Wednesday, February 22, 2023

कोरोना बीमा दाबीकर्तालाई अपुग कागजात १५ दिनभित्र बुझाउन आग्रह,नबुझाए फाइल क्लोज हुने

मधुजंग पाण्डे/राजधानी 

काठमाडौं 


अहिलेसम्म भुक्तानी नपाउने कोरोना बीमा दाबीकर्ताहरुलाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बीमक संघले आग्रह गरेको छ । 

संघले कोरोना बीमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका बिमितले विभिन्न कम्पनीहरुमा दाबीका लागि जानकारी गराएर पनि आवश्यक कागजातहरु नबुझाएकाहरुलाई आगामी १५ दिनभित्र कागजात बुझाउन यस्तो आग्रह गरेको हो ।

संघले आइतबार सार्वजनिक सूचना जारी गर्दै दाबी भुक्तानीका लागि अझैसम्म पनि आवश्यक कागजात नबुझाएका बीमितलाई आगामी १८ पुससम्ममा आफुले दाबी गरेका कम्पनीहरुमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन यस्तो आग्रह गरेको जनाएको छ । 

यसअघि दावीकर्ताहरुलाई बारम्बार ताकेता गर्दा समेत आवश्यक कागजात नबुझाएको भन्दै संघले यस्तो आग्रह गरेको बताएको छ । आगामी १५ दिनभित्र आफूले दाबी गरेका कम्पनीहरुमा सम्पर्क गरी अपुग कागजात बुझाउन यसरी जानकारी गराउँदा समेत नबुझाए उनीहरुको फाइल नै बन्द गरिने सो संघले जनाएको छ । 

चौतर्फी दबाबपछि नेपाल बीमा प्राधिकरणको निर्देशनपछि बल्ला विभिन्न बीमा कम्पनीहरुले गत १३ मंसिरदेखि कोरोना बीमाको दाबी भुक्तानी दिन सुरु गरेका थिए । सबै बिमितहरुलाई भुक्तानी दिन अपुग रकम मात्र सरकारले निकासा गरिदिएपछि अहिले सम्बन्धीत बीमा कम्पनीहरुले पहिलो चरणमा व्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमालेख जारिगर्ने बीमितहरुलाई मात्र भुक्तानी दिईरहेको छ । पहिलो चरणको वितरण कार्य सकिएपछि सरकारी कर्मचारी तथा संस्थागत रुपमा कोरोना बीमालेख जारि गरेको दावीकर्ताहरुलाई पीसिआर रिपोर्ट पहिलो नम्बरमा बुझाएकाहरुलाई क्रमअनुसार भुक्तानी गर्दै जाने बताएको छ ।  

व्यक्तिगत दावीकर्ता बाहेकका दाबीकर्ताहरुको हकमा भने नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट आगमाी दिनमा गरिने निर्णय अनुसार क्रमशः भुक्तानी गरिने निणर्य अनुसार पछि वितरण हुने संघले जनाएको छ । संघका अनुसार हाल व्यक्तिगत र परिवारको २५ हजार चारवटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ । पहिलो चरणमा सो मध्ये १८ हजार ६० वटा बीमालेखको मात्रै भुक्तानी गरिने संघले जनाएको छ । 

संघका अनुसार यो संख्या विभिन्न बीमा कम्पनीहरुमा परेको व्यक्तिगत एवं परिवारको बीमालेख संख्याको ७२ प्रतिशत हो । सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै बीमा कम्पनीहरुले २०७८ सालको १४ साउनदेखि भुक्तानी प्रक्रिया रोकेका थिए ।

त्यसबेलादेखि नै बीमा कम्पनीहरुले दावी भुक्तानी रोकेको लामो समयपछि सरकारले पुनः आफ्नो दायित्व स्वीकार गर्दै कोरोना बीमाको दाबी भुक्तानीकालागि १ अर्ब रुपैयाँ निकासा गरेको थियो । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत हिस्सा मानि नेपाल पुनर्बीमा कम्पनीबाट १२ प्रतिशत, सम्बन्धीत बीमा कम्पनीबाट २५ प्रतिशत र बीमा प्राधिकरणबाट ८ प्रतिशत रकम भुक्तानी गर्ने सहमती बनेको थियो । सोही सहमतीका आधारमा अहिले बीमा कम्पनीहरुले धमाधम कोरोना बीमको दावी भुक्तानी रकम बाँडिरहेका हुन । 

यो मौकामा समेत कोरोना बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात नबुझाएका व्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमालेख जारि गर्ने बीमितहरुलाई आगामी १५ दिनपछि भने भुक्तानी रकम उपलब्ध गराउन नसकिने सो संघले स्पष्ट पारेको छ । तोकिएको अवधि भित्र पनि दाबीसँग सम्बन्भित कागजातहरु नबुझाउने दाबीकर्ताहरुको कोरोना दाबी भुक्तानी फायल बन्द गरिने संघले जनाएको छ ।


रेमिट्यान्स भित्रिनेक्रम २३ प्रतिशतले बढ्यो,पाँच महिनामा ४ खर्ब ८० अर्ब आयो

मधुजंग पाण्डे/राजधानी 

काठमाडौं 


चालु आर्थिक वर्ष २०७९/८० को वितेका पाँच महिना गत मंसिरमसान्तसम्ममा कुल ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स ( विप्रेषण आप्रवाह ) भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलब सून्य प्रतिशतको बढि हो । 

