Sunday, December 18, 2011

मंगलबारबाट सातामा ६९ घण्टा विजुली नआउने

काठमाडौं, ३ पुस–मंगलवारदेखि हप्तामा ६९ घण्टा लोडसेडिङ्ग हुने भएको छ । हाल सातामा ४० घण्टा लोडसेडिङ्ग हुँदै आएकोमा मंगलवारदेखि ६९ घण्टा हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नयाँ तालिका अनुसार हप्तामा दैनिक २ पटकका दरले ४ दिन ११ घण्टा, एक दिन १० घण्टा र एक दिन ९ घण्टा विद्युत आउने छैन भने एक दिन भने एकै पटक ६ घण्टा लोडसेडिङ्ग हुने छ ।
नदीहरुमा पानीको बहाव पनि घशेकाले विद्युत् उत्पादन कम भएको र माग भने बढेकाले लोडसेडिङ्गको समय बढाउनु परेको प्राधिकरण भार प्रशण केन्द्रका प्रमुख चिरन्जिवी शर्माले जानकारी दिनुभयो ।
प्राधिकरणले ४० देखि ५० प्रतिशत विद्युत चुहावट हुने ठाउँमा तालिका भन्दा २ घण्टा बढी र ५० प्रतिशत भन्दा बढी चुहावट हुने फिडरमा दैनिक ३ घण्टा भन्दा धेरै लोडसेडिङ्ग गर्ने जानकारी पनि दिएको छ ।

Friday, December 16, 2011

वैदेशिक रोजगारको विज्ञापन गर्दा लट नम्बर अनिवार्य ,एक महिनामा ३० करोड रुपियाँको ठगी

काठमाडौं– तपाईं वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ यदि तयारीमा हुनुहन्छ भने साचारमाध्यममा प्रकाशित तथा प्रशारित हुने आकर्षक विज्ञापनप्र्रति आँखा चिम्लेर विश्वास गर्ने काम नगर्नुहोस् है। कतिपय व्यवसायीहरुले आकर्षक विज्ञापन गरेर कामदारलाई ठग्ने क्रम बढेपछि यसलाई नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले कडाइ गर्ने भएको छ।
व्यवसायीहरुले पत्रपत्रिकामा आकर्षक तलबसहित अन्य सेवा-सुविधाका विज्ञापन गरेर कामदारलाई ठग्ने क्रम बढेपछि विभागले विज्ञापनमा लट नम्बर अनिवार्य राख्न निर्देश गरेको छ। 'आकर्षक विज्ञापन गरेर ठग्ने गिरोह नै सक्रिय भएको देखिन्छ यसलाई रोक्न हामीले विज्ञापन गर्दा लट नम्बर अनिवार्य राख्न अनुरोध गरेका छौं’ -वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भन्नुभयो। विज्ञापनमा लट नम्बर राखिएपछि उक्त विज्ञापन सही भए नभएको थाहा पाउन सकिने उहाँको भनाइ छ।
वैदेशिक रोजगार ऐन २०६४ ले पनि वैदेशिक रोजगारको विज्ञापन गर्दा स्पष्ट मापदण्ड तोकेको छ तर ऐन नै कार्यान्वयन नगरी व्यवसायीहरुले विज्ञापन गर्ने गरेका छन्। लट नम्बरका आधारमा अनुगमन गर्न सजिलो हुने महानिर्देशक भट्टराई बताउनुहुन्छ। 'यो प्रवधान लागू भए कोही व्यक्ति पनि ठगिनुभन्दा अघि नै थाहा पाउँछ’ उहाँले भन्नुभयो- 'कोही पनि नझुक्कियोस् भन्ने हाम्रो अभिप्राय हो।’
वैदेशिक रोजगारमा विज्ञापन पनि महत्वपूर्ण पाटो रहेकाले विज्ञापनलाई व्यवस्थित गर्न वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्वन बोर्डले टोल फ्री र हटलाइन सेवा शुरु गरेका छन्। ४११२३५० हटलाइन र १६६००१५००५ मा फोन गर्दा विज्ञापन सही भए नभएको प्रमाणित गर्न सकिने महानिर्देशक भट्टराईले बताउनुभयो। 'अहिलेको मुद्दा ठगीको छ विज्ञापनका कारण पनि केही ठगी भएको छ’ -उहाँले भन्नुभयो। भट्टराईले पछिल्ला समयमा ठगीका घटना बढेकाले विभागको निगरानी पनि बढेको जानकारी दिनुभयो। पछिल्लो समयमा ठगीका घटना बढ्न थालेपछि पीडितहरु पनि न्यायका लागि विभागमा उजुरी दिन थालेका छन्। पछिल्लो एक महिनामा मात्र संस्थागत ८० वटा र व्यक्तिगत २३ वटा ठगीका मुद्दा विभागमा दर्ता भएको महानिर्देशक भट्टराईले बताउनुभयो। उहाँका अनुसार यस अवधिमा सर्वसाधारणको ३० करोड रकम ठगिएको र १२ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेका छन्।
विभागले अनुगमन गर्न नसकेको स्वीकार गर्दै महानिर्देशक भट्टराईले लट नम्बर अनुगमनको प्रक्रिया पनि रहेको बताउनुभयो। शहरभन्दा गाउँबाट वैदेशिक रोजगारमा युवाहरु बढी जाने भएकाले लगत विज्ञापन नजाओस् भनेर सूचना विभागसँग सहकार्य शुरु गर्ने उहाँले बताउनुभयो। वैदेशिक रोजगार प्रवद्र्वन बोर्डका महानिर्देशक स्थानेश्वर देवकोटाले विभागको स्वीकृतिबेगरमा सूचना निकालेमा जरिवाना तिराउने बताउनुभयो। 'हामीले वैदेशिक रोजगारका सूचनामा कडाइ गर्न थालेका छौं’ उहाँले भन्नुभयो- 'यसो हुन सके वैदेशिक रोजगारका धेरै समस्या समाधान हुनेछन्।’ ऐन कानुन सिद्वान्ततः व्यवहारमा मेल नखाएको भन्दै सरोकारवाला सबैको सहकार्य भएमा वैदेशिक रोजगारका समस्या सजिलै समाधान हुने उहाँको भनाइ थियो।

चीनबाट जहाज खरिद गर्न 'अर्थले स्वीकृति दिएकै छैन'

