Saturday, November 11, 2017

तारकेश्वर नगरपालिकालाई मुलुककै नमुना पर्यटकीय हब बनाइने


काठमाडौ, २५ कात्तिक
तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले तारकेश्वर नगरपालिकालाई मुलुककै नमुना पर्यटकीय हब बनाइने बताएका छन । उनले यस क्षेत्रलाई मुलुककै नमुना पर्यटकीय शहरको रुपमा विकास गर्न आफुहरुले नगरपालीकाको छुट्टै गुरुयोजना तयार बनाएर सोही अनुरुप विकासका काम अघि बढाउने प्रयास गरिरहेको बताए । उनले यस नगरपालिकामा रहेको भ्यु टावरलाई काठमाडौ उपत्यका भित्रकै नयाँ नमुना पर्यटकीय गन्तब्यस्थल बनाउन १ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । उनले नगर परिषदबाट सो बजेट विनियोजन भएकाले अझै त्यहाँको जग्गा अपर्याप्त हुने देखिएपछि अहिले भ्युटावर क्षेत्रमा थप जग्गा एकिकरण गर्ने काम जारी रहेको बताए ।
शनिबार सम्पन्न तारकेश्वर नगरपालिका–५ स्थित जनजागृति टोल सुधार समितिको ७ औं वार्षिक साधारण सभामा मेयर बोहोराले तारकेश्वर नगरपालिकालाई मुलुककै नमुना पर्यटकीय हब बनाइने बताएका हुन । उनले यस लक्ष्य पुरा गर्नकालागि सबैभन्दा पहिले यहाँका सडक बाटो निर्माण , खानेपानी , खेलमैदान लगायत अन्य पर्यटकीय गतिविधीलाई व्यवस्थित रुपमा अघि बढाइने कार्यलाई विशेष प्राथमिक्तामा राखिएको बताए । भ्यु टावर लगायत यहाँका अन्य धार्मिक तथा साँस्कृतिक पर्यटन प्रवद्र्धन, खानेपानी व्यवस्थापन, सडक निर्माण एवं सोलार बत्ती जडान लगायत अन्य विकास निर्माणका विषयमा स्थानीयवासीसँगको छलफलपछि यस नगरपालिकाको गुरुयोजना बनाएर काम अघि बढाएको बताए ।
उनले यहाँको प्राकृतिक विविधता, ऐतिहासिक धरोहर र स्थानीय उत्पादनको उचित उपयोग र प्रवद्र्धन गरि यस क्षेत्रलाई नमुना पर्यटकीय हब बनाउने कार्यमा आफु निरन्तर लागिपरेको बताए ।  कार्यान्वयन नभएको योजना क्रमागत योजना अन्तरगत खानेपानी विस्तारकालागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराउँदै उनले यहाँका सबै नागरिकलाई जानकारी गराउने उदेस्यले यस नगरपालिकाले भर्खरै मोबाइल एप बनाएको बताए । यसैगरि उनले यहाँका सार्वजनिक जगको उचित प्रयोजनकालागि एक वडामा सार्वजनिक पार्क बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिएको बताए ।
तानपाका उप मेयर भवानी डोटेल (धिताल) र तानपा–५ वडाका अध्यक्ष बासुप्रसाद गौतमले पनि यस क्षेत्रको पर्यटन विकास र पूर्वाधार निर्माणकालागि आफुहरुले उल्लेखनीय काम गरेर देखाउने प्रतिवद्धता जनाए । उनीहरुले तारकेश्वर नगरपालिकाको पर्यटकीय गन्तब्यस्थल भ्युटावरदेखि नार्गाजुन दरबार भन्दामाथी जामाचो मन्दीरसम्म जाने केबलकार स्थापना गर्न समेत आफुहरुले सक्रियता देखाएको बताए । यसैगरि उनीहरुले यस क्षेत्रलाई उपत्यकाकै राम्रो खानेपानी जोनको रुपमा समेत विकास गरिने लक्ष्य लिएको बताए । उनीहरुले अब यस नगरपालिका भित्रका हरेक वडामा खानेपानीको रिजर्भ ट्याङकी राख्ने अवधारणा ल्याएको समेत जानकारी गराएका थिए ।
