Wednesday, September 12, 2012

म्यानपावरले आठ गुणा बढी रकम लिएपछि इजरायलमा पनि इपीएस प्रस्ताव गर्दै सरकार
काठमाडौ, २७ भदौ – म्यानपावर एजेन्सीले तोकिएकोभन्दा आठ गुणा बढी शुल्क लिएपछि सरकारले दक्षिण कोरियामा जस्तै रोजगार अनुमति प्रणाली (इपीएस)बाट कामदार पठाउने प्रस्ताव गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले इपीएस अनुसार कामदार पठाउने प्रस्तावको तयारी गरिरहेको, वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराइले जानकारी दिए ।
इजरायल सरकारलाई इपीएस अनुसार सरकारकै माध्यमबाट कामदार पठाउन प्रस्ताव गर्दैछौ, भट्टराईको भनाईलाई पुष्टि गर्दै  मन्त्रालयका एक अधिकारीले भने, सरकारले नै इजरायल पठाउन सके कामदार तोकिएकै शुल्कमा जान पाउँछन् । सरकारले इजरायल कामदार पठाउँदा हवाई टिकट वाहेक ७५ हजार रुपैयाँ मात्रै प्रवद्र्धन शुल्क लिन पाउने प्रावधान तोकेको छ । तर म्यानपावर एजेन्सीले कामदारसँग पाँच लाखभन्दा बढी लिएका छन् ।
म्यानपावर एजेन्सीले पाँच लाखभन्दा बढी असुलीरहेको हामीलाई सूचना आउँछ । हामीले इजरायल जाने कामदारसँग रकमको बारेमा सोध्छौ, वैदेशिक रोजगार विभागका उच्च अधिकारीले भने, तर कामदारले ७५ हजार रुपैयाँ मात्रै तिरेको जवाफ दिएपछि कारवाही गर्न सक्दैनौ ।
इजरायलले म्यानपावर एजेन्सीले तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै सरकारी निकायको आलोचना समेत गरेको थियो । केही दिनअघि श्रम तथा रोजगारमन्त्री कुमार वेल्वासे र नेपालका लागि इजरायली राजदूत हनन गोल्डर गोल्डवर्गरबीच भएको छलफलमा न्यूनतम शुल्कमा कामदार पठाउने बारेमा छलफल भएको थियो ।
छलफलमा समेत म्यानपावर एजेन्सीले बढी शुल्क लिइरहेको र त्यसलाई रोक्नुपर्नेमा जोड दिएका थिए । इजरायल नेपाली महिला कामदारको लागि सबैभन्दा राम्रो गन्तब्य हो । इजरायलमा केयरगिभर(सुसारे) कामको बढी सम्भावना छ । इजरायल गएका नेपालीले मासिक एक लाखसम्म कमाउँछन् भने कृषि क्षेत्रमा पुरुष कामदारका लागि राम्रो सम्भावना छ ।
इजरायलले नेपाली कामदारसँग आठ लाख भन्दा बढी रकम उठाएको भन्दै तीन वर्ष नेपालबाट कामदार लिन प्रतिवन्ध लगाएको थियो । इजरायलले एक वर्षअघि निश्चित मापदण्ड र न्यूनतम शुल्क लिएर मात्रै कामदार पठाउनुपर्ने शर्तसहित खुल्ला गरेको थियो । सरकारले यही शर्तलाई मान्दै कडा प्रावधानसहित कामदार पठाउन खुल्ला गरेको थियो ।
तर यो प्रावधानलाई म्यानपावर एजेन्सीले मिच्दै फेरी कामदारसँग बढी शुल्क असुल्न थाले । विभागका अनुसार इजरायलमा अहिले झन्डै ८ हजार नेपाली कार्यरत छन् । प्रतिवन्ध फुकुवा गरेपछि ८ जना नेपाली मात्रै इजरायल गएको विभागको तथ्यांक छ । इजरायल नेपालीका लागि केयरगिभरका लागि मात्रै होइन कृषिमा प्रविधि भित्र्याउन पनि राम्रो मानिन्छ ।
इजरायल कृषि क्षेत्रमा प्रख्यात रहेकोले त्यहाँ काम गरेर फर्किएका नेपालीले नेपालमा व्यवसायिक खेती गरिरहेका छन् । इजरायलबाट फर्किएका नेपालीले ककनीमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह फार्म चलाइरहेका छन् भने ज्योति समूहले परवानीपुरमा समेत यही समूहको साझेदारीमा व्यवसायीक तरकारी खेती गर्दैछ ।

No comments:

Post a Comment