Saturday, November 11, 2017

चिनियाँ रेलमार्ग अध्ययन टोली पोखरामा, आज लुम्बिनी पुग्ने

मधुजंग पाण्डे
काठमाडौ
मुलुकको राष्ट्रिय प्राथमित्तामा रहेको बहुप्रतिक्षित केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउनकालागि स्थलगत अध्ययन गर्न नेपाल आएको चिनियाँ उच्च अधिकारीको टोली बुधबार पोखरा पुगेको छ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उप मन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन भ्रमण गरेको हो ।
पोखरासम्मको स्थलगत अध्ययनपछि यस टोलीले काठमाडौं–पोखरा खण्डमा रेलमार्ग निर्माण कार्य सहज देखिएको बताएका छन् ।
चिनियाँ उप मन्त्री सहितको उच्च स्तरीय २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग लगायत मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणकालागि अध्ययन गर्न छलफल गर्ने छ । नेपालमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्न नेपाल आइपुगेको सो टोली चार दिनसम्म यहाँका विभिन्न भागको स्थलगत अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी आगामी शनिबार चीन फर्कने कार्यक्रम रहेको छ ।
रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उप मन्त्री जेङ जियनको नेतृत्वमा अहिलेसम्मको स्थलगत अवलोकनपछि उनीहरुले रेलमार्ग निर्माणका विषयमा सकारात्मक प्रतिक्रिया दिएको बताए । प्रस्तावित रेलमार्गको निर्माण सम्भव देखिएको उनीहरुको प्रतिक्रिया रहेको उनले जानकारी दिए ।
बुधबार काठमाडौबाट पोखरा आइपुगेको चिनियाँ टोलीले अवलोकन भ्रमणपछि सकारात्मक प्रतिक्रिया दिएको बताउँदै उपाध्यायले भने, ‘ अब बिहीबार यो टोलीले पोखराबाट लुम्बीनीसम्मको भौगर्भिक अध्ययन गर्दैछ ।  उनले  चिनियाँ अध्ययन टोलीको प्रतिक्रियाले अहिले आफुहरु पनि निकै उत्साहित भएको बताए ।
केरुङ–काठमाडौं र काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको टोली गत सोमबार विहान काठमाडौं आएको थियो । गत सोमबारदेखि उनीहरुले निरन्तर नेपालमा रेल निर्माणका बारेमा छलफल तथा स्थलगत अवलोकन गरिरहेका छन् । नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न यस टोलीले जिम्मेवारी पाएको विभागले जनाएको छ । तिब्बती पठारको सिगात्सेसम्म  निर्माण भइसकेको रेलमार्ग अब केरुङ हुँदै काठमाडौंसम्म जोड्ने लक्ष्य रहेको छ ।
नेपालले हस्ताक्षर गरिसकेको ‘वानबेल्ट, वानरोड’को अवधारणाभित्र सो रेलमार्ग पर्ने भएकाले अहिले चिनियाँ टोलीले सकेसम्म छिटो यहाँ रेलमार्ग जोड्ने चासो देखाएका हुन ।
नेपाली पक्षले त्यसलाई तीव्रताकासाथ अघि बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ । सो रेलमार्ग काठमाडौंबाट लुम्बिनीसम्म जोड्ने सरकारी योजना छ । तर, चीनसँग अहिले त्यस सम्बन्धी सम्झौता भएको छैन । विभिन्न चिनियाँ कम्पनीले चासो देखाउँदै यहाँको रेलमार्ग निर्माणका लागि नेपालको रेल्वे विभागसँग इच्छा व्यक्त गर्दै आएका छन् । अब सरकारी स्तरबाटै यो विषयलाई टुंग्याएर रेलमार्ग निर्माणमा बढ्ने योजना बनेको छ । चीनले प्रस्ताव गरेको ट्रान्स हिमालयन रेलवे तिब्बतको सिगात्सेबाट सुरु हुन्छ । नेपालका लागि त्यहाँबाट केरुङ सीमा नाकासम्म रेलवे सेवा विस्तार गरिने छ । चिनियाँ प्राविधिज्ञहरुले यो रेल सेवा द्रुर्त गतिको भने नहुने बताएको छ ।
चीनले ११ सय किलोमिटर रेलमार्ग मार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मा रेल सेवा सञ्चालनमा ल्याएको थियो  । त्यसपछि २५० किलोमिटर विस्तार गर्दै सिगात्सेसम्म ल्याइपु¥याएको छ । चिनियाँ रेलवेको योजना सिगात्सेबाट याडोङ र बुराङसम्म विस्तार गर्ने रहेको छ । यी दुई स्थान भारतको सिक्किम र उत्तराखण्ड नजिकै पर्छन् । त्यस्तै नेपाली सीमानाका केरुङमा पनि रेलवे लाइन विस्तारको परियोजना चीनले बनाएको छ । केरुङ सीमाक्षेत्र समन्द्री सतहबाट २८ सय  मिटरको उचाइमा रहेको छ । नेपालमा जम्मा १८ सय मिटरबाटै हिमाल सुरु हुन्छ, यसले रेलवे विस्तारकालागि भौगोलिक रुपमा सम्भव देखाएको विभिन्न अध्ययनले देखाएको छ ।

काठमाडौ आएकै दिन सम्पन्न भएको एक चरणको छलफलमा उनीहरु विभागले लिएको लक्ष्य पुरा गर्ने कार्यमा निकै सकारात्मक भएका छन । अहिले यस अध्ययन टोलीमा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि लगायत सहभागी भएको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए । नेपालमा रेल विकासको सम्भावना अध्ययन र छलफल गर्न आइपुगेका यस प्राविधिज्ञ सहितको उच्च टोलीले केरुङ, पोखरा र लुम्बिनीको स्थलगत अध्ययन सहित यहाँका सरकारी अधिकारीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गरेको थियो । उनले यस छलफलमा आफुहरुले उठाएका विविध मागहरुप्रति चिनियाँ प्रतिनिधीहरु सकारात्मक भएको बताए । अहिले यस टोलीको नेपाल भ्रमणको मुख्य उदेस्य नेपालमा रेलमार्ग निर्माणको विषयमा छलफल गर्नु नै भएको बताए । चिनियाँ टोली नेपाली प्रतिनिधि सहित मंगलबार केरुङ तर्फ स्थलगत अध्ययन भ्रमणकालागि गएर फर्किएको थियो ।
अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महरासँग चीन भ्रमणको अवसरमा केरुङ–काठमाडौ रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो।
जसकालागि सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । सो अध्ययन अनुसार यहाँको रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुने छ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले सवारी साधनबाट पोखरा पुग्न लाग्ने करिब ७ घन्टा लामो यात्रालाई छोट्याएर जम्मा २ घन्टामा झार्ने सो अध्ययन प्रतिवेदनले देखाएको छ ।  यस टोलीको स्थलगत अध्ययन भ्रमणपछि पुनः आगामी शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी अधिकारीसँग दोस्रो बैठक गर्ने कार्यक्रम तय भएको पनि विभागले जानकारी दिएको छ ।

No comments:

Post a Comment