यसलाई सरकारको राम्रो प्रयास भनेका छन । सरकारको यो महत्वकाँक्षी लक्ष्य पुरा भएको खण्डमा अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी पाहुनाको नजरमा फैलिएको नकारात्मक दृष्टि स्वतः हट्ने छ । अब विगतका वर्षहरुमा जस्तो अन्तर्राष्ट्रिय विमानस्थलमा भईरहेको हवाई ट्राफिक जामको समस्याबाट केही हदमा भएपनि हवाई यात्रुहरुले मुत्ति पाउने अपेक्षा गर्न सकिन्छ ।
पर्यटन पूर्वाधारको विकास र प्रवद्र्धनका विगतका कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई सहज हवाई सेवा उपलब्ध गराउने उदेस्य सहित विगत लामोसमयदेखि निकै अत्यावस्यक आवश्यकताको रुपमा देखिएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई विशेष  प्राथमिकतामा राख्दै अहिले यि तीनवटा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट विनयोजन गरेको हो ।
विश्वको सर्बोच्च शिखर सगरमाथामा तेन्जिङनोर्गे शेर्पा र सर एडमण्ड हिलारिले पहिलो पटक मानव पाइला टेकेको ६४ वर्ष पछि बजेट मार्फत सरकारले हाल सञ्चालित विमानस्थल स्तरोन्नती एवं नयाँ विमानस्थल निर्माण र हवाई सेवाको पहुँच विस्तार गर्ने लक्ष्य पुरा भएको खण्डमा संसारभरबाट सहज रुपमा नेपाल भित्रिने पर्यटकको  ओईरो लाग्ने छ ।  विमानस्थलसँगै अब सरकारले पर्यटकलाई गाउँ गाउँसम्म पु¥याउन हाल विक्री भईरहेका बाहेक अन्य नयाँ पर्यटकीय गन्तव्यस्थलको खोजी एवं प्रवद्र्धन गरि त्यहाँका स्थानीयवासीको आयस्तर बढाउनेतर्फ उन्मुख हुनुपर्छ ।


 
आर्थिक सम्बृद्धिको आधार पर्यटन गतिविधीलाई अपेक्षा गरिएअनुसार थप चलायमान बनाउन सबैभन्दा पहिले दुई वर्ष अघि भूकम्पले भत्किएका विश्व सम्पदाको सूचिमा रहेका सम्पदाहरुको तत्काल पुर्नरनिर्माण हुनुपर्छ । अहिलेसम्म खण्डहर अवस्थामा रहेको राजधानीको ऐतिहासिक धरोहर सुन्धाराको धरहरा, बसन्तपुर, पाटन र भक्तपुर दरवार संरक्षण क्षेत्र, स्वयम्भुनाथ, पशुपतिनाथ मन्दीर लगायत धेरै पर्यटकीय गन्तब्यस्थलहरुको अवस्था खण्डहर छ । अहिले बौद्धनाथको बौद्ध स्तुपाको पूर्नरनिर्माणको  काम मात्र सम्पन्न भएको देखिन्छ । सरकारको यस्तो कछुवाको गतिले भुकम्पले ढलेका भौतिक संरचना अझैसम्म अलपत्र रहेको र त्यहाँका बहुमुल्य बस्तुहरु धमाधम घाम र पानीले सढ्न थालेको दृस्यले विदेशी पर्यटकको नजरमा नकारात्मक प्रभाव पर्ने अवस्था कायमै छ ।
विश्व सम्पदा सूचिमा सूचिकृत यि क्षेत्रहरुमा पुग्ने पर्यटकलाई थप आकर्षित गर्न पर्यटकीय पूर्वाधार विस्तारमा जोड दिनुपर्छ । अहिलेसम्म पोखरा, चितवन, लुम्बिनी र सगरमाथालाई मात्र बिक्री गरिएको पुरातन  कार्यशैलीमा परिवर्तन ल्याउनु अवस्यक छ । मुलुकका हरेक गाउँ–टोलमा पर्यटक पु¥याउने वातावरण बनाउन अब होमस्टे एवं घरवास पर्यटनलाई पनि सरकारले उत्तिकै प्राथमिक्तामा राख्नुपर्छ । हाल सञ्चालित सगरमाथा लगायत विभिन्न हिमाल आरोहणकालाथि सरकारले थप नयाँ प्याकेज बनाउन सक्नुपर्छ । हाल आरोहणकालागि खुल्ला गरिएका हिमाल आरोहण शुल्कमा केही छुट एवं अन्य पर्यटक आकर्षणका थप नयाँ नयाँ प्याकेज ल्याउन सक्नुपर्छ ।  
