Tuesday, July 5, 2016

हेलिकोप्टर चढ्नेको पनि कडा सुरक्षा जाँच हुन्छ


आनन्दप्रसाद पोखरेल 

मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन 

विगत आठ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री आनन्दप्रसाद पोखरेलले छोटो समयमा मुलुकको पर्यटन प्रवद्र्धनमा उदाहरणीय कार्यक्रम प्रस्तुत गर्न सफल भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका समस्या समाधान गर्दै सुधारका लागि उनले प्रशंसनीय कामको थालनी पनि गरीसकेका छन् । मुलुकको हवाई सुरक्षालाई थप बलियो बनाउन उनले अब हेलिकोप्टर चढ्नेका लागि पनि कडा सुरक्षा जाँच गर्ने प्रक्रिया अघि बढाइसकेका छन् । अहिलेसम्म कसैले नगरेको होलिकप्टर चढ्नेको सुरक्षा जाँचले सुन तस्करीलगायत उच्च हिमाली भू–भागमा रहेका बहुमूल्य जडीबुटी ओसार–पसार गर्ने कार्य नियन्त्रण हुने मन्त्री पोखरेलेको विश्वास छ । विदेशी पर्यटकलाई मात्र होइन, स्वदेशीलाई पनि सहज रूपमा हवाई सेवाको पहुँच विस्तार गर्ने काममा सरकार कमजोर हुनुहुन्न भन्ने मान्यताका साथ अघि बढेका मन्त्री पोखरेलले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विकृति हटाएर यात्रुलाई राम्रो सेवा दिलाउन सफल हुनुका साथै लामो समयदेखि बन्द अवस्थामा रहेका करिब आधा दर्जनभन्दा बढी आन्तरिक विमानस्थल पुःन सञ्चालन गर्न भ्याइसकेका छन् । अझै, उनले केहीलाई तत्काल पुनःसञ्चालन गर्ने अवस्थामा पु¥याउने र नयाँ क्षेत्रमा हवाई सेवा विस्तार गर्ने अठोटका साथ काम अघि बढाएका छन् ।
२०३४ सालदेखि राजनीतिक क्षेत्रमा प्रवेश गरेका एमाले नेता पोखरेल दोलखा–२ बाट निर्वाचित सांसद हुन् । देशका हरेक गाविसमा हेलिप्याड बनाउने अभियान अघि बढाएका मन्त्री पोखरेलको पूर्व मेचीदेखि पश्चिम महाकालीका कुना काप्चासम्म पर्यटकीय गतिविधि बढाएर आर्थिक विकास गर्ने लक्ष्य छ । उनले आफ्नो कार्यकालमा नेपाल वायुसेवा निगमलाई आवश्यक थप नयाँ जहाज जसरी पनि ल्याई छाड्ने दाबी पनि गरेका छन् । मुलुकको पर्यटन क्षेत्रले भोग्नुपरेका अनेकौं चुनौती एवं पर्यटन विस्तारका लागि भएका सुधारात्मक कार्य र भावी योजनाबारे राजधानी सहकर्मी मधुजंग पाण्डेले मन्त्री पोखरेलसँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीका मुल अंश ः