अघिल्लो वर्ष यस अवधिमा विप्रेषण आप्रवाह ६ दशमलब ३ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देसको आर्थिक तथा वित्तीय विवरणमा यस्तो देखिएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार समिक्षा अवधीमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार रेमिट्यान्स ३ अर्ब ७१ करोड डलर रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा यस्तो रकम ६ दशमलब ८ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वितेका पाँच महिनामा खुद ट्रान्सफर २१.६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ दशमलब ३ प्रतिशतले घटेको थियो ।

मंसिर महिनामा मात्रै एक खर्ब धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

मुलकमा कार्तिकसम्म ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा मंसिर मसान्तसम्म कुल ४ खर्ब ८० अर्ब ५० करोड भित्रिएको हो । नेपालबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट ९० देखि ९५ अर्ब हाराहारीमा मात्रै रेमिट्यान्स भित्रने गरेकोमा मंसिरमा उल्लेख्य मात्रामा रेमिट्यान्स आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। 

अहिले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या पनि केही बढेको छ । यसरी विभिन्न देसबाट भित्रिने रेमिट्यान्स रकम बढ्नु र आयात घट्नुका कारण अहिले देसको वैदेशिक मुद्रा संचितीमा समेत सुधार आएको राष्ट्र बैंकले जनाएको छ । 

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय मुद्रा  सञ्चितिदर  मंसिर मसान्तसम्ममा आउँदा ६ दशमलब ३ प्रतिशतले वृद्धिभई १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।


आन्तरिक उडानमा सबैभन्दा धेरै मानविय क्षति भएको दुर्घटना, ७३ वर्षको हवाई इतिहासमा यती एयरको दुर्घटनासँगै हवाई दुर्घटनाको संख्या १०४ पुग्यो

 मधुजंग पाण्डे/राजधानी 

काठमाडौं 


आइतबार बिहान पोखरामा भएको यती एयरलाइनसको ९एन एएनसी एटीआर ७२–५०० विमान दुर्घटना मुलुकको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मावविय क्षति भएको दुर्घटना बन्यो । 

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्य सहित ७२ जना सवार  पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती नदिको खोचमा खसेको हो । सो विमान चालक कमल केसीले उडाएका थिए । सो विमान दुर्घटनास्थलबाट अहिलेसम्म ६८ जनाको सब भेटिएको र अझै बेपत्ता चारजनाको खोजी कार्य जारि छ ।

सेती नदिको खोचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । चारजना चालक दलका सदस्यसहित ७२ जना सवार सो विमानमा ५३ जना स्वदेशी र १५ जना विदेशी यात्रु सवार थिए । 

अवतरणको क्रममा पोखरामा दुर्घटना भएको सो विमान आइतबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । चालक कमल केसी नेतृत्वको चालक दलले उडाएको सो विमान १०ः५० बजे अन्तिम पटक पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो ।

सेती नदिको खोचबाट सम्पर्कमा आएको एक मिनेटभित्रै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार त्यतिबेला क्याप्टेन केसीसँगको सम्पर्कमा पोखरा टावरका एयर ट्राफिक कन्ट्रोलरले रनवे ३० मा ल्याण्ड गर्न आग्रह गरेका थिए । तर, चालक केसीले अर्को रनवे मागेका थिए ।

रनवे थ्री जेरो मार्फत ल्याण्ड गर्न भन्दा चालकले होइन १२ बाट आउँछु भनेर अर्को रनवे खोजेका रहेछन । अर्को रनवेबाट आउन क्लियरेन्स दिने वित्तिकै दुर्घटना भएको र  दुर्घटना के कारण भयो भन्नेबारे अहिलेसम्म नखुलेको प्राधिकरणले जनाएको छ । सो विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सवार थिए । 

तीमध्ये ६८ जनाको शव निकालिएको र अन्यको शव खोजी कार्य जारि रहेको प्राधिकरणले जनाएको छ । सो विमानमा सवार १५ जना विदेशी नागरिक मध्ये ५ भारतीय, ४ रुसी, २ कोरिय र १÷१ जना आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सका नागरिक थिए ।

आइतबारको दुर्घटनासँगै यती समुहद्वारा सञ्चालित एयरलाइन्सको एकैवर्षमा दुइटा विमान दुर्घटना भएको छ । यसअघि यति एयरको भगिनी सस्था तारा एयरको विमान पोखराबाट जोमसोङ जाने क्रममा गत १६ जेठमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो। 

यसअघि नेपाली आकासका भएको अहिलेसम्मकै ठूलो विमान दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको विमान दुर्घटना हुँदा १६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको विमान दुर्घटनामा ११३ यात्रुले ज्यान गुमाएका थिए ।

त्यसपछि पछिल्लो पटक सन् २०१८ मा काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बङ्ला एयरको विमान दुर्घटनामा ५१ जना यात्रुको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा १० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका विमान दुर्घटनामा परेका छन् । सो दुर्घटनाबाट ३७३ जना यात्रुले ज्यान गुमाएका थिए। तर, यी सबै अन्तर्राष्ट्रिय उडानका विमान दुर्घटना मात्र थिए । 

