Saturday, November 11, 2017

रेलमार्ग सम्भव , चिनियाँ अध्ययन टोलीको निष्कर्ष

मधुजंग पाण्डे
काठमाडौं
मुलुकको राष्ट्रिय प्राथमितामा रहेको बहुप्रतिक्षित केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउनका लागि स्थलगत अध्ययन गर्न नेपाल आएको चिनियाँ उच्च अधिकारीको टोलीले रेल निर्माण प्राविधिक रूपमा सम्भव भएको निष्कर्ष निकालेको छ । नेपाल र चीन जोड्ने रेलमार्गबारे विस्तृत अध्ययन गर्न आएका चिनियाँ टोलीले पाँचदिने नेपाल भ्रमणपछि केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग सम्भव रहेको निष्कर्षसहित प्रारम्भिक प्रतिवेदन दिएको हो ।
गत सोमबारदेखि केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको स्थलगत अध्ययन भ्रणण पूरा गरेको चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उप मन्त्री जेङ जियनको नेतृत्वमा आएका २३ सदस्यीय टोली यहाँको रेलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन गरी शुक्रबार नै बेइजिङ फर्किएको छ । सो अध्ययन टोलीमा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधिलगायत सहभागी भएका थिए । 
नेपालमा रेल सेवा विकासको सम्भावना अध्ययन र छलफल गर्न आइपुगेका चिनियाँ  प्राविधिकसहितको उच्च टोलीले काठमाडौं आइपुगेकै दिन पहिलो चरणमा गत सोमबार केरुङ–पोखरा–लुम्बिनीको स्थलगत अध्ययनसहित यहाँका सरकारी अधिकारीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गरेको थियो ।
सो टोलीले आफ्नो प्रतिवेदन चीन सरकारलाई पेस गर्ने जानकारी गराउँदै रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले भने,
‘रेलमार्ग निर्माणका लागि अब नेपाल सरकारले औपचारिक आग्रह गर्नुपर्नेछ’ । त्यसपछि मात्र रेलमार्ग निर्माण कार्यका लागि प्रक्रिया अघि बढाउन सकिने उनले जानकारी दिए । उनले  चिनियाँ अध्ययन टोली निकालेको  यस्तो निष्कर्षले अहिले आफूहरु पनि निकै उत्साहित भएको बताए ।
स्थलगत अध्ययन भ्रमणपछि चिनियाँ टोलीले तीन वटै मार्गमा केही भौगर्भिक समस्या औंल्याएको छ । नेपाल इन्डियन र युरेसियन टेक्टोनिक प्लेटको बीचमा पर्छ । दुई प्लेट आपसमा रगडिँदा रेलमार्गको सुरुङमा समस्या आउने पनि टोलीको निष्कर्ष रहेको छ । यद्यपि, यस्तै समस्या रहेका अन्य मुलुकमा रेलमार्ग सञ्चालनमा रहेकाले नेपालमा पनि सम्भव रहेको सो टोलीको निष्कर्ष रहेको छ । नेपाल र चीनबीचको भूभाग निकै विकट छ । सोही कारण निर्माणाधीन धेरै सडक आयोजना पनि सम्पन्न हुन सकेका छैनन् । रेलमार्गमा पनि भौगोलिक जटिलता अवरोधका रूपमा देखिन सक्ने पनि सो टोलीले स्थलगत अध्ययन भ्रमणपछि औंल्याएको छ । तर चीनसँग जस्तोसुकै भूगोलमा पनि रेलमार्ग र सडक निर्माण गरेको अनुभव छ । त्यसको पछिल्लो उदाहरण हो, क्विनघाई र तिब्बती पठारको चोला पहाड छेडेर बनाइएको सडक । सिचुवान प्रान्तको ४ हजार मिटर उचाइमा सो सडक निर्माण भएको छ ।
१५ वर्षको निरन्तर प्रयत्नपछि हालै सडक सञ्चालनमा आएको छ । तिब्बती भाषामा चोलाको अर्थ त्यसभन्दा माथि चिलहरु पनि उड्न सक्दैनन् भन्ने हुन्छ । नेपाल र चीनबीच विकट हिमाली क्षेत्र पर्छ । अग्ला पहाडका कारण गणितीय ‘रेडियन्स’को समस्या हुने चिनियाँ टोलीको भनाइ छ । उनीहरुले यस्तो क्षेत्रमा ओर्लने र उक्लिन सक्ने गरी रेल निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ  । अध्ययन टोलीले यहाँका वन क्षेत्रमा भने रूख कटान कार्य सहज नभएको बताउँदै उनीहरुले त्यसमा रहेको नीतिगत जटिलता तत्काल हटाउन नेपाल सरकारलाई सुझाव दिएको छ । यसैगरी, उनीहरुले यहाँको टेन्डर तथा ठेक्कापट्टामा पनि नीतिगत जटिलता रहेकाले त्यसमा पनि सुधार गर्न सुझाव दिएको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए ।
