Wednesday, February 22, 2023

आन्तरिक उडानमा सबैभन्दा धेरै मानविय क्षति भएको दुर्घटना, ७३ वर्षको हवाई इतिहासमा यती एयरको दुर्घटनासँगै हवाई दुर्घटनाको संख्या १०४ पुग्यो

 मधुजंग पाण्डे/राजधानी 

काठमाडौं 


आइतबार बिहान पोखरामा भएको यती एयरलाइनसको ९एन एएनसी एटीआर ७२–५०० विमान दुर्घटना मुलुकको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मावविय क्षति भएको दुर्घटना बन्यो । 

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्य सहित ७२ जना सवार  पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती नदिको खोचमा खसेको हो । सो विमान चालक कमल केसीले उडाएका थिए । सो विमान दुर्घटनास्थलबाट अहिलेसम्म ६८ जनाको सब भेटिएको र अझै बेपत्ता चारजनाको खोजी कार्य जारि छ ।

सेती नदिको खोचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । चारजना चालक दलका सदस्यसहित ७२ जना सवार सो विमानमा ५३ जना स्वदेशी र १५ जना विदेशी यात्रु सवार थिए । 

अवतरणको क्रममा पोखरामा दुर्घटना भएको सो विमान आइतबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । चालक कमल केसी नेतृत्वको चालक दलले उडाएको सो विमान १०ः५० बजे अन्तिम पटक पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो ।

सेती नदिको खोचबाट सम्पर्कमा आएको एक मिनेटभित्रै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार त्यतिबेला क्याप्टेन केसीसँगको सम्पर्कमा पोखरा टावरका एयर ट्राफिक कन्ट्रोलरले रनवे ३० मा ल्याण्ड गर्न आग्रह गरेका थिए । तर, चालक केसीले अर्को रनवे मागेका थिए ।

रनवे थ्री जेरो मार्फत ल्याण्ड गर्न भन्दा चालकले होइन १२ बाट आउँछु भनेर अर्को रनवे खोजेका रहेछन । अर्को रनवेबाट आउन क्लियरेन्स दिने वित्तिकै दुर्घटना भएको र  दुर्घटना के कारण भयो भन्नेबारे अहिलेसम्म नखुलेको प्राधिकरणले जनाएको छ । सो विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सवार थिए । 

तीमध्ये ६८ जनाको शव निकालिएको र अन्यको शव खोजी कार्य जारि रहेको प्राधिकरणले जनाएको छ । सो विमानमा सवार १५ जना विदेशी नागरिक मध्ये ५ भारतीय, ४ रुसी, २ कोरिय र १÷१ जना आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सका नागरिक थिए ।

आइतबारको दुर्घटनासँगै यती समुहद्वारा सञ्चालित एयरलाइन्सको एकैवर्षमा दुइटा विमान दुर्घटना भएको छ । यसअघि यति एयरको भगिनी सस्था तारा एयरको विमान पोखराबाट जोमसोङ जाने क्रममा गत १६ जेठमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो। 

यसअघि नेपाली आकासका भएको अहिलेसम्मकै ठूलो विमान दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको विमान दुर्घटना हुँदा १६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको विमान दुर्घटनामा ११३ यात्रुले ज्यान गुमाएका थिए ।

त्यसपछि पछिल्लो पटक सन् २०१८ मा काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बङ्ला एयरको विमान दुर्घटनामा ५१ जना यात्रुको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा १० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका विमान दुर्घटनामा परेका छन् । सो दुर्घटनाबाट ३७३ जना यात्रुले ज्यान गुमाएका थिए। तर, यी सबै अन्तर्राष्ट्रिय उडानका विमान दुर्घटना मात्र थिए । 

आन्तरिक उडान तर्फ आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना नेपालको इतिहासकै सबैभन्दा ठूलो मानविय क्षति भएको हवाई दुर्घटना हो । यसभन्दा अघि हेलिकोप्टर र ४२ सिटे विमान भन्दा ठुलो आन्तरिक दुर्घटना भएको थिएन । 

नेपालको हवाई इतिहासमा आइतबार पोखरामा भएको यती एयरको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ वटा पुगेको छ । सर्वप्रथम २००६ सालमा तत्कालिन राजा महेन्द्रले काठमाडौको सानो गौचरण (अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँ) मा डकोडा विमान ल्याएपछिको ७३ वर्षको हवाई इतिहासमा यो यतीको आन्तरिक विमान दुर्घटना संख्या १०४ पुगेको हो । 

२०१२ सालको वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । सो विमान दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘हवाई सुरक्षा प्रतिवेदन’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । 

