Wednesday, March 31, 2021

आठ महिनामा जम्मा २३.४६ प्रतिशतामात्रै पुँजीगत खर्च

सरकारको विकास खर्च कमजोर ,विनियोजित बजेटको लक्ष्य भेट्न मुस्कील  

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं

सरकारले चालु आर्थिक वर्षको वितेका आठ महिना तीन दिन गत मंगलबारसम्ममा कुल विनियोजित बजेटको जम्मा २३ दशमलब ४६ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ को वितेका आठ महिना तीनदिन गत मंगलबारसम्ममा जम्मा ८२ अर्ब ७९ करोड १६ लाख रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ । 

चालु आवकालागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ अनुमानित पुँजीगत खर्च विनियोजन गरेको छ । सो पुँजिगत खर्च मध्ये अहिलेसम्म जम्मा २३ दशमलब ४६ प्रतिशत मात्र पुँजीगत खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न आगामी ३ महिना भित्रमा ७६ दशमलब ५४ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने हुन्छ । यो लक्ष्य भेट्टाउन अब सरकारले दैनिक अबौं रुपैयाँ पूँजिगत खर्च गर्दै जानुपर्ने हुन्छ ।  

संघिय संसद् विघटन र पुर्नस्थापना लगायत हाल मुलुकमा देखिएको राजनीतिक अस्थिरता लगायतका कारण आगामी दिनमा झन पुँजीगत खर्च हुन नसक्ने अवस्था उत्पन्न भएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ ।  उनीहरुले अझै सरकार राजनीतिक भागबण्डामै रुमलिरहेका कारण मुलुकको विकास निर्माणका कामले गति लिन नसक्ने भएकाले पनि आगामी दिनमा लक्ष्य अनुरुप पूँजीगत खर्च गर्न मुस्कील पर्ने बताएका छन ।  

सम्बन्धीत सरोकारवालाहरुका अनुसार चालु आवमा भएको पुँजीगत खर्च प्रतिशतका हिसाबले बढी देखिएपनि खर्च आकारका हिसावले यो निकै कम हो । गत आर्थिक वर्षको सो अवधिसम्म ३३ दशमलब ९ प्रतिशत पुँजीगत खर्च भएको थियो । सरकारले गत आवका लागि कुल ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेको थियो । गत आवका लागि कम पुँजीगत खर्च वितरण गरेकाले प्रतिशतमा बढी देखिएको हो । 

कोरोना भाइरस (कोभिड–१९) महामारिको प्रभाव र पछिल्लो समय उत्पन्न राजनीतिक अस्थिरताले मुलुकको आर्थिक गतिविधिमा संकुचन आएसँगै चालु आवको वितेका आठ महिना तीन दिन ३ चैतसम्ममा पुँजीगत खर्च पनि हुन नसकेको हो । कोरोना महामारिको प्रभावका कारण विगतका वर्षहरुमा जस्तो मुलुकको विकास निर्माणका कामले गति लिन नसक्दा पुँजीगत खर्च कम भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

मुलुकको पुँजीगत खर्च वितरणको तालुकदार निकाय अर्थ मन्त्रालयले पनि चालु आवमा कोरोना प्रभावले अपेक्षाकृत रुपमा पुँजिगत खर्च हुन नसकेको स्वीकारेको छ । अन्य वर्षमा त खासै प्रभावकारी ढंगबाट हुन नसकेको पुँजीगत खर्च यस वर्ष अझ कोरोना प्रभावका कारण थप घट्न गएको अर्थ मन्त्रालयको भनाई छ । 

कोरोना महामारिका कारण अहिले मुलुकको राष्ट्रिय गौरवका आयोजना र ठूला तथा साना आयोजना निर्माणमा समस्या आएको छ । आयोजना स्थलमा पुग्नुपर्ने कामदार÷श्रमिकहरू लामो समय काममा फर्किन पाएनन् । भनेको बेला निर्माण सामान नपाईनु, दक्ष प्राविधिक ल्याउन ढिलाई हुनु लगायतका कारण  मुलुकको राष्ट्रिय गौरवका आयोजनाहरुको काम पनि अपेक्षाकृत रुपमा अघि बढेको छैन । यस्तो समस्याकै कारणले अपेक्षाकृत रुपमा मुलुकको पुँजीगत खर्च हुन नसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ  ।  

महालेखा नियन्त्रक कार्यालयका अनुसार विशेषत आर्थिक रुपान्तरणको मूल आधार मानिने पुँजीगत खर्च नै हो । अपेक्षाकृत रुपमा पुँजीगत खर्च हुन नसक्दा विकास निर्माणमा देशले चाहे जस्तो गति लिन सकेको छैन । गत आर्थिक वर्षमा पनि जम्मा १ खर्ब ९१ अर्ब ७७ करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको थियो । 

सरकारले चालु आर्थिक वर्षको वितेका आठ महिना तीन दिन मंगलबारसम्ममा ५ खर्ब ८० अर्ब ८३ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम चालु आवकालागि कुल विनियोजित बजेटको जम्मा ३९ दशमलब ३९ प्रतिशत मात्र खर्च हो । सरकारले चालु आवकालागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अहिले सरकारले सो बजेटको आकार संसोधन गरि १३ खर्बमा झारेको छ । 