मुलुकको पर्यटन प्रवद्र्धनकालागि सबैभन्दा पहिले पर्यटकलाई आरामसँग बस्ने ठुला तारे, डिलक्स, बुटिक एवं लक्जरी होटल सञ्चालनकालागि विभिन्न बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म करिब ५७ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस लगानी चालु आर्थिक वर्ष भन्दा अघिल्लो वर्षको तुलनामा करिब २७ अर्ब रुपैयाँले बढी हो । सो अवधिमा होटल क्षेत्रको व्यापार अपेक्षित रूपले नबढे पनि पूर्वाधार निर्माणका कामहरू निकै तिब्रताकासाथ अघि बढेकाले बैंक तथा वित्तीय संस्थाहरुको लगानी बढेको हो ।
आर्थिक वर्ष २०७१÷७२ मा होटल क्षेत्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानी जम्मा ३० अर्ब ११ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षमा त्यो लगानी बढेर ३९ अर्ब ९० करोड पुगेको रुपैयाँ पुगेको थियो । अघिल्लो वर्षको तुलनामा त्यो करिब साढे ३२ प्रतिशतले वृद्धि हो । विनाशकारी भूकम्पले क्षति पु¥याएका पुराना होटल र रिसोर्टहरूको निर्माण तीव्र रूपमा भइरहेकाले र अहिले नयाँ होटलहरुमा पनि स्वदेशी एवं विदेशी व्यवसायीको आकषर्ण बृद्धि भएसँगै अहिले यस क्षेत्रमा बैंकिङ लगानी बढेको सम्बन्धीत व्यवसायी एवं बैंकरहरूले बताएका छन् । उनीहरुले चालु आर्थिक वर्षको वितेका साढे ११ महिनाको अवधीमा पनि अपेक्षा गरिएको भन्दा निकै बढी होटल क्षेत्रमा बैंकिङ तथा वित्तिय लगानी थपिएको बताएका छन ।
होटल एसोसिएसन अफ नेपाल (हान) को तथ्याङक अनुसार अहिले ठुला तारे, डिलक्स एवं पर्यटकीय बुटिक गरि अहिले मुलुकभर २ सय ५० वटा भन्दाबढी होटल सञ्चालीत छन् । त्यत्तिकै संख्यामा स–साना होटल र रिसोर्टहरू पनि खुलेका छन् । ती होटलहरूमा ठूलो रकम लगानी भएको छ । हानका अनुसार विगत केही वर्षयता होटल एवं हस्पिटालीटि क्षेत्रमा लगानी गर्न कर्पोरेट क्षेत्र निकै आकर्षित देखिएको छ ।
हानका अध्यक्ष अमरमान शाक्यले नेपालमा स्थापित भइसकेका ब्राण्ड र कर्पोरेट क्षेत्रले बढाएको लगानीले यो क्षेत्रलाई थप उत्साहित बनाएको बताए । उनका अनुसार हस्पिटालीटी एवं होटल उद्योगप्रतिको लगानी निकै सकारात्मक देखिएको छ । पछिल्लो समय निर्माण सुरू गरेका र निर्माणाधिन होटलमा गरी मुलुकभर करीब ४ हजार कोठा संख्या थपको घोषणा भइसकेका छन् । अहिले सार्वजनिक घोषणा नगरी निर्माण सुरू गरिसकेका होटलको संख्या पनि धेरै रहेको उनले जानकारी दिए । पछिल्लो समय गैर आवासीय नेपाली संघ ( एनआरएन) का अध्यक्ष शेष घलेको लगानीमा निर्माण हुँदै गरेको ठमेलको सेराटन होटल सूर्य नेपाल, जगदम्बा