हालसम्म नेपालमा एउटामात्र इन्जिन भएका ८ वटा विमान दुर्घटना भएका थिए भने हेलिकोप्टर तर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ १० वटा वायुसेवा गरी नेपालमा हालसम्म साना ठुला सहित १०४ वटा विमान दुर्घटना भइसकेका छन् ।

विभिन्न दुर्घटनाबाट अहिलेसम्म साढे ८ सयजना भन्दा बढी यात्रुको मृत्यु भइसकेको छ । आइतबार पोखारा भएको यतीको दुर्घटनाबाहेक हालसम्म यस्ता हवाई दुर्घटनामा ८ सय ४९ जना यात्रुको मृत्यु भइसकेको छ । अब यसमा ७२ जनाको संख्या जोडिने छ ।

जसमा आन्तरिकतर्फ ३ सय ६४जना, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५ जना, हेलिकोप्टरतर्फ ८५जना र अन्तर्राष्ट्रिय वायुसेवातर्फ ३७५ जना गरी कुल ८४९ जनाको मृत्यु भइसकेको छ । 

आइतबार पोखरामा भएको यति एयरको एटीआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो । यसअघि गत जेठमा पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर जाँदै गरेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा चालकदलसहित २२ जनाको मृत्यु भएको थियो । सुगम उडानमा यतिको नाममा ५ वटा एटीआर विमान भएको यती एयरलाइन्ससँग अब जम्मा ४ वटा एटीआर विमान मात्र बाँकी छ । 

पोखराको विमान दुर्घटनापछि यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आइतबार दिनभर उद्धार कार्य भएको जानकारी गराए । उनका अनुसार अहिलेसम्म ६८ जनाको सब भेटिएको र अझै बेपत्ता चारजनाको खोजी कार्य जारि छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबारको दुर्घघटनाअघि नै नेपालको आन्तरिक उडानमा भएका विभिन्न समयका दुर्घटनामा ३६३ जना भन्दाबढी यात्रुको मृत्यु भएको छ । दुर्घटनाग्रस्त विमानमा सवार १३९ जना यात्रुको भने जीवितै उद्धार भएको तथ्यांक छ ।

यसअघि भएका विभिन्न दुर्घटना मध्ये सबैभन्दा धेरै यात्रुको मृत्यु सन् २००० मा भएको विमान दुर्घटनामा भएको थियो । डडेलधुरामा भएको त्यो दुर्घटनामा २५ जना यात्रुको मृत्यु भएको थियो । पोखरामा भएको यो दुर्घटनामा भने यतिधेरै मानवीय क्षति भएको छ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना

आइतबार विहान भएको यतिको विमान दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना भएको छ । आइतबार बिहान काठमाडौबाट उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी खोँचमा झरेर दुर्घटनाग्रस्त भएको हो।

यो दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछिको पहिलो हो।  दुर्घटना के कारणले भयो भन्ने प्रतिवेदनपछि आउला तर, एयरलाइन्सनिकट व्यक्तिहरूका अनुसार चरा ठोक्किएको आशंका छ।  उसै त सो विमानस्थल नजिकै फोहोर फाल्ने ल्यान्डफिल साइट रहेका कारण धेरै काग र गिद्ध आउने गरेको छ । जसका कारण विमानस्थल सञ्चालनअघि नै ल्यान्डफिल साइट हटाउनुपर्ने विभिन्न प्रतिवेदनमा उल्लेख थियो । तर,सञ्चालन गर्ने निकायले भने वेवास्ता गर्दै जनवरी १, २०२३ बाट विमानस्थल सञ्चालनमा ल्याएको थियो । 

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानमात्र हुँदै आएको छ। अहिले पोखरा उपमहानगरपालिकाले पनि ल्यान्डफिल साइट हटाउने भने पनि केहि प्रक्रिया अघि बढाएको छैन। ल्यान्डफिल साइट हटाउनुपर्ने प्रतिवेदनलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले वेवास्ता गर्दै उडान गरेका कारण यो दुघर्टना भएको बताउँदै प्राधिकरणका एक पूर्वअधिकारीले भने, ’प्रतिवेदनमा ल्यान्डफिल साइटसहित डाँडा काट्नुपर्ने समेत उल्लेख छ।’ 

