Thursday, December 15, 2011

विमानस्थलमा एयर ट्राफिकको समस्या

काठमाडौं, 29 मंसिर - मंसिर पहिलो साता विराटनगरबाट राजधानी र्फकंदाको हवाई यात्रामा जस्तो डर पुल्चोकका पीयूष आनन्दलाई कहिल्यै लागेको थिएन । छिप्पिदो साँझसँगै झरी परिरहेको मौसम, त्यसमाथि ४० मिनेटमा राजधानी अवतरण गरिसक्नुपर्ने जहाज एक घन्टाभन्दा बढी समय आकाशमै रुमलिनुपर्दा उनलाई असाध्यै डर लागेको थियो । 'अँध्यारो मौसमले हवाईजहाज कहाँ छ भन्ने पनि थाहा पाइएन,' उनले भने, 'त्यसमाथि प्लेन तलमाथि गर्दै भौतारिँदा केही साताअघिको हवाईजहाज दुर्घटना सम्झेर असाध्यै डर लागेको थियो ।'
केही समययता यस्तो समस्या भोग्ने यी हवाईयात्रु मात्र होइनन्, प्रायः सबैले यस्तै भोग्नु परिरहेको छ । करिब डेढ साताअघि धनगढीबाट राजधानी र्फकंदा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले पनि यस्तै भययुक्त यात्रा गर्नुपरेको थियो । धनगढीबाट राजधानीको हवाई यात्रा करिब एक घन्टा १० मिनेटको भए पनि उनी करिब पौने २ घन्टा आकाशमै उडिरहे । 'म त बारम्बार यात्रा गरिरहने भएकाले त्यति डर लागेन,' उनले भने, 'तर कतिपय यात्रु भने असाध्यै डराइरहेका हुन्छन् ।'
आन्तरिक उडानमा मात्र नभएर अन्तर्राष्ट्रिय हवाई यात्रामा पनि यस्तो समस्या छ । बेलायतबाट थाई एयरवेजमा स्वदेश र्फकंदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल  एक घन्टा नेपाली आकाशमै रुमलिनुपरेको थियो ।

अहिले मुलुकभित्रकै गन्तव्य या अन्य मुलुक जान हवाई यात्रा गर्नेले कम्तीमा पनि एकदेखि डेेढ घन्टा ढिलो पुग्नुपर्ने समस्या सामान्य जस्तै बन्दै गएको छ । त्यस्तै राजधानीमा अवतरण गर्न पनि कहिले त आकाशमै ४५ मिनेटदेखि डेढ घन्टासम्म रोकिनुपर्ने अवस्था छ ।
यस्तो किन भइरहेको छ ? त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतीश चन्द्रलाल सुमन भन्छन्, 'हवाई ट्राफिक जाम बढेको छ ।' उनका अनुसार यस्तो हुनुको मुख्य समस्या हवाई क्षेत्र -एयर स्पेस) साँघुरो हुनु हो ।
विमानस्थलमा प्रयोग हुने उपकरण 'म्यानुअल' हुनु, आन्तरिक र अन्तर्राष्ट्रियका उडानका लागि एउटै धावनमार्ग हुनु, जहाज र यात्रु आवागमनको चाप बढ्दै जानुले समस्या उब्जिएको हो । यो समस्या सन् २००९ यतादेखि अधिक हुन थालेको विमानस्थल अधिकारी बताउँछन् ।केही समययता हवाई यात्रामा ढिला हुन थालेपछि यात्रुलाई समय व्यवस्थापन समेत गाह्रो हुँदै गएको राजकणिर्कारको भनाइ छ । 'निश्चित समयमा पुग्ने र फर्किने कार्यक्रम हुन्छ,' उनी भन्छन्, 'तर अहिले त कम्तीमा एक दुई घन्टा प्लेन ढिलो उड्ने, आकाशमै बढी समय रुमलिने कारणले कुनै काम पनि समयमा हुन सकिरहेको हुँदैन ।'
आन्तरिक विमान कम्पनीका अनुसार ट्राफिक जामका कारण उडान/अवतरणमा दुई घन्टाभन्दा बढी ढिलाइ हुने गरेको छ । यसले यात्रुलाई मात्र समस्या भइरहेको छैन । कम्पनीको लागत समेत बढाएको छ । 'विमानस्थलले यात्रुको चाप धान्नै नसक्ने अवस्थामा पुगिसकेको छ,' बुद्ध एयरका बजार प्रबन्धक रूपेश जोशीले भने, 'ढिलो हुने र आकाशमा होल्ड गर्नुपर्ने अवस्था सामान्य जस्तै भइसकेको छ ।'
बढ्दो बिदेसिने कामदारको संख्यासँगै पर्यटक आगमन वृद्धि उच्च छ । अधिकांश बाह्य विमान कम्पनीले आफ्नो उडान थपेका छन् । विमानस्थलका अनुसार जहाज आवागमन -उडान चाप) गत वर्षभन्दा करिब २० प्रतिशतले बढेको छ । त्यस्तै आन्तरिक यात्रु आवागमन १२ दशमलव ८३ र अन्तर्राष्ट्रिय २० प्रतिशतले बढेको छ । त्यसैले अन्तर्राष्ट्रिय टर्मिनलको दैनिक प्रतिघन्टा १ हजार २ सयसम्म यात्रु चाप धान्ने क्षमता भए पनि ३ हजारभन्दा बढी थेग्नु परिरहेको छ ।
हवाई र यात्रु आवागमन अप्रत्याशित रूपमा बढिरहे पनि विमानस्थलको सूचना तथा नियन्त्रण प्रणाली एवं पूर्वाधार विकास भने त्यस अनुरूप हुन सकिरहेको छैन । सूचना प्रणालीमा सुधार नगरिएकाले ट्राफिक समस्या बढ्दो रूपमा रहेको एयर ट्राफिक कन्ट्रोल विभागका एक अधिकारी बताउँछन् । विमानस्थल व्यवस्थापनले समस्या हल गर्नेतर्फ खासै चासो नदेखाएको उनले बताए ।यता सुमन भने आन्तरिक तथा बाह्य यात्रुको समय ख्याल गरेर सुधारका कार्यक्रम ल्याएको दाबी गर्छन् । 'यो सुधार गर्न सकिने कुरा हो,' उनले भने, 'हामी यसलाई हटाउने प्रयासमा लागि सकेका छौं ।'
हुन त केही समयअघि नै विमानस्थलले अवतरण प्रणालीलाई चुस्त बनाउन 'रिक्वायर्ड नेभिगेसन परफरमेन्स विथ अथोराइजेसन रिक्वायर्ड -आरएनपी-एआर)' जडान गरिसक्ने जनाएको थियो । तर अहिलेसम्म जडान हुन सकेको छैन । यो जडान गरेर सञ्चालनमा आउन अझै दुई महिना लाग्ने सुमनले जानकारी दिए ।
आरएनपी भू-उपग्रहमा आधारित प्रणाली हो । यसले जहाजलाई दुई फरक बिन्दुको बीचबाट सुरक्षित उडानका लागि दिशानिर्देश गर्छ । यो प्रणाली मार्फत अवतरण गर्दा विमान चालकले आवश्यक सम्पूर्ण जानकारी 'अटोमेटिक' रूपमा प्राप्त गर्ने छन् ।

