Wednesday, July 24, 2013

सात वायुसेवाको सञ्चालन अनुमति खारेज

काठमाडौं - उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सात वायुसेवा कम्पनीको 'वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र' (एओसी) खारेज गरेको छ। प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित एवं सञ्चालन तयारीमा रहेका दुई अन्तर्राष्ट्रिय तथा पाँच आन्तरिक वायुसेवा कम्पनीको अनुमतिपत्र गत आइतबार (असार ३०) खारेज गरेेको हो। लाइसेन्स खारेज गरिएकामा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेज र अल्पाइन एयर तथा आन्तरिक वायुसेवा कम्पनीहरू अग्नि एयर, नमस्ते एयर, स्विफ्ट एयर, ब्लु एयर र मुक्तिनाथ एयरलाइन्स छन्।
'जहाज ल्याएर उडान सञ्चालन गरे पनि ६ महिनासम्म निरन्तरता दिन नसक्ने र कहिल्यै जहाज नल्याउने, तर अनुमति प्रमाणपत्र लिइरहने वायुसेवाहरूको सञ्चालन अनुमति खारेज गरेका हौं,' प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले  भने, 'सञ्चालन अनुमति खारेज गरिएको बेहोराको पत्र सबै वायुसेवा कम्पनीलाई पठाइसकेका छौं।'
प्राधिकरणले अनुमति खारेजीमा परेका सातै वायुसेवालाई नवीकरणका लागि एकपटकलाई 'मौका' पनि दिएको छ। सञ्चालन अनुमतिपत्र नवीकरण गर्न अन्तर्राष्ट्रिय वायुसेवालाई तीन महिना र आन्तरिकलाई ६ महिना म्याद दिइएको सुमनले जानकारी दिए। 'सबै प्रक्रिया पूरा गरेर आए नवीकरण हुन्छ,' उनले भने।
केही दिनदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एक टोलीले नेपाली उड्डयन क्षेत्रको 'अडिट' गरेको थियो। पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार सरकारलाई प्रतिवेदन बुझाएको आइकाओ टोलीले 'जहाज नहुने वायुसेवा कम्पनीको सञ्चालन अनुमति प्रमाणपत्र नवीकरण नगरी खारेजै गर्नुपर्ने' सुझाव दिएको छ। 'आइकाओ टोलीले सात चरण पार गरेमात्र पुनः अनुमति दिन सकिने सुझाव पनि दिएको छ,' स्रोतले भन्यो।
सञ्चालन अनुमति खारेज भएको बिबी एयरवेजले तामझामका साथ उडान सञ्चालन गरे पनि हवाइबजारमा करिब तीन महिनामात्र टिक्न सक्यो। बिबीले २०६९ भदौ २८ बाट 'चार्टर' उडान भरी सेवा थालेको थियो। कम्पनीले पहिलो चरणमा काठमाडौंबाट 'चार्टर' उडान गरेको थियो। उसले कम्बोडियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी टोन्ले साप एयरलाइन्ससँग 'वेट लिज' मा एउटा बोइङ ७५७–२०० सिरिजको जहाजबाट उडान भरेको थियो। बिबीले पहिलो यात्रुबाहक उडान भने असोज २५ बाट मलेसियाका लागि सुरु गरेको थियो।
उडानमा रहेको एकमात्र जहाज 'नियमित मर्मत' का लागि भन्दै सम्बन्धित कम्पनीले लगेपछि बिबी जहाजविहीन भएको थियो। कम्पनीले मलेसियाको क्वालालम्पुरका लागि साताको चार दिन उडान भर्थ्यो। बिबी एयरवेजमा गैरआवासीय नेपाली संघ (एनआरएन) का कोषाध्यक्ष भवन भट्टको इन्भेस्टमेन्ट कम्पनी टिबिआई ग्रुपको लगानी थियो। यसमा जापानी व्यवसायीको समेत गरी ४ अर्ब रुपैयाँ लगानी थियो।
उडान सञ्चालन गरेको एक महिनाभित्र यस्तै सिरिजको अर्को जहाज र त्यसपछि निकट भविष्यमा बोइङ ७६७–३०० सिरिजका थप दुइटा जहाज ल्याउने कम्पनीको योजना थियो। पाँच वर्षभित्र अस्ट्रेलिया, युरोप हुँदै अमेरिकासम्म उडान गर्ने महत्वाकांक्षी लक्ष्य कम्पनीले सार्वजनिक गरेको थियो। बिबीले काठमाडौंबाट नयाँदिल्ली, बैंकक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा र सिंगापुर उडान गर्ने अनुमति पाएको थियो।
सञ्चालन अनुमति खारेज भएको अर्को अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी अल्पाइन एयरले सन् १९९८ मै उडान अनुमति पाएको थियो।
काठमाडौंबाट नयाँदिल्ली, बैंकक, ढाका, बहराइन, सिंगापुर र ग्वाङझाउ उडान गर्ने यसको योजना थियो।
अल्पाइनले त्यसका लागि बहराइन एयरको एयरबस ए३१९–१०० जहाज नौ महिनाका लागि 'वेट लिज' मा लिएको थियो। तर, त्यो जहाज पनि आएन र उडान पनि गर्न सकेन। अल्पाइनमा सुरेन्द्र मल्लको लगानी थियो।
