Tuesday, January 1, 2013

जर्बरजस्ती चन्दा माग्नेलाई व्यवसायीले लखेट्ने
मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, १४ पुस
व्यवसायीले अबदेखि विभिन्न बहानामा चन्दा माग्न आउने जो कसैलाई भ्याकुर लखेटे झैं लखेट्ने भएका छन् । निजी क्षेत्रका व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले जर्बरजस्ती चन्दा माग्ने प्रवृत्तिबिरुद्ध उत्रन निर्देशन दिएपछि व्यवसायीले पनि चन्दा माग्न आउनेलाई भ्याकुर लखेटे झैं लखेट्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले अहिले जर्बरजस्ती चन्दा असुल्ने क्रम बढेकाले व्यवसायीलाई चन्दा आतंकविरुद्ध उत्रन महासंघले निर्देशन दिएको बताए ।
उनले हाल सबै राजनीतिक दल र उनीहरु सम्बद्ध भातृसंगठनले धमाधम जिल्ला अधिवेशन गरिरहेकाले जबरजस्ती व्यवसायीसँग चन्दा माग्ने क्रम बढेकाले प्रतिकार गर्न निर्देशन गरेको जानकारी दिए । प्रतिकार गर्ने क्रममा कसैले जबरजस्ती गर्न खोजे तुरुन्तै महासंघमा जानकारी दिन आग्रह गरेको बताउँदै उपाध्यक्ष राजकर्णिकारले भने, ‘अब चन्दा माग्नेलाई व्यवसायीले भ्याकुर लखेटे झैं खेद्ने छन् ।’
उनले ठूला व्यवसायी मात्र नभएर सानो पसल राख्ने व्यवसायीलाई पनि चन्दा
माग्न आउनेको पहिचान गरी तत्काल प्रतिकार गर्न आग्रह गरिएको बताए ।
उनले अहिले विभिन्न बहानामा हुने चन्दा आतंकबाट आजित व्यवसायी धमाधम राजनीतिक दल र तिनका भातृ संगठनको अधिवेशनका लागि भनेर उठाइँदै आएको रकम दिन बाध्य भएको बताए ।
सामान्य ढंगले थोरै रकम माग्नेलाई दिएको रकमका बारेमा अहिलेसम्म कतैबाट  आवाज नउठिरहेको र दिएको रकमबारे व्यवसायीले पनि कुनै लेखाजोखा राख्ने नगरेकाले व्यवसायी गम्भिर मारमा परेको बताउँदै उनले अहिले विभिन्न राजनीतिक दल र उनीहरुका भातृसंगठनको नाममा उठाइएको रकमको पूरै हिसाव बाहिर ल्याउने प्रयास गर्न महासंघले व्यवसायीलाई आग्रह गरेको जानकारी दिए ।
अहिलेसम्म चन्दा आतंकको मारमा साना भन्दा ठूला व्यवसायी नै बढी परेको बताउँदै राजकर्णिकारले भने, ‘जबरजस्ती चन्दा उठाउने क्रमले व्यवसायी गम्भीर मारमा छन् ।’ कतिपय व्यवसायीले ज्यानै जानसक्ने डरले लुकाएर चन्दा दिएको हुनसक्ने भन्दै उनले अब चन्दा आतंकबिरुद्ध व्यवसायीलाई एकजुट हुन आग्रह गरिएको बताए ।
यसअघि पनि धेरैपटक महासंघ र नेपाल चेम्बर अफ कमर्सले चन्दा आतंक बिरुद्ध व्यवसायीलाई एकजुट हुन आग्रह गरेको जानकारी दिँदै उनले अब व्यवसायी कडा प्रतिकारमा उत्र्रने बताए । उनले महासंघले दसैं तिहार लगायतका चार्ड पर्वका बेला व्यवसायी बढी चन्दा आतंकको मारमा पर्नसक्छन भनेर धेरैपटक कडा प्रतिकारमा उत्र्रन व्यवसायीलाई संगठीत गराउने प्रयास गरिपनि अहिलेसम्म लक्ष्य अनुरुप प्रभाव नपरेको बताए । अब जर्बरजस्ती गर्ने जो कोहिलाई ठाउँको ठाउँ व्यवसायीले पाताकसेर राख्ने वातावरण बनाउने प्रयास भईरहेको जानकारी दिँदै राजकर्णिकारले भने, ‘ यदि कुनै राजनीतिक दलले धम्कि दिएर व्यवसायीलाई दुःख दिन्छन भने महासंघले त्यसको कडा प्रतिकार गर्ने छ ’ ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले पनि अहिले जर्बरजस्ती चन्दा असुल्ने कार्यलाई निरुत्साहित गर्ने कार्यमा व्यवसायी एकजुट भईसकेको बताए ।
उनले चन्दा माग्न आउनेले धम्काउँदैमा अब व्यवसायी चुप लागेर नबस्ने अवस्थामा पुगेको बताए ।

No comments:

Post a Comment