Sunday, September 16, 2012

बन्द हिमाल आरोहण सञ्चालनको प्रक्रिया अघि बढ्यो  
काठमाडौ, ३१ भदौ –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले हाल आरोहण बन्द रहेका हिमललाई तत्काल सञ्चालन गर्नेतर्फ सरकारी पहल अघि बढेको बताएका छन् । आइतबार राजधानीमा सम्पन्न नेपाल पर्वतारोहण संघ(एनएमए)को २३औं वार्षिक साधारणसभामा  मन्त्री बोगटीले सो जानकारी गराएका हुन् ।
उनले एनएमएले यसअघि व्यवस्थापनको अख्तियारी पाइसकेका १५ ओटा हिमचुली पुनः नवीकरण र २३ ओटा हिमाल आरोहण सञ्चालनको व्यवस्थापन गर्ने अधिकार उपलब्ध गर्न माग गरे अनुरुप म्याद सिद्धिइसकेका १५ ओटा हिमचुलीको नवीकरण गर्न पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगिसकिएको जानकारी दिए ।
मुलुकभरका ३३ ओटा हिमाल आरोहणको रोयल्टी उठाई सबै व्यवस्थापन गर्ने अख्तियारी प्राप्त पर्वतारोहण संघको आर्थिक स्रोत परिचालनको अवस्थालाई मध्येनजर गर्दै सरकारले २०५९ साल ३१ भदौदेखि लागू हुनेगरी ३३ मध्ये १५ ओटा हिमाल ५ वर्षका लागि परीक्षणको रुपमा उपलब्ध गराएको थियो । ती हिमालको म्याद २०६४ सालमा पुनः ५ वर्षका लागि थप भएकोमा सो म्याद आइतबारदेखि समाप्त भएकाले फेरी थप्न संघले मन्त्रालयसँग माग गरेको थियो । 
एनएमएका अध्यक्ष जिम्बाजाङ्वु शेर्पाले सरकारले कीर्तिमानी आरोहीलाई उचित सम्मान र रोजगारी दिन नसक्दा आरोही विदेश पलायन हुने क्रम बढेकाले त्यसलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताए । 
सोही अवसरमा एनएमएले ५० हजार राशीको कुमार खड्गविक्रम साहसिक पर्वतीय पुरस्कारबाट सगरमाथा र लोत्से हिमाल प्रवद्र्धनमा विविध कार्यक्रम सञ्चालन गर्ने दुईजना अमेरिकी नागरिक गुल्लेर्मो बेनेगास र डेमियन बेनेगार, डा. हर्क गुरुङ पुरस्कारबाट स्वर्गीय जीन कौड्रेलाई मरणोपरान्त पुरस्कृत गरेको छ । यसैगरि दावानर्वु पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पत्रकार राजु सिलवाल र डब्लुडब्लुएफ अवार्डबाट आरोही दावास्टेभन शेर्पालाई  पुरस्कृत गरेको छ ।
सोही अवसरमा संघले वर्षकै सर्वोत्कृष्ठ हिमाल आरोहण गराउन सफल विभिन्न ट्रेकिङ कम्पनीहरुलाई पनि सम्मान गरेको छ ।

No comments:

Post a Comment