आन्तरिक उडान तर्फ आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना नेपालको इतिहासकै सबैभन्दा ठूलो मानविय क्षति भएको हवाई दुर्घटना हो । यसभन्दा अघि हेलिकोप्टर र ४२ सिटे विमान भन्दा ठुलो आन्तरिक दुर्घटना भएको थिएन । 

नेपालको हवाई इतिहासमा आइतबार पोखरामा भएको यती एयरको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ वटा पुगेको छ । सर्वप्रथम २००६ सालमा तत्कालिन राजा महेन्द्रले काठमाडौको सानो गौचरण (अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँ) मा डकोडा विमान ल्याएपछिको ७३ वर्षको हवाई इतिहासमा यो यतीको आन्तरिक विमान दुर्घटना संख्या १०४ पुगेको हो । 

२०१२ सालको वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । सो विमान दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘हवाई सुरक्षा प्रतिवेदन’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । 

हालसम्म नेपालमा एउटामात्र इन्जिन भएका ८ वटा विमान दुर्घटना भएका थिए भने हेलिकोप्टर तर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ १० वटा वायुसेवा गरी नेपालमा हालसम्म साना ठुला सहित १०४ वटा विमान दुर्घटना भइसकेका छन् ।

विभिन्न दुर्घटनाबाट अहिलेसम्म साढे ८ सयजना भन्दा बढी यात्रुको मृत्यु भइसकेको छ । आइतबार पोखारा भएको यतीको दुर्घटनाबाहेक हालसम्म यस्ता हवाई दुर्घटनामा ८ सय ४९ जना यात्रुको मृत्यु भइसकेको छ । अब यसमा ७२ जनाको संख्या जोडिने छ ।

जसमा आन्तरिकतर्फ ३ सय ६४जना, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५ जना, हेलिकोप्टरतर्फ ८५जना र अन्तर्राष्ट्रिय वायुसेवातर्फ ३७५ जना गरी कुल ८४९ जनाको मृत्यु भइसकेको छ । 

आइतबार पोखरामा भएको यति एयरको एटीआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो । यसअघि गत जेठमा पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर जाँदै गरेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा चालकदलसहित २२ जनाको मृत्यु भएको थियो । सुगम उडानमा यतिको नाममा ५ वटा एटीआर विमान भएको यती एयरलाइन्ससँग अब जम्मा ४ वटा एटीआर विमान मात्र बाँकी छ । 

पोखराको विमान दुर्घटनापछि यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आइतबार दिनभर उद्धार कार्य भएको जानकारी गराए । उनका अनुसार अहिलेसम्म ६८ जनाको सब भेटिएको र अझै बेपत्ता चारजनाको खोजी कार्य जारि छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबारको दुर्घघटनाअघि नै नेपालको आन्तरिक उडानमा भएका विभिन्न समयका दुर्घटनामा ३६३ जना भन्दाबढी यात्रुको मृत्यु भएको छ । दुर्घटनाग्रस्त विमानमा सवार १३९ जना यात्रुको भने जीवितै उद्धार भएको तथ्यांक छ ।

यसअघि भएका विभिन्न दुर्घटना मध्ये सबैभन्दा धेरै यात्रुको मृत्यु सन् २००० मा भएको विमान दुर्घटनामा भएको थियो । डडेलधुरामा भएको त्यो दुर्घटनामा २५ जना यात्रुको मृत्यु भएको थियो । पोखरामा भएको यो दुर्घटनामा भने यतिधेरै मानवीय क्षति भएको छ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना

आइतबार विहान भएको यतिको विमान दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना भएको छ । आइतबार बिहान काठमाडौबाट उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी खोँचमा झरेर दुर्घटनाग्रस्त भएको हो।

यो दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछिको पहिलो हो।  दुर्घटना के कारणले भयो भन्ने प्रतिवेदनपछि आउला तर, एयरलाइन्सनिकट व्यक्तिहरूका अनुसार चरा ठोक्किएको आशंका छ।  उसै त सो विमानस्थल नजिकै फोहोर फाल्ने ल्यान्डफिल साइट रहेका कारण धेरै काग र गिद्ध आउने गरेको छ । जसका कारण विमानस्थल सञ्चालनअघि नै ल्यान्डफिल साइट हटाउनुपर्ने विभिन्न प्रतिवेदनमा उल्लेख थियो । तर,सञ्चालन गर्ने निकायले भने वेवास्ता गर्दै जनवरी १, २०२३ बाट विमानस्थल सञ्चालनमा ल्याएको थियो । 

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानमात्र हुँदै आएको छ। अहिले पोखरा उपमहानगरपालिकाले पनि ल्यान्डफिल साइट हटाउने भने पनि केहि प्रक्रिया अघि बढाएको छैन। ल्यान्डफिल साइट हटाउनुपर्ने प्रतिवेदनलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले वेवास्ता गर्दै उडान गरेका कारण यो दुघर्टना भएको बताउँदै प्राधिकरणका एक पूर्वअधिकारीले भने, ’प्रतिवेदनमा ल्यान्डफिल साइटसहित डाँडा काट्नुपर्ने समेत उल्लेख छ।’ 

