Tuesday, May 31, 2011

पाँचबुदेप्रति बैद्य समूहको असन्तुष्टि

 काठमाडौं,१७ जेठ,  – जनबिद्रोह गर्ने लाइन संसोधन गर्दै शान्ति र संविधानका पक्षमा पार्टी नेतृत्व ढल्किएपछि असन्तुष्ट बनेको माओवादीको मोहन बैद्य पक्षले संविधानसभा म्याद थप्नेबेला गरेका निर्णयप्रति पनि कडा आपत्ति जनाएको छ ।
पालुङटारको विस्तारित बैठकले तय गरेको जनविद्रोहको कार्यदिशा स्थगित गर्ने निर्णयसँगै पार्टी नेतृत्व संसदीय भासमा फस्दै गएको निष्कर्षमा पुगेको बैद्य पक्षले त्यसपछिका सबै निर्णयहरुमा फरक मत राख्दै आएको छ ।
पार्टीमा छलफल नै नगरी अध्यक्ष प्रचण्डले पार्टी निर्णय विपरित पाँच बुँदे सहमति गरेको बैद्य पक्षको आरोप छ । ‘पछिल्लो सहमति गर्ने क्रममा अध्यक्षले डवल स्ट्याण्डर्ड देखाउनु भएको छ’ बैद्य पक्षका पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले अनलाइनखबरसँग भन्नुभयो-’पार्टीमा एउटा निर्णय हुने अनि त्यहाँ अर्कौ निर्णय गरेर आउने ?’
बैद्य पक्षले तीन दलबीच भएको पाँचबुँदेमा रहेको तीन महिनाभित्र शान्ति प्रक्रिया पुरा गर्ने, उक्त समयमा संविधानको एकीकृत मस्यौदा निमार्ण गर्ने र शान्ति प्रक्रिया पुरा भएपछि संविधान निर्माण गर्ने तथा प्रधानमन्त्रीको राजीनामा गराउने सहमतिप्रति असन्तुष्टि जनाएको छ । ‘सरकारको यो मोर्चालाई तोड्ने भन्ने कुनै निर्णय भएको छैन’ बैद्य पक्षका अर्का नेता देव गुरुङले भन्नुभयो-’ पार्टीमा छलफल नभएको विषयमा अध्यक्षले कसरी सहमति गर्नुभयो ?’
उनीहरुकै भाषामा भन्दा नेपालीहरु आफैले बनाएको वर्तमान सरकार ढाल्ने र हस्तक्षेपको बीचबाट नयाँ सरकार बन्न खोजेको त होइन भन्ने बैद्य पक्षको आशंका छ । राष्ट्रियता र राष्ट्रिय अस्मिताको रक्षाका लागि वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने भन्दै गुरुङले प्रधानमन्त्रीको राजीनामाले मुलुकलाई राष्ट्रिय आत्मसर्मपणबादतिर लैजाने दावी गर्नुभयो । ‘हाम्रा नेताहरुमा पनि कतै सत्ता मोह पलाएको त हैन भन्ने हाम्रो गम्भीर आशंका छ’ कँडेलले भन्नुभयो-’आफैले बनाएको सरकार आफैले कसरी विना कारण ढाल्ने ? यो सरकार ढाल्नु पर्ने विशिष्ट कारण के ? राष्ट्रिय सरकारको आधार के ?’
यसैगरी बैद्य पक्षले शान्तिप्रक्रिया पुरा गरेपछि संविधान निर्माण गर्न खोजिएको भन्दै अध्यक्षको नियतप्रति आशंका जनाएको छ । ‘अहिलेको केन्द्रीय प्रश्न भनेको जनताको संविधान निर्माण हो । तर, शान्ति र सत्तालाई केन्द्रमा राख्न खोजिएको छ’ नेता कँडेलले भन्नुभयो-’शान्ति र संविधान सँगसँगै जानुपर्छ ।’ उनीहरुले तीन महिनाभित्र संविधानको एकीकृत मस्यौदा ल्याउने र लडाकुलाई निशस्त्रिकरण गर्ने निर्णय गम्भीर भुल भएको बताएका छन् । बैद्य पक्षमा रहेका सचिव सीपी गजुरेलले भन्नुभयो-’हतियार खोसिएका नागरिकलाई केमा समायोजन गर्ने ? हतियार नभएको पनि सेना हुन्छ ? त्यसैले समायोजन र हतियार बुझाउने काम सँगै बढ्छ । पहिला हतियार बुझाएर आत्मसर्मपण गर्ने कुरा हुँदैन ।’
बैद्य पक्षले पार्टी नेतृत्व जनताको संविधान निमार्ण गर्ने तर्फभन्दा पनि एक थान संविधान ल्याउन केन्द्रीत भएको आरोप लगाएको छ । उनीहरुले पार्टी अध्यक्ष प्रचण्ड उपसमितिको संयोजक भएको र पार्टी अडानहरु छाड्दै गएकोमा पनि आपत्ति जनाएका छन् । ‘पार्टी अध्यक्षको संयोजकत्वमा के-के उपसमिति बनाएर नौटंकी भइरहेको छ’ कँडेलले भन्नुभयो-’त्यहाँ के-के सहमति भयो पार्टीमा कुनै हिसाव किताब छैन ।’ विभिन्न विषयगत समितिले सर्वसम्मत तथा बहुमतले पारित गरेका सहमतिलाई समेत उपसमितिले उल्टाएको भन्दै कँडेलले अध्यक्षसहित पार्टी नेतृत्व एक थान संविधान ल्याउन खोजेको बताउनुभयो ।

No comments:

Post a Comment