Friday, December 16, 2011

वैदेशिक रोजगारको विज्ञापन गर्दा लट नम्बर अनिवार्य ,एक महिनामा ३० करोड रुपियाँको ठगी

काठमाडौं– तपाईं वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ यदि तयारीमा हुनुहन्छ भने साचारमाध्यममा प्रकाशित तथा प्रशारित हुने आकर्षक विज्ञापनप्र्रति आँखा चिम्लेर विश्वास गर्ने काम नगर्नुहोस् है। कतिपय व्यवसायीहरुले आकर्षक विज्ञापन गरेर कामदारलाई ठग्ने क्रम बढेपछि यसलाई नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले कडाइ गर्ने भएको छ।
व्यवसायीहरुले पत्रपत्रिकामा आकर्षक तलबसहित अन्य सेवा-सुविधाका विज्ञापन गरेर कामदारलाई ठग्ने क्रम बढेपछि विभागले विज्ञापनमा लट नम्बर अनिवार्य राख्न निर्देश गरेको छ। 'आकर्षक विज्ञापन गरेर ठग्ने गिरोह नै सक्रिय भएको देखिन्छ यसलाई रोक्न हामीले विज्ञापन गर्दा लट नम्बर अनिवार्य राख्न अनुरोध गरेका छौं’ -वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भन्नुभयो। विज्ञापनमा लट नम्बर राखिएपछि उक्त विज्ञापन सही भए नभएको थाहा पाउन सकिने उहाँको भनाइ छ।
वैदेशिक रोजगार ऐन २०६४ ले पनि वैदेशिक रोजगारको विज्ञापन गर्दा स्पष्ट मापदण्ड तोकेको छ तर ऐन नै कार्यान्वयन नगरी व्यवसायीहरुले विज्ञापन गर्ने गरेका छन्। लट नम्बरका आधारमा अनुगमन गर्न सजिलो हुने महानिर्देशक भट्टराई बताउनुहुन्छ। 'यो प्रवधान लागू भए कोही व्यक्ति पनि ठगिनुभन्दा अघि नै थाहा पाउँछ’ उहाँले भन्नुभयो- 'कोही पनि नझुक्कियोस् भन्ने हाम्रो अभिप्राय हो।’
वैदेशिक रोजगारमा विज्ञापन पनि महत्वपूर्ण पाटो रहेकाले विज्ञापनलाई व्यवस्थित गर्न वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्वन बोर्डले टोल फ्री र हटलाइन सेवा शुरु गरेका छन्। ४११२३५० हटलाइन र १६६००१५००५ मा फोन गर्दा विज्ञापन सही भए नभएको प्रमाणित गर्न सकिने महानिर्देशक भट्टराईले बताउनुभयो। 'अहिलेको मुद्दा ठगीको छ विज्ञापनका कारण पनि केही ठगी भएको छ’ -उहाँले भन्नुभयो। भट्टराईले पछिल्ला समयमा ठगीका घटना बढेकाले विभागको निगरानी पनि बढेको जानकारी दिनुभयो। पछिल्लो समयमा ठगीका घटना बढ्न थालेपछि पीडितहरु पनि न्यायका लागि विभागमा उजुरी दिन थालेका छन्। पछिल्लो एक महिनामा मात्र संस्थागत ८० वटा र व्यक्तिगत २३ वटा ठगीका मुद्दा विभागमा दर्ता भएको महानिर्देशक भट्टराईले बताउनुभयो। उहाँका अनुसार यस अवधिमा सर्वसाधारणको ३० करोड रकम ठगिएको र १२ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेका छन्।
विभागले अनुगमन गर्न नसकेको स्वीकार गर्दै महानिर्देशक भट्टराईले लट नम्बर अनुगमनको प्रक्रिया पनि रहेको बताउनुभयो। शहरभन्दा गाउँबाट वैदेशिक रोजगारमा युवाहरु बढी जाने भएकाले लगत विज्ञापन नजाओस् भनेर सूचना विभागसँग सहकार्य शुरु गर्ने उहाँले बताउनुभयो। वैदेशिक रोजगार प्रवद्र्वन बोर्डका महानिर्देशक स्थानेश्वर देवकोटाले विभागको स्वीकृतिबेगरमा सूचना निकालेमा जरिवाना तिराउने बताउनुभयो। 'हामीले वैदेशिक रोजगारका सूचनामा कडाइ गर्न थालेका छौं’ उहाँले भन्नुभयो- 'यसो हुन सके वैदेशिक रोजगारका धेरै समस्या समाधान हुनेछन्।’ ऐन कानुन सिद्वान्ततः व्यवहारमा मेल नखाएको भन्दै सरोकारवाला सबैको सहकार्य भएमा वैदेशिक रोजगारका समस्या सजिलै समाधान हुने उहाँको भनाइ थियो।

No comments:

Post a Comment