को हुन विमान चालक केसी र सहचालक खतिवडा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका पोखराका कमल केसी । केसी एउटा शालिन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन ।  उनले आफ्नो उमेरको दुई तिहाई समय आकासमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए। हजारौं घन्टा आकासमा उडे। एकपटक पनि सामान्य दुर्घटनासम्ममा नपरेका चालक केसीकालागि आइतबारको दिन जीवनकै पहिलो  दुर्घटनामा थियो ।  यही नै उनको जीवनको अन्तिम र कहिल्यै फिर्ता नहुने दुर्घटनाको दिन भइदियो। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा चालक केसीले उडाएको विमान दुर्घटनामा परेको हो । केसीलाई उडानमा साथ दिइरहेका थिए सहचालक अञ्जु खतिवडा तथा एयरहोस्टेसहरू सृजना होङचुन र ओसिन आलेमगरले सोही विमानमा स्वदेशी र विदेशी गरि ६८ जना यात्रु सवार थिए ।  सो विमान दुर्घटनामा ज्यान गुमाएका चालक केसीले उडाएको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आइतबारको छैठौं नम्बरको तालिकामा थियो । उनको विमान भन्दा अघि अर्को वायुसेवा कम्पनी बुद्ध एयरले ७२ सिटकै एटिआर७२–५०० सिरिजका विमानबाट पाँचवटा उडान भरिसकेको थियो। 

३५ वर्षअघि सन् १९८८ मा नेपाल वायुसेवा निगममा सहचालकबाट चालकको करियर सुरु गरेका केसी सधैं उड्डयन नियम अक्षरशः पालना गर्ने राम्रो पाइलटमा पर्दछन ।   चालक केसीसँग करिब एकदशक सँगै विमान उडाएका एक बरिष्ठ क्याप्टेनले भने, ‘केसीले उडाएको विमान दुर्घटनामा परेको सुन्दा म त स्तब्ध भएँ। उनलाई झल्झली सम्झिरहेको छु। सायद, प्राविधिक कारण दुर्घटना भएको हुनुपर्छ। उनी गल्ती गर्ने पाइलटै होइनन्।’

यतीको सेवा सुरु गर्नुअघि केसीले १८ वर्ष नेपाल वायुसेवा निगममा विमान उडाएका थिए। सुरुमा १९ सिट क्षमतायुक्त ‘ट्वीनअटर’ विमानमा सहचालकबाट आफ्नो विमान उडान ‘करियर’ सुरु गरेका केसी त्यसपछि चालक भएका थिए। निगममा विमान उडाउँदै जाने क्रममा केसी ट्वीनअटर विमानको प्रशिक्षक (इन्स्ट्रक्टर) पाइलट बनेका थिए । तर, वायुसेवा निगममा करियर अघि बढ्ने नदेखेपछि केसीले सन् २००६ जुन–जुलाईतिर राजीनामा दिएर निजी वायुसेवा कम्पनी यती एयरलाइन्समा प्रवेश गरेका थिए । यतीमा उनी २९ सिट क्षमतायुक्त ‘जेटस्ट्रिम–४१’ (जे–४१) सिरिजको विमानका क्याप्टेन भएर प्रवेश गरेका थिए । त्यसको केही वर्षपछि यतीले सबै जे–४१ विमान बिक्री गरेर ७२ सिट क्षमताका एटिआर ७२–५०० विमान प्रयोग गर्न थाल्यो।  एटिआर ७२–५०० सिरिजका विमानमा क्याप्टेन हुँदै प्रशिक्षक पाइलट बनेका केसी शालिन, भद्र र उड्डयन नीतिनियम अक्षरशः पालना गर्ने कुशल पाइलटको रूपमा कहलिएका थिए । ‘ककपिटभित्र बसेपछि कहिल्यै हतार नगर्ने, नियम हुबहु पालना गर्ने, कोपाइलटलाई सधैं सिकाउने, जुनियरहरूसँग कहिल्यै नरिसाउने र नझर्किने उनको स्वभाव थियो । नेपालको हवाई क्षेत्रका लागि नै यो अपूरणीय क्षति भएको उनका सहकर्मी चालकहरुले बताएका छन । 

केसीले उडाएको विमान दुर्घटनाबारे अहिले विभिन्न किसिमका अनुमान गरिए पनि सो विमान दुर्घटनाको कारण ‘प्राविधिक’ थियो वा ‘मानवीय त्रुटि’ भन्नेबारे यकिन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि मात्र जानकारि हुने छ । यसअघि अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन गत १ जनवरीको दिन चालक केसीले यही विमान लिएर काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सफल ‘डेमोन्स्ट्रेसन’ उडान भरेका थिए।

करिब ५५ वर्षका चालक केसीले अमेरिकाबाट पाइलट तालिम लिएका थिए । पोखरा जन्मथलो भएका केसीले अन्तिम सास पनि पोखरामै लिए । चालक भएपछि काठमाडौंको बुढानीलकण्ठ  हात्तीगौंडाको आफ्नै घरमा बस्दै आएका केसीको श्रीमती र दुई छोरा छन्। 

पाइलट श्रीमानको मृत्युपछि आफैं चालक बनेकी थिइन् सहचालक अञ्जु

यती एयरलाइन्सको सो विमान दुर्घटनामा परेकी सहचालक हुन अञ्जु खतिवडा । करिब ४० वर्ष उमेरकी अञ्जुले यो विमान सह चालकका रूपमा उडाए पनि यती एयरलाइन्समा उनी क्याप्टेन नै थिइन्। हालै उनी कोपाइलटबाट क्याप्टेनमा पदोन्नति भएकी थिइन्। 

