Wednesday, August 17, 2016

इजाजतपत्र नविकरणमा ढिलाईले सिम्रिकका सबै विमान ग्राउण्डेट

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३१ साउन
निजी क्षेत्रको लगानीमा सञ्चालित आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सले समयमा इजाजत–पत्र नविकरण गर्न नसकेका कारण आफ्नो सबै उडान सेवा बन्द गरेको छ । नियमित उडान सेवा गत शनिबारदेखि नै बन्द भएपछि अहिले सिम्रिकका सबै विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा ग्राउण्डेट भएको छ । चार वटा फिक्सविङ्ग विमान मार्फत नियमित र चाटर्ड उडान भर्दै आइरहेको सिम्रिक एयरलाइन्सले संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट लिएको इजाजतपत्र समयमै नविकरण नगरेका कारण अहिले सबै विमान विमानस्थलमा ग्राउण्डेट भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्यले सिम्रिकले समयमा आफ्नो इजाजतपत्र नविकरण नगरेकै कारण अहिले उसका सबै उडान रोकिएको बताए । उनले यस मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हवाई उडान अनुमतिकालागि लिएको इजाजतपत्र नविकरण नभएसम्म यात्रु विमा र जहाजको विमा दावी समेत नपाउने भएकाले सिम्रिक आफैंले सबै विमान ग्राउण्डेट गराएको हुन सक्ने बताए । उनले इजाजतपत्र नविकरण भएपछि उसले तत्काल नियमित उडान सञ्चालन गर्ने बताए ।
सिम्रिकले ४ वर्षअघि मन्त्रालयबाट लिएको हवाई उडान अनुमति इजाजतपत्रको म्याद एक महिना अघि सकिएको थियो । मन्त्रालय स्रोतका अनुसार, त्यसताका सिम्रिकलाई गैर सैनिक हवाई उडान नियमन गर्ने निकाय नेपाल नागरिक उडड्यन प्राधिकरणले एक महिनाकालागि समय दिएको थियो ।
‘एक महिनाभित्र मन्त्रालयलबाट इजाजतपत्र नविकरण गछौं भनेपछि एक महिनाकालागि मात्र उडान सञ्चालनको पत्र बनाइदिएको जानकारी गराउँदै प्राधिकरण स्रोतले भन्यो, ‘सिम्रिकले अहिलेसम्म इजाजतपत्र नविकरण गरिसकेको रहेन छ , उसले एक्कासी शनिबारदेखि आफैं सबै उडान बन्द गरि विमान ग्राउन्डेड गरेको खबर पायौं’।  प्राधिकरणका अनुसार अहिलेसम्मको नियम बमोजिम पर्यटन मन्त्रालयको हवाई उडान अनुमतिपत्र बिना नागरिक उड्डयनसँग सम्वन्धित कम्पनी सञ्चालन गरी हवाई यात्रु र कार्गो ओसार–पसार गर्नु अवैध मानिन्छ ।
सिम्रिक एयरलाइन्ससँग हाल दुइटा डोर्नियर र दुइवटा बिचक्राफ्ट गरी चारवटा विमान आन्तरिक उडानमा सञ्चालित छन् । यी विमानबाट सिम्रिकले काठमाडौबाट पोखरा, जोमसोम, भैरहवा, लुक्ला, सिमरा र माउन्टेन (पर्वतीय) गरी दैनिक करिब २८÷३० वटा नियमित एवं चाटर्ड उडान भर्दै आएको थियो ।
सिम्रिक एयरलाइन्सले सोमबार विज्ञप्ति जारी गरि अहिले आफ्ना सबै जहाज ग्राउण्डेट हुनुमा गत वर्ष गएको विनासकारी भूकम्पका कारण र भर्खरै सरकार परिवर्तन भएको कारण पर्यटन मन्त्रालयको इजाजतपत्र समयमै नविकरण नभएको बताएको छ ।   विगत ७ वर्षदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण सुरक्षा सम्बन्धी मापदण्डहरु एफएए र इएसए द्धारा निर्देशित सँधै अक्षरस पालना गर्दै भएको भएपनि अहिले आएर विविध कारणले केही समय इजाजतपत्र नविकरण गर्ने कार्यमा ढिलाई भएको भन्दै उसले विज्ञप्ति मार्फत अहिले केही दिनकालागि मात्र आफ्ना जहाज ग्राउन्डेट भएको स्पष्ट्र पारेको छ । अब नयाँ पर्यटनमन्त्री आउने वित्तिकै इजाजतपत्र नविकरण गरि छिट्टै आफ्नो सेवा सुचारु गर्दे प्रतिवद्धता जनाएको छ ।
सिम्रिकले पर्यटन मन्त्रालयलमा आवश्यक पर्ने सबै कागजात पु¥याइसकेकाले नयाँ पर्यटन मन्त्री नियुक्ति भएपछि नविकरण हुने दाबी गरेको छ । ‘पहिलेकै मन्त्रीकै कार्यकालमा  नविकरणकालागि आवस्यक सबै काम हुँदै थियो, एकाएक सरकार परिवर्तन भएपछि आफ्नो इजाजतपत्र नविकरणको काम रोकिएको सिम्रिक एयरलाइन्सले जनाएको छ । उसले मंगलबार मन्त्रिपरिषद विस्तार भए बुधबारदेखि आफ्नो उडान शुचारु हुने दावी गरेको छ ।
हाल मुलुकमा हवाई उडानसँग सम्वन्धित इजाजपत्र दुईवटा निकायले मात्र दिन्छ । पर्यटन मन्त्रालय र प्राधिकरणले दिने दुई वटा इजाजतपत्र अनिवार्य हुन्छ । मन्त्रालयले दिने राष्ट्रिय इजाजत हो भने प्राधिकरणले दिने एयर अपरेटर्स सर्र्टििफकेट (एओसी) अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डमा आधारित भएर दिइने इजाजतपत्र हो । सो इजाजतपत्र विना कुनैपनि कम्पनीले नेपाली आकासमा विमान उडाउन पाउने छैन । यदि जर्बरजस्ती उडाएमा त्यो कानुन विपरित हुने प्राधिकरणले जनाएको छ ।

No comments:

Post a Comment