Thursday, December 15, 2011

बैदेशिक रोजगारीमा एक महिनामै ३० करोड ठगी, कारवाही नभएको पिडीतको गुनासो

काठमाण्डौ,२९ मंसिर–माग नै आएको कम्पनी अनि स्वीकृति नै नदिएको मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाउँदै पैसा उठाएर नेपाली युवालाई ठग्ने प्रबृत्ति निकै बढेको छ ।
पछिल्लो एक महिनाको अबधिमा मात्र करिव ३० करोड रुपैयाँ बराबर ठगि भएको भन्दै वैदेशिक रोजगार बिभागमा उजुरी आएको बिभागले जनाएको छ । यसरी आएका उजुरीमध्ये अधिकांश बिज्ञापन प्रकाशन गरि नक्कली मागपत्रका आधारमा पैसा उठाएको र पैसा खाएर भागेको लगायतका छन् ।
वैदेशिक रोजगार बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले अहिले बिभागमा एक महिनामा मात्र ३० करोड बराबर ठगीको उजुरी आएको जानकारी दिंदै दर्ता नै नभएका र दर्ता भएका विभिन्न रोजगार कम्पनीबाट ठगी भएको उल्लेख गर्नुभयो ।
हाल २३ वटा ठगीका मुद्दा अदालतमा दायर भइरहेको र १२ वटामाथि अनुसन्धान जारी रहको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाउँदै उहाँले ठगी भएको पाइएमा सिधै आफुकहाँ आएर उजुरी गर्न आग्रह गर्नुभयो ।
वैदेशिक रोजगार व्यावसायीले सञ्चार माध्यममा दिने विज्ञापनको विश्वसनीयता र त्यसमा सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा बिहीवार काठमाण्डौंमा आयोजित छलफल कार्यक्रममा महानिर्देशक भट्टराईले बोरोजगार युवा समुदायलाई आकर्षक हुने गरी सञ्चारमाध्यममा गलत र अवैध तरिकाले विज्ञापन प्रकाशन गरी वैदेशिक रोजगार व्यवसायीले ठगी गर्ने गरेको बताउनुभयो ।
बैदेशिक रोजगार प्रर्बद्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले स्थानीयस्तरमा जनचेतना जगाउन नसक्दा ठगीका घटना भइरहेको भन्दै कामदारलाई सचेत भएर जानकारी लिएरमात्र पैसा बुझाउन आग्रह गर्नुभयो ।तर, वैदेशिक रोजगार पिडीतहरुले भने कानुन कार्यन्वयनको अभावमा बैदेशिक रोजगारीको आडमा ठगी भइरहेको बताउँछन् । सयौं बेरोजगार युवाबाट करोडौं रुपैयाँ ठग्ने ब्यक्ति र म्यनपावरमाथि कुनै कारवाही नहुँदा नयाँ ठगहरुलाई प्रोत्साहन मिलेको उनीहरु बताउँछन् ।
नेपाल विज्ञापन एजेन्सी सङ्घ -आन) का अध्यक्ष राजकुमार भट्टराईले कतिपय एजेन्सी र अवैध म्यानपावर कम्पनीले अघोषित सम्बन्धका आधारमा गलत सूचना र विज्ञापन प्रकाशन हुने गरेको हुन सक्ने भन्दै त्यस्तो कार्यलाई रोक्न सङ्घले सघाउने उल्लेख गर्नुभयो । कार्यक्रममा पत्रकार आचारसंहिता विपरीत अवैध कम्पनीका गलत सूचना र विज्ञापन दिने सञ्चार माध्यमले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

No comments:

Post a Comment