Wednesday, February 22, 2023

कोरोना बीमा दाबीकर्तालाई अपुग कागजात १५ दिनभित्र बुझाउन आग्रह,नबुझाए फाइल क्लोज हुने

मधुजंग पाण्डे/राजधानी 

काठमाडौं 


अहिलेसम्म भुक्तानी नपाउने कोरोना बीमा दाबीकर्ताहरुलाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बीमक संघले आग्रह गरेको छ । 

संघले कोरोना बीमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका बिमितले विभिन्न कम्पनीहरुमा दाबीका लागि जानकारी गराएर पनि आवश्यक कागजातहरु नबुझाएकाहरुलाई आगामी १५ दिनभित्र कागजात बुझाउन यस्तो आग्रह गरेको हो ।

संघले आइतबार सार्वजनिक सूचना जारी गर्दै दाबी भुक्तानीका लागि अझैसम्म पनि आवश्यक कागजात नबुझाएका बीमितलाई आगामी १८ पुससम्ममा आफुले दाबी गरेका कम्पनीहरुमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन यस्तो आग्रह गरेको जनाएको छ । 

यसअघि दावीकर्ताहरुलाई बारम्बार ताकेता गर्दा समेत आवश्यक कागजात नबुझाएको भन्दै संघले यस्तो आग्रह गरेको बताएको छ । आगामी १५ दिनभित्र आफूले दाबी गरेका कम्पनीहरुमा सम्पर्क गरी अपुग कागजात बुझाउन यसरी जानकारी गराउँदा समेत नबुझाए उनीहरुको फाइल नै बन्द गरिने सो संघले जनाएको छ । 

चौतर्फी दबाबपछि नेपाल बीमा प्राधिकरणको निर्देशनपछि बल्ला विभिन्न बीमा कम्पनीहरुले गत १३ मंसिरदेखि कोरोना बीमाको दाबी भुक्तानी दिन सुरु गरेका थिए । सबै बिमितहरुलाई भुक्तानी दिन अपुग रकम मात्र सरकारले निकासा गरिदिएपछि अहिले सम्बन्धीत बीमा कम्पनीहरुले पहिलो चरणमा व्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमालेख जारिगर्ने बीमितहरुलाई मात्र भुक्तानी दिईरहेको छ । पहिलो चरणको वितरण कार्य सकिएपछि सरकारी कर्मचारी तथा संस्थागत रुपमा कोरोना बीमालेख जारि गरेको दावीकर्ताहरुलाई पीसिआर रिपोर्ट पहिलो नम्बरमा बुझाएकाहरुलाई क्रमअनुसार भुक्तानी गर्दै जाने बताएको छ ।  

व्यक्तिगत दावीकर्ता बाहेकका दाबीकर्ताहरुको हकमा भने नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट आगमाी दिनमा गरिने निर्णय अनुसार क्रमशः भुक्तानी गरिने निणर्य अनुसार पछि वितरण हुने संघले जनाएको छ । संघका अनुसार हाल व्यक्तिगत र परिवारको २५ हजार चारवटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ । पहिलो चरणमा सो मध्ये १८ हजार ६० वटा बीमालेखको मात्रै भुक्तानी गरिने संघले जनाएको छ । 

संघका अनुसार यो संख्या विभिन्न बीमा कम्पनीहरुमा परेको व्यक्तिगत एवं परिवारको बीमालेख संख्याको ७२ प्रतिशत हो । सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै बीमा कम्पनीहरुले २०७८ सालको १४ साउनदेखि भुक्तानी प्रक्रिया रोकेका थिए ।

त्यसबेलादेखि नै बीमा कम्पनीहरुले दावी भुक्तानी रोकेको लामो समयपछि सरकारले पुनः आफ्नो दायित्व स्वीकार गर्दै कोरोना बीमाको दाबी भुक्तानीकालागि १ अर्ब रुपैयाँ निकासा गरेको थियो । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत हिस्सा मानि नेपाल पुनर्बीमा कम्पनीबाट १२ प्रतिशत, सम्बन्धीत बीमा कम्पनीबाट २५ प्रतिशत र बीमा प्राधिकरणबाट ८ प्रतिशत रकम भुक्तानी गर्ने सहमती बनेको थियो । सोही सहमतीका आधारमा अहिले बीमा कम्पनीहरुले धमाधम कोरोना बीमको दावी भुक्तानी रकम बाँडिरहेका हुन । 

यो मौकामा समेत कोरोना बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात नबुझाएका व्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमालेख जारि गर्ने बीमितहरुलाई आगामी १५ दिनपछि भने भुक्तानी रकम उपलब्ध गराउन नसकिने सो संघले स्पष्ट पारेको छ । तोकिएको अवधि भित्र पनि दाबीसँग सम्बन्भित कागजातहरु नबुझाउने दाबीकर्ताहरुको कोरोना दाबी भुक्तानी फायल बन्द गरिने संघले जनाएको छ ।


No comments:

Post a Comment