पर्यटनको प्रतिफल गाउँसम्म पु¥याउन के कस्ता काम भइरहेका छन् ? 
– पर्यटनको सन्दर्भमा कुरा गर्दा पर्यटन विकासका लागि नेपालको सम्भावनाका बारेमा संसारका कुनै मुलुकसँग तुलना गर्न सकिँदैन । नेपालमा यति धेरै पर्यटकीय वस्तु छन् । यहाँको पर्यटन गाउँ केन्द्रित छ । नेपालको पर्यटन सहरकेन्द्रित होइन, सरकारको नीति तथा कार्यक्रम पनि गाउँकेन्द्रित नै छ । जसको प्रत्यक्ष अनुभूति गाउँमा पुगेपछि सजिलै देखिन्छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पनि त्यही किसिमले विनियोजन भएको छ । साहसिक पर्यटन पदयात्रा भ्रमण, हिमाल आरोहण, क्यानोनिङ, ¥याफ्टिङ, हनि हन्टिङ लगायतका पर्यटकलाई आनन्द दिने गतिविधि पनि गाउँकेन्द्रित नै छ । त्यसैले, सरकारले पर्यटन प्रवद्र्धनको केन्द्र गाउँलाई नै बनाएको छ । कसरी दुर्गम गाउँका नागरिकलाई पर्यटनबाट प्राप्त प्रतिफलको केही हिस्सा दिन सकिन्छ भनेर सरकारले स्थानीय उत्पादनको प्रवद्र्धन गरी घरवास पर्यटन (होमस्टे)लाई प्राथमिकताका साथ अघि सारेको छ । यसैगरी, ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले उच्च हिमाली भेगमा भएका साहसिक पर्वतीय पर्यटनको विकासलाई पनि जोड दिएको छ । स्थानीय संस्कृति र विविध जात–जातिका परम्परागत संस्कारलाई पनि पर्यटक आकर्षणको माध्यम बनाउन सरकार क्रियाशील छ । यहाँका सबै हिमाली क्षेत्रमा ग्रामीण पर्यटनको प्रशस्त सम्भावना छ । यदि, अहिलेसम्म सगरमाथा चढ्ने प्रयास कसैबाट नभएको भए अहिले सगरमाथा विश्वको सर्वोच्च शिखर भनेर संसारका आरोहीबीच को पहिला चढ्ने र कस्ले नयाँ कीर्तिमानीको रेकर्ड राख्ने ? भन्ने होड नै चल्ने थिएन । नेपालका ७५ वटै जिल्लाका हरेक गाउँ, टोलमा पर्यटनको सम्भावना छ । सरकारले त्यहाँको पूर्वाधार विस्तारका लागि खर्च गरेर स्थानीय उत्पादनको प्रवद्र्धन गरी घरवास पर्यटन (होमस्टे)को माध्यमबाट देशका हरेक कुना काप्चाका मान्छेलाई पर्यटनको प्रतिफल दिलाउने लक्ष्य लिएको छ ।

पर्यटनको प्रतिफल गाउँमा पु¥याउने माध्यम के त ?
– नेपाल भ्रमणका लागि विभिन्न मुलुकबाट आएका पर्यटकले यहाँ बस्दा खर्च गरेको आम्दानीको केही प्रतिशत हिस्सा दुर्गम गाउँसम्म पु¥याउने सबैभन्दा सजिलो माध्यम घरवास पर्यटन (होमस्टे) नै हो । होमस्टेकै माध्यमबाट हरेक गाउँका बासिन्दाले आफ्ना उत्पादन बिक्री गरी पर्यटकले डलरमा खर्च गरेको रकमको केही प्रतिशत सजिलै प्राप्त गर्न सक्छन् । जसले स्थानीवासीको आर्थिक आय–आर्जनमा निकै मद्दत पुग्छ । यसलाई नै सरकारले पर्यटनको प्रतिफल मुलुकका हरेक गाउँ–गाउँसम्म पु¥याउने भनेको हो । सगरमाथा, जनकपुर, मेची र महाकालीलगायत अन्य पर्यटकीय गन्तव्यमा भएका गाउँका पुराना बस्तीलाई पर्यटक बस्न लायक बनाएर होमस्टे सञ्चालन गर्न सकिन्छ । अहिले नेपालका सबै गाउँ होमस्टे हुन सक्छन् । सरकारको मान्यता पनि त्यही हो । हामीले पर्यटन विकासको रणनीति तयार पारेका छौं । यसले पनि होमस्टे पर्यटनलाई विशेष महŒव दिएको छ । अब, सरकारले यहाँका हरेक गाउँलाई घरवास पर्यटन प्रवद्र्धनको अवधारणाअनुसार अघि बढाउँछ । यहाँ भएका १ सय २४ वटा जनजाति र १ सय २५ भाषा बोल्ने समुदायलाई समेटर मुलुकको पर्यटन विकासका लागि अघि बढ्नुपर्नेछ । अहिले हामी सोही काममा लागिरहेका छौं ।