को हुन विमान चालक केसी र सहचालक खतिवडा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका पोखराका कमल केसी । केसी एउटा शालिन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन ।  उनले आफ्नो उमेरको दुई तिहाई समय आकासमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए। हजारौं घन्टा आकासमा उडे। एकपटक पनि सामान्य दुर्घटनासम्ममा नपरेका चालक केसीकालागि आइतबारको दिन जीवनकै पहिलो  दुर्घटनामा थियो ।  यही नै उनको जीवनको अन्तिम र कहिल्यै फिर्ता नहुने दुर्घटनाको दिन भइदियो। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा चालक केसीले उडाएको विमान दुर्घटनामा परेको हो । केसीलाई उडानमा साथ दिइरहेका थिए सहचालक अञ्जु खतिवडा तथा एयरहोस्टेसहरू सृजना होङचुन र ओसिन आलेमगरले सोही विमानमा स्वदेशी र विदेशी गरि ६८ जना यात्रु सवार थिए ।  सो विमान दुर्घटनामा ज्यान गुमाएका चालक केसीले उडाएको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आइतबारको छैठौं नम्बरको तालिकामा थियो । उनको विमान भन्दा अघि अर्को वायुसेवा कम्पनी बुद्ध एयरले ७२ सिटकै एटिआर७२–५०० सिरिजका विमानबाट पाँचवटा उडान भरिसकेको थियो। 

३५ वर्षअघि सन् १९८८ मा नेपाल वायुसेवा निगममा सहचालकबाट चालकको करियर सुरु गरेका केसी सधैं उड्डयन नियम अक्षरशः पालना गर्ने राम्रो पाइलटमा पर्दछन ।   चालक केसीसँग करिब एकदशक सँगै विमान उडाएका एक बरिष्ठ क्याप्टेनले भने, ‘केसीले उडाएको विमान दुर्घटनामा परेको सुन्दा म त स्तब्ध भएँ। उनलाई झल्झली सम्झिरहेको छु। सायद, प्राविधिक कारण दुर्घटना भएको हुनुपर्छ। उनी गल्ती गर्ने पाइलटै होइनन्।’

यतीको सेवा सुरु गर्नुअघि केसीले १८ वर्ष नेपाल वायुसेवा निगममा विमान उडाएका थिए। सुरुमा १९ सिट क्षमतायुक्त ‘ट्वीनअटर’ विमानमा सहचालकबाट आफ्नो विमान उडान ‘करियर’ सुरु गरेका केसी त्यसपछि चालक भएका थिए। निगममा विमान उडाउँदै जाने क्रममा केसी ट्वीनअटर विमानको प्रशिक्षक (इन्स्ट्रक्टर) पाइलट बनेका थिए । तर, वायुसेवा निगममा करियर अघि बढ्ने नदेखेपछि केसीले सन् २००६ जुन–जुलाईतिर राजीनामा दिएर निजी वायुसेवा कम्पनी यती एयरलाइन्समा प्रवेश गरेका थिए । यतीमा उनी २९ सिट क्षमतायुक्त ‘जेटस्ट्रिम–४१’ (जे–४१) सिरिजको विमानका क्याप्टेन भएर प्रवेश गरेका थिए । त्यसको केही वर्षपछि यतीले सबै जे–४१ विमान बिक्री गरेर ७२ सिट क्षमताका एटिआर ७२–५०० विमान प्रयोग गर्न थाल्यो।  एटिआर ७२–५०० सिरिजका विमानमा क्याप्टेन हुँदै प्रशिक्षक पाइलट बनेका केसी शालिन, भद्र र उड्डयन नीतिनियम अक्षरशः पालना गर्ने कुशल पाइलटको रूपमा कहलिएका थिए । ‘ककपिटभित्र बसेपछि कहिल्यै हतार नगर्ने, नियम हुबहु पालना गर्ने, कोपाइलटलाई सधैं सिकाउने, जुनियरहरूसँग कहिल्यै नरिसाउने र नझर्किने उनको स्वभाव थियो । नेपालको हवाई क्षेत्रका लागि नै यो अपूरणीय क्षति भएको उनका सहकर्मी चालकहरुले बताएका छन । 

केसीले उडाएको विमान दुर्घटनाबारे अहिले विभिन्न किसिमका अनुमान गरिए पनि सो विमान दुर्घटनाको कारण ‘प्राविधिक’ थियो वा ‘मानवीय त्रुटि’ भन्नेबारे यकिन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि मात्र जानकारि हुने छ । यसअघि अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन गत १ जनवरीको दिन चालक केसीले यही विमान लिएर काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सफल ‘डेमोन्स्ट्रेसन’ उडान भरेका थिए।

करिब ५५ वर्षका चालक केसीले अमेरिकाबाट पाइलट तालिम लिएका थिए । पोखरा जन्मथलो भएका केसीले अन्तिम सास पनि पोखरामै लिए । चालक भएपछि काठमाडौंको बुढानीलकण्ठ  हात्तीगौंडाको आफ्नै घरमा बस्दै आएका केसीको श्रीमती र दुई छोरा छन्। 