अञ्जुको पनि सायद लेखान्त ‘दर्दनाक’ थियो। उनले आफ्ना श्रीमान क्याप्टेन दीपक पोखरेललाई पनि सन् २००६ मा जुम्लामा भएको यती एयरलाइन्सकै अर्को विमान दुर्घटनामा गुमाएकी थिइन्। ‘श्रीमान श्रीमती दुवैजना आफैंले उडाएको विमान दुर्घटनामा परेर अस्ताए’ आइतबारको पोखरा भएको दुर्घटनामा ज्यान गुमाएकी कोपाइलट अञ्जुका सहकर्मी चालकले भने, ‘दुवैको लेखान्त यस्तै रहेछ। अञ्जु साह्रै मिलनसार र सहयोगी थिइन्। हामीले अझै विश्वास गर्न सकिरहेका छैनौं।’

अञ्जुकी सहकर्मीका अनुसार सन् २००६ जुन महिनामा सुर्खेतबाट जुम्ला उडेको यती एयरलाइन्सकै १९ सिटे ट्वीनअटर विमान दुर्घटनामा परेका अञ्जुका श्रीमान दीपक कोपाइलट थिए । त्यसबेला क्याप्टेन किरण मल्ल थिए। ‘ आइतबार पोखरामा जसरी अञ्जुले उडाएको विमान दुर्घटना भयो, १७ वर्षअघि जुम्लामा उनको श्रीमानले उडाएको विमान पनि त्यस्तैगरी दुर्घटनामा परेको थियो’ ती सहकर्मीले भने।

श्रीमानको मृत्युको शोकमा रहेकी चालक अञ्जुले केही समयपछि मन बलियो बनाउँदै आफैं विमान उडाउने अठोट लिएकी थिइन्। त्यसपछि उनी पाइलट तालिम लिन अमेरिका गएकी थिइन्। तालिम सकेर फर्केपछि श्रीमानले नै काम गरेको यती एयरलाइन्समा गइन्। आफ्ना स्वर्गीय सहकर्मी पाइलटको श्रीमतीलाई यतीले खुसीसाथ कोपाइलट नियुक्त गरेको थियो। त्यसपछि उनले निरन्तर यतीको विमान उडाइरहेकी थिइन्। अञ्जु मोरङ विराटनगरमा जन्मिएकी थिइन्। सानैदेखि अडान लिने र हिम्मतीलो स्वभावकी खतिवडाको उद्देश्य नै सफल पाइलट बनेर आफ्ना स्वर्गीय पति दीपकको सपना साकार पार्ने थियो । तर उनको त्यो सपना अधुरै रह्यो । 

आज यतीका सबै उडान रद्द

यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज (सोमबार) निर्धारित सबै उडान रद्द गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै यतीले सोमबार आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ । यतीको ९एन एएनसी एटीसआर ७२–५०० विमान आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको थियो । सो विमान दुर्घटनाबाट अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भने अन्यको उद्धार एवं खोजी भईरहेको छ ।

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । पोखरामा यति एयरको विमान दुर्घटनाल भएगत्तै आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो ।

बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । आन्तरिक उडानका विमानहरुको अनुगमन नागरिक उड्डयन प्राधिकरणले नै गर्ने छ । ‘यो व्यवस्थाले आगामी दिनमा यस्ता हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने अपेक्षा गरिएको छ’ बैठकपछि सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने । 

यतिको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ । सो विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । 

आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा रहेका छन । यसैगरि, सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने रहेका छन । 

यसैगरी, मन्त्रिपरिद बैठकले सो विमान दुर्घटनाको शोकमा आज (सोमबार) सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । यसैगरि, दुर्घटनाको बारेमा जानकारी लिन चाहने मृतक यात्रुका परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निणर्य पनि सरकारले गरेको छ । त्यसैगरि, विमान दुर्घटनामा परेकाहरुको सब बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने निर्णय समेत सो बैठकले गरेको छ । 


लक्ष्य भन्दा कम राजस्व उठेपछि खर्च कटौतीको दबाबमा सरकार , अनावश्यक भ्रमण, भत्ता एवं विज्ञापन निरुत्साहनको नीति

 

–खर्च कटौतीको नीति कार्यान्वयमा ल्याउन अर्थमन्त्रीको निर्देशन 

मधुजंग पाण्डे/राजधानी 

काठमाडौं


अहिलेसम्म लक्ष्य गरिएको भन्दा धेरै कम राजस्व संकलन भएपछि खर्च कटौतीको दबाबमा परेको सरकारले धमाधम अनावस्यक खर्च घटाउने नीति लिएको छ ।  

चालु आर्थिक वर्षको वितेका ६ महिना गत पुसमसान्तसम्ममा लक्ष्य अनुरुप राजस्व संकलनमा चुकेको सरकारले हाल कार्यालय समय बाहिर आएर बजेट निर्माण गर्दा कर्मचारीलाई दिने भत्ता रकम पनि ५० प्रतिशत कटौती गर्न थालेको छ । 

यसअघि सरकारले कार्यालय समय बाहिर बिहान र बेलुका खटिने कर्मचारीलाई दिनको ६ सय रुपैयाँ अतिरिक्त दिने गरेको थियो । त्यसलाई उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो भत्ता एवं खर्च कटौती गरि ३ सय रुपैयाँमा झारेका हुन् । 