 काठमाडौं, १ पुस - अर्थमन्त्री वर्षमान पुनले चीनको एक कम्पनीसँग पाँचवटा जहाज खरिद गर्न र तीनवटा अनुदानमा लिन पर्यटनमन्त्री लोकेन्द्र विष्टले मन्त्रिपरिषदबाट स्वीकृति र अर्थ मन्त्रालयबाट सहमति नलिएको बताएका छन्।
पर्यटनमन्त्री विष्टले आइतबार चीनको सरकारी कम्पनी 'एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसन' सँग आठवटा जहाज खरिद समझदारी गरेका थिए। एभिकका तर्फबाट उपाध्यक्ष सि ले हस्ताक्षर गरेका छन्।
'नेपाल वायुसेवा निगमका लागि पाँच जहाज किन्न र तीनवटा अनुदानमा लिने विषयमा समझदारी गर्न पर्यटन मन्त्रीज्यूले मन्त्रिपरिषद र अर्थ मन्त्रालयबाट स्वीकृति लिनुभएको छैन,' अर्थमन्त्री पुनले बिहीबार नागरिकसँग भने, 'निगमले जहाज चाहिने भने बताइरहेको छ।'
'यो समझदारीको कानुनी मान्यता हुँदैन, सामान्य राजनीतिक प्रतिबद्धता जनाउनमात्र हो भन्नुहुन्थ्यो,' चिनियाँ कम्पनीसँग समझदारी गरेको बारेमा बिहीबार जानकारी लिएका अर्थमन्त्री पुनले पर्यटन मन्त्री विष्टलाई उद्धृत गर्दै भने, 'तर, उहाँले भनेजस्तो चाहिँ हुँदैन। मन्त्रिपरिषदको स्वीकृति र अर्थको सहमति चाहिन्छ।'पर्यटनमन्त्री विष्टले सबै प्रक्रिया र कानुनअनुसार नै चिनियाँ कम्पनीसँग जहाज खरिद समझदारी गरिएको बुधबार नागरिकलाई बताएका थिए। उनले आफ्नो समझदारीलाई मन्त्रिपरिषदबाट स्वीकृत गराउने र अर्थबाट सहमति लिने दाबी पनि गरेका थिए।
मन्त्री विष्टले बिहीबार पुनः समझदारीलाई मन्त्रिपरिषदबाट स्वीकृत गराएरै छाड्ने अडान लिएका छन्। आठ जहाजको मूल्य ३ अर्ब ७१ करोड २५ लाख रुपैयाँबराबर छ। जहाज खरिद समझदारीअनुसार पाँच जहाजका लागि २ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ तिर्नुपर्ने छ। बाँकी अनुदानमा उपलब्ध हुनेछन्। कुनै पनि सरकारी निकायले वैदेशिक सहायता, अनुदान वा ऋण लिनुअघि अर्थको सहमति लिनुपर्छ। त्यसपछि मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्छ। तर, विष्टले कुनै पनि निकायलाई पत्तै नदिई मंसिर २५ गते पर्यटन मन्त्रालयमा चिनियाँ कम्पनी एभिकसँग खरिद समझदारी गरेका हुन्। समझदारीमा निगमका लागि १९ सिट क्षमताका साना ५ वटा र ५० देखि ७० सिटे ठूला ३ वटा जहाज खरिद गर्ने उल्लेख छ। तीमध्ये पाँचवटा सहुलियतपूर्ण ऋणमा किन्ने र तीनवटा अनुदानमा लिने समझदारी भएको छ। एभिकले साना तीन र ठूला दुईवटा किन्न प्रस्ताव गरेको छ। एउटा सानो जहाजको मूल्य ३८ करोड २५ लाख र ठूलोको करिब ६० करोड रुपैयाँ पर्छ।
'कोठाभित्र सिरक ओढेर झ्यालमा कालो पर्दा लगाएर जहाज खरिद समझदारी गरेको होइन,' मन्त्री विष्टले बिहीबार संवाददाताहरूसँग भने, 'भरपर्दो, पारदर्शी र जवाफदेही ढंगमा प्रक्रिया पुर्‍याइ कानुनको सीमाभित्रै रहेर समझदारी गरेका हौं।'
समझदारी गर्नुअघि अर्थको सहमति लिनुपर्ने विषयमा उनले अन्तर मन्त्रालयबीचका विषय सल्लाह गरेर मिलाउने दाबी गरे। 'मेरो मन्त्रालयको काम खुरुखुरु गर्छु, अरू मन्त्रालयलाई भन्न आवश्यक छैन,' उनले भने, 'अहिले गरेको समझदारीलाई मन्त्रिपरिषदबाट स्वीकृत गराइहाल्छु यसमा ठूलो कुरा छैन।'
मन्त्री विष्टले दुवै देशका सरकारका माथिल्लो तहमा पनि कुराकानी भएपछि भएपछि जहाज खरिद समझदारी गरेको जानकारी दिए। 'मैले कुनै अपराध गरेको छैन र कसैलाई हानी नोक्सानी हुने काम पनि गरेको छैन,' उनले भने, 'यदि गल्ती भएको रहेछ भने सजाय भोग्न तयार छु, तर जहाज भने ल्याएरै छाड्छु।'
निगमलाई जहाज किन्न आवश्यक प्रक्रिया अगाडि बढिरहेकाले चिनियाँ कम्पनीसँग सैद्धान्तिक सहमति गरेको उनले बताए। 'अहिले जहाज ल्याउने मिति नतोकौं, जहाज किन्ने भनेको आलु-प्याज किनेजस्तो होइन,' उनले भने, 'मेरो कार्यकालमा आठवटा जहाज आउँछ, यसमा कमिसनको खेल पनि हुँदैन र पारदर्शी तरिकाले आउँछ।'
कुनै पनि सरकारी निकायले वैदेशिक सहायता, अनुदान वा ऋण लिनुअघि अर्थ मन्त्रालयको सैद्धान्तिक सहमति लिनैपर्ने अर्थ स्रोतले जानकारी दियो। 'राज्यलाई आर्थिक दायित्व सिर्जना हुने विषयमा अर्थको सहमति चाहिन्छ र हाम्रो सहमतिपछि मन्त्रिपरिषदमा प्रस्ताव लैजानुपर्छ,' स्रोतले भन्यो, 'नीतिगत रूपमा वैदेशिक सहयता, अनुदान वा ऋण लिन पनि मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्छ।'स्रोतका अनुसार अनुदानमा जहाज लिनु राम्रै कुरा भए पनि खरिद गर्नका लागि टेन्डर आह्वान गरेर प्रतिस्पर्धा गराउनुपर्छ। प्रतिस्पर्धा गराउँदा अन्य कम्पनीले पनि प्रस्ताव हाल्छन् र सस्तोमा जहाज पाउन सकिन्छ। बिनाप्रतिस्पर्धा जहाज किन्नु सार्वजनिक खरिद ऐनविपरीत हो।
'कानुन, विधि र प्रक्रिया नपुर्‍याइ समझदारी गरेकाले समस्या आउने निश्चित छ,' स्रोतले भन्यो, 'समझदारीअनुसार जहाज नकिने चिनियाँ कम्पनीले क्षतिपूर्ति दाबी गर्छ र त्यस्तो क्षतिपूर्ति कसले बेहोर्ने हो, समझदारी गर्नेलाई नै थाहा होला।'
दुई वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग दुई ठूला जहाज किन्न वायुसेवा निगमले अर्थ मन्त्रालयको सहमति नलिई साढे सात लाख अमेरिकी डलर बैना पठाएको थियो। यसमा अर्थ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले आपत्ति जनाएपछि निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसहित ६ उच्च अधिकारी भ्रष्टाचारको आरोपमा जेल परेका थिए। त्यसै गरी शाही सरकारका पालामा नेपाली सेनालाई चीनबाटै दुई जहाज किन्न गरिएको सम्झौतापछि पठाएको बैनावापत्को ४० करोड रुपैयाँ अहिलेसम्म सरकारले फिर्ता पाउन सकेको छैन।
निगमका लागि किन्न लागिएका जहाज मोडर्न आर्क (एमए)-६० मोडेल र वाइ-१२-ई सिरिजका हुन्। एमए-६० 'चाइना जियान एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसन' र वाइ-१२ 'हार्बिन' कम्पनीका उत्पादन हुन्। मन्त्री विष्टले समझदारी गरेको कम्पनी भने चीनको सरकारी हो। यसलाई चिनियाँ सरकारले जहाज खरिदबिक्री कुरा मिलाउने, ऋण व्यवस्था गर्नेलगायत जिम्मेवारी दिएको छ।
एक उड्डयन विज्ञका अनुसार एमए-६० जहाजलाई युरोप र अमेरिकी राष्ट्रले प्रमाणित गरे पनि वाइ-१२ लाई अझै प्रमाणित गरेका छैनन्। यी जहाज युरोप, अमेरिकामा नउडे पनि हाल सुडान, जिम्बाब्वे, भियतनाम, कम्बोडिया, पाकिस्तान, इन्डोनेसिया, रुआन्डा, केन्या, बुरुन्डी, पपुआन्युगिनी लगायत देशमा सञ्चालनमा छन्।
यिनै जहाज उपयुक्त भए/नभएको अध्ययन गर्न एक महिनाअघि निगमका नायब महाप्रबन्धक गणेश ठाकुरको नेतृत्वमा एक प्राविधिक टोली चीन गएको थियो। फर्र्किएपछि उक्त टोलीले तयार पारेको अध्ययन प्रतिवेदनले दुवै मोडेलका जहाज निगमका लागि उपयक्त भएको निष्कर्ष निकालेको थियो।
निगमले वाई- १२ लाई दुर्गम भेगमा तथा एमए-६० लाई सहरी भेगका विमानस्थलमा उडाउने योजना बनाएको छ। दुर्गममा सस्तो उडान गरी सेवा दिने उद्देश्यले गत साउन तेस्रो साता दातृ राष्ट्रसँग पाँचवटा टि्वनअटर जहाज अनुदानमा लिइदिन निगमले पर्यटनमा प्रस्ताव पठाएको थियो। लगत्तै थप तीन जहाजसहित अनुदान वा सहुलियतपूर्ण ऋणमा आठ जहाज लिइदिन प्रस्ताव गरेको थियो। त्यसपछि पर्यटनले अर्थलाई प्रस्ताव पठाएको थियो।

Thursday, December 15, 2011

बैदेशिक रोजगारीमा एक महिनामै ३० करोड ठगी, कारवाही नभएको पिडीतको गुनासो

काठमाण्डौ,२९ मंसिर–माग नै आएको कम्पनी अनि स्वीकृति नै नदिएको मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाउँदै पैसा उठाएर नेपाली युवालाई ठग्ने प्रबृत्ति निकै बढेको छ ।
पछिल्लो एक महिनाको अबधिमा मात्र करिव ३० करोड रुपैयाँ बराबर ठगि भएको भन्दै वैदेशिक रोजगार बिभागमा उजुरी आएको बिभागले जनाएको छ । यसरी आएका उजुरीमध्ये अधिकांश बिज्ञापन प्रकाशन गरि नक्कली मागपत्रका आधारमा पैसा उठाएको र पैसा खाएर भागेको लगायतका छन् ।
वैदेशिक रोजगार बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले अहिले बिभागमा एक महिनामा मात्र ३० करोड बराबर ठगीको उजुरी आएको जानकारी दिंदै दर्ता नै नभएका र दर्ता भएका विभिन्न रोजगार कम्पनीबाट ठगी भएको उल्लेख गर्नुभयो ।
हाल २३ वटा ठगीका मुद्दा अदालतमा दायर भइरहेको र १२ वटामाथि अनुसन्धान जारी रहको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाउँदै उहाँले ठगी भएको पाइएमा सिधै आफुकहाँ आएर उजुरी गर्न आग्रह गर्नुभयो ।
वैदेशिक रोजगार व्यावसायीले सञ्चार माध्यममा दिने विज्ञापनको विश्वसनीयता र त्यसमा सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा बिहीवार काठमाण्डौंमा आयोजित छलफल कार्यक्रममा महानिर्देशक भट्टराईले बोरोजगार युवा समुदायलाई आकर्षक हुने गरी सञ्चारमाध्यममा गलत र अवैध तरिकाले विज्ञापन प्रकाशन गरी वैदेशिक रोजगार व्यवसायीले ठगी गर्ने गरेको बताउनुभयो ।
बैदेशिक रोजगार प्रर्बद्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले स्थानीयस्तरमा जनचेतना जगाउन नसक्दा ठगीका घटना भइरहेको भन्दै कामदारलाई सचेत भएर जानकारी लिएरमात्र पैसा बुझाउन आग्रह गर्नुभयो ।तर, वैदेशिक रोजगार पिडीतहरुले भने कानुन कार्यन्वयनको अभावमा बैदेशिक रोजगारीको आडमा ठगी भइरहेको बताउँछन् । सयौं बेरोजगार युवाबाट करोडौं रुपैयाँ ठग्ने ब्यक्ति र म्यनपावरमाथि कुनै कारवाही नहुँदा नयाँ ठगहरुलाई प्रोत्साहन मिलेको उनीहरु बताउँछन् ।
नेपाल विज्ञापन एजेन्सी सङ्घ -आन) का अध्यक्ष राजकुमार भट्टराईले कतिपय एजेन्सी र अवैध म्यानपावर कम्पनीले अघोषित सम्बन्धका आधारमा गलत सूचना र विज्ञापन प्रकाशन हुने गरेको हुन सक्ने भन्दै त्यस्तो कार्यलाई रोक्न सङ्घले सघाउने उल्लेख गर्नुभयो । कार्यक्रममा पत्रकार आचारसंहिता विपरीत अवैध कम्पनीका गलत सूचना र विज्ञापन दिने सञ्चार माध्यमले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