होमस्टे सुधारका लागि चाँही के काम भइरहेको छ त ?
– नेपालका सबै गाउँ होमस्टेमुखी भएकाले यसअघि सञ्चालित पुराना होमस्टे घरहरूको संरचना परिवर्तन गरी पर्यटकको चाहनाअनुसारको बनाउने गरी सुधारको प्रयास थालिएको छ । पर्यटकलाई आवश्यक इन्टरनेट, वाइफाइ सुविधा, एटेज वाथरुमसहितको बनाउन सरकारले हाल सञ्चालित होमस्टे सेवा सुधार गर्न लागेको हो । हाल सञ्चालित चितवन, नवरपरासी र बर्दियाको होमस्टेलाई पनि थप सुधार गर्नुपर्ने देखिन्छ । अब सरकारले होमस्टे सुधार र व्यवस्थापनका लागि नयाँ मापदण्ड तोक्छ । होमस्टे सञ्चालनका लागि पर्यटकलाई राख्ने कोठा बेग्लै हुनुपर्छ । विनाशकारी भूकम्पपछि नयाँ घर बनाउने क्रममा पनि सरकारले पुनर्निर्माण प्राधिकरणसँग आग्रह गरी नयाँ नक्सा पाससहितको व्यवस्था गरेको छ । अहिले मैले प्राधिकरणलाई आग्रह गरेर सम्बन्धित नगरपालिका, जिविस र स्थानीय निकायलगायतका क्षेत्रमा नयाँ बन्ने घर निर्माणको क्रममा पर्यटकमैत्री घर बनाउने कार्यलाई जोड दिएको छु । आम जनतालाई अब होमस्टे बनाउँदा दुईटा कोठा पर्यटकलाई बस्न मिल्ने खालको बनाउन आग्रह गरेको छु । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पनि सोहीअनुरूपको काम गर्न परिपत्र गरिसकेको अवस्था छ । ग्रामीण पर्यटकीय गन्तव्यको सम्भावना भएका क्षेत्रका गाउँमा सोहीअनुरूपका घर बनाउन निर्देशन पनि दिएको छु ।
भूकम्पले क्षतविक्षत बनेका सम्पदा पुनर्निर्माणमा के भइरहेको छ त ?
–अहिले भूकम्पले भत्किएका सम्पदा पुनर्निर्माणको कामले तीव्रता पाइरहेको छ । हामीसँग दुईवटा सम्पदा छन् । पुराताŒिवक महŒवका र विश्व सम्पदामा सूचीकृत सम्पदाहरू रहेका छन् । काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदामा सूचीकृत सम्पदाहरूमा भूकम्पबाट केही क्षति भएको छ । अहिले पर्यटन मन्त्रालयमै आर्कोलोजिस्ट डिपार्टमेन्ट परेको छ । जसले, भत्किएका संरचनाको पुनर्निर्माण गर्ने कार्यको चुनौती लिएको छ । अहिले हामीले विभिन्न राष्ट्रसँग निर्माणमा सहयोगको हात अघि बढाउन आग्रह गरेका छौं । छिमेकी मुलुक चीन, भारत, श्रीलंका, जर्मनी, फ्रान्स र स्विट्जरल्यान्डसँग सहयोग गर्न आग्रह गरेका छौं । यसैगरी, भूकम्पपछि गठन भएको पुनर्निर्माण प्राधिकरण र स्थानीय विकास मन्त्रालयसँग पनि बाँकी रहेका सम्पदाको पुनर्निर्माणमा सहयोग गरीदिन आग्रह गरेका छौं । पुनर्निर्माण प्राधिकरणमार्फत बाँकी रहेका सम्पदा निर्माण गर्न योग्यता पुगेका १ सय १ वटा टेन्डर आह्वान गरेका छौं । जसमा ५०÷५१ वटा ठेक्का लागिसकेको अवस्था छ । अन्य बाँकी ठेक्का पनि चालू र आगामी आर्थिक वर्षभित्र सम्झौता भई काम अघि बढाइनेछ ।
लुम्बिनी विकासका लागि बुद्धिस्ट सर्किट बनाउने योजनाचाहिँ कता हरायो ?
–लुम्बिनी बुद्धको जम्मथलो मात्र नभई बुद्धिजमको उद्गमथलो पनि भएकाले यसको विकास र प्रवद्र्धन हुनु आवश्यक छ । त्यसैले, सरकारले पनि संसारभरिका बुद्ध धर्मावलम्बीको आस्थाको धरोहर गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई व्यवस्थित रूपमा विकास गर्न खोजेको हो । बुद्धिस्ट सर्किट निर्माणका लागि कपिलवस्तु र नवलपरासीलगायत आसपासका क्षेत्रलाई समेटेर नयाँ पर्यटकीय मार्गका रूपमा अघि बढाउन लागिएको छ । लुम्बिनीमा अहिले ‘लाइट एन्ड साउन्ड’ सहितको पर्यटकीय आकर्षण थपिएको छ । जसका कारण अहिले सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई पनि तीव्रताका साथ अघि बढाएको छ । सन् २०१८ सम्ममा सबै काम सम्पन्न हुने गरी विमानस्थल निर्माणको काम अघि बढेको छ । सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०१२’ मनाएपछि पुनः यसपालि अन्तर्राष्ट्रिय बौद्धसम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ । त्यो मुलुकको पर्यटन प्रवद्र्धनका लागि निकै प्रभावकारी र फलदायी भएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई भन्दा सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बढी प्राथमिकता दिएको हो ? 
–त्यो होइन, बाराको निजगढमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलभन्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने काम केही छिटो भएको मात्र हो । सरकारले नियतवश लुम्बिनीलाई बढी प्राथमिकता दिएको होइन । अहिले तुलनात्मक रूपमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलभन्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका केही काम अलि छिटो अघि बढेको हो मात्र हो । निजगढलाई पनि सरकारले रणनीतिक महŒवका रूपमा लिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि चाहिँ के काम भइरहेका छन् त ? 
– अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि प्रधानमन्त्रीको निर्देशनपछि धेरै सुधारात्मक काम भएका छन् । आगामी ६ महिनाभित्रमा यस विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डको सबै सुविधा सम्पन्न बनाउने लक्ष्यका साथ काम अघि बढेको छ । विमानस्थलभित्रका विविध समस्या समाधानसँगै अहिले मुलुकको हवाई सुरक्षाका लागि पनि धेरै सुधारका काम भएका छन् । अहिले हेलिकोप्टरबाट काठमाडौं आउने आन्तरिक पर्यटकलगायत सबै यात्रुको चेकजाँच कडा पारिएको छ । मुलुकको हवाई सुरक्षालाई थप बलियो बनाउन हेलिकोप्टर चढ्नेका लागि पनि कडा सुरक्षा चेकजाँच गर्ने यो पहिलो सरकारी प्रक्रिया हो भन्ने मलाई लागेको छ । अहिलेसम्म कसैले नगरेको होलिकोप्टर चढ्नेलाई सुरक्षा चेक जाँचले सुन तस्करीलगायत उच्च हिमाली भू–भागमा रहेका बहुमूल्य जडीबुटी ओसार–पसार गर्ने कार्यमा नियन्त्रण हुनेछ । मुलुकका विभिन्न भागमा पुगेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ फर्किन हेलिकोप्टर चढ्ने यात्रुको सुरक्षा चेक जाँचका लागि अब सम्बन्धित जिल्लामा सुरक्षाकर्मी परिचालन गरी चेक जाँच गर्ने कार्यलाई अनिवार्य बनाइनेछ । मुलुकका विभिन्न ठाउँलगायत आन्तरिक विमानस्थलबाट काठमाडांै आउने यात्रुको खानतलासी गरी सुरक्षा व्यवस्था कडा बनाउने प्रयास रहनेछ । त्यसैले, उच्च हिमाली क्षेत्रका स्थानीयवासीको जनगुनासो अनुरूप नै हेलिकोप्टरमा यात्रा गर्नेको पनि सुरक्षा जाँच गर्ने काम अघि बढाइएको हो । अहिले सबैभन्दा धेरै आएको गुनासोका आधारमा यस विमानस्थलभित्रका हवाई यात्रुको ब्यागेज लिने कार्यमा भइरहेको ढिलाइलाई सुधार गरी छिटो लिने व्यवस्था मिलाइएको छ । सामान चेक हुने एक्स–रे मेसिन थपिएको छ । विमानस्थलभित्रका कर्मचारीलाई सेवाग्राहीको कामभन्दा फेसबुकमा अल्मलिएर बस्ने प्रवृत्ति नियन्त्रणका लागि अहिले पूर्णरूपमा फेसबुकमा प्रतिबन्ध लगाइएको छ । एयर ट्राफिकको समस्या नियन्त्रणको प्रयास भएको छ ।