गत वर्षको सोही अवधिको तुलनामा झण्डै २० प्रतिशत राजस्व कम उठेपछि खर्च कटौतीको दबाबमा सरकार परेको थियो । लक्ष्य भन्दा निकै कम राजस्व उठाएर खर्च कटौतीको दबाबमा परेको सरकारले अति सामान्य भन्दा सामान्य कार्यक्रममा लाग्ने खर्च कटौती गरेको अर्थ मन्त्रालयले जनाएको छ । 

खर्च पुनरावलोकन आयोगले दिएका खर्च कटौतीका सुझावलाई समेत बेवास्ता गर्दै अति सामान्य कार्यक्रमको खर्च कटौतीमा अर्थमन्त्री पौडेल उत्रिएका हुन् ।  उनले अति आवश्यक बाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरुत्साहित गर्ने, दुईपांग्रे र चारपांग्रे सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल र लुब्रिकेन्ट फेर्ने व्यवस्था लागू गर्न भनेका छन् । 

कार्यालयमा प्रयोग भएका पर्दा, कार्पेट तथा फर्निसिङको सामग्रीको उच्चतम प्रयोग गर्ने, सम्भव भएसम्म नयाँ सामान खरिद नगर्न निर्देशन जारी गरेका छन् । खर्च कटौतीको दबाबमा परेको सरकारले अब नयाँ पत्रिका खरिदका लागि सदस्यता नलिने तथा नवीकरणका लागि रेस्नल संख्यामा नवीकरण गर्ने, मन्त्रालयले नियमित रूपमा छाप्ने बजेटसम्बन्धी पुस्तक वा अन्य पुस्तक छाप्न निरुत्साहन गरी वेबसाइटमा राख्ने नीति लिएको छ । 

यसैगरि, अति आवश्यक बाहेक सेमिनार, तालिम गोष्ठी नगर्ने र गर्नै पर्ने भए सरकारी  नम्र्सभन्दा बढी भएका लागत स्टिमेट स्वीकृत नगर्ने, यस्ता कार्यक्रम गर्दा मन्त्रमालयका सभाकक्ष र अन्य सरकारी निकायको भवन प्रयोग गर्न अर्थमन्त्री पौडेलले निर्देशन मार्फत नै सम्बन्धीत महाशाखा एवं निकायहरुलाई खर्च कटौतीको उर्दि नै गरेका छन् । 

सबै महाशाखाका लागि छुट्याएका कार्यक्रमको प्राथमिकीकरण गरी अति आवश्यक कार्यक्रमहरु मात्र गर्ने, चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम पुनरावलोकन गरी अहिले नगर्दा पनि हुने कामलाई स्थगित गर्ने, बैठक र अतिथि सत्कारका लागि छुट्याएको बाहेक, खाना खाजा सरकारी खर्चबाट भुक्तानी नगर्ने, बजेट निर्माणका समयमा अतिरिक्त बिहान बेलुका काम गर्न आएको प्रतिदिन ६ सयलाई ३ सय रूपैयाँ मात्र दिने उल्लेख गरेका हुन् ।

यसैगरि, अति आवश्यक बिना एसी, हिटर, पंखाको प्रयोग नगर्ने, बोतलको पानीलाई निरुत्साहित गरी जारको पानी प्रयोगलाई प्रोत्साहन गर्ने, कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गरेर प्रयोग गर्ने, अनावश्यक विज्ञापन, सूचना प्रकाशन तथा पत्रपत्रिकालाई निरुत्साहन गर्ने, स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको बाहेक करार तथा ज्यालादारीको कामदार नराख्ने नीतिलाई कार्यान्वयनमा ल्याउन अर्थमन्त्री पौडेलले सबै महाशाखाका प्रमुखहरुलाई निर्देशन नै दिएका छन ।  

त्यसैगरि, मन्त्रालयको विद्यमान जनशक्तिबाट सम्पादन हुन सक्ने कामका लागि बाह्य परामर्श सेवा खरिद नगर्ने, बैठकहरु कार्यालय समयभित्र गर्ने व्यवस्था मिलाउने, कार्यालय समयभित्र गर्न नसकी अगाडि वा पछाडि बस्नुपर्ने भएमा नगरी नहुने मात्र गर्ने, अति आवश्यकबाहेक थोरै र पटके रूपमा प्रयोग हुने सामान स्टक नराख्न समेत अर्थमन्त्री पौडेलले निर्देशन दिएका छन् । 


धमाधम मर्जहुने क्रमबढेसँगै वाणिज्य बैंकहरुको संख्या घट्यो ,एकिकृत कारोबारकालागि केहीदिन सेवा बन्दले निक्षेपकर्ता प्रभावित

 

मधुजंग पाण्डे/राजधानी 


काठमाडौं

अहिले मुलुकमा धमाधम ठुला बैंकहरुबीच आपसमा मर्जहुने एवं एकआपसमा गाभिने क्रमबढेसँगै वाणिज्य बैंकहरुको संख्या २८ बाट घटेर अब जम्मा १८ वटा मात्र हुने भएको छ ।  

यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि अहिले धमाधम ठुला बैंकहरुबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तिब्रता पाएको हो । यहि लहरसँगै अब वाणिज्य बैंकहरुको संख्या घटेर १८ वटामा झर्ने देखिएको छ । 