विमानस्थलमा एयर ट्राफिकको समस्या

काठमाडौं, 29 मंसिर - मंसिर पहिलो साता विराटनगरबाट राजधानी र्फकंदाको हवाई यात्रामा जस्तो डर पुल्चोकका पीयूष आनन्दलाई कहिल्यै लागेको थिएन । छिप्पिदो साँझसँगै झरी परिरहेको मौसम, त्यसमाथि ४० मिनेटमा राजधानी अवतरण गरिसक्नुपर्ने जहाज एक घन्टाभन्दा बढी समय आकाशमै रुमलिनुपर्दा उनलाई असाध्यै डर लागेको थियो । 'अँध्यारो मौसमले हवाईजहाज कहाँ छ भन्ने पनि थाहा पाइएन,' उनले भने, 'त्यसमाथि प्लेन तलमाथि गर्दै भौतारिँदा केही साताअघिको हवाईजहाज दुर्घटना सम्झेर असाध्यै डर लागेको थियो ।'
केही समययता यस्तो समस्या भोग्ने यी हवाईयात्रु मात्र होइनन्, प्रायः सबैले यस्तै भोग्नु परिरहेको छ । करिब डेढ साताअघि धनगढीबाट राजधानी र्फकंदा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले पनि यस्तै भययुक्त यात्रा गर्नुपरेको थियो । धनगढीबाट राजधानीको हवाई यात्रा करिब एक घन्टा १० मिनेटको भए पनि उनी करिब पौने २ घन्टा आकाशमै उडिरहे । 'म त बारम्बार यात्रा गरिरहने भएकाले त्यति डर लागेन,' उनले भने, 'तर कतिपय यात्रु भने असाध्यै डराइरहेका हुन्छन् ।'
आन्तरिक उडानमा मात्र नभएर अन्तर्राष्ट्रिय हवाई यात्रामा पनि यस्तो समस्या छ । बेलायतबाट थाई एयरवेजमा स्वदेश र्फकंदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल  एक घन्टा नेपाली आकाशमै रुमलिनुपरेको थियो ।

अहिले मुलुकभित्रकै गन्तव्य या अन्य मुलुक जान हवाई यात्रा गर्नेले कम्तीमा पनि एकदेखि डेेढ घन्टा ढिलो पुग्नुपर्ने समस्या सामान्य जस्तै बन्दै गएको छ । त्यस्तै राजधानीमा अवतरण गर्न पनि कहिले त आकाशमै ४५ मिनेटदेखि डेढ घन्टासम्म रोकिनुपर्ने अवस्था छ ।
यस्तो किन भइरहेको छ ? त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतीश चन्द्रलाल सुमन भन्छन्, 'हवाई ट्राफिक जाम बढेको छ ।' उनका अनुसार यस्तो हुनुको मुख्य समस्या हवाई क्षेत्र -एयर स्पेस) साँघुरो हुनु हो ।
विमानस्थलमा प्रयोग हुने उपकरण 'म्यानुअल' हुनु, आन्तरिक र अन्तर्राष्ट्रियका उडानका लागि एउटै धावनमार्ग हुनु, जहाज र यात्रु आवागमनको चाप बढ्दै जानुले समस्या उब्जिएको हो । यो समस्या सन् २००९ यतादेखि अधिक हुन थालेको विमानस्थल अधिकारी बताउँछन् ।केही समययता हवाई यात्रामा ढिला हुन थालेपछि यात्रुलाई समय व्यवस्थापन समेत गाह्रो हुँदै गएको राजकणिर्कारको भनाइ छ । 'निश्चित समयमा पुग्ने र फर्किने कार्यक्रम हुन्छ,' उनी भन्छन्, 'तर अहिले त कम्तीमा एक दुई घन्टा प्लेन ढिलो उड्ने, आकाशमै बढी समय रुमलिने कारणले कुनै काम पनि समयमा हुन सकिरहेको हुँदैन ।'
आन्तरिक विमान कम्पनीका अनुसार ट्राफिक जामका कारण उडान/अवतरणमा दुई घन्टाभन्दा बढी ढिलाइ हुने गरेको छ । यसले यात्रुलाई मात्र समस्या भइरहेको छैन । कम्पनीको लागत समेत बढाएको छ । 'विमानस्थलले यात्रुको चाप धान्नै नसक्ने अवस्थामा पुगिसकेको छ,' बुद्ध एयरका बजार प्रबन्धक रूपेश जोशीले भने, 'ढिलो हुने र आकाशमा होल्ड गर्नुपर्ने अवस्था सामान्य जस्तै भइसकेको छ ।'
बढ्दो बिदेसिने कामदारको संख्यासँगै पर्यटक आगमन वृद्धि उच्च छ । अधिकांश बाह्य विमान कम्पनीले आफ्नो उडान थपेका छन् । विमानस्थलका अनुसार जहाज आवागमन -उडान चाप) गत वर्षभन्दा करिब २० प्रतिशतले बढेको छ । त्यस्तै आन्तरिक यात्रु आवागमन १२ दशमलव ८३ र अन्तर्राष्ट्रिय २० प्रतिशतले बढेको छ । त्यसैले अन्तर्राष्ट्रिय टर्मिनलको दैनिक प्रतिघन्टा १ हजार २ सयसम्म यात्रु चाप धान्ने क्षमता भए पनि ३ हजारभन्दा बढी थेग्नु परिरहेको छ ।
हवाई र यात्रु आवागमन अप्रत्याशित रूपमा बढिरहे पनि विमानस्थलको सूचना तथा नियन्त्रण प्रणाली एवं पूर्वाधार विकास भने त्यस अनुरूप हुन सकिरहेको छैन । सूचना प्रणालीमा सुधार नगरिएकाले ट्राफिक समस्या बढ्दो रूपमा रहेको एयर ट्राफिक कन्ट्रोल विभागका एक अधिकारी बताउँछन् । विमानस्थल व्यवस्थापनले समस्या हल गर्नेतर्फ खासै चासो नदेखाएको उनले बताए ।यता सुमन भने आन्तरिक तथा बाह्य यात्रुको समय ख्याल गरेर सुधारका कार्यक्रम ल्याएको दाबी गर्छन् । 'यो सुधार गर्न सकिने कुरा हो,' उनले भने, 'हामी यसलाई हटाउने प्रयासमा लागि सकेका छौं ।'
हुन त केही समयअघि नै विमानस्थलले अवतरण प्रणालीलाई चुस्त बनाउन 'रिक्वायर्ड नेभिगेसन परफरमेन्स विथ अथोराइजेसन रिक्वायर्ड -आरएनपी-एआर)' जडान गरिसक्ने जनाएको थियो । तर अहिलेसम्म जडान हुन सकेको छैन । यो जडान गरेर सञ्चालनमा आउन अझै दुई महिना लाग्ने सुमनले जानकारी दिए ।
आरएनपी भू-उपग्रहमा आधारित प्रणाली हो । यसले जहाजलाई दुई फरक बिन्दुको बीचबाट सुरक्षित उडानका लागि दिशानिर्देश गर्छ । यो प्रणाली मार्फत अवतरण गर्दा विमान चालकले आवश्यक सम्पूर्ण जानकारी 'अटोमेटिक' रूपमा प्राप्त गर्ने छन् ।