सो खर्च मध्ये अहिलेसम्म चालु खर्चतर्फ ४ खर्ब ६२ अर्ब ५३ करोड २२ लाख रुपैयाँ खर्च भएको छ । यसैगरि, वित्तीय व्यवस्था तर्फ ३५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङकमा उल्लेख छ । 

लक्ष्य अनुरुप विकास खर्च गर्नकालागि सरकारले विभिन्न आयोजना तथा कार्यक्रमको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान गरी हरेक आर्थिक वर्षको पहिलो महिना साउन मसान्तभित्र स्वीकृत गरी प्रस्ताव आह्वान गर्ने र असोजभित्र बोलपत्र मूल्याकंन गरी ठेक्का सम्झौता हुने गरी मार्ग दर्शन तयार पारेपनि सो मर्गदर्शन कार्यान्वयनमा आएको छैन । 

सोही अनुसार ठेक्का सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्न कार्यादेश दिने व्यवस्था मिलाउन अर्थ मन्त्रालयले सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएपनि सोही अनुसारको काम हुन नसकेको कारण हरेक वर्ष यस्तो कमजोरी दोहोरिने गरेको सम्वन्धीत सरकारवालाहरुको भनाई छ । उनीहरुले यस्तो समस्या समाधान गर्ने तर्फ सरकार गम्भिर हुनेपर्ने बताएका छन । 

कोरोना प्रभाव र संघिय संसद् विघटन एवं पुर्नस्थापनाका घटनापछि उत्पन्न राजनीजितक अस्थितरका कारण सरकारको खर्च गर्ने तरिकामा पनि सुधार आउन सकेन । लक्ष्य अनुरुप खर्च गर्न नसक्ने सरकारी पुरानै रोग भएपनि अहिले विकास खर्च झन घटेर कम्जोर अवस्थामा पुगेको छ ।  चालु आवको वितेका आठ महिना बितिसक्दा सरकारले विनियोजित बजेटको जम्मा २९ प्रतिशत पनि विकास खर्च गर्न सकेको छैन । जसका कारण अहिले मुलुकको पूर्वाधार विकास खर्च एकदमै निरासाजनक देखिएको छ । 

अहिले समग्र रुपमा सरकारको खर्च फितलो देखिँदा मुख्य खर्च गर्ने जिम्मा पाएका विकासे मन्त्रालयहरुले नै खर्च क्षमता बढाउन सकेका छैनन् । यो वर्ष १ खर्ब २३ अर्ब बजेट पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालसम्म जम्मा ३४ अर्ब ४६ करोड मात्रै खर्च गरेको छ । यो समग्र खर्च प्रगतिमा २७ दशमलब ८१ प्रतिशत मात्र हो । यसैगरि, अर्को विकासे खानेपानी मन्त्रालयको खर्च प्रगति पनि यो वर्ष १४ प्रतिशत मात्रै देखिएको छ । खानेपानी मन्त्रालयले चालु आवमा २४ अर्ब ८२ करोड पुँजीगत खर्च गर्ने लक्ष्य लिएकोमा अहिलेसम्ममा जम्मा ३ अर्ब ४९ करोड मात्रै खर्च गरेको देखिएको छ ।

संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि हाल ३० दशमलब ११ प्रतिशत मात्र खर्च गरेको छ । १९ अर्ब ११ करोड रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य लिएको पर्यटन मन्त्रालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल लगायतका ठुला परियोजना निमार्णको नेतृत्व गरिरहेको छ ।

अहिलेसम्म मुलुकको राष्ट्रिय गौरवका आयोजनाको प्रगति जम्मा २९ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा सूचीकृत गरेका विभिन्न ठुला आयोजनाहरुको प्रगति न्यून देखिएको छ । सरकाले हाल २२ वटा पूर्वाधार योजनाहरुलाई राष्ट्रिय गौरवका आयोजनामा राखेको छ । यीमध्ये सबैभन्दा धेरै प्रगति महाकाली सिंचाई आयोजनामा भएको छ । 


 दोहोरो सुविधामा मस्ती ,

संवैधानिक निकायका प्रमुख पदाधिकारीबाटै राज्यकोष दोहन , 

पेन्सन दिन आठ महिनामै सकियो झन्डै साढे ३६ अर्ब 

मधुजंग पाण्डे÷राजधानी


काठमाडौं

अवकास प्राप्त कर्मचारीलाई निवृक्तिभरण (पेन्सन) दिन मात्र चालु आर्थिक वर्ष २०७७÷०७८ को वितेका आठ महिनामै सरकारको ढुकुटीबाट झन्डै साढे ३६ अर्ब रुपैयाँ सकिएको छ । सरकारले चालु आवको वितेका आठ महिनाको अवधी गत फागुन मसान्तसम्ममा अवकास प्राप्त कर्मचारीहरुलाई प्रदान गरिने पेन्सन बापत मात्र कुल ३६ अर्ब ४६ करोड ६७ लाख ९३ हजार ३६३ रुपैयाँ खर्च गरेको हो । 