भर्खरै २७ वटाबाट झरेर २१ वटामा आइपुगेको वाणिज्य बैंकहरुको संख्या लक्ष्मी र सनराइज बैंक गाभिएपछि २० मा आउँदैछ । यसबाहेक पनि राष्ट्र बैंकले अन्य चार संस्थालाई मर्जरको ताकेता गरिरहेको छ । यसले गर्दा अब वाणिज्य बैंकहरुको संख्या घटेर १८ वटामा झर्ने देखिएको हो।

पछिल्लो समय नबिल र नेपाल बंगलादेश (एनबि) बैंक गाभिएपछि संख्या २६ मा झरेको थियो। त्यसपछि कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक गाभिएर २५ मा झरेको छ।

यही साता मात्र तीनजोर बैंकहरु गाभिएर २२ मा झर्दैछन्। सोमबार ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू (बिओके) गाभिएर २४ मा आउँदैछ । आगामी मंगलबार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक गाभिएर संख्या २३ मा आउने छ । आगामी बुधबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल गाभिदा संख्या २२ मा हुँदैछ।

त्यसपछि हिमालयन बैंक र सिभिल बैंकले पनि मर्जरका लागि वार्षिक साधारणसभा डाकेको छ । यी संस्था गाभिएपछि संख्या अब वाणिज्य बैंकहरुको संख्या घटेर २१ व्टामा आउने छ।

सोमबार लक्ष्मी र सनराइज बैंकबीच मर्जरको सम्झौता हुँदैछ । उनीहरु मर्जर लगत्तै संख्या २० मा झर्ने छ। यसअघि नेपालमा कुनै बेला वाणिज्य बैंकहरुको संख्या धमाधम विस्तार भएर ३२ वटासम्म पुगेको थियो । त्यतिबेला सरकारले नयाँ लाइसेन्स बाँडिएको तथा ‘ख’ र ‘ग’ वर्गका संस्थाहरुलाई स्तरोन्नति गर्न दिइएका कारण संख्या बढेको थियो।

नियामक निकाय नेपाल राष्ट्र बैंकले चार वर्षदेखि ‘बिग मर्जर’ योजना अगाडि सारेको हो। तत्कालिन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चुक्ता पुँजी वृद्धि योजना संख्या घटाउनका लागि लिएका थिए । तर, त्यतिबेला राजनीतिक दबाबले हकप्रद दिने व्यवस्था गर्न उनी बाध्य भए । जसका कारण सो समय बैंकहरुको संख्या यसरी घटेको थिएन ।

त्यतिबेला उनले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिमा ‘बिग मर्जर’ लाई प्राथमिकतामा राखेर केही सहुलियतहरु घोषणा गरेका थिए । उनको नीतिलाई अहिलेका गभर्नर महाप्रसाद अधिकारीले पहिलो मौद्रिक नीतिबाटै प्राथमिकतामा राखेका थिए । तर, लामो समय जारि रहेको कोरोना विश्व महामारि र लकडाउनका कारण सो योजना अघि बढ्न सकेन । 

दोस्रो र तेस्रो मौद्रिक नीतिपछि उनले मर्जरलाई प्रोत्साहित गर्ने भन्दै ‘वान टु वान’ कुराकानी गरेपछि बैंकहरु दबाबमा परेका हुन् । अर्कोतिर विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुको कार्यकालका कारण पनि हाल बैंकहरुबीच यस्तो मर्जर एवं एकआसपमा गाभिने क्रमले प्राथमिकता पाएको हो । 

अहिले मर्जरमा गएका बैंकहरुका प्रमुख कार्यकारीहरुको दुई कार्यकाल पुरा हुन लागेको छ। मर्जरमा नजाने हो भने कार्यकाल थप्न मिल्दैन। तर, मर्जरका कारण आगामी एक कार्यकाल थप्ने सहुलियत छ । सोही कारण पनि मर्जरमा बैंकहरु तातिएका हुन् । 

राष्ट्र बैंकले अहिले सानिमा बैंक र माछापुच्छ्रे बैंकलाई मर्जरका लागि ताकेता गरिरहेको छ । यदि यी संस्थाबीच मर्जर भएमा संख्या १९ मा झर्ने छ । हाल राष्ट्र बैंकले सिद्धार्थ, प्राइम, सिटिजन्स, एभरेष्ट बैंकलाई पनि मर्जरमा जान प्रोत्साहित गरिरहेको जनाएको छ । 

विभिन्न कारणले समस्यामा परेका बैंकहरुलाई सहज रुपमा आफ्नो लगानी सुरक्षित गरि मर्चमा जाने अवसर राष्ट्र बैंकले गरिदिएपछि अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबीच धमाधम मर्जमा जाने लहर नै चलेको हो । यस्तो लहरका कारण यो साता मात्र धेरै बैंकहरुबीच मर्जभई एकिकृत कारोबार सुरु भईरहेका कारण अहिले विभिन्न बैंकमा खाता खोल्ने निक्षेपकर्ता प्रभावित भएका छन । 