पाइलट श्रीमानको मृत्युपछि आफैं चालक बनेकी थिइन् सहचालक अञ्जु

यती एयरलाइन्सको सो विमान दुर्घटनामा परेकी सहचालक हुन अञ्जु खतिवडा । करिब ४० वर्ष उमेरकी अञ्जुले यो विमान सह चालकका रूपमा उडाए पनि यती एयरलाइन्समा उनी क्याप्टेन नै थिइन्। हालै उनी कोपाइलटबाट क्याप्टेनमा पदोन्नति भएकी थिइन्। 

अञ्जुको पनि सायद लेखान्त ‘दर्दनाक’ थियो। उनले आफ्ना श्रीमान क्याप्टेन दीपक पोखरेललाई पनि सन् २००६ मा जुम्लामा भएको यती एयरलाइन्सकै अर्को विमान दुर्घटनामा गुमाएकी थिइन्। ‘श्रीमान श्रीमती दुवैजना आफैंले उडाएको विमान दुर्घटनामा परेर अस्ताए’ आइतबारको पोखरा भएको दुर्घटनामा ज्यान गुमाएकी कोपाइलट अञ्जुका सहकर्मी चालकले भने, ‘दुवैको लेखान्त यस्तै रहेछ। अञ्जु साह्रै मिलनसार र सहयोगी थिइन्। हामीले अझै विश्वास गर्न सकिरहेका छैनौं।’

अञ्जुकी सहकर्मीका अनुसार सन् २००६ जुन महिनामा सुर्खेतबाट जुम्ला उडेको यती एयरलाइन्सकै १९ सिटे ट्वीनअटर विमान दुर्घटनामा परेका अञ्जुका श्रीमान दीपक कोपाइलट थिए । त्यसबेला क्याप्टेन किरण मल्ल थिए। ‘ आइतबार पोखरामा जसरी अञ्जुले उडाएको विमान दुर्घटना भयो, १७ वर्षअघि जुम्लामा उनको श्रीमानले उडाएको विमान पनि त्यस्तैगरी दुर्घटनामा परेको थियो’ ती सहकर्मीले भने।

श्रीमानको मृत्युको शोकमा रहेकी चालक अञ्जुले केही समयपछि मन बलियो बनाउँदै आफैं विमान उडाउने अठोट लिएकी थिइन्। त्यसपछि उनी पाइलट तालिम लिन अमेरिका गएकी थिइन्। तालिम सकेर फर्केपछि श्रीमानले नै काम गरेको यती एयरलाइन्समा गइन्। आफ्ना स्वर्गीय सहकर्मी पाइलटको श्रीमतीलाई यतीले खुसीसाथ कोपाइलट नियुक्त गरेको थियो। त्यसपछि उनले निरन्तर यतीको विमान उडाइरहेकी थिइन्। अञ्जु मोरङ विराटनगरमा जन्मिएकी थिइन्। सानैदेखि अडान लिने र हिम्मतीलो स्वभावकी खतिवडाको उद्देश्य नै सफल पाइलट बनेर आफ्ना स्वर्गीय पति दीपकको सपना साकार पार्ने थियो । तर उनको त्यो सपना अधुरै रह्यो । 

आज यतीका सबै उडान रद्द

यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज (सोमबार) निर्धारित सबै उडान रद्द गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै यतीले सोमबार आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ । यतीको ९एन एएनसी एटीसआर ७२–५०० विमान आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको थियो । सो विमान दुर्घटनाबाट अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भने अन्यको उद्धार एवं खोजी भईरहेको छ ।

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । पोखरामा यति एयरको विमान दुर्घटनाल भएगत्तै आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । आन्तरिक उडानका विमानहरुको अनुगमन नागरिक उड्डयन प्राधिकरणले नै गर्ने छ । ‘यो व्यवस्थाले आगामी दिनमा यस्ता हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने अपेक्षा गरिएको छ’ बैठकपछि सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने । 

यतिको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ । सो विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । 

आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा रहेका छन । यसैगरि, सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने रहेका छन । 

यसैगरी, मन्त्रिपरिद बैठकले सो विमान दुर्घटनाको शोकमा आज (सोमबार) सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । यसैगरि, दुर्घटनाको बारेमा जानकारी लिन चाहने मृतक यात्रुका परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निणर्य पनि सरकारले गरेको छ । त्यसैगरि, विमान दुर्घटनामा परेकाहरुको सब बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने निर्णय समेत सो बैठकले गरेको छ । 


No comments:

Post a Comment