Wednesday, May 1, 2013

पाटा सम्मेलन सम्पन्न सूचना प्रविधिको प्रयोग र जनशक्ति विकासमा जोड
मधुजंग पाण्डे÷राजधानी थाइल्यान्ड(बैंकक), १७ वैशाख
पर्यटन क्षेत्रका विज्ञ एवं व्यवसायी र सरोकारवालाले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि नेपालले आधुनिक सूचना प्रविधिको प्रयोग र दक्ष जनशक्ति विकासमा थप जोड दिनुपर्ने आवाज उठाएका छन् ।
विश्व पर्यटन मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गर्न युवा जमातलाई आकर्षित गराई सूचना प्रविधिको भरपुर उपयोग र प्रयोगमा अग्रसर भए मात्र नेपालले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्न सक्ने उनीहरूको धारणा छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको जन्मभूमि नेपालले पर्यटन क्षेत्रमा आधुनिक सूचना प्रविधिको प्रयोग गर्न नसक्दा अन्तर्राष्ट्रिय जगत्मा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको भन्दै उनीहरूले यस्तो आवाज उठाएका हुन् ।
थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को ६१औं वार्षिक साधारण सभा एवं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी व्यवसायीले सो धारणा राखेका हुन् । नेपाल र अमेरिकादेखि करिब ५० भन्दा धेरै मुलुकका व्यवसायी प्रतिनिधि सहभागी पाटा सम्मेलनमा नेपाल च्याप्टरले पनि सूचना प्रविधि र जनशक्ति विकासमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ । बैंककमा लगातार चार दिनसम्म चलेको पाटा सम्मेलनमा पर्यटन विकासका लागि व्यापार प्रवद्र्धन, उत्पादनको ब्रान्डिङ, मानव संसाधनको विकास र नेटवर्क विस्तार गर्ने लक्ष्यसहितको भावी कार्ययोजनासमेत प्रस्तुत भएको थियो । पाटाका प्रमुख कार्यकारी अधिकृत पार्टिन क्रेस र यूएनडब्लूटीओका जनरल सेक्रेटरीबीच सोसम्बन्धी सम्झौतासमेत भएको थियो ।
यूएनडब्लूटीओले आगामी दिनमा पर्यटन विकासका लागि पाटासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ । पाटाका प्रमुख कार्यकारी अधिकृत क्रेसले भने, ‘पाटा ६० वर्ष पुगेर ६१ वर्षमा प्रवेश ग¥यो अब हामीले युवा जमातलाई नेतृत्वदायी भूमिकाको आह्वान गर्दै सूचना प्रविधिको प्रयोगमा जोड दिनुपर्छ ।’ अहिलेसम्म स्थानीय स्तरमा रोजगारको अवस्था सिर्जना गरी सामाजिक आर्थिक विकासमा पर्यटनले ठूलो फड्को मारेको बताउँदै क्रेसले विकासोन्मुख देशले पर्यटन क्षेत्रमा जोड दिनु आवश्यक भएको धारणा राखे ।
सो अवसरमा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) का महासचिव टालिव रिफाईले सन् २०१२ मा विश्वमा १ अर्र्ब पर्यटकले यात्रा गरी १० हजार विलियन अमेरिकी डलरभन्दा बढी खर्च गरेको जानकारी दिए । विश्वको कुल गार्हस्त उत्पादनमा पर्यटन क्षेत्रको ९ प्रतिशत हिस्सा रहेको र यसले प्रत्येक सेकेन्डमा ११ रोजगार सिर्जना गर्ने गरेको बताए । रिफाईले विश्वका धेरै देशको अर्थतन्त्र पर्यटनले थामेको हुनाले यसको प्रवद्र्धन गर्न पर्यटन क्षेत्रका व्यवसायी र सरकारको पनि महŒवपूर्ण भूमिका रहने बताए । उनले यूएनडब्लूटीओले आगामी दिनमा पाटासँगै सहकार्य गरेर अघि बढ्ने बताए ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले आफूहरूले नेपालको पर्यटन प्रवद्र्धनका लागि ‘फोर ब्रान्डिङ’ को योजना ल्याउने धारणा राखेको बताए । पाटाको योजनाअनुसार व्यवसाय प्रवद्र्धनका लागि दक्ष एवं गुणस्तरीय जनशक्ति र नेटवर्कमा जोड दिनुपर्ने धारणा राखेको बताउँदै अध्यक्ष पाण्डेले भने, ‘यस सम्मेलनबाट नेपालले धेरै सिक्ने अवसर पाएको छ ।’ पाटामा नेपाल ३५ वर्षदेखि सदस्य रहँदै आएको जानकारी दिँदै उनले अब नेपाल च्याप्टर पर्यटनमा सूचना प्रविधिको प्रयोग र युवा जनशक्तिका लागि नयाँ कार्यक्रम ल्याउने बताए ।
सो सम्मेलन निकै उपलब्धिपूर्ण रहेको र धेरै देशका प्रतिनिधिले नेपालप्रति देखाएको स्नेहले आफू थप उत्साहित भएको बताउँदै अध्यक्ष पाण्डेले भने, ‘सम्मेलनमा सहभागी सबैलाई नेपाल आउन हामीले आग्रह गरेका छौं ।’ सो सम्मेलनमा पर्यटन पत्रकार संघ (जाट) नेपालले नेपालको पर्यटन प्रवद्र्धनका लागि सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा विज्ञहरूको सल्लाह र राय सुझाव संकलन गरेको थियो । सम्मेलनमा पर्यटन पत्रकार संघका द्वितीय उपाध्यक्ष मधुजंग पाण्डे, महासचिव संजोग आचार्य र सचिव शिव श्रेष्ठको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment