Saturday, November 11, 2017

रेलमार्ग अध्ययनकालागि चिनियाँ टोली काठमाडौमा , केरुङ–काठमाडौं–लुम्विनी रेल निर्माण छिट्टै सम्पन्न गर्न चीन सकारात्मक

मधुजंग पाण्डे
काठमाडौ
मुलुकको राष्ट्रिय प्राथमित्तामा रहेको बहुप्रतिक्षित केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउनकालागि स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एक टोली सोमबार काठमाडौं आइपुगेको छ । उनीहरु विहान काठमाडौ आइपुगेका हुन ।
चिनियाँ उप मन्त्री सहितको उच्च स्तरीय २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग लगायत मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणकालागि अध्ययन गर्न छलफल गर्ने छ । नेपालमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्न काठमाडौ आइपुगेको सो टोली चार दिनसम्म यहाँका विभिन्न भागको स्थलगत अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी आगामी शनिबार चीन फर्कने तयारी भएको छ । 
रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उप मन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यीय टोली सोमबार बिहान काठमाडौं आएको जानकारी दिए । उनले अहिलेसम्म काठमाडौमा भएको छलफलमा उनीहरु विभागले लिएको लक्ष्य पुरा गर्ने कार्यमा निकै सकारात्मक भएको बताए । उनले अहिले आफु चिनियाँ टोलीसँग नै रहेको बताए । नेपालको रेलमार्गको पूर्वाधार निर्माणका विषयमा अध्ययन तथा छलफल गर्न चिनियाँ टोली काठमाडौ आइपुगेको जानकारी गराउँदै प्रवक्ता उपाध्ययले भने, ‘चिनियाँ टोलीले अहिले विशेषगरि काठमाडौं–केरुङ र पोखरा–लुम्बनी रेलमार्गको स्थलगत अध्ययन गर्नेछ’। यस टोलीमा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि लगायत सहभागी भएको उनले जानकारी दिए ।
नेपालमा रेल विकासको सम्भावना अध्ययन र छलफल गर्न आइपुगेका यस प्राविधिज्ञ सहितको उच्च टोलीले केरुङ, पोखरा र लुम्बिनीको स्थलगत अध्ययन सहित यहाँका सरकारी अधिकारीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गरेको थियो । उनले विहान काठमाडौं आइपुगेका चिनियाँ टोलीसँग सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छलफल एकदमै सकारात्मक रहेको बताए । उनले यस छलफलमा आफुहरुले उठाएका विविध मागहरुप्रति चिनियाँ प्रतिनिधीहरु सकारात्मक भएको बताए । अहिले यस टोलीको नेपाल भ्रमणको मुख्य उदेस्य नेपालमा रेलमार्ग निर्माणको विषयमा छलफल गर्नु नै भएको बताए । उनले चिनियाँ टोली नेपाली प्रतिनिधि सहित मंगलबार चीनको केरुङ तर्फ स्थलगत अध्ययन भ्रमणकालागि जाने कार्यक्रम रहेको जानकारी दिए ।
छिमेकी मुलुक चिनको तिब्बती नाका केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । यस रेलमार्ग निर्माण गर्न चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमणको अवसरमा सो रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो।  चिनियाँ टोली केरुङबाट फर्किएर आगामी बुधबार पोखरा र बिहीबार लुम्बिनी जाने कार्यक्रम तय भएको विभागले जनाएको छ । चिनबाट आएका यस संयुक्त टोलीले काठमाडौं, पोखरा, लुम्विनी रेलमार्गको निर्माणकालागि अध्ययन गर्ने छ ।  अहिले सरकारले काठमाडौं र पोखरालाई रेलमार्गले जोड्ने योजना अघि सारेको छ । त्यसैगरी, पोखरा र लुम्बिनीलाई पनि रेलमार्गले जोड्ने भावी योजना बनाएको छ । यी सबै क्षेत्रमा रेलमार्गको स्थलगत अध्ययन गर्न चिनियाँ टोलीले भ्रमण गर्न लागेको विभागले जनाएको छ । 
