Wednesday, December 23, 2015

पर्यटन बोर्डका नवनिुक्त सिइओ जोशीद्धारा पदभार ग्रहण, निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता

काठमाडौ, ८ पुस – नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बुधबार पदभार ग्रहण गरेका छन् । गत साता संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको पर्यटन बोर्ड बैठकले जोशीलाई सिइओमा नियुक्त गरेको थियो । पदभार सम्हालेपछि नवनियुक्त सिइओ जोशीले निजी क्षेत्रको सहकार्यमा नै पर्यटन बोर्डको आगामी कार्यक्रम अघि बढ्ने बताए । उनले सरकार र निजी क्षेत्रसँगको आपसी सहकार्यमा मुलुकको पर्यटन प्रवद्र्धनमा जुट्ने प्रतिवद्धता जनाए । उनले आफ्नो चार वर्षे कार्यकालमा विभिन्न चारओटा रणनीति बनाएर बोर्डको भावी कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने आफ्नोे योजना रहेको बताए ।
 उनले गत बैशाखमा गएको विनाशकारी भूकम्प, नाकाबन्दी र विभिन्न बहानामा हुने गरेका बन्द हडतालका कारण अहिले स्वाटै घटेको पर्यटक बढाउने अभियान आफ्नो पहिलो चुनौती भएको बताए । यो चुनौतीसँगसँगै बोर्डमा अपनत्व महशुस नगरेको निजी क्षेत्र र सरकारबीच पुलको रुपमा काम गर्नुपर्ने आफ्नो अर्को दायित्व रहेको भन्दै उनले अहिले मुलुकको पर्यटन गम्भिर संकटमा परेकाले पहिलो प्राथमिकता मुलुकको पर्यटन बचाउनु नै रहेको बताए । उनले सन् २०१६ लाई इयरर्स अफ सर्भाइभलको रुपमा लिएका छन् । उनले अहिले वार्षिक पर्यटक आगमनको संख्या निकै घटेर जम्मा तीन लाखमा झरेको पर्यटकलाई फेरी ८ लाख पु¥याउने पहिलो लक्ष्य रहेको बताए । यसैगरी,उनले २०१७ लाई इयर अफ रिभाइभल भनेका छन् । त्यसैगरि सन २०१८ लाई इयर अफ रिभाइन रिग्रेसन र सन २०१९ लाई बिल्डिङ ब्याक बेटर वर्षका रुपमा मनाउने आफ्नो ब्यक्तिगत योजना रहेको जानकारी दिए । बुधबार राजधानीमा आयोजित सो कार्यक्रममा बोर्डका संस्थापक सदस्य एवं बरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्रले पहिले जुन उद्देश्य लिएर बोर्डको गठन गरिएको थियो अहिले नयाँ सिइओले सोही उद्देश्य प्राप्तीमा अघि बढ्नुपर्ने बताए । पर्यटन क्षेत्रको विकास भएमा मात्र स–सानादेखि ठेला नेपालीलाई पाल्न सक्ने बताउँँदै उनले सरोकारवाला सबै मिलेर पर्यटन प्रवद्र्धनमा जुट्न आग्रह गरे ।

अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले आफ्नो दायित्व राम्रोसँग निभाउन नवनियुक्त सिइओ जोशीलाई सुझाव दिए । ‘हामीले तपाईसँग धेरै अपेक्षा गरेका छौं’ उनले भने, ‘हाम्रो आशालाई निरासामा परिणत हुन नदिनुहोला’।
बोर्ड सञ्चालक समितिका सदस्य  समेत रहेका न्यौपानेले छिट्टै बोर्डको बैठक बसेर पर्यटन प्रवद्र्धनका लागि बजेट र कार्यक्रमहरु बनाउन आग्रह गरे । ट्रेकिङ एजेसिज् एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले निजी क्षेत्रको मनोवल बढाउने गरी काम गर्न जोशीलाई सुझाव दिए । ‘बन्द हडताल, नाकाबन्दीले हाम्रो आत्मवल गिरेको छ, विगतमा बोर्डले निजी क्षेत्रलाई टाढा बनायो’ उनले भने, ‘पछिल्लो समयमा बोर्डको बिग्रिएको छबी सुधार्दै निजी क्षेत्रलाई सँगसँगै लिएर पर्यटन अघि बढ्नुहोला’ । सो कार्यक्रममा नयाँ सिइओ छनोट समितिका संयोजक एवं बोड सञ्चालक समितिका सदस्य घनेन्द्रबहादुर श्रेष्ठ, अर्का बोर्ड सदस्य राजेन्द्रप्रसाद सापकोटा लगायतले सिइओ जोशीको आगामी ४ वर्षे कार्यकाल निकै राम्रोसँग बित्ने अपेक्षा गरेका थिए ।


No comments:

Post a Comment