ग्रुप, चौधरी ग्रुप, समिट ग्रुपले बनाउँदै गरेको होटल र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेहरुको लगानीमा ठमेलमा बन्दै गरेको छायाँदेवी कम्प्लेक्स भित्रको होटल सहितले होटल क्षेत्रमा देखाएको लगानी उत्साह नै पछिल्लो समयको सकारात्मक लगानीको वातावरण बनेको आभाव भएको उनको बुझाई छ । पछिल्लो समय कर्पोरेट क्षेत्रमा आफ्नो अलग पहिचान बनाएको सूर्य इन्टरप्राइजेजले पनि काठमाडौको रविभवनमा नयाँ होटल बनाउने घोषणा गरेको छ । सूर्य इन्टरप्रइजेजका संचालक प्रभाकरशम्सेर राणाले पाँचतारे डिलक्स होटल बनाउने योजना बनाएको बताएका छन् । राणाका अनुसार यस होटल ६ तारेसम्कै बनाउने योजना रहेको छ ।
अहिले यहाँ पाँचतारे डिलक्ससम्मको मात्रै स्तर निर्धारण गरिएकाले सोही स्तरको होटल हुने उनले जानकारी दिए । यसैगरि, मुलुकको सबैभन्दा पुरानो पाँचतारे होटल सोल्टीका सुरूवात कर्ता प्रभाकर शम्सेर राणाले होटल क्षेत्रलाई थप प्राथमिकता दिँदै लगानी गर्न लागेका हुन । कर्पोरेट क्षेत्रले होटलमा देखेको संभावनाकै करण पनि यो क्षेत्रप्रतिको उत्साह निकै सकारात्मक देखिएको उनको बुझाई छ । हाल नयाँ थपिन लागेका कर्पोरेट क्षेत्रका तारे देखि पाँचतारे डिलक्स सम्मका होटलमा करीब ५५ देखि ६० अर्ब रुपैयाँ लगानीको अनुमान गरिएको छ । यस अघि हानले दिएको तथ्यांक अनुसार ३७ सय कोठामैै ५७ अर्बको लगानी आइसकेको छ । डेड दर्जन होटलले मात्रै यस्तो लगानी प्रतिवद्धता देखाएका हुन । तारे स्तरभन्दा साना र थोरै लगानीका होटलको भने गणना नै नभएको हानले जनाएको छ । हानका अनुसार नेपालको होटल तथा हस्पिटालीटी क्षेत्रमा हाल करीब २ खर्ब रुपैयाँको लगानी अनुमान गरिएको छ ।
यसैगरि, काठमाडौको नागपोखरीमा निर्माण भइरहेको पाँच तारे होटल ‘म्यारियट’मा एनएमबी बैंकको नेतृत्वमा ३ अर्ब २० करोड रुपैयाँ लगानी भएको छ । बहुचर्चित अमेरिकी होटल चेन ‘म्यारियट’ले ब्यबस्थापन गर्ने यस होटलमा एनएमवी बैंकको नेतृत्वमा प्रभु बैंक र नेपाल बंगलादेश बैंक समेतको सहभागितामा ऋण लगानी भएको हो । कुल ३ सय २० रुम क्षमताको सो होटल निर्माणका लागि ४ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । सन् २०१८ को मध्यसम्ममा होटल निर्माण सकिएर संचालनमा ल्याउने लक्ष्य छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा कन्फ्रेन्स हल, क्यासिनो, मिनि गल्फ, हेल्थ क्लव, ब्याङ्क्वेट हल, स्पा लगायतका सुविधाहरु हुनेछन् । होटल क्षेत्रमा निजी क्षेत्रको कुल लगानीको वास्तविक तथ्याङक भने अझैसम्म बाहिर आएको छैन । भूकम्पका कारण गत वर्षको सुरुका ४÷५ महिना होटल क्षेत्रको व्यवसाय निकै सुस्ताएको थियो । अहिले धमाधम पुनः वृद्धिको बाटोमा लागेका छन ।