स्थानीय समाजसेवी कमलप्रसाद रिमाले काठमाडौ क्षेत्र नं. ७ निर्वाचन क्षेत्रमा हाल ५ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको गुहेश्वरी, बोहोराटार, धितालथोक हुँदै तीनपिप्लेस्थित काठमाडौ–त्रिशुली जोड्ने पासाङ ल्हामु राजमार्ग छिचोल्ने सडक निर्माण कार्यमा भईरहेको ढिलाइप्रति पनि निकै चासो व्यक्त गरेका थिए । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बालाजु दगुर्नेपानीदेखि पुरानो गुहेश्वरी हुँदै तारकेश्वर नगरपालीका–५ बोहोराटार माइक्रोबस स्ट्याण्डसम्म ढलान र कालोपत्रे गर्नेकाम सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म निर्माणको काम त्यसै अलपत्र रहेकामा गम्भिर चिन्ता व्यक्त गर्दै उनले अब यस सडक निर्माण कार्यले गतिलिने आश्वासन पाएको बताए । मेयर बोहोरा र ५ नं. वडाका अध्यक्ष गौतमले आगामी मंसिर भित्रैमा यस सडक बोहोराटारसम्म कालोपत्रे हुने आश्वासन दिएका थिए ।
सो कार्यक्रममा समितिका अध्यक्ष केदार परियार, सल्लाहकार दिपक पाण्डे र सचिव राजकुमार प्रधान लगायत अन्य पदाधिकारीहरुले यस क्षेत्रमा हाल भईरहेका विविध विकास निर्माणका गतिविधीहरुबारे जानकारी गराएका थिए । समितिका कोषाध्यक्ष रामबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसहमतीले पारित भएको थियो ।
सोही कार्यक्रममा समितिले तेक्वान्दो खेलाडी प्रतिज्ञा भण्डारीलाई नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत गरेको थियो । यस टोल सुधार समिति भित्रकी स्थानीय महिला खेलाडी भण्डारीले कोरिया, भुटान र सिंगापुरमा पुगेर नेपालबाट उत्कृष्ट खेल प्रदर्शन गरि तेक्वान्दोमा गोल्ड मेडल प्राप्त गरेकी छिन ।  कलिलै उमेरमा स्वदेशमा मात्र नभएर अन्तराष्ट्रिय जगतमा समेत उत्कृष्ट्र खेल प्रदर्शन गरि ख्याती कमाउन सफल भण्डारीलाई तानपाका मेयर रामेश्वर बोहोराले सो पुरस्कार प्रदान गरेका थिए ।
समितिको अध्यक्षमा पुनः परियार 
जनजागृति टोल सुधार समितिको अध्यक्षमा पुनः केदार परियार निर्वाचित भएका छन । शनिबार सम्पन्न ७ औं वार्षिक साधारण सभाले परियारलाई पुनः आगामी दुईवर्षे कार्यकालकालागि निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा तोकबहादुर तामाङ, सचिवमा राजकुमार प्रधान, सह सचिवमा गणेश देवकोटा र कोषाध्यक्षमा विमला थापा निर्वाचित भएका छन । कार्यसमिति सदस्यहरुमा मधुजंग पाण्डे, धनप्रसाद सिंखडा, डिलबहादुर गुरुङ, अनिल देवकोटा, कृष्णमायाँ पाण्डे, रत्नकुमारी श्रेष्ठ,उद्धव पाण्डे र सलिना अर्याल  निर्वाचित भएका छन । कुल १३ सदस्यीय पदाधिकारी निर्वाचित गरेको सोही साधारण सभाले दिपक पाण्डे, झपेन्द्र बानियाँ, तोयानाथ खनाल, कमलप्रसाद रिमाल र सुधन गौतमलाई सल्लाहकारमा चयन गरेको छ । 


No comments:

Post a Comment