समस्या हटाउन तीन विकल्पीय रणनीति तयार गरेको सुमनले जानकारी दिए । 'एउटा अटोमेटिक प्रणाली सञ्चालनमा ल्याउनु हो, यसका लागि काम भइरहेको छ,' उनले भने, 'अनावश्यक ट्राफिकलाई अन्य विमानस्थलमा सार्ने र यहाँबाट आन्तरिक वा अन्तर्राष्ट्रिय सेवा मात्र सञ्चालन गर्नु जरुरी छ ।'
नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक त्रिरत्न मानन्धर भने ट्राफिक समस्या हटाउन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको बताउँछन् । 'अरू कतै ध्यान नदिई सरकारले जतिसक्दो छिटो अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु जरुरी छ,' उनले भने । अहिले निजगढको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । सरकारले निर्माण प्रक्रिया अघि बढाउन यसको प्रस्ताव बुट कमिटीमा पठाउने तयारी गरिरहेको छ ।
चार वर्षअघि एसियाली विकास बैंकले ऋण सहयोगमा त्रिभुवन विमानस्थलको साँघुरोपन हटाउन र यात्रुलाई सहज वातावरण बनाउन सुधार कार्यक्रम थाल्ने घोषणा पनि भएको थियो । तर बैंकको प्राविधिक विज्ञले गरेको अध्ययन अनुसार अनुमान गरिएको रकमले विमानस्थलको सुधारका काम सम्पन्न गर्न नपुग्ने देखिएपछि अन्योल छ । सुधार कार्यक्रम अन्तर्गत धावन मार्गलाई ३ सय मिटर बढाउने, वायुयान पार्किङ विस्तार गरी ४२ बनाउने, ट्याक्सी वे फराकिलो बनाउने, कार पार्किङको पूर्वपट्टकिो भागमा आन्तरिक टर्मिनल सार्ने लगायत काम गर्ने योजना बनेको हो । त्यस्तै अन्तर्राष्ट्रिय टर्मिनललाई गल्फकोर्ससम्म विस्तार गरी त्यसैसँग नयाँ भिभिआइपी भवन बनाउने पनि योजना पनि थियो । तर ती सबै कुरा अहिले त्यसै सेलाएका छन् ।