जसकालागि सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । सो अध्ययन अनुसार यहाँको रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुने छ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले सवारी साधनबाट पोखरा पुग्न लाग्ने करिब ७ घन्टा लामो यात्रालाई छोट्याएर जम्मा २ घन्टामा झार्ने सो अध्ययन प्रतिवेदनले देखाएको छ । 
यस टोलीको स्थलगत अध्ययन भ्रमणपछि पुनः आगामी शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी अधिकारीसँग दोस्रो बैठक गर्ने कार्यक्रम तय भएको पनि विभागले जानकारी दिएको छ । विभागका अनुसार  चिनियाँ टोली आगामी शनिबार स्वदेश फर्कने छ । अहिले चिनियाँ कम्पनीहरूले नेपालको रेलमार्ग निर्माण गर्न निकै चासो देखाउँदै आएका छन् । केही समयअघि अति विकट क्षेत्रमा समेत काम गर्न सक्ने एक उच्च स्तरको चिनियाँ कम्पनी इयुएन इन्जिनियरिङ ग्रप (सिआरइइसी) ले चीन–नेपाल अन्तरसीमा रेलमार्ग निर्माणकालागि इन्जिनियरिङ सर्भे र डिजाइन अध्ययन गर्ने रुचि देखाएको थियो। अहिले हाम्रो पुरानो जनकपुर जयनगर रेल सेवा समेत बन्द भएको अवस्था छ । मुलुककै रेल सेवा इतिहास बोकेको जयनगर–जनकपुर रेलमार्ग बन्द भइसकेको छ भने नयाँ रेल मार्ग निर्माणको क्रममा रहे पनि अझै सञ्चालन हुन सकेको छैन।  हाल जयनगरबाट सुरु भएर जनकपुर हुदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जसमध्ये ३५ किलोमिटरमा आगामी फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । यस खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउन सकिने रेल विभागले जनाएको छ । तर रेलमार्ग तयार भएपनि रेलको डिब्बा उपलब्ध नहुँदा सो लक्ष्य पनि समयमा पुरा नहुने सम्भावना उत्पन्न भएको छ ।
यसैगरी, विहारको जोगबनीदेखि विराटनगरसम्मको अर्को रेलमार्ग निर्माण कार्य पनि अन्तिम चरणका पुगेको छ । जसको लम्बाइ १८.६ किलोमिटर रहेको छ । यो खण्डमा निर्माणका काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । मुलुकमा विभिन्न रेलमार्गका बारेमा ठुला बहस भइरहेपनि हाल जम्मा दुई खण्डको ८८ किलोमिटरको काम मात्र भइरहेको छ । निमार्र्णिधन यि दुईवटा खण्ड बाहेक पूर्व–पश्चिम रेलमार्ग, सात सहरलाई भारतसँग जोड्ने मार्ग, काठमाडौंमा मोनोरेल, चीनबाट रसुवागढी हँदै आउने रेल लगायतका मार्गको चर्चा भइरहेको छ । पूर्व–पश्चिम रेलमार्गको केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने बाहेक अन्य केही काम हुन सकेको छैन । रेल विभागले दिएको जानकारी अनुसार बर्दिबासदेखि बुटबल, बर्दिबासदेखि इनरुवा र इनरुवादेखि काँकडभित्तासम्मको खण्डमा डिपिआर तयार भइसकेको छ । यसैगरि, सरकारले निकै चर्चाकालाथ अघि सारेको अर्को आकर्षक योजना काठमाडौं उपत्यकामा मोनोरेल संचालनको काम पनि लक्ष्य अनुरुप अघि बढेको छैन । यस योजना अनुसार उपत्यकामा रहेको २९ किलोमिटर चक्रपथ वरिपरी मोनोरेल कुद्नेछ । यस योजनाको प्रारम्भिक अध्ययन बाहेक अरु केही काम हुन सकेको छैन । सरकारले काठमाडौ उपत्यकामा मोनोरेल सञ्चालनमा ल्याएपछि अहिलेको बढ्दो ट्राफिक जामको समस्या स्वतः हट्ने दावी गर्दै आएको छ । 

No comments:

Post a Comment