प्रक्रियागत जटिलताका कारण नेपालका आयोजनामा निर्माण अवधि बढ्ने अनुभव यसअघि नै नेपालमा कार्यरत चिनियाँहरुको छ । अहिले आएको यस अध्ययन भ्रमण टोलीले पनि सोही समस्या औंल्याएको विभागले जनाएको छ । नीतिगत र कानुनी जटिलता हटाउन उनीहरुले सुझाएको जानकारी गराउँदै उपाध्यायले भने, ‘अहिले आफूसँग तथ्यांक अभाव पनि एक समस्याका रूपमा रहेको उनीहरुले औंल्याएका छन् ।’ सो टोलीले गत सोमबारदेखि केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको स्थलगत अध्ययन थालेको थियो । केरुङ, पोखरा र लुम्बिनीको स्थलगत अध्ययन गरेको सो टोलीसँग रेल विभाग र अन्य सम्बन्धित निकायका अधिकारीबीच शुक्रबार छलफल पनि भएको थियो ।
चीनले सन् २००६ मै ११ सय किलोमिटर लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याएको थियो । त्यसलाई सिगात्सेसम्म विस्तारको काम भइरहेको छ ।  अहिले सो  मार्गलाई नेपाल सीमाको केरुङसम्म ल्याउने चिनियाँ योजना रहेको छ । त्यहाँबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेलमार्ग निर्माणको थप नयाँ योजना दुवै पक्षले अघि सारिसकेका छन् । सोही योजना एवं तयारी अनुरूप उनीहरुले यहाँको स्थलगत अध्ययन भ्रमण सम्पन्न गरी फर्किएको विभागले जनाएको छ । केरुङ–काठमाडौं र काठमाडौं– पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको टोली गत सोमबार बिहान काठमाडौं आएको थियो । गत सोमबारदेखि उनीहरुले निरन्तर नेपालमा रेल निर्माणबारे छलफल तथा स्थलगत अवलोकन गरिरहेका थिए । नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न यस टोलीले जिम्मेवारी पाएको विभागले जनाएको छ ।
तिब्बती पठारको सिगात्सेसम्म  निर्माण भइसकेको रेलमार्ग अब केरुङ हुँदै काठमाडौंसम्म जोड्ने लक्ष्य रहेको छ । नेपालले हस्ताक्षर गरिसकेको ‘वानबेल्ट, वानरोड’को अवधारणाभित्र सो रेलमार्ग पर्ने भएकाले अहिले चिनियाँ टोलीले सकेसम्म छिटो यहाँ रेलमार्ग जोड्ने चासो देखाएका हुन् । नेपाली पक्षले त्यसलाई तीव्रताका साथ अघि बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ । यस टोलीसँगै अहिलेसम्म विभिन्न चिनियाँ कम्पनीले चासो देखाउँदै यहाँको रेलमार्ग निर्माणका लागि नेपालको रेल्वे विभागसँग तीव्र इच्छा व्यक्त गर्दै आएका छन् ।
चीनले ११ सय किलोमिटर रेलमार्गमार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मा रेल सेवा सञ्चालनमा ल्याएको थियो  । त्यसपछि २ सय ५० किलोमिटर विस्तार गर्दै सिगात्सेसम्म ल्याइपु¥याएको छ । चिनियाँ रेलवेको योजना सिगात्सेबाट याडोङ र बुराङसम्म विस्तार गर्ने रहेको छ । यी दुई स्थान भारतको सिक्किम र उत्तराखण्ड नजिकै पर्छन् । त्यस्तै, नेपाली सिमानाको केरुङमा पनि रेलवे लाइन विस्तारको परियोजना चीनले बनाएको छ । केरुङ सीमाक्षेत्र समुद्री सतहबाट २८ सय  मिटरको उचाइमा रहेको छ । नेपालमा जम्मा १८ सय मिटरबाटै हिमाल सुरु हुन्छ, यसले रेलवे विस्तारका लागि भौगोलिक रूपमा सम्भव देखाएको विभिन्न अध्ययनले देखाएको छ ।
अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महरासँग चीन भ्रमणको अवसरमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो । जसका लागि सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । सो अध्ययनअनुसार यहाँको रेलमार्ग १ सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले सवारीसाधनबाट पोखरा पुग्न लाग्ने करिब ७ घन्टा लामो यात्रालाई छोट्याएर जम्मा २ घन्टामा झार्ने सो अध्ययन प्रतिवेदनले देखाएको छ ।
चीनले ११ सय किलोमिटर रेलमार्गमार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मा रेल सेवा सञ्चालनमा ल्याएको थियो  । त्यसपछि २ सय ५० किलोमिटर विस्तार गर्दै सिगात्सेसम्म ल्याइपु¥याएको छ । चिनियाँ रेलवेको योजना सिगात्सेबाट याडोङ र बुराङसम्म विस्तार गर्ने रहेको छ ।  यसैगरी, सिगात्सेबाट अब केरुङ हुँदै काठमाडौंसम्म जोड्ने लक्ष्य रहेको छ । नेपालले हस्ताक्षर गरिसकेको ‘वान बेल्ट, वान रोड’को अवधारणाभित्र सो रेलमार्ग पर्ने भएकाले अहिले चिनियाँ टोलीले सकेसम्म छिटो यहाँ रेलमार्ग जोड्ने चासो देखाएका हुन् । 

No comments:

Post a Comment