एकताका आन्तरिक उडानमा तेस्रो ठूलो वायुसेवामा दरिन सफल अग्नि एयर 'अक्षम व्यवस्थापन' का कारण करिब एक वर्षअघि बन्द भएको थियो। वार्षिक २८ करोड रुपैयाँ नाफा कमाइरहेको र सात प्रतिशत बजार हिस्सा ओगटेको अग्नि ६५ करोड रुपैयाँ बैंक ऋण तिर्न नसकेपछि बन्द भएको थियो।
२९ सिट क्षमतायुक्त तीनवटा जेटस्ट्रिम–४१ र १९ सिटे दुइटा डोर्नियर–२२८ मोडेलका जहाज रहेको अग्निले सात वर्ष उडान गरेको थियो। सातमध्ये पाँच जहाज हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छन्। अग्नि सुधीर बस्नेतको कम्पनी हो।
अर्को आन्तरिक वायुुसेवा कम्पनी नमस्ते एयरले गत वैशाख तेस्रो साता अग्नि एयरको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएपछि पुनः उडान गर्ने घोषणा गरेको थियो। अग्निले विभिन्न बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ६५ करोड रुपैयाँ सकार्न नमस्ते तयार भएपछि व्यवस्थापन हेरफेर सम्झौता भएको थियो।
नमस्तेले गत असार पहिलो साताबाट अग्निका दुई डोर्नियर जहाज तथा साउन दोस्रो साताभित्र दुइटा जेटस्ट्रिमबाट उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो। नमस्तेका कार्यकारी अध्यक्ष राजु केसीले दुईवटा डोर्नियर अग्नि एयरकै नाम र लोगोमा तथा बाँकी तीन जेटस्ट्रिम नमस्तेको लोगोमा उड्ने बताएका थिए।
कम्पनीले ७२ सिट क्षमताका दुइटा एटिआर७२–५०० सिरिजका जहाज भाडामा ल्याएर सञ्चालन गर्ने योजना पनि बनाएको छ। नमस्तेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६९ साउन २२ मा उडान अनुमति दिएको थियो। त्यसको चार महिनापछि मंसिर १२ मा प्राधिकरणबाट सञ्चालन अनुमति पाएको थियो। प्राधिकरणले भैरहवा विमानस्थललाई आधार गर्ने गरी उडान गर्न नमस्तेलाई अनुमति दिएको थियो।
अर्को आन्तरिक वायुसेवा ब्लु एयरले चार जहाजबाट मुलुकका प्रमुख सहरमा उडान भर्ने गरी अनुमति पाएको थियो। उसले काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज, भैरहवा, भद्रपुर, धनगढी र सिमरा सेक्टरमा उडान गर्न पाउने अनुमति पाएकेा थियो। देवकाजी डंगोलको कम्पनी ब्लुको व्यापारिक योजनामा १९ सिट क्षमताका दुईवटा बिचक्राफ्ट र ४८ सिट क्षमताका दुइटै एटिआर–४२ जहाज ल्याएर उडान गर्ने उल्लेख थियो।
त्यसैगरी, कृष्णबहादुर खड्गीको कम्पनी स्विफ्ट एयरले एउटा एटिआर–४२ र दुईवटा डोर्नियर जहाजबाट उडान गर्ने गरी अनुमति पाए पनि जहाज ल्याउन सकेन। एटिआरलाई सहरी क्षेत्रमा र डोर्नियर जहाजलाई दुर्गम भेगमा उडान गर्ने उसको योजना थियो। उता, मुक्तिनाथ एयरलाइन्स भने केही अवधि हेलिकोप्टर उडान गरेपछि बन्द भएको थियो।
प्राधिकरणका अनुसार हवाइकम्पनीले जहाजको तौलका आधारमा नयाँ सञ्चालन अनुमतिपत्र लिएर वर्षैपिच्छे नवीकरण गर्नुपर्छ। अनुमतिपत्र शुल्क जहाजको तौल र संख्यामा निर्भर गर्छ। अन्तर्राष्ट्रिय उडानका लागि नयाँ अनुमति लिन ५ हजार ७ सय किलो तौलसम्मका जहाजलाई १२ हजार ५ सय अमेरिकी डलर र त्यसपछि प्रत्येक १० हजार किलोका लागि १ हजार डलर थप लाग्छ। आन्तरिक उडानका लागि ७ हजार ५ सय किलो तौलसम्म ५ हजार डलर र त्यसपछि प्रत्येक १० हजार किलोका लागि थप ५ सय डलर तिर्नुपर्छ।
आन्तरिक कम्पनीले ७ हजार ५ सय किलो र अन्तर्राष्ट्रियले ५ हजार ७ सय किलोसम्मलाई २ हजार ५ सय डलर नवीकरण शुल्क तिर्नुपर्छ। त्यसभन्दा माथि प्रत्येक १० हजार किलोका लागि आन्तरिकले २ सय ५० र अन्तर्राष्ट्रियले ५ सय डलर तिर्नुपर्छ।
म्याद सकिएको ३५ दिनभित्र सञ्चालन अनुमतिपत्र नवीकरण नगरे २५ प्रतिशत, ९० दिनभित्र ५० र १ सय ८० दिनभित्र ७५ प्रतिशत जरिवाना लाग्छ।
हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, सिमि्रक एयरलाइन्स, सीता एयर, तारा एयर, एयर काष्ठमण्डप, गोमा एयर, मकालु एयरलगायत करिब एक दर्जन वायुसेवा कम्पनीले आन्तरिक उडान गरिरहेका छन्।

No comments:

Post a Comment