Saturday, June 17, 2017

निगमलाई दुईवटा विमान खरिदकालागि २४ अर्ब जुट्यो नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग भयो ऋण सम्झौता

मधुजंग पाण्डे
काठमाडौ
सरकारको जमानतपछि बल्ल मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडवडी एयरवस विमान खरिद गर्नकालागि लगानी जुटेको छ । नयाँ विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२÷१२ अर्ब रुपैयाँ ऋण लगानीका लागि निगम व्यवस्थापनले छुट्टाछुट्टै सम्झौता गरेको हो ।
निगमले आइतवार कर्मचारी सञ्चयकोषसँग र सोमबार नागरिक लगानीकोषसँग एउटा÷एउटा विमान खरिद गर्न पुग्ने ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । सोमबार निगमका तर्फवाट महाप्रवन्धक सुगतरत्न कंसाकार र नागरिक लागनी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गरेका हुन् । कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले सरकारको जमानतमा एयरबस विमान खरिदकालागि ऋण उपलब्ध गराएका हुन् ।
दुबै कोषले निगमकालागि एउटा एउटा विमानका लागि ऋण उपलब्ध गराएका हुन्। यी दुबै निकायसँग निगमले आगामी १५ बर्षका लागि ऋण लिएको हो । वार्षिक ९ प्रतिशत व्याजमा हरेक तीन÷तीन महिनामा किस्ता बुझाउने गरि ऋण सम्झौता गरिएको निगम महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी गराए । उनले हरेक तीन÷तीन महिनामा निमगले कोषसँग लिएको ऋणको किस्ता बुझाउने सर्तमा यो सम्झौता भएको बताए ।
नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पोखरेलले विमान खरिदकोलागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो ब्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने ब्यवस्था गरिएको बताए । सो विमान खरिदकालागि कोषले उपलब्ध गराएको क्रणको भुक्तानी अवधि १५ बर्षको राखिएको  जानकारी गराउँदै उनले उडान क्षेत्रको ब्यवसायिक योजनामा कोषले निगमलाई क्रण दिने कार्य पहिलो पटक गरेको बताए । उनले यस सम्झौताबाट प्रत्यक्ष रुपमा मुलुकको आर्थिक समृद्वि,  रोजगारी सृजना र पर्यटन क्षेत्रमा थप विकास हुने अपेक्षा कोषले गरिेको बताए ।
निगम महाप्रवन्धक कंसाकारले भने एयरबससँग हाइफ्लाइले गरेको विमान निर्माण अर्डर आफूहरुलाई प्राप्त भइ सकेको दावी गरे। उनले सो कागज नोटरी हुन बाँकी रहेको कारण मात्र कोषलाई उपलब्ध गराउन ढिला भएको समेत जानकारी गराए । उनले एयरबसले आगामी १९ देखि २५ जुनमा आयोजना हुने ’पेरिस एयर सो’ समारोहको अवसर पारेर नेपालको वाइडवडी जहाजलाई आफ्नो वेबसाइटमा राख्ने लिखित जानकारी हाइफ्लाइले आफुहरुलाई दिएको छ’ बताए । सन् २०१८ को मे र जुनमा दुवै विमान नेपाल ल्याइसक्ने निगमले दावी गर्दै आएको छ । विमान खरिदका लागि पहिलो किस्तावापत निगमले सात करोड ९० लाख अमेरिकी डलर (करिव आठ अर्ब नेपाली रुपैयाँ) पठाउने छ । यसअघि नै निगमले बैना वापत १० लाख अमेरिकी डलर भुक्तान गरिसकेको जनाएको छ । पहिलो चरणमा दुबै कोषबाट चार÷चार अर्ब रुपैयाँ लिने कंशाकारले बताए। विमान विक्रेता कम्पनी एएआर कर्पोरेसनले प्रतिविमान १० करोड ४८ लाख अमेरिकी डलरका दरले निगमलाई उपलब्ध गराउने सम्झौता यसअघि नै भइसकेको छ ।
यसैबीच कर्मचारी सञ्चय कोषले एयरबसलाई विमान निर्माणको अर्डर गरेको प्रमाण ल्याएपछि मात्र रकम भुक्तानी दिने सर्त राखेको छ । आयरल्यान्डको हाइफ्लाइ एक्सले एयरबसलाई अर्डर गरेको विमान खरिद गर्न नसक्ने भएपछि अमेरिकाको एएआर कर्पोरेसनले सकारेर आफुलाई बेच्न लागेको निगमले जनाएको थियो । सोही अनुरुप हाइफ्लाइले एयरबसलाई विमान अर्डर गरेको बताईएको छ । अहिलेसम्म कर्मचारी संचय कोषले आफुले उपलब्ध गराउने ऋण १२ अर्ब रकम भुक्तानीका लागि निगमलाई ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ या अरु कुनै विश्वासिलो सुरक्षण ल्याउन पनि सर्त राखेको छ।  एयरबसले आफूलाई अर्डर आएको देखि डेलिभर भएकोसम्म जहाजको विवरण वेवसाइटमै राखेको छ । त्यसमा ठेगाना नखुलेको हाइफ्लाइ नामको एउटा कम्पनीको विवरण उल्लेख छ । तर, सो कम्पनीले विमान खरिदका लागि पछिल्लो समय कुनै अर्डर गरेको छैन । विमान विक्रेता कम्पनी एएआर कर्पोरेसन या निगमको नाममा पनि एयरबसलाई अर्डर गएको छैन। एयरबसले कुल १७ हजार १ सय ५५ थान विमानका लागि अर्डर पाएको विवरण आफ्नो वेवसाइटमा उल्लेख गरेको छ । त्यस मध्ये निगमले खरिद गर्ने भनेको ए ३३०–२०० प्रकारको दुई हजार ९ सय ११ थान विमान अर्डर भएको एयरबसले जनाएको छ । नयाँ विमान खरिदका लागि आवश्यक डलर साट्न निगमले नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ । नयाँ विमान आएपछि साउदी अरब, कोरिया , अष्ट्रेलिया, बेलायत र जापानमा उडान सेवा विस्तार गर्ने लक्ष्य लिएको निगमले जनाएको छ ।

No comments:

Post a Comment