लामो समय सरकारी जागिर खाएर उमेर पुगेपछि अवकास प्राप्त कर्मचारीहरुलाई प्रदान गरिने पेन्सन रकम मध्ये सो अवधीमा निवृक्तिभरण शीर्षक तर्फबाट २८ अर्ब ४ करोड ७५ लाख ६५ हजार ४५६ रुपैयाँ खर्च भएको र शिक्षकको निवृक्तिभरण शीर्षक तर्फबाट ८ अर्ब ४१ करोड ९२ लाख २७ हजार ९०७ रुपैयाँ खर्च भुक्तानी भईसकेको छ । 

यसैगरि, गत आव २०७६÷०७७ मा कुल ५३ अर्ब १ करोड २९ लाख ७५३ रुपैयाँ अवकास प्राप्त भुतपूर्व कर्मचारी तथा पेन्सन बाहक व्यक्तिहरुको बैंक खातामा भुक्तानी भई खर्च भएको निविृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ । 

सरकारी ढुकुटीबाट यसरी पेन्सन स्वरुप भुक्तानी लिने कर्मचारीहरुमा राज्यका विभिन्न संवैधानिक निकायमा रहेर जनसेवा गर्ने महत्वपुर्ण जिम्मेवारीमा पुगेका उच्च पदस्थ देखि तल्लो दर्जाका श्रेणाीविहिन मै अवकास भएका व्यक्तिहरु रहेका छन । यस्ता भुतपूर्व एवं अवकास प्राप्त कर्मचारीहरुलाई यस कर्यालयले मुलुकभर सञ्चालित राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको विभिन्न शाखा र उपशाखाहरुबाट उनीहरुले मासिक नियमानुसार पाउने पेन्सन भुक्तानी दिएर स्रोत भर्ना गर्ने गरिएको निविृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख केशब ढकालले जानकारी दिए । उनले अवकास प्राप्त कर्मचारीले कुन कार्यालयबाट कुन पदमा रहँदा अवकास पाएको हो ? त्यो पुरा विवरण सहित मासिक रुपमा पाउनुपर्ने पेन्सनको रकम खुलेको पत्रप्राप्त भएपछि यस कार्यालयले पेन्सन बहाक व्यक्तिको बैंक खातामा भुक्तानी पठाउने गरिएको बताए । 

सो कार्यालयका अनुसार सचिवमा अवकास पाउने व्यक्तिहरुले हाल मासिक न्युनतम ३७ हजार रुपैयाँ पेन्सन पाईरहेका छन भने सचिव भन्दा मुनिको पद अथवा त्यो भन्दा माथीको पदमा पुगेर अवकास प्राप्त भएकाहरुले यो रकम भन्दा केही धेरै र थोरै रुपैयाँ पेन्सन पाईरहेका छन ।  यहाँबाट पेन्सन लिनेहरुमध्ये पनि मुलुकको विभिन्न संवैधानिक निकायको जिम्मेवारीमा पुगेका केहि पेन्सन बहाकले दोहोरो सुविधा लिएर राज्यकोषको दोहन गर्दै मोजमस्ती गरेको पाइएको छ । 

खर्च कटौती गरि आर्थिक अपराधका कार्यमा संलग्न हुनेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याई सुशासन कायम गर्ने जिम्मेवारीमा रहेका संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूबाट नै यस्तो दोहोरो सुविधा लिएर राज्यकोषको ढुकुटी रित्याउने काम भइरहनु गलत प्रवृत्ति हो ।

सर्वसाधारण नागरिकलाई दोहोरो सुविधा लिन नपाइँने कानुनी पाठ सिकाउने तर उच्च पदको  दुरुपयोग गर्दै ती उच्च पदस्थ जिम्मेवारीमा रहेका व्यक्तिहरुले दोहोरो सुविधा लिएर राज्यकोषबाट करोडौं रुपैयाँ दोहन गरिरहेको निविृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ । 

सो कार्यालयका अनुसार संवैधानिक निकाय र विभिन्न सरकारी निकायमा गरि सयौ व्यक्तिहरु  नियुक्ति भएपनि हालसम्म  जम्मा २७ जनाले मात्रै दोहोरो सुविधा लिएका छैनन् । तर धेरैले भने दोहोरो सुविधा लिइरहेका छन् । उनीहरुले मुलुकको संवैधानिक निकायका प्रमुख र पदाधिकारीको रुपमा रहदा र त्यहाँबाट बाहिरिएपछि पनि निवृक्तिभरण (पेन्सन) लगायतका दोहोरो सुविधा लिएका हुन। 

अहिलेसम्म मुलुकभरका अवकासप्राप्त सरकारी कर्मचारीहरुलाई पेन्सन सुविधा उपलब्ध गराउँदै आएको निविृत्तिभरण व्यवस्थापन कार्यालयले दोहोरो सुविधा लिने संवैधानिक निकायका उच्च पदाधिकारीहरुले आफु सो पदमा रहेको बेला केही समय नलिने बताएपनि पदबाट बाहिरिने बित्तिकै आफु त्यो संवैधानिक निकायमा रहँदाको सबै  रकम हिसाव गरेर पेन्सन बुझने गरेको बताएको छ । 