मन्त्रिपरिषदको स्वीकृतिबिनै जहाज ल्याउने चाँजो



 काठमाडौं,२९ मङ्सिर  -पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टले मन्त्रिपरिषदको स्वीकृतिबिनै चीनको एक कम्पनीसँग पाँचवटा जहाज किन्ने र तीनवटा अनुदानमा लिने समझदारी गरेका छन्। उनले मन्त्रिपरिषद् र अर्थ मन्त्रालय समेतलाई जानकारी नदिई यही आइतबार चिनियाँ कम्पनीसँग झन्डै ४ अर्ब रुपैयाँको खरिद समझदारी गरेका हुन्। नेपाल वायुसेवा निगमका लागि १९ सिट क्षमताका ५ र ५० देखि ७० सिटका ३ जहाज लिने खरिद समझदारीमा छ। सबैको मूल्य ३ अर्ब ७१ करोड २५ लाख रुपैयाँ पर्छ। पाँच जहाजका लागि २ अर्ब ३४ करोड ७५ लाख तिर्नुपर्ने छ। यो सहुलियतपूर्ण ऋणमा किनिनेछ। कुनै पनि सरकारी निकायले वैदेशिक सहायता, अनुदान वा ऋण लिनुअघि अर्थ मन्त्रालयको सहमति लिनैपर्छ। मन्त्रिपरिषदबाट पनि स्वीकृत गराउनुपर्छ। चिनियाँ कम्पनीले साना तीन र ठूला दुई जहाज किन्न प्रस्ताव गरेअनुसार यो समझदारी भएको हो। एउटा सानो जहाजको भाउ ३८ करोड २५ लाख र ठूलोको करिब ६० करोड रुपैयाँ पर्छ।
'निगमको निम्ति जहाज ल्याउने कुरा भइरहेकाले चिनियाँ कम्पनीसँग सैद्धान्तिक सहमति गरेका छौं,' मन्त्री विष्टले बुधबार  भने, 'आवश्यक प्रक्रिया अघि बढिरहेको छ। जहाज आएपछि मात्र सबैलाई जानकारी गराउँछौं।'
विष्टले चीनको सरकारी कम्पनी 'एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसन'सँग जहाज खरिद समझदारी गरेको बताए। पर्यटन मन्त्रालयमै भएको समझदारीमा आफू र एभिकका उपाध्यक्ष सि ले हस्ताक्षर गरेको उनले जानकारी दिए। समझदारीपत्र हस्ताक्षर गर्दा चिनियाँ पक्षका चार तथा पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीसँगै माओवादी नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा उपस्थित थिए। निगमबाट भने कोही थिएनन्।
'दुवै देशका सरकारको उच्च प्रतिनिधिबीच कुराकानी भएपछि समझदारी गरेका हौं,' मन्त्रिपरिषदको अनुमतिबिना कसरी समझदारी गरियो भन्ने प्रश्नमा मन्त्री विष्टले भने, 'अब बस्ने मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छु, पास भइहाल्छ, ठूलो कुरा होइन।'उनले भरपर्दो, जवाफदेही र पारदर्शी तरिकाले जहाज ल्याउने प्रक्रिया अघि बढेको बताए। 'दुई देशको कुरा मिलेपछि जहाज आउँछ, लुकाइछिपाई ल्याउने होइन, बरु आउने मितिचाहिँ अहिले नतोकौं,' उनले भने, 'यो समझदारीलाई चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा सम्झौतामा परिणत गर्छौं।'
सरकारका एक पूर्वसचिवले अर्थ मन्त्रालयको सहमति नलिई कुनै पनि सरकारी निकायले वैदेशिक सहायता वा ऋण लिन नपाउने बताए। 'निगमको आफ्नै पैसाले जहाज किन्ने भए सरकारको अनुमति चाहिँदैन, तर अनुदान वा सहुलियतपूर्ण ऋण लिनुअघि अर्थको सहमति अनिवार्य छ,' उनले भने।
शाही सरकारका पालामा नेपाली सेनालाई चीनबाटै दुई जहाज किन्ने सम्झौता पछि रद्द भएको थियो। त्यतिखेर पठाएको ४० करोड बैना अहिलेसम्म सरकारले फिर्ता पाएको छैन।
निगमका लागि किन्न लागिएका जहाज मोडर्न आर्क (एमए)-६० मोडेल र वाइ-१२-ई सिरिजका हुन्। एमए-६० 'चाइना जियान एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसन' र वाइ-१२ 'हार्बिन' कम्पनीका उत्पादन हुन्। मन्त्री विष्टले समझदारी गरेको कम्पनी भने चीनको सरकारी हो। यसलाई चिनियाँ सरकारले जहाज खरिदबिक्री कुरा मिलाउने, ऋण व्यवस्था गर्नेलगायत जिम्मेवारी दिएको छ।
उड्डयन विज्ञहरूका अनुसार चिनियाँ कम्पनीका जहाजमा बेफाइदा बढी छन्। नेपाली वायुसेवा कम्पनीसँग रहेका एटिआर र जेटस्ट्रिम जहाजसँग चिनियाँ जहाजले प्रतिस्पर्धा गर्न सक्दैनन्। चिनियाँ हार्बिन कम्पनीको वाइ-१२-ई मोडेलका जहाज औसतमा ठिकै देखिएका छन्। यसैको वाइ-१२-टु मोडेलका जहाज विगतमा नेपाल एयरवेज, यती एयरलाइन्स र फ्लाइट केयर एभिएसनले उडाए पनि दुर्घटना बढी भएका थिए।