समस्या हटाउन तीन विकल्पीय रणनीति तयार गरेको सुमनले जानकारी दिए । 'एउटा अटोमेटिक प्रणाली सञ्चालनमा ल्याउनु हो, यसका लागि काम भइरहेको छ,' उनले भने, 'अनावश्यक ट्राफिकलाई अन्य विमानस्थलमा सार्ने र यहाँबाट आन्तरिक वा अन्तर्राष्ट्रिय सेवा मात्र सञ्चालन गर्नु जरुरी छ ।'
नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक त्रिरत्न मानन्धर भने ट्राफिक समस्या हटाउन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको बताउँछन् । 'अरू कतै ध्यान नदिई सरकारले जतिसक्दो छिटो अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु जरुरी छ,' उनले भने । अहिले निजगढको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । सरकारले निर्माण प्रक्रिया अघि बढाउन यसको प्रस्ताव बुट कमिटीमा पठाउने तयारी गरिरहेको छ ।
चार वर्षअघि एसियाली विकास बैंकले ऋण सहयोगमा त्रिभुवन विमानस्थलको साँघुरोपन हटाउन र यात्रुलाई सहज वातावरण बनाउन सुधार कार्यक्रम थाल्ने घोषणा पनि भएको थियो । तर बैंकको प्राविधिक विज्ञले गरेको अध्ययन अनुसार अनुमान गरिएको रकमले विमानस्थलको सुधारका काम सम्पन्न गर्न नपुग्ने देखिएपछि अन्योल छ । सुधार कार्यक्रम अन्तर्गत धावन मार्गलाई ३ सय मिटर बढाउने, वायुयान पार्किङ विस्तार गरी ४२ बनाउने, ट्याक्सी वे फराकिलो बनाउने, कार पार्किङको पूर्वपट्टकिो भागमा आन्तरिक टर्मिनल सार्ने लगायत काम गर्ने योजना बनेको हो । त्यस्तै अन्तर्राष्ट्रिय टर्मिनललाई गल्फकोर्ससम्म विस्तार गरी त्यसैसँग नयाँ भिभिआइपी भवन बनाउने पनि योजना पनि थियो । तर ती सबै कुरा अहिले त्यसै सेलाएका छन् ।

No comments:

Post a Comment