सर्वोच्चले संवैधानिक निकायमा नियुक्त पदाधिकारी पेन्सन बाहक हो भने उसले पेन्सन सुविधा पनि पाउँछ भनेर व्याख्या गरेको थियो । सोही फैसलाका कारण आफु संवैधानिक निकायमा रहँदा केही समय रोकेर पनि त्यहाँबाट हट्नेविक्तिकै सबै हिसाव गरि पुनः पेन्सन लिने प्रवृत्ति बढेको सो कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले ८ माघ २०७२ मा नै लाभको पदमा बस्नेले दोहोरो सुविधा लिनु गैरकानुनी हुने निर्णय गरेको थियो । अझै यहाँका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरु र अन्य उच्च पदमा आसिन व्यक्तिहरुले आफ्नो नैतिकतालाई नै बिर्सिएर यस्तो दोहोरो सुविधा लिई राज्य कोषको ढुकुटी रित्याउने प्रवृत्ति कायमै रहेको निविृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सोही निर्णयसँगैै दोहोरो सुविधा रोक्का भएपछि आफूमाथि अन्याय भएको भन्दै लोकसेवा आयोगका तत्कालीन अध्यक्ष  कयोदेवी यमी र अर्का पदाधिकारी टिकादत्त निरौला लगायतले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सर्वोच्चले यो विषयमा स्पष्ट कानुन बनाउन सरकारलाई निर्देशन दिएको थियो । तर, मन्त्रिपरिषद्को निर्णय खारेज गर्ने आदेश  अदालतले दिएको थिएन । अदालतले दोहोरो सुविधा लिन पाइँदैन नभनेको र नयाँ कानुन पनि नबनेकाले सुविधा लिन पाइन्छ भन्ने पदाधिकारीको तर्क छ । 

शिक्षकले पेन्सन पाएका कारण वृद्धभत्ता पाउँदैनन्, पियनलाई समेत त्यस्तो सुविधा रोकिन्छ । श्रीमानको आधा मात्र पेन्सन पाउने महिला वृद्धभत्ताबाट वञ्चित छन । सर्वसाधारणलाई लाग्ने कानुन ठूलाबडालाई किन नलाग्ने ? संवैधानिक निकायमा बस्नेको त जिम्मेवारी झन् ठूलो हुन्छ भनेर त्यसबेला मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । सर्वोच्चले कानुन बनाउन भनेको हो, मन्त्रिपरिषद्को निर्णय पनि कानुन सरह हो । त्यो वर्तमान संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुले चाँही किन नमान्ने भन्दै उनीहरुको चौतर्फी आलोचना भएको छ ।


Tuesday, August 27, 2019

नयाँ हवाई मार्ग ‘हिमालयन–२ रुट’ कार्यान्वयन गर्न म्यानमार सहमत १ सय १४ नटिकल माइल हवाई दूरी घट्ने


मधुजंग पाण्डे 
काठमाडौं  
नयाँ हवाई मार्ग ‘हिमालयन–२ रुट’ कार्यान्वयनमा नेपाल र म्यानमार सहमत भएका छन् । दुवै देशका नागरिक उड्डयन प्राधिकरण प्रमुखबीच बुधबार सम्पन्न छलफलमा यस्तो सहमति भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस प्रयोजनका लागि छिट्टै म्यानमारमा दुवै देशका प्रतिनिधिबीच औपचारिक छलफल अघि बढाइनेछ ।

गत सोमबारदेखि काठमाडौंमा जारी एसिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको सम्मेलनका लागि म्यानमारको टोली काठमाडौंमा छ । यही अवसरमा म्यानमार र नेपाली प्रतिनिधिबीच द्विपक्षीय छलफल भएको हो ।

हवाई मार्ग हिमालयन–२ रुट महाकाली–काठमाडौं–बागडोग्रा, गुहाटी, सिलचर, इम्फाल, मुनमिङ हुँदै हङकङसम्म पुग्छ । यस रुटका लागि नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मै प्रस्ताव गरेको छ । हाल यो रुटका सरोकारवाला मुलुकमा भारत, चीन र म्यानमार पर्छन् । भारतले यो रुट कार्यान्वयन गर्न अनुमति दिएको छ । चीन पनि सकारात्मक छ ।

यसअघि म्यानमारले भने सञ्चार प्रणालीको तयारी नभएको भन्दै यो रुटमा अनुमति दिन आनाकानी गरिरहेको थियो । हिमालयन–२ रुट कार्यान्वयनमा आउँदा नेपाल मात्र नभई अब यस आसपासका अन्य मुलुकका वायुसेवा कम्पनीको हवाई उडानले लाभ उठाउनेछ । अहिले नेपालबाट उडेको विमान बंगलादेशको आकाश हुँदै हङकङसम्म पुग्नुपर्छ । हिमालयन–२ रुट कार्यान्वयनमा आउन सके १ सय १४ नटिकल माइल हवाई दूरी छोट्टिनेछ ।