ठूलै घोटाला

–ठेक्का सम्झौता गर्नु दुई दिनअघि गत १८ साउनमा नेपाल टेलिकम र चीनको हुबेई टेक्नोलोजिज कम्पनीका अधिकारीबीच ५५ बुँदे लिखित सहमति भयो । उक्त सहमतिमार्फत यसअघि बोलपत्रमा रहेका केही बुँदामा गरएिको संशोधनले इन्टरनेट प्रोटोकल -आईपी) सीडीएमए मोबाइल फोन वितरणको ठेक्कालाई विवादमा मात्र पारेको छैन, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिको समेत ध्यानाकर्षण गराएको छ ।
चीनकै जेडटीई कम्पनीमार्फत साढे चार लाख सीडीएमए मोबाइल वितरण गर्ने योजना लेखा समितिले रोकिदिएपछि टेलिकमले त्यसभन्दा अत्याधुनिक प्रविधिको आईपी सीडीएमए वितरणको योजना अघि सारेको हो । उक्त प्रविधिको मोबाइलको पूर्वाधार निर्माणका लागि २० साउनमा हुबेईसँग ठेक्का सम्झौता भएको थियो । त्यसअघि १८ साउनमा दुई पक्षबीच भएको सम्झौतामार्फत टेलिकमले आफैँले आह्वान गरेको बोलपत्रमा रहेका १४ वटा सर्तलाई संशोधन गरेर हुबेईसँग ठेक्का सम्झौता गरेको छ । बोलपत्र आह्वान गर्दा उल्लेख गरएिका ती सर्तलाई सबैभन्दा कम मूल्य किटेर टेन्डरमा सहभागी भएको हुबेईसँग सम्झौता गर्नुअघि भएको 'नेगोसिएसन'मा संशोधन गरएिको हो । जबकि, सार्वजनिक खरदि ऐन, २०६३ र सार्वजनिक खरदि नियमावली, २०६४ ले बोलपत्रका सर्त संशोधन गर्न पाइने कुनै व्यवस्था गरेका छैनन् । "बोलपत्र खोलेपछि संशोधन गर्न पाइँदैन, यो सीधै बोलपत्रको सामान्य सिद्धान्तको विपक्षमा गएर गरएिको गैरकानुनी काम हो," करार कानुनका जानकार अधिवक्ता मेघराज पोखरेल भन्छन्, "यदि सर्त परविर्तन गर्न एउटा कम्पनीले पाउँछ भने प्रतिस्पर्धामा रहेका अन्य कम्पनीलाई पनि त्यस्तो सुविधा दिइनुपर्छ ।" यस ठेक्का प्रकरणमा घोटाला भएको आशंकालाई बोलपत्रमा उल्लेख भएको देशका १२ अञ्चलमा राखिने ७ सय ३४ वटा बीटीएसमा जडान गरनिे सोलार साइट -सौर्य ऊर्जा प्रणाली) र वातानुकुलित उपकरण -एसी) संख्या घटाइनुले नै पुष्टि गर्छ । बोलपत्रमा सबै बीटीएसमा सोलार साइट र एसी राख्ने उल्लेख थियो । १८ साउनको समझदारी बैठक -नेगोसिएसन)मा १ सय ५५ वटा बीटीएसमा मात्र सोलार साइट र ३ सय ९ वटा बीटीएसमा मात्र वातानुकुलित उपकरण -एसी) जडान गर्ने सहमति टेलिकम र हुबेईबीच भएको थियो । २ सय २० वटा स्थानमा यसअघि नै विद्युत् आपूर्तिको व्यवस्था रहेको, ७८ स्थानमा सोलार साइट जडान भइसकेका कारण १ सय ५५ स्थानमा मात्र सोलार साइट थप्नुपर्ने देखिएको टेलिकम अधिकारीहरूको दाबी रहे पनि एसीको संख्या घटाउनुपर्ने स्पष्ट कारण खुलाउन उनीहरूले सकेका छैनन् । घटाइएको सोलार साइटबापत कट्टा हुने रकम उक्त प्रणालीका लागि इन्टरनेट उपकरण -ईभीडीओ) जडानमा प्रयोग गरनिे लिखित सहमति टेलिकम र हुबेईका अधिकारीहरूबीचको समझदारी बैठकमा भएको छ । तर, न ईभीडीओको संख्या स्पष्ट र पारदर्शी रूपमा तोकिएको छ, न त त्यसको मूल्य नै । यस्तै, समझदारी बैठकमा भएको लिखित सहमतिको ११औँ नम्बर बुँदामा हुबेईले प्रस्ताव गरेको ओभर द एयर -ओटीएपीए र ओटीएएसपी) प्रणाली अपुग भएको स्पष्ट उल्लेख छ । अर्थात्, हुबेईले १० लाख उपभोक्ताका लागि १० प्रतिशत मात्र ओभर द एयर प्रणाली प्रस्ताव गरेको थियो । जबकि, बोलपत्रमा शतप्रतिशत उपभोक्तालाई उक्त प्रणाली उपलब्ध गराउने सर्त थियो । तर, सोही वार्ताबाट थप ९० प्रतिशत उपभोक्ताका लागि निःशुल्क यस्तो प्रणाली उपलब्ध गराउन टेलिकम अधिकारीले हुबेईलाई मनाएका छन् । यद्यपि, उक्त बुँदाले टेलिकमले बोलपत्रमा उल्लेख गरेको सर्तविपरीतको हुबेईको प्रस्तावलाई स्वीकृत गरेको भने स्पष्ट देखिन्छ । यसैगरी, ग्लोबल टेन्डरमा उल्लेखित दुई जीबीपीएस अपलिंक र चार जीबीपीएस डाउनलिंक सुविधा उपलब्ध गराउनुपर्ने प्रावधानविपरीत हुबेईले १ दशमलव २ जीबीपीएसको मात्र लाइसेन्स उपलब्ध गराउने प्रस्ताव गरेको थियो । लिखित सहमतिबाट तीन जीबीपीएसको लाइसेन्स उपलब्ध गराउन हुबेई सहमत भएको थियो । यहाँनिर उल्लेख्य के छ भने पहिलो त हुबेईले सर्तभन्दा कम क्षमताको डाउनलिंक उपलब्ध गराउने भनेको र नेगोसिएसनमा पनि कममा नै सहमति गरेको देखिन्छ । नेगोसिएसनपश्चात् भएको लिखित सहमतिको २२ नम्बर बुँदाले पनि टेलिकम तल परेको छ । जसमा प्रणाली जडानका क्रममा आईपी सीडीएमएबाहेकका वस्तु खरदि गर्नुपरे हुबईकै योजना अनुसार न्यूनतम मूल्यमा खरदि गर्ने सहमति छ । लिखित सहमतिको अर्को शंकास्पद बुँदा ३३ हो, जसमा माइक्रोवेभ रेडियोको संख्या २५ देखि ५० प्रतिशतसम्म घटाउन सकिने उल्लेख छ । तर, सर्वेक्षण भइसकेर पनि त्यसको यकिन संख्या उल्लेख छैन । ४० नम्बर बुँदामा सोलार प्यानल र एसी खरदि गर्नुपरे हुबेईसँगै न्यूनतम मूल्यमा खरदि गर्ने सहमति भएको छ । ४९ नम्बर बुँदाले कति क्षेत्रफलको कोठामा कस्तो वातानुकुलित उपकरण जडान गर्ने भन्ने निर्णयको अधिकार हुबेईलाई दिएको छ । अहिले