Sunday, December 23, 2012

पर्यटन बोर्ड नेतृत्वबिहिन भएकाले व्यवसायी मारमा
काठमाडौं÷रास– नेपाल एसोसियसन अफ टुर अपरेटर्स ( नाटो) का अध्यक्ष अशोक पोखरेलले विगत १६ महिनादेखि खाली रहेको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनोट प्रक्रिया अझै अन्योलग्रस्त रहेकाले पर्यटन व्यवसायी मारमा परेको बताएका छन् । 
शनिबार नगरकोटमा आयोजित पिकनिकमा पोखरेलले बोर्डमा नेतृत्व नहुँदा पर्यटन व्यवसायीले लक्ष्य अनुरुप काम गर्न नपाएको बताए ।
व्यवसायीबीचको आत्मियता बढाई सरकारी र अन्य सरोकारवालासँगको आपसी सहकार्यलाई थप विस्तार गर्ने उद्देश्यले नाटोले हरेक वर्ष अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसरमा सदस्य व्यवसायीलाई एकै ठाउँमा भेला गराएर पिकनिक कार्यक्रम गर्दै आएको जानकारी दिँदै उनले सन् २०१० देखि सुरु भएको यस मनोरञ्जनात्मक कार्यक्रममा पर्यटनसँग सम्बन्धित सबै व्यवसायी र सरोकारवालाको बाक्लो उपस्थिती भएको बताए ।
नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य समेत रहेका पोखरेलले लामो समयदेखि पर्यटन बोर्डको सिइओ छनोट नभएकाले अन्तर्राष्ट्रिय स्तरको प्रवद्र्धन  कार्यक्रम प्रभावित भएको बताए । बोर्डले गत वर्ष विभिन्न अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमार्फत गरेको विज्ञापनको बिल भुक्तानी समेत गर्न नपाएको बताए ।
उनले अहिलेसम्म सरकारले नेपाल भित्रिने पर्यटकको कुल बसाई अवधी १२ दशमलब ७  दिनबाट थप लम्बाउने खालका कुनै गतिविधी गर्न नसकेकाले व्यवसायी मारमा परेको बताए । उनले लामो समयदेखि जारी राजनीतिक अस्थितरता एवं संक्रमणकालिन अवस्थाले पर्यटन क्षेत्र धेरै प्रभावित भएको बताए । 
पर्यटन प्रवद्र्धनकालागि अहिलेसम्म भएका  सरकारी नीति नै स्पष्ट्र नभएकाले व्यवसायी थप अन्योलमा परेको बताए । कार्यक्रममा सहभागी व्यवसायीहरु जोय देवान, सुमन पाण्डे, विक्रम पाण्डे, अच्चुत गुरागाइँ, अमरबहादुर साही लगायतले नयाँ पर्यटन बहान आयात गर्दा लाग्ने भन्सार मुल्याङकन शुल्क छुट नभएकाले महँगो गाडी ल्याएर व्यवसाय गर्दा निकै मर्का परेको बताएका थिए ।
सो कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्य, नेपाल वायुसेवा निगमका निमित्त महाप्रवन्धक राजुबहादुर केसी लगायत करिब डेढसय जना सहभागी थिए ।    

No comments:

Post a Comment