यसैगरी, भारतको नयाँ दिल्लीबाट उडेको विमान कुनमिङ वा हङकङ पुग्नुप‍¥यो भने पनि कोलकाता र बंगलादेश हुँदै जानुपर्छ । जुन लामो रुट हो । तर, दिल्लीबाट उडेको विमान नेपाली आकाश हुँदै महाकालीबाट बाहिरिएर कुनमिङ हुँदै हङकङ पुग्दा हवाई दूरी निकै छोट्टिनेछ । सम्बन्धित सरोकारवालाले यस नयाँ रुटको सहमतिले नेपाललाई फाइदा भएको बताएका छन् ।

हिमालयन–२ रुट कार्यान्वयनमा आउँदा नेपालको आकाश हुँदै विदेशी विमानहरू उड्न थाल्नेछन् । ती मुलुकले नेपालको रुट प्रयोग गरेबापत पैसा तिर्नुपर्छ । त्यसकारण, हवाई रुट बेचेर मुलुकले आम्दानी गर्न सक्छ ।

अर्कोतर्फ नेपाली विमानको उडान समय घट्दा त्यसले नेपाली वायुसेवा कम्पनीको इन्धनसहित समग्र सञ्चालन खर्च कटौती हुने उनीहरूको भनाइ छ । हिमालयन–२ रुट कार्यान्व्यनमा आएपछि अब काठमाडौंबाट युरोपसम्म पुग्ने दूरीसमेत छोटो हुनेछ ।

अर्कोतर्फ जापानको टोकियोबाट लन्डन उड्ने विमानले पनि सिधा रुटका लागि नेपाली आकाश प्रयोग गर्न सक्नेछ । ठूला विमानका लागि २० मिनेटको उडान समय घट्यो भने त्यसले करिब १ हजार लिटर हवाई इन्धन बच्ने उनीहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको ५६औं सम्मेलनमा सहभागी प्रतिनिधिबीच भएको यस्तो सहमतिबाट नेपालले फाइदा लिनेछ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपाल र म्यानमारबीच भएको हिमालयन–२ रुट’ कार्यान्वयनमा ल्याउने सहमति उपलब्धिमूलक र फलदायी भएको बताए ।
एसिया प्रशान्त क्षेत्रका ४६ देशका ३९० विदेशी प्रतिनिधिको सहभागिता रहेको यस सम्मेलनमा आइकाओ काउन्सिलका अध्यक्ष तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक, अन्य उच्च पदस्थ पदाधिकारीलगायत एसिया प्रशान्त क्षेत्रका अन्तर्राष्ट्रिय नागरिक उड्डयनसँग सम्बद्ध १४ संस्थाको प्रतिनिधित्व छ ।