सहमति भएको संख्याभन्दा बढी एसी चाहिएमा हुबेईले निःशुल्क उपलब्ध गराउने भनिएको छ तर मौजुदा स्िथतिमा पनि एसी कम चाहिएमा त्यसबाट बचेको रकम के गर्ने भन्ने सहमतिमा उल्लेख छैन । सहमतिपछि ५ सय ७९ वटा सोलार प्यानल टेलिकमले अलग्गै किन्ने भनेर सर्त परविर्तन गरएिको छ । नेपाल टेलिकमका महाप्रबन्धकलाई एकपटकमा ३५ करोड रुपियाँ बराबरका सामान बिनाटेन्डर खरदि गर्न सक्ने अधिकार छ । सोही अधिकार प्रयोग गरेर बाँकी सोलार साइट खरदिको योजना बनाइएको स्रोतको दाबी छ । एउटा सोलार साइट खरदि गर्न करबि ३५ हजार अमेरकिी डलर खर्च हुन्छ । अमेरकिी डलरको हालको बजार भाउ अनुसार १ अर्ब ७० करोडभन्दा बढी मूल्यका सोलार साइट अहिले नै हुबेईले दिनुपर्ने थियो । यस्तै, सोलार साइटजस्तै ७ सय ३४ वटा एयर कन्डिसन खरदि गर्नुपर्ने सर्त पनि ग्लोबर टेन्डरमा थियो । त्यसलाई परविर्तन गरेर ३ सय ९ वटा मात्र किन्ने व्यवस्था गरएिको छ । बाँकी ४ सय २५ वटा एयर कन्डिसन टेलिकम आफैँले खरदि गर्नेछ । एउटा एयर कन्डिसनको मूल्य १० हजार अमेरकिी डलर पर्छ । यद्यपि, बोलपत्र परविर्तन गर्ने क्रममा कति रकमको चलखेल या टेलिकमलाई कति रकमको नोक्सानी भएको छ भन्ने छानबिनपछि मात्र खुल्नेछ । यी त टेलिकम र हुबेईबीच नेगोसिएसनका चरणमा भएका बोलपत्रका सर्तहरूको संशोधनका केही उदाहरण मात्रै हुन् । त्यस क्रममा बोलपत्रका कुल १४ सर्तलाई संशोधन गरेर हुबेईलाई ठेक्का दिने काम भएको छ । यसमा ठूलै रकमको चलखेल रहेको स्रोतको दाबी छ । यही विषयमा २० मंसिरमा अख्तियारमा परेको उजुरीमा उक्त ठेक्काबापत दुई अर्ब रुपियाँ अनियमितता भएको दाबी गरएिको छ । तर, नेपाल टेलिकमको विकास विभागका नायब महाप्रबन्धक राजेन्द्र नकर्मी भन्छन्, "प्राविधिक विषय भएकाले उजुरी गर्नेलाई जसो गरे पनि ठाउँ हुँदो रहेछ । जागिर खाने मान्छेले यत्रो पैसा कसरी अनियमितता गर्न सक्छ ?" नायब महाप्रबन्धक नकर्मीको भनाइलाई पत्याउने हो भने नेपाल टेलिकममा सार्वजनिक खरदि कानुनविपरीत ठेक्का सम्झौता गर्ने समयमा चाहिने र नचाहिने सामान छुट्याएर सर्त परमिार्जन गर्ने प्रचलन छ । त्यसका लागि ठेक्का पाइसकेको कम्पनीले सर्वेक्षण गरेर रेडियो नेटवर्क प्लानिङ् -आरएनपी) तयार गर्नुपर्छ । उनको दाबी अनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा अनुमानित तथ्यांक मात्र उपलब्ध गराइएको हुन्छ । "हुबेई कम्पनीले दिएको आरएनपी अनुसार बोलपत्रमा रहेका बुँदा परमिार्जन गरएिको हो," नकर्मी भन्छन्, "प्राविधिक पक्षमा सार्वजनिक खरदि ऐनको प्रावधान लागू हुँदैन, किनभने ऐनले कमर्सिल टर्मस मात्र उल्लेख गरेको हुन्छ । त्यसैले खरदि ऐनसँग तुलना गर्न मिल्दैन ।" आईपी सीडीएमए प्रणाली जडान गर्ने ठेक्का १० करोड अमेरकिी डलर -हाल प्रचलित मूल्यमा ८ अर्ब २० करोड रुपियाँ)बराबरको थियो । तर, हुबेई कम्पनीले हालेको ३ करोड ५० लाख डलर -हाल प्रचलित मूल्यमा २ अर्ब ८७ करोड रुपियाँ)को टेन्डर स्वीकृत भयो । चीनकै जेडटीई कम्पनीले ७ करोड डलर -हाल प्रचलित मूल्यमा ५ अर्ब ७४ करोड रुपियाँ) र दक्षिण कोरयिाको कोरयिा टेलिकमले १८ करोड डलर -१ खर्ब ४७ अर्ब ६० करोड रुपियाँ)को टेन्डर हालेका थिए । त्यसमध्ये सबैभन्दा कम मूल्यको बोलपत्र भएका कारण हुबेईले ठेक्का हात पारेको थियो । ठेक्का स्वीकृतिमा अर्को रमाइलो पक्ष छ । त्यो हो, टेलिकमको इतिहासमै पहिलोपटक उक्त कम्पनीका महाप्रबन्धकले नभई नायब महाप्रबन्धकले ठेक्का स्वीकृतिमा हस्ताक्षर गरेका छन् । उक्त कागजातमा तत्कालीन महाप्रबन्धक विश्वनाथ गोयलले नभई निमित्त महाप्रबन्धकको जिम्मेवारी पाएका नायब महाप्रबन्धक कन्हैयालाल गुप्ताले हस्ताक्षर गरेका छन् । "यो नेपाल टेलिकमकै इतिहासमा पहिलो घटना हो," टेलिकमका एक अधिकारी भन्छन् । महाप्रबन्धक गोयल हङ्कङ्मा रहेको समयमा हुबेईसँग सम्झौता भएको थियो । स्रोतका अनुसार ठेक्का सम्झौता भइसकेपछि गोयलले हङ्कङ्बाटै टेलिफोन गरेर सम्झौता भए/नभएको जानकारी लिएका थिए । नायब महाप्रबन्धकले स्वीकृति पत्रमा हस्ताक्षर गरेको विषयमा टेलिकम कर्मचारी युनियनका पदाधिकारीले व्यवस्थापनसँग आपत्तिसमेत जनाइसकेका छन् । ठेक्कापट्टाको यस्तै विवादका कारण पाँच वर्षयता टेलिकमले नयाँ परयिोजना कार्यान्वयन गर्न पाएको छैन । जस्तो ः ल्यान्डलाइन टेलिफोनको नयाँ पुस्ताको प्रणाली टेलिकमले जडान गर्न सकेको छैन । यस्तै, सीडीएमए र जीएसएमको बि्रजिङ् परयिोजनाका अतिरत्तिm बीटीएस र टेलिकम सिस्टमका लागि आवश्यक सोलार प्यानल खरदिको प्रयास पनि सफल हुन सकेका छैनन् । "टेलिकमलाई धराशयी बनाउन कतै त्यसका उच्च अधिकारीहरू नै प्रयोग त गरँिदै छैनन्," टेलिकमका अधिकारी भन्छन्, "त्यसैले यस्ता प्रकरणमा दोषी देखिएकाहरूलाई कारबाही गरेर टेलिकमको साख बचाउन जरुरी छ ।"