तपाईबाट हवाई पहुँच विस्तार गर्न के–के काम भयो त ? 
– मैले जिम्मेवारी सम्हालेदेखि अहिलेसम्म धेरै काम गरेको छु । मेरो कार्यकालमा विमानस्थल सुधार र विस्तारका क्रममा भएका विविध कामका बारेमा भन्नैपर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य थालनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम थालनी गराउन सफल भएको छु । यी मुख्य तीन काम मैले यस मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रत्यक्ष रूपमा देखिएका काम हुन् । हाल सञ्चालित विमानस्थलको संरचनागत विस्तार एवं स्तरोन्नति नयाँ विमानस्थल बनाउने र पुराना विमानस्थलाई पुनः सञ्चालनमा ल्याउने काम भएका छन् । नेपाल वायुसेवा निगमलाई आवश्यक नयाँ जहाज थप्ने प्रयास भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि हिमालय एयरलाइन्सजस्ता स्वदेशी एवं विदेशी लगानीका हवाई सेवा थप गरिने काम पनि मेरो कार्यकालमा नै भएको छ । यसैगरी, विभिन्न मुलुकसँग हवाई सम्झौता हुने कामले पनि तीव्रता पाएको छ । सडक विस्तार एवं राजनीतिक स्वार्थका कारण बन्द भएका विभिन्न क्षेत्रका आन्तरिक विमानस्थल पुनः सञ्चालनमा ल्याउने प्रयास भएको छ । अहिले यी विमानस्थललाई राम्रोसँग सञ्चालन गर्नका लागि स्थानीयवासीको सक्रियतामा सामुदायिक सञ्चालनको अवधारणाअनुसार लैजाने तयारी भइरहेको छ । यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारदेखि विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय विमानस्थल बनाउने कार्य तीव्रताका साथ अघि बढेको छ ।