बुबाआमाको आशीर्वाद, श्रीमतीको साथ र मेरो लगनशीलता

Saturday, November 11, 2017

तारकेश्वर नगरपालिकालाई मुलुककै नमुना पर्यटकीय हब बनाइने


काठमाडौ, २५ कात्तिक
तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले तारकेश्वर नगरपालिकालाई मुलुककै नमुना पर्यटकीय हब बनाइने बताएका छन । उनले यस क्षेत्रलाई मुलुककै नमुना पर्यटकीय शहरको रुपमा विकास गर्न आफुहरुले नगरपालीकाको छुट्टै गुरुयोजना तयार बनाएर सोही अनुरुप विकासका काम अघि बढाउने प्रयास गरिरहेको बताए । उनले यस नगरपालिकामा रहेको भ्यु टावरलाई काठमाडौ उपत्यका भित्रकै नयाँ नमुना पर्यटकीय गन्तब्यस्थल बनाउन १ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । उनले नगर परिषदबाट सो बजेट विनियोजन भएकाले अझै त्यहाँको जग्गा अपर्याप्त हुने देखिएपछि अहिले भ्युटावर क्षेत्रमा थप जग्गा एकिकरण गर्ने काम जारी रहेको बताए ।
शनिबार सम्पन्न तारकेश्वर नगरपालिका–५ स्थित जनजागृति टोल सुधार समितिको ७ औं वार्षिक साधारण सभामा मेयर बोहोराले तारकेश्वर नगरपालिकालाई मुलुककै नमुना पर्यटकीय हब बनाइने बताएका हुन । उनले यस लक्ष्य पुरा गर्नकालागि सबैभन्दा पहिले यहाँका सडक बाटो निर्माण , खानेपानी , खेलमैदान लगायत अन्य पर्यटकीय गतिविधीलाई व्यवस्थित रुपमा अघि बढाइने कार्यलाई विशेष प्राथमिक्तामा राखिएको बताए । भ्यु टावर लगायत यहाँका अन्य धार्मिक तथा साँस्कृतिक पर्यटन प्रवद्र्धन, खानेपानी व्यवस्थापन, सडक निर्माण एवं सोलार बत्ती जडान लगायत अन्य विकास निर्माणका विषयमा स्थानीयवासीसँगको छलफलपछि यस नगरपालिकाको गुरुयोजना बनाएर काम अघि बढाएको बताए ।
उनले यहाँको प्राकृतिक विविधता, ऐतिहासिक धरोहर र स्थानीय उत्पादनको उचित उपयोग र प्रवद्र्धन गरि यस क्षेत्रलाई नमुना पर्यटकीय हब बनाउने कार्यमा आफु निरन्तर लागिपरेको बताए ।  कार्यान्वयन नभएको योजना क्रमागत योजना अन्तरगत खानेपानी विस्तारकालागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराउँदै उनले यहाँका सबै नागरिकलाई जानकारी गराउने उदेस्यले यस नगरपालिकाले भर्खरै मोबाइल एप बनाएको बताए । यसैगरि उनले यहाँका सार्वजनिक जगको उचित प्रयोजनकालागि एक वडामा सार्वजनिक पार्क बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिएको बताए ।
तानपाका उप मेयर भवानी डोटेल (धिताल) र तानपा–५ वडाका अध्यक्ष बासुप्रसाद गौतमले पनि यस क्षेत्रको पर्यटन विकास र पूर्वाधार निर्माणकालागि आफुहरुले उल्लेखनीय काम गरेर देखाउने प्रतिवद्धता जनाए । उनीहरुले तारकेश्वर नगरपालिकाको पर्यटकीय गन्तब्यस्थल भ्युटावरदेखि नार्गाजुन दरबार भन्दामाथी जामाचो मन्दीरसम्म जाने केबलकार स्थापना गर्न समेत आफुहरुले सक्रियता देखाएको बताए । यसैगरि उनीहरुले यस क्षेत्रलाई उपत्यकाकै राम्रो खानेपानी जोनको रुपमा समेत विकास गरिने लक्ष्य लिएको बताए । उनीहरुले अब यस नगरपालिका भित्रका हरेक वडामा खानेपानीको रिजर्भ ट्याङकी राख्ने अवधारणा ल्याएको समेत जानकारी गराएका थिए ।
स्थानीय समाजसेवी कमलप्रसाद रिमाले काठमाडौ क्षेत्र नं. ७ निर्वाचन क्षेत्रमा हाल ५ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको गुहेश्वरी, बोहोराटार, धितालथोक हुँदै तीनपिप्लेस्थित काठमाडौ–त्रिशुली जोड्ने पासाङ ल्हामु राजमार्ग छिचोल्ने सडक निर्माण कार्यमा भईरहेको ढिलाइप्रति पनि निकै चासो व्यक्त गरेका थिए । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बालाजु दगुर्नेपानीदेखि पुरानो गुहेश्वरी हुँदै तारकेश्वर नगरपालीका–५ बोहोराटार माइक्रोबस स्ट्याण्डसम्म ढलान र कालोपत्रे गर्नेकाम सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म निर्माणको काम त्यसै अलपत्र रहेकामा गम्भिर चिन्ता व्यक्त गर्दै उनले अब यस सडक निर्माण कार्यले गतिलिने आश्वासन पाएको बताए । मेयर बोहोरा र ५ नं. वडाका अध्यक्ष गौतमले आगामी मंसिर भित्रैमा यस सडक बोहोराटारसम्म कालोपत्रे हुने आश्वासन दिएका थिए ।
सो कार्यक्रममा समितिका अध्यक्ष केदार परियार, सल्लाहकार दिपक पाण्डे र सचिव राजकुमार प्रधान लगायत अन्य पदाधिकारीहरुले यस क्षेत्रमा हाल भईरहेका विविध विकास निर्माणका गतिविधीहरुबारे जानकारी गराएका थिए । समितिका कोषाध्यक्ष रामबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसहमतीले पारित भएको थियो ।
सोही कार्यक्रममा समितिले तेक्वान्दो खेलाडी प्रतिज्ञा भण्डारीलाई नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत गरेको थियो । यस टोल सुधार समिति भित्रकी स्थानीय महिला खेलाडी भण्डारीले कोरिया, भुटान र सिंगापुरमा पुगेर नेपालबाट उत्कृष्ट खेल प्रदर्शन गरि तेक्वान्दोमा गोल्ड मेडल प्राप्त गरेकी छिन ।  कलिलै उमेरमा स्वदेशमा मात्र नभएर अन्तराष्ट्रिय जगतमा समेत उत्कृष्ट्र खेल प्रदर्शन गरि ख्याती कमाउन सफल भण्डारीलाई तानपाका मेयर रामेश्वर बोहोराले सो पुरस्कार प्रदान गरेका थिए ।
समितिको अध्यक्षमा पुनः परियार 
जनजागृति टोल सुधार समितिको अध्यक्षमा पुनः केदार परियार निर्वाचित भएका छन । शनिबार सम्पन्न ७ औं वार्षिक साधारण सभाले परियारलाई पुनः आगामी दुईवर्षे कार्यकालकालागि निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा तोकबहादुर तामाङ, सचिवमा राजकुमार प्रधान, सह सचिवमा गणेश देवकोटा र कोषाध्यक्षमा विमला थापा निर्वाचित भएका छन । कार्यसमिति सदस्यहरुमा मधुजंग पाण्डे, धनप्रसाद सिंखडा, डिलबहादुर गुरुङ, अनिल देवकोटा, कृष्णमायाँ पाण्डे, रत्नकुमारी श्रेष्ठ,उद्धव पाण्डे र सलिना अर्याल  निर्वाचित भएका छन । कुल १३ सदस्यीय पदाधिकारी निर्वाचित गरेको सोही साधारण सभाले दिपक पाण्डे, झपेन्द्र बानियाँ, तोयानाथ खनाल, कमलप्रसाद रिमाल र सुधन गौतमलाई सल्लाहकारमा चयन गरेको छ । 


