Saturday, November 11, 2017

एभियसन म्युजियम सञ्चालनमा

मधुजंग पाण्डे
काठमाडौ
राजधानीको सिनामंगलमा निर्माण भएको एभियसन म्युजियम सञ्चालनमा आएको छ । हाल इन्डोनेसियाको बाली विमानस्थलबाट संसारभरका विभिन्न गन्तव्यमा विमान उडाईरहेका एयर इन्डोनेसियाका प्रशिक्षक बरिष्ठ क्याप्टेन बेद उप्रेतीले आगामी नयाँ पुस्तालाई पाइलट बनाउने कार्यको आकर्षण बढाउने राष्ट्रिय अभियान स्वरुप करिब ७ करोड लगानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा शनिबारदेखि एभियसन म्युजियम सञ्चालनमा ल्याएका हुन ।
क्याप्टेन उप्रेतीले २०७१ साल २० फागुनमा त्रिभुवन विमानस्थलको धावन मार्गमा अवतरणको क्रममा चिप्लिएर दुर्घटना भएको टर्किस एयरलाइन्सको एयरबस ३३०–३०० विमानको सम्पूर्ण पार्टपुर्जालाई विमानस्थलबाट ल्याएर यस म्युजियम सञ्चालनमा ल्याएका हुन । अहिले विद्यालय तहका विद्यार्थीहरुलाई हवाई उडान सेवा क्षेत्रका बारेमा ज्ञान हाँसिल गराउने उदेस्यले यस म्युजियम सञ्चालन सुरु गरेको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा  डढेलधुरामा जन्मिएका क्याप्टेन उप्रेतीले यसअघि सुदुरपश्चिमको धनगढीमा सुरु गरेको बेद उप्रेती ट्रस्टद्धारा सञ्चालित एयरक्राफ्ट म्युजियममा स्थानीयवासीले देखाएको उत्प्रेरणासँगै अहिले थप लगानीमा यो म्युजयम सञ्चालनमा ल्याएको बताए ।
नेपालमै एभियसन म्युजियमका परिकल्पनाकार उप्रेतीले सुरुमा ३ करोड रुपैयाँ एभरेष्ट बैंकबाट ऋण लिएर प्राधिकरणको सिनामंगल विमानस्थल भन्सार प्रवेशद्धार भन्दा अगाडीको त्यसै खेर गईरहेको केही जग्गामा यो एभियसन म्युजियम सञ्चालनमा ल्याएका हुन । उनले यस म्युजियमलाई स्वदेशी मात्र नभएर संसारभरका हवाई उडान क्षेत्रको इतिहास बारेमा जानकारी लिन चाहनेहरुकालागि शैक्षिक तथा थप नयाँ पर्यटकीय गन्तब्यस्थल हुने दावी गरे ।  उनले एयरबस ३३०–३०० सिरिजको ठुलो विमानमा स्थापना गरिएको यो म्युजियम संसारभरकै पहिलो एभिएसन म्युजियम भएको बताए ।

एभिएसन म्युजियम सुरु भएको जानकारी गराउन आयोजित  पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक बीरेन्द्रप्रसाद श्रेष्ठ पनि सहभागी भएका थिए । प्राधिकरणका उप महानिर्देशक श्रेष्ठले प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा यस म्युजियम सञ्चालनमा ल्याउने प्रयास भएको बताए ।
दुर्घटनामा परेको टर्किस एयरको एयरबस विमान भित्रै बनाईएको संग्रहालय विभिन्न ५ खण्डमा विभाजित रहेको छ । विमानभित्रका सबै सबै खण्डमा संसारभरका हवाई उड्डयन क्षेत्रका ज्ञानवद्र्धक एवं जानकारी मुलक विषयवस्तु र फोटाहरु राखिएको छ । सोही विमानको तल्लो तला एवं कार्गो राख्ने भागमा ठुलो सभा कक्ष समेत बनाईएको छ । जसमा सानो बैठक सञ्चालन गर्न सकिने छ ।
संग्रहालमा प्रवेश गर्ने वित्तिकै अवलोकनकर्ताले यो संग्रहालय बनाउने क्रममा भएका विविध गतिविधि समेटिएको नेपाली र अंग्रेजी दुवै भाषाको श्रव्यदृश्य सामाग्री देख्न र सुन्न सक्नेछन् । वेलकम हलमा एयरबस–३३० को ग्लास ककपिट राखिएको छ । संगै विमानको मोडेल पनि राखिएको छ । संग्रहालयको एयर फोर्स हलमा पहिलो विश्वयुद्धदेखि अहिलेसम्मका लडाकु विमानका मोडलहरु सजाएर राखिएको छ । त्यसपछि क्रमैसँग एयरबस–३८० र बोइङ–७७७ को मोडल , संसारका मुख्य–मुख्य एयरलाइन्सहरुका मुख्य–मुख्य विमानहरु (बोइङ र एयरबसका विभिन्न सिरिज), नेपालमा उडेका डिसी थ्री देखि अहिलेका नयाँ एयरबस–३३० र नेपाली सेनाको सिएन–३५ का सयौं मोडेलहरु सजाएर आकर्षक बनाएर राखिएको छ ।
लामो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको टर्किस एयरको दुर्घटनाग्रस्त विमान मर्मतका लागि उपकरण ल्याउन नसकेको टर्किस एयर इञ्जिन निकालेर नेपालमै बेच्ने निचोडमा पुगेपछि क्याप्टेन उप्रेतीले अहिलेको यय संग्रहालय बनाउने परिकल्पनाको विजारोपण गरेका थिए । अहिले यस म्युजियमबाट आम सर्वसाधारण र विद्यार्थीमा हवाई उडान क्षेत्रको जिज्ञासा मेटाउने र ज्ञान समेत अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । अहिले यस म्युजियम अवलोकनका लागि सर्वसाधारणलाई प्रति व्यक्ति ३ सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ । तर विद्यालयको अनुमति लिएर आएका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले निशुल्क प्रवेश पाउने छन् । अन्य विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था छ । म्युजियम संचालनको सुरुको एक महिनाका लागि प्रवेश शुल्कमा केही छुट दिईएको सो म्युजियम व्यवस्थापनले जनाएको छ ।

No comments:

Post a Comment