बैंक तथा वित्तीय संस्थालाई होटलमा कर्जा प्रवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत पुनर्कर्जा सुविधाको नीति ल्याएको थियो। सो व्यवस्था अन्तर्गत तोकिएका पर्यटकीय स्थानहरूमा होटल स्थापनाकालागि लगानीकर्ताले सस्तो ब्याज दरमा ऋण पाउने भएका छन् । यसरी सहुलियत दरमा कर्जा प्रवाह गरेबापत बैंक तथा वित्तीय संस्थाले ४ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकबाट पुनर्कर्जा सुविधा पाउने छन् । पुनर्कर्जा बापत पाएको रकम बैंक तथा वित्तीय संस्थाले ९ प्रतिशत ब्याज दरमा नबढाई ऋण प्रवाह गर्नुपर्ने छ । जसका कारण पनि अहिले होटलमा लागनी विस्तार गर्न बैंकहरूलाई थप उत्साह मिलेको सम्बन्धीत सरोकारवालाहरूको भनाई छ ।
‘पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रूपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माईपोखरी, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न स्तरीय होटल स्थापना गर्न साधारण पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गरिने छ’ चालु आर्थिक वर्ष २०७३÷७४ को मौद्रिक नीतिमा भनिएको थियो ।
पर्यटकीय सम्भावना भएर पनि तुलनात्मक रूपमा पछि परेका क्षेत्रमा धेरैभन्दा धेरै पर्यटक भित्राउने उद्देश्यले नेपाल राष्ट्र बैंकले विगतका वर्षहरुको तुलनामा गतवर्ष निकै सहुलियत दरको कर्जा नीति ल्याएको जनाइएको थियो । गत आर्थिक वर्षमा समग्र सेवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी १ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा सो लगानी करिब १७ प्रतिशतले बढेको हो । ती मध्ये पर्यटन क्षेत्रभीत्रका (ट्रेकिङ, आरोहण एवं पदयात्रा, रिसोर्ट,¥याफटिङ र क्याम्पिङ) मा गत वर्ष बैंकहरूले ११ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अब सरकारले अहिलेसम्म निजी क्षेत्रले होटल लगायत अन्य पर्यटकीय पुर्वाधार क्षेत्रमा खनाएको यति धेरै लगानीको सुरक्षा एवं उचित संरक्षण गर्न सक्नुपर्छ । नत्र उनीहरुको लगानी त्यसै डुब्ने छ भने मुलुकको पर्यटन क्षेत्रको विकास धप धरासायी हुन सक्नेप्रति सरकार बेलैमा सचेत हुनुपर्छ ।
यसैगरि, सरकारले तत्काल यसअघि भएका पर्यटनका गुरुयोजना कार्यान्वयन गर्न सक्नुपर्छ ।  सरकारले अहिले सबै प्रदेशमा पर्यटन विकासका सम्भावना उजागर गर्दै गन्तव्य विस्तार गर्ने उद्देश्यसहित गुरुयोजना बनाइरहेको छ । आगामी आवमा बनिसकेका गुरुयोजना कार्यान्वयन गर्ने र बाँकी स्थानमा गुरुयोजना बनाउने योजना बनाएको छ । त्यसबाहेक पर्यटन व्यवसायी र पर्यटकलाई उत्साहित गराउने कार्यक्रम भने अझै आगामी आवको बजेटले समेटेको छैन । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबाट कार्यान्वयन हुने खुद्रे कार्यक्रम अब स्थानीय तहबाटै कार्यान्वयन हुने अपेक्षा गरिएपनि अझै यस बजेट कार्यान्वयनमा सरकार निकै गम्भिर हुनुपर्छ ।

No comments:

Post a Comment