रेलमार्ग सम्भव , चिनियाँ अध्ययन टोलीको निष्कर्ष

मधुजंग पाण्डे
काठमाडौं
मुलुकको राष्ट्रिय प्राथमितामा रहेको बहुप्रतिक्षित केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउनका लागि स्थलगत अध्ययन गर्न नेपाल आएको चिनियाँ उच्च अधिकारीको टोलीले रेल निर्माण प्राविधिक रूपमा सम्भव भएको निष्कर्ष निकालेको छ । नेपाल र चीन जोड्ने रेलमार्गबारे विस्तृत अध्ययन गर्न आएका चिनियाँ टोलीले पाँचदिने नेपाल भ्रमणपछि केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग सम्भव रहेको निष्कर्षसहित प्रारम्भिक प्रतिवेदन दिएको हो ।
गत सोमबारदेखि केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको स्थलगत अध्ययन भ्रणण पूरा गरेको चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उप मन्त्री जेङ जियनको नेतृत्वमा आएका २३ सदस्यीय टोली यहाँको रेलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन गरी शुक्रबार नै बेइजिङ फर्किएको छ । सो अध्ययन टोलीमा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधिलगायत सहभागी भएका थिए । 
नेपालमा रेल सेवा विकासको सम्भावना अध्ययन र छलफल गर्न आइपुगेका चिनियाँ  प्राविधिकसहितको उच्च टोलीले काठमाडौं आइपुगेकै दिन पहिलो चरणमा गत सोमबार केरुङ–पोखरा–लुम्बिनीको स्थलगत अध्ययनसहित यहाँका सरकारी अधिकारीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गरेको थियो ।
सो टोलीले आफ्नो प्रतिवेदन चीन सरकारलाई पेस गर्ने जानकारी गराउँदै रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले भने,
‘रेलमार्ग निर्माणका लागि अब नेपाल सरकारले औपचारिक आग्रह गर्नुपर्नेछ’ । त्यसपछि मात्र रेलमार्ग निर्माण कार्यका लागि प्रक्रिया अघि बढाउन सकिने उनले जानकारी दिए । उनले  चिनियाँ अध्ययन टोली निकालेको  यस्तो निष्कर्षले अहिले आफूहरु पनि निकै उत्साहित भएको बताए ।
स्थलगत अध्ययन भ्रमणपछि चिनियाँ टोलीले तीन वटै मार्गमा केही भौगर्भिक समस्या औंल्याएको छ । नेपाल इन्डियन र युरेसियन टेक्टोनिक प्लेटको बीचमा पर्छ । दुई प्लेट आपसमा रगडिँदा रेलमार्गको सुरुङमा समस्या आउने पनि टोलीको निष्कर्ष रहेको छ । यद्यपि, यस्तै समस्या रहेका अन्य मुलुकमा रेलमार्ग सञ्चालनमा रहेकाले नेपालमा पनि सम्भव रहेको सो टोलीको निष्कर्ष रहेको छ । नेपाल र चीनबीचको भूभाग निकै विकट छ । सोही कारण निर्माणाधीन धेरै सडक आयोजना पनि सम्पन्न हुन सकेका छैनन् । रेलमार्गमा पनि भौगोलिक जटिलता अवरोधका रूपमा देखिन सक्ने पनि सो टोलीले स्थलगत अध्ययन भ्रमणपछि औंल्याएको छ । तर चीनसँग जस्तोसुकै भूगोलमा पनि रेलमार्ग र सडक निर्माण गरेको अनुभव छ । त्यसको पछिल्लो उदाहरण हो, क्विनघाई र तिब्बती पठारको चोला पहाड छेडेर बनाइएको सडक । सिचुवान प्रान्तको ४ हजार मिटर उचाइमा सो सडक निर्माण भएको छ ।
१५ वर्षको निरन्तर प्रयत्नपछि हालै सडक सञ्चालनमा आएको छ । तिब्बती भाषामा चोलाको अर्थ त्यसभन्दा माथि चिलहरु पनि उड्न सक्दैनन् भन्ने हुन्छ । नेपाल र चीनबीच विकट हिमाली क्षेत्र पर्छ । अग्ला पहाडका कारण गणितीय ‘रेडियन्स’को समस्या हुने चिनियाँ टोलीको भनाइ छ । उनीहरुले यस्तो क्षेत्रमा ओर्लने र उक्लिन सक्ने गरी रेल निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ  । अध्ययन टोलीले यहाँका वन क्षेत्रमा भने रूख कटान कार्य सहज नभएको बताउँदै उनीहरुले त्यसमा रहेको नीतिगत जटिलता तत्काल हटाउन नेपाल सरकारलाई सुझाव दिएको छ । यसैगरी, उनीहरुले यहाँको टेन्डर तथा ठेक्कापट्टामा पनि नीतिगत जटिलता रहेकाले त्यसमा पनि सुधार गर्न सुझाव दिएको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए ।