नेपाल वायुसेवा निगमको थप जहाज ल्याउने तयारी कहाँ पुगेको छ नि ?
–मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई आवश्यक थप नयाँ जहाज खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । जसका लागि रकम जोहो गर्न अर्थ मन्त्रालयको सहमति आवश्यक छ । चारवटा चिनियाँ र दुएईवटा ठूला एयरबस जहाज ल्याउन बजेट निकासा गर्नका लागि अर्थ मन्त्रालयको निर्णय मात्र कुरेका छौं । अहिले अर्थ मन्त्रालयसँग बजेटबारे छलफल भइरहेको छ । सम्भवतः यस आर्थिक वर्षभित्रमा त्यसको टुंगो लाग्छ । पर्यटन मन्त्रालय अर्थ मन्त्रालयसँगको आपसी सहमतिअनुरूप थप नयाँ जहाज ल्याउने तयारी भएकाले अर्थ मन्त्रालयको निर्णय प्राप्त भएपछि तत्काल काम अघि बढ्छ ।

अहिले निगममा व्यवस्थापन सुधार कि नयाँ जहाज आवश्यक हो नि ? 
–मेरो विचारमा अहिले व्यवस्थापन सुधार र नयाँ जहाज दुवै अति आवश्यक भएको छ । यी दुवै आवश्यकतालाई सकेसम्म छिटो पूरा गर्न पर्यटन मन्त्रालय तल्लीन छ । म पर्यटनमन्त्री भएर आएदेखि अहिलेसम्म निगम व्यवस्थापनमा धेरै सुधार भइसकेको छ । वायुसेवा निगमभित्र भइरहेका विविध समस्या समाधान गर्न पर्यटन मन्त्रालयको तर्फबाट धेरै काम भएको छ । निगम व्यवस्थापन हायरमा गर्ने सरकारी निर्णय भएको सबैलाई जानकारी भएकै कुरा हो । अझै, निगमभित्रको आन्तरिक प्रशासनका कार्य कमजोर नै छ । त्यहाँभित्रका कर्मचारीबीच एकअर्कामा आरोप एवं अनावश्यक लान्छना लगाई दुःख दिने प्रवृत्ति हाबी छ । मैले सो विषयलाई गम्भीर रूपमा हेरेको छु । हाल मैले उनीहरूलाई आफ्नो कामप्रति थप जिम्मेवार हुनुप¥यो, आफूभन्दा ठूलाले दिएको निर्देशन अनुशासित ढंगले पालना गर्नुपर्छ र सुरक्षा व्यवस्था एकदमै मजबुद हुनुपर्छ भनेर निर्देशन गरिसकेको छु ।
अझै पनि निगममा पुरानो धङधङी मेटिएको छैन । त्यहाँको संरचना नबदलिकन हुँदैन भन्ने धारणाअनुरूप अहिले मन्त्रालय समयअनुकूल निगम व्यवस्थापन सुधार कार्यमा अघि बढेको छ । अहिले मैले निगमको ३ वर्षे कार्ययोजना स्वीकृति गराउन सफल भएको छु ।

लुम्बिनी विकास कोषले आवश्यक रकम अभावका कारण लक्ष्यअनुरूप काम हुन नसकेको भनिरहेको छ नि ? 
– त्यो कोषको वाहियात कुरा हो । लुम्बिनी विकास कोषलाई सरकारले पर्याप्त रकम उपलब्ध गराएको छ । हरेक वर्ष कोषले बजेट फ्रिज गरेको अवस्था छ । गत वर्ष केही पनि काम भएकै छैन । लुम्बिनी विकास कोषको नेतृत्व तहको गैरजिम्मेवारीको चरम लापरबाही हो । त्यहाँका कर्मचारीको असक्षमताले मात्र लक्ष्यअनुरूप काम नभएको हो । यसअघि पनि सरकारले घोषणा गरी औपचारिक रूपमा सम्पन्न भएको लुम्बिनी भ्रमण वर्षको प्रचार–प्रसारदेखि पूर्वाधार निर्माण गर्ने सबै कार्यको दायित्व पूरा गर्नका लागि पर्यटन मन्त्रालयले सहयोगीका रूपमा काम मात्र गर्नुपर्ने हो । तर, हामीले अहिलेसम्म पर्यटन मन्त्रालय मातहतका सबै निकायलाई आग्रह गरेर लुम्बिनी क्षेत्रको प्रवद्र्धन र विकासमा जोड दिएका छौं ।
अहिले व्यवस्थापन सुधार र नयाँ जहाज दुवै अति आवश्यक भएको छ । 
निजगढलाई पनि रणनीतिक महŒवका रूपमा लिइएको छ 
लुम्बिनी विकास कोषको नेतृत्व तहको गैरजिम्मेवारी र चरम लापरबाहीले लक्ष्यअनुरूप काम भएन
होलिकप्टर चढ्नेलाई सुरक्षा जाँच गर्दा सुन तस्करीलगायत उच्च हिमाली भू–भागमा रहेका बहुमूल्य जडीबुटी ओसार–पसार कार्य नियन्त्रण हुन्छ
आगामी ६ महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डको सबै सुविधासम्पन्न बनाउने लक्ष्यका साथ काम अघि बढेको छ
अब सरकारले होमस्टे सुधार र व्यवस्थापनका लागि नयाँ मापदण्ड तोक्छ । होमस्टे सञ्चालनका लागि पर्यटकलाई राख्ने कोठा बेग्लै हुनुपर्छ । विनाशकारी भूकम्पपछि नयाँ घरहरू बनाउने क्रममा पनि सरकारले पुनर्निर्माण प्राधिकरणसँग आग्रह गरी नयाँ नक्सा पाससहितको व्यवस्था गरेको छ । आम जनतालाई अब होमस्टे बनाउँदा दुईवटा कोठा पर्यटकलाई बस्न मिल्ने खालको बनाउन आग्रह गरेको छु ।

No comments:

Post a Comment