Sunday, September 30, 2012

सीता एयरको जहाज दुर्घटना , १९ जनाको मृत्यु
काठमाडौं,१२असोज –  काठमाडौंबाट लुक्लाका लागि उडेको सीता एयरको ९एन एएचए डी२२८ कलसाइनको डोर्नियर जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित १९ जनाको मृत्यु भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रवार बिहान ६ बजेर १७ मिनेटमा उडेको सो जहाज करीब २ मिनेटमा नै विमानस्थलबाट ५ सय मिटर पर दुर्घटनामा परेको हो । ‘विमान चरासँग ठोक्कियो भन्ने जानकारी चालकले एयर ट्राफिक कण्ट्रोलर (एटीसी)लाई दिएका थिए,’ विमानस्थलका महाप्रबन्धक रतीशचन्द्रलाल सुमनले भने । तुरुन्त जहाज विमानस्थलमा फर्काउन दिएको निर्देशनलाई चालकले पछ्याउँदै गर्दा जहाज अनियन्त्रित भई दुर्घटनामा परेको उनले बताए । ‘दुर्घटनाको थप कारण थाहा पाउन छानबिन समितिको निष्कर्षलाई नै पर्खनुपर्छ,’ उनले भने । विमान दुर्घटनामा क्याप्टेन विजय तण्डुकार, कोपाइलट ताकाशी थापा र एयरहोष्टेज रूजा शाक्यसहितका सात नेपाली परेका छन् । दुर्घटनामा पर्ने अन्य यात्रुमा ७ जना बेलायती र ५ जना चिनियाँ पर्यटक रहेको बताइएको छ । दुर्घटनामा मृत्यु हुने अन्य नेपालीहरूमा लाक्पानोरु शेर्पा, मदनकुमारी तामाङ, दीपेन राई र कुमार मस्र्याङ्ग्री मगर रहेको सीता एयरले जानकारी दिएको छ । सीताले ९ वर्षअघि उडान शुरू गरेदेखि नै जहाज उडाउँदै आएका तण्डुकारले प्रशिक्षक पाइलटको तयारी गरिरहेको सो एयरले बताएको छ ।

क्याप्टेनले जहाज विमानस्थलमा फर्काउने प्रयास गर्दागर्दै प्राविधक कारणले नभ्याएकाले मनोहरा किनारमा अवतरण भइसकेपछि आगो लागेको थियो । आगो निभाउन झण्डै ४० मिनेट लागेको थियो । जहाजको अवस्था एटीसीमार्फत जानकारी गराइसकेपछि पनि प्राधिकरणले आवश्यक उद्धारको तयारी नगर्दा विमानमा सवार सबै यात्रुको ज्यान गएको एक उड्डयन जानकार बताउँछन् । विमान नियमित जाँचमा रहेको र जहाजको अवस्था ठीक रहेको अवस्थामा चरा ठोकिनुमात्र दुर्घटनाको कारण हुन नसक्ने उनको भनाइ छ । यसको कारण खोजीका लागि संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालयले पूर्वपर्यटन सचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगका सदस्यहरूमा अग्नि एयरका उपइञ्जिनीयर निर्देशक मेगेन्द्रकुमार श्रेष्ठ, तारा एयरका प्रशिक्षक पाइलट राजेश श्रेष्ठ, उड्डयन प्राधिकरणका मेडिकल उपसंयोजक डा. रञ्जितसिंह बराल र सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् । आयोगले ९० दिनभित्र दुर्घटना प्रतिवेदन सरकारलाई बुझाउने सदस्यसचिव आचार्यले जानकारी दिए ।

दुर्घटनामा परेको जहाज सीताले ९ वर्षअघि नै खरीद गरेको थियो । यसको हालको बजार मूल्य १५ लाख अमेरीकी डलर रहेको सिता एयरले बताएको छ । जहाज दुर्घटनामा मृ त्यु भएका सबै यात्रुको अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको वार्सा कन्भेन्सन अनुसार प्रतियात्रु २० हजार अमेरीकी डलरको बीमा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल वायुसेवा निगमको शुक्रबार निर्धारित थाइल्याण्ड र मलेसियाको उडान रद्द भएको छ । निगमले अन्तरराष्ट्रिय उडानमा प्रयोग गरिरहेको ७५७–९एन एसीए जहाजको जेनेरेटरमा समस्या देखिएकोले तय भइसकेको उडान रद्द भएको हो । शुक्रबार विहान ९ बजेर २० मिनेटमा हुनुपर्ने थाइल्याण्डको बैङ्कक तथा बेलुका ११ बजेर ३० मिनेटमा हुनुपर्ने मलेसियाको क्वालालम्पुर उडान रद्द भएको निगमका प्रवक्ता सरोज कसजुले जानकारी दिए ।

उनका अनुसार जहाजको जेनेरेटरमा देखिएको समस्या शुक्रबार बेलुकासम्म समाधान गरेर शनिवार विहानको उडान गर्न सकिनेगरी निगमले तयारी गरेको छ । निगमको अर्काे जहाज इजरायलमा मर्मतमा रहेकोले पनि जहाज अभाव हुँदा उडान रद्द गर्नुपरेको निगमको भनाई छ । ‘नियमित मर्मत (सिचेक) मा लगिएको जहाज आइतबारसम्ममा काठमाडौं आउने छ,’ कसजुले भने । गत भदौ १२ मा सिचेकका निम्ति इजरायली वायुसेवा कम्पनी इलअल लगिएको सो जहाजको मर्मत भइसकेको उनले जानकारी दिए ।

No comments:

Post a Comment