प्रक्रियागत जटिलताका कारण नेपालका आयोजनामा निर्माण अवधि बढ्ने अनुभव यसअघि नै नेपालमा कार्यरत चिनियाँहरुको छ । अहिले आएको यस अध्ययन भ्रमण टोलीले पनि सोही समस्या औंल्याएको विभागले जनाएको छ । नीतिगत र कानुनी जटिलता हटाउन उनीहरुले सुझाएको जानकारी गराउँदै उपाध्यायले भने, ‘अहिले आफूसँग तथ्यांक अभाव पनि एक समस्याका रूपमा रहेको उनीहरुले औंल्याएका छन् ।’ सो टोलीले गत सोमबारदेखि केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको स्थलगत अध्ययन थालेको थियो । केरुङ, पोखरा र लुम्बिनीको स्थलगत अध्ययन गरेको सो टोलीसँग रेल विभाग र अन्य सम्बन्धित निकायका अधिकारीबीच शुक्रबार छलफल पनि भएको थियो ।
चीनले सन् २००६ मै ११ सय किलोमिटर लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याएको थियो । त्यसलाई सिगात्सेसम्म विस्तारको काम भइरहेको छ ।  अहिले सो  मार्गलाई नेपाल सीमाको केरुङसम्म ल्याउने चिनियाँ योजना रहेको छ । त्यहाँबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेलमार्ग निर्माणको थप नयाँ योजना दुवै पक्षले अघि सारिसकेका छन् । सोही योजना एवं तयारी अनुरूप उनीहरुले यहाँको स्थलगत अध्ययन भ्रमण सम्पन्न गरी फर्किएको विभागले जनाएको छ । केरुङ–काठमाडौं र काठमाडौं– पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको टोली गत सोमबार बिहान काठमाडौं आएको थियो । गत सोमबारदेखि उनीहरुले निरन्तर नेपालमा रेल निर्माणबारे छलफल तथा स्थलगत अवलोकन गरिरहेका थिए । नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न यस टोलीले जिम्मेवारी पाएको विभागले जनाएको छ ।
तिब्बती पठारको सिगात्सेसम्म  निर्माण भइसकेको रेलमार्ग अब केरुङ हुँदै काठमाडौंसम्म जोड्ने लक्ष्य रहेको छ । नेपालले हस्ताक्षर गरिसकेको ‘वानबेल्ट, वानरोड’को अवधारणाभित्र सो रेलमार्ग पर्ने भएकाले अहिले चिनियाँ टोलीले सकेसम्म छिटो यहाँ रेलमार्ग जोड्ने चासो देखाएका हुन् । नेपाली पक्षले त्यसलाई तीव्रताका साथ अघि बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ । यस टोलीसँगै अहिलेसम्म विभिन्न चिनियाँ कम्पनीले चासो देखाउँदै यहाँको रेलमार्ग निर्माणका लागि नेपालको रेल्वे विभागसँग तीव्र इच्छा व्यक्त गर्दै आएका छन् ।
चीनले ११ सय किलोमिटर रेलमार्गमार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मा रेल सेवा सञ्चालनमा ल्याएको थियो  । त्यसपछि २ सय ५० किलोमिटर विस्तार गर्दै सिगात्सेसम्म ल्याइपु¥याएको छ । चिनियाँ रेलवेको योजना सिगात्सेबाट याडोङ र बुराङसम्म विस्तार गर्ने रहेको छ । यी दुई स्थान भारतको सिक्किम र उत्तराखण्ड नजिकै पर्छन् । त्यस्तै, नेपाली सिमानाको केरुङमा पनि रेलवे लाइन विस्तारको परियोजना चीनले बनाएको छ । केरुङ सीमाक्षेत्र समुद्री सतहबाट २८ सय  मिटरको उचाइमा रहेको छ । नेपालमा जम्मा १८ सय मिटरबाटै हिमाल सुरु हुन्छ, यसले रेलवे विस्तारका लागि भौगोलिक रूपमा सम्भव देखाएको विभिन्न अध्ययनले देखाएको छ ।
अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महरासँग चीन भ्रमणको अवसरमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो । जसका लागि सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । सो अध्ययनअनुसार यहाँको रेलमार्ग १ सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले सवारीसाधनबाट पोखरा पुग्न लाग्ने करिब ७ घन्टा लामो यात्रालाई छोट्याएर जम्मा २ घन्टामा झार्ने सो अध्ययन प्रतिवेदनले देखाएको छ ।
चीनले ११ सय किलोमिटर रेलमार्गमार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मा रेल सेवा सञ्चालनमा ल्याएको थियो  । त्यसपछि २ सय ५० किलोमिटर विस्तार गर्दै सिगात्सेसम्म ल्याइपु¥याएको छ । चिनियाँ रेलवेको योजना सिगात्सेबाट याडोङ र बुराङसम्म विस्तार गर्ने रहेको छ ।  यसैगरी, सिगात्सेबाट अब केरुङ हुँदै काठमाडौंसम्म जोड्ने लक्ष्य रहेको छ । नेपालले हस्ताक्षर गरिसकेको ‘वान बेल्ट, वान रोड’को अवधारणाभित्र सो रेलमार्ग पर्ने भएकाले अहिले चिनियाँ टोलीले सकेसम्म छिटो यहाँ रेलमार्ग जोड्ने चासो देखाएका हुन् ।