Wednesday, August 17, 2016

साउदीले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध हटायो , नेपालीको माग ह्वात्तै घट्ने व्यवसायीको अनुमान


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३० साउन
नेपाली कामदारकालागि आकर्षक गन्तब्य मुलुक साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ ।  विगत ६ वर्ष देखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले पुनः बंगलादेशबाट आफ्नो मुलुकमा कामदार लिन लागेको हो ।
विभिन्न देसबाट गएका आप्रवासी कामदार घटाउँदै लैजाने नीतिकाबीच बंगलादेशबाट कामदार लिने साउदीको यस नयाँ निर्णयले नेपाली कामदारको माग ह्वात्तै घट्न सक्ने सम्बन्धीत व्यवसायीहरुको भनाई छ ।  उनीहरुका अनुसार बंगलादेशी कामदारपनि नेपाली कामदार भन्दा न्युन पारिश्रमिकमा खाडी जाने गरेका छन् । जसकारण साउदी अरेबियाका रोजगारदाता कम्पनीले बंगलादेशी कामदारलाई प्राथमिकता दिएमा नेपाली कामदारको माग निकै घट्न सक्ने ति व्यवसायीहरुको भनाई छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले बंगलादेसको यस नयाँ निणर्यले अब नेपाली कामदारको माग करिब ७५ प्रतिशत भन्दा बढीले घट्न सक्ने अनुमान गरिएको बताए । उनले अब विशेषगरि नेपाली सुरक्षा गार्डको माग निकै घट्ने दावी गरे । बंगलादेशी कामदार जम्मा सु्ख्खा ७ सय रियालमा नै काम गर्न तयार हुने जानकारी गराउँदै संघका महासचिव गुरुङले भने, ‘ नेपाली सुरक्षा गार्डलाई अनियार्व हवाई टिकट सहित ८ सय रियाल र त्यसमाथी २ सय गरि एक हजार साउदी रियाल दिनु्पर्ने भएकाले बंगालीको माग स्वतः बढ्ने देखिन्छ’। उनले बंगलादेशका कामदारले हवाई टिकट आफैं काटेर जाने भएपनि हाल नेपाली कामदार जाँदा अनिवार्य निःशुल्क भिषा र हवाई टिकट दिनुपर्ने व्यवस्थाले आगामी  वर्ष साउदीकालागि नेपालीको माग हवात्तै घट्ने बताए ।   साउदीको रोजगारीमा नेपाली कामदारको माग घट्न सक्ने सम्भावनाप्रति नेपाल सरकार गम्भिर नभए अब साउदीको सुरक्षा गार्डमा बंगाली लगायत सबै अफ्रिकी मुलुकहरुबाट मात्र आपुर्ति हुन सक्ने अनुमान गरिएको बताए । उनले अब साउदीले बंगलादेश, भारत र पाकिस्तानबाट नेपाली भन्दा बढी कामदार लैजान सक्ने सम्भावनाप्रति सरकारले बेलैमा सचेतना अपनाउनुपर्ने धारणा राखे ।  
गत जुनमा बंगलादेशका प्रधानमनत्री शेख हसिना र साउदीका राजा शेख सलमानबीच भएको बार्तामा साउदी अरेबियाले बंगलादेशी कामदारलाई पुनः मौका दिने सहमति भएको थियो । साउदीको यस नयाँ निर्णयपछि अब बंगलादेशका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार सहित डाक्टर, नर्स, होटल एवं कारखानाभित्र काम गर्ने औधोगिक मजदुर, लगायतले पुनः साउदीमा वैदेशिक रोजगारीकालागि श्रम स्वीकृति लिएर जान पाउने भएका छन् ।
हाल साउदी अरेबियामा रहेका करिब १३ लाख घरेलु कामदार मध्ये अझै पनि ६० हजार बंगलादेशी महिला कामदार रहेका छन् । गत जुनदेखि साउदीले पुरुष घरेलु कामदारका लागि पनि भिसा दिन सुरु गरेको थियो । अब भने सबै कार्य क्षेत्रमा बंगलादेशबाट साउदीले कामदार लैजान थाल्ने सम्बन्धीत व्यवसायी एवं सरोकारवालाहरुको भनाई छ ।

No comments:

Post a Comment