Saturday, June 17, 2017

आरोही शेरचनको सगरमाथा आरोहणका क्रममा निधन

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, २३ वैशाख
८६ वर्षीय वृद्ध आरोही मीनबहादुर शेरचनको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा निधन भएको छ । यसअघि आफ्नो तोडिएको विश्व कीर्तिमान फर्काउनका लागि गत ४ बैशाखमा काठमाडौबाट पुनः सगरमाथा आधार शिविरतर्फ लागेका शेरचनको शनिबार साँझ निधन भएको हो ।
म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेक नेपाल ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा गएका थिए । यसपाली पनि पुनः सगरमाथाको शिखर चुम्ने अठोटका साथ काठमाडौंबाट आधार शिविरतर्फ प्रस्थान गरेका शेरचनको शनिबार साँझ सवा ५ बजे आधार शिविरमा हाइअल्टिच्युट कारण निधन भएको प्रारम्भिक अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।  उनले अहिलेसम्म शेरचनको शव आधार शिविरमा रहेको बताए ।
गत ४ बैशाखमा  सात सदस्यीय आरोहण टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा हिड्ेका  शेरचनको १९ दिनपछि निधन भएको हो ।  आरोही शेरचन काठमाडौंबाट हेलिकोप्टरमा नाम्चे बजार हुँदै आधार शिविर पुगेका थिए । उनको आरोहणकालागि मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान नै सञ्चालन गरिएको थियो ।
विगत १० वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथाको शिखर चुमेर उनले संसारकै अग्लो सगरमाथाको शिखर चढ्ने सबैभन्दा पाको वृद्ध आरोहीको कीर्तिमान राख्न सफल भएका थिए । सन् २००८ को २५ मेका दिन सगरमाथाको सफल आरोहण गरेका आरोही शेरचनको नाम वल्ड रेकर्ड (गिनिज बुक) मा लेखिएको थियो । तर, सन् २०१३ मा जापानी आरोही मिउराले ८० वर्षको उमेरमा सगरमाथा चढेर उनको कीर्तिमान भंग गरेका थिए ।
आफ्नो कीर्तिमान तोडिएलगत्तै सन् २०१३ र २०१५ मा उनले पुनः सगरमाथाको शिखर चुम्ने प्रयास गरेका थिए । तर, सन् २०१३ मा उनले आरोहणको मौका नै पाएनन् भने सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण नाम्चेबाटै फर्किनुपरेको थियो । उनको अहिलेको यस आरोहण अभियानमा कुल नौजना आरोही सदस्य रहेका छन् ।
७६ वर्षको उमेरमा उनले तीन सय ४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका थिए  । आरोही शेरचनले यसपाली विश्वशान्ति र पृथ्वीआमाको रक्षाका लागि आफुले पुनः सगरमाथा आरोहण गर्ने बताएका थिए ।
सगरमाथा आरोहणकालागि काठमाडौबाट आधार शिविर तर्फ जानुअघि आयोजित पत्रकार सम्मेलनमा शेरचनले भनेका थिए । ‘बृद्ध उमेर भएपनि पुनः नयाँ रेकर्ड कायम गरान अझै तन्नेरीको झैं आफ्नो शरिर ज्यादै हल्का बनाएको छु ।  यसपाली जसरी पनि सगरमाथा चढेरै छाड्छु।’। उनको त्यो सगरमाथा चढ्ने सपना अधुरै भयो ।
५ वर्षअघि जेष्ठ नागरिक शैलेन्द्र कुमार उपाध्यायले पनि निजामती आरोहण अभियान मार्फत सगरमाथा आरोहणको प्रयास गर्दा यसैगरि, आरोहणकै क्रममा हिमालमै मृत्यु बरण गर्नुपरेको थियो । आरोही शेरचनको आरोहण अभियान दललाई म्याग्दी प्रवासी नेपाली संघ बेलायत, गैरआवासीय नेपाली संघ बेलायत, थकाली समाज बेलायत र मगर समाज बेलायतले सहयोग गरेका थिए । शेरचनको यस आरोहणका लागि करिब ९५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो ।
बृद्ध आरोही शेरचनको सगरमाथा आरोहणको क्रममा ज्यान गएपछि अहिले किन यती धेरै उमेरकालाई पनि आरोहणको अनुमति दिएको भन्ने प्रश्न उब्जिएको छ । तर पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को ३ नम्बर बुँदामा हिमाल आरोहणकालागि अनुमति लिनुपर्ने व्यवस्था छ । सो नियमावलीमा १५ वर्ष काटेकालाई मात्र अनुमति दिने उल्लेख भए पनि माथिल्लो उमेरको भने कुनै हदबन्दी उल्लेख गरिएको छैन ।
आरोही शेरचनको यस आरोहणमा काठमाडौंस्थित समिट नेपाल ट्रेकिङ प्रालि आधिकारिक आरोहण गराउने कम्पनी हो ।  यसपाली मौसमले साथदिए सगरमाथाको शिखरमा पुनः नयाँ कीर्तिमान कायम गराउने अठोट गरेका शेरचनलाई बचाउन नसकिएको उनका सहयोगी आरोही शिव सापकोटाले जानकारी गराए ।

No comments:

Post a Comment