Wednesday, February 22, 2023

रेमिट्यान्स भित्रिनेक्रम २३ प्रतिशतले बढ्यो,पाँच महिनामा ४ खर्ब ८० अर्ब आयो

मधुजंग पाण्डे/राजधानी 

काठमाडौं 


चालु आर्थिक वर्ष २०७९/८० को वितेका पाँच महिना गत मंसिरमसान्तसम्ममा कुल ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स ( विप्रेषण आप्रवाह ) भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलब सून्य प्रतिशतको बढि हो । 

अघिल्लो वर्ष यस अवधिमा विप्रेषण आप्रवाह ६ दशमलब ३ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देसको आर्थिक तथा वित्तीय विवरणमा यस्तो देखिएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार समिक्षा अवधीमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार रेमिट्यान्स ३ अर्ब ७१ करोड डलर रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा यस्तो रकम ६ दशमलब ८ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वितेका पाँच महिनामा खुद ट्रान्सफर २१.६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ दशमलब ३ प्रतिशतले घटेको थियो ।

मंसिर महिनामा मात्रै एक खर्ब धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

मुलकमा कार्तिकसम्म ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा मंसिर मसान्तसम्म कुल ४ खर्ब ८० अर्ब ५० करोड भित्रिएको हो । नेपालबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट ९० देखि ९५ अर्ब हाराहारीमा मात्रै रेमिट्यान्स भित्रने गरेकोमा मंसिरमा उल्लेख्य मात्रामा रेमिट्यान्स आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। 

अहिले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या पनि केही बढेको छ । यसरी विभिन्न देसबाट भित्रिने रेमिट्यान्स रकम बढ्नु र आयात घट्नुका कारण अहिले देसको वैदेशिक मुद्रा संचितीमा समेत सुधार आएको राष्ट्र बैंकले जनाएको छ । 

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय मुद्रा  सञ्चितिदर  मंसिर मसान्तसम्ममा आउँदा ६ दशमलब ३ प्रतिशतले वृद्धिभई १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।


No comments:

Post a Comment