यसरी मर्जभई एकिकृत कारोबार सञ्चालन गर्न केही बैंकहरुले आफ्ना निक्षेपकर्तालाई आन्तरिक सफ्वेयरको काम मिलाउन भन्दै केहीदिन बैंकिङ कारोबार सेवा नै बन्दहुने बताईरहेका छन । जसका कारण निक्षेपकर्ताहरुले अझै एकदुईदिन आफ्नो खातामा भएको पैसा समेत झिक्न पाउने छैनन ।  


Friday, April 15, 2022

२०७८ साल आर्थिक संकट र पुँजी पलायनको वर्ष

मधुजंग पाण्डे/राजधानी

काठमाडौं

बुधबार मध्ये रातको १२ बजेदेखि बिदा भएको २०७८ साल नेपालको अर्थतन्त्रकालागि निकै संकटको त्रास फयाँकेर बित्यो । २०७८ सालको असोज महिनादेखि नै बैंकिङ तरलता बढेको थियो । जसका कारण बैंकहरुमा निक्षेप ह्वात्तै घटेर माग गर्ने ऋणीलाई धेरै बैंकहरुले कर्जा उपलब्ध गराउन सकेकै थिएनन् । 

गत वर्षको करिब मध्ये अवस्थामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ गठबन्धन सहितको मिलिजुली सरकार बन्यो । त्यतिबेलासम्म देसको आर्थिक अवस्था अहिलेको जस्तो संकटग्रस्त भएको थिएन । मुलुकको सम्पूर्ण आर्थिक सूचक राम्रो नै थियो । 


तर, वर्तमान अर्थमन्त्री जर्नादन शर्माले अपेक्षा गरिए अनुसार मुलुकको अर्थतन्त्र चलायमान बनाउनकालागि हुनेपर्ने गतिलो काम नगरिदिएकाले अहिले देसमा यस्तो आर्थिक संकटको अवस्था आइलागेको सम्बन्धीत सरोकारवालाहरु एवं अर्थविद्हरुको भनाई छ । उनीहरुले गत वर्षको प्रारम्भको अवस्थामा खासै नबिग्रिएको देसको आर्थिक अवस्था यहि वर्तमान सरकारको कमजोरीले नै विग्रिएको आरोप लगाएका छन ।  

यसअघि पनि नेपालको अर्थतन्त्रले अनेकन संकट पार गरेको थियो । २०७२ सालको बैशाखमा गएको विनासकारी भूकम्प, नाकाबन्दी र २०७६ सालको चैत महिनादेखि नै सुरु भएको कोरोना विश्व महामारि जस्ता दुःखद् घटनाक्रम र विपतको बेला समेत खासै नविग्रिएको देसको अर्थतन्त्र २०७८ सालमा भने निकै विग्रिएर आर्थिक संकट थप गहिरिएको सम्बन्धीत सरोकारवालाहरुले विश्लेषण गरेका छन । 

उनीहरुको विश्लेषण अनुसार नेपालको अर्थतन्त्रमा २०७८ सालको जस्तो त्रासदी अघिल्ला कुनै पनि वर्षमा उत्पन्न भएको थिएन ।  २०७८ साल प्रारम्भकै बेला लामो समय कोरोनाले थलिएको अर्थतन्त्र विस्तारै चलायमान हुने चरणतिर उन्मुख भएको थियो । त्यतिबेला चौतर्फी बस्तुको माग थियो । २०७६ सालको ११ चैतबाट मुलुक लकडाउनमा परेदेखि दुई वर्षसम्म बन्द भएका एलसी धमाधम खुल्न थालेका थिए । त्यतिबेला नेपाल राष्ट्र बैंकसँग विदेशी मुद्राको सञ्चिति पनि पर्याप्त थियो । बैंकसँग लगानीयोग्य रकम पनि पर्याप्त मात्रामा थियो । ब्याजदर पनि ६ प्रतिशत हाराहारीमै थियो । 

त्यस्तो अनुकूल समयमा दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्र एकाएक तात्न थालिसकेको थियो । सबै क्षेत्र चलायमान हुन थालेको थियो । त्यतिबेलाको अवस्थालाई सरकार र राष्ट्र बैंकले पनि सकारात्मक रुपमा लिएका थिए । 

सो समय देशमा कोरोना भाईरस संक्रमणकोदर र मान्छेको ज्यानजाने तथा विरामी हुने असर पनि विस्तारै कम हुँदै जानु, कोरोना संक्रमण फैलिनबाट रोक्ने उपाए स्वरुप सरकारले लगाएको स्वास्थ्य प्रोटोकल पनि हटाउँदै लैजानु, पुनः कोरोनाको नयाँ भाइरस सहित बीचमा देखिएको तेस्रो चरणको ओमिक्रोनको असर कम हुँदै गएपछि देसको अर्थतन्त्र चलायमान हुन थालेको थियो । 

जसका कारण गत वर्ष २०७८ सालको वैशाखदेखि असोजसम्म चहलपहल बढेर देसको अर्थतन्त्रले अर्कै रुप लिइसकेको थियो । हरेक व्यापारिक क्षेत्र पुरानै लयमा फर्किन थालेको अवस्था थियो ।त्यो बेला जुर्मुराउँदै गरेको अर्थतन्त्र देखेर अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले चालु आर्थिक वर्षकालागि ल्याएको बजेट अमान्य हुने भन्दै आफुले पुनः प्रतिस्थापन बजेटमार्फत आर्थिक वृद्धिको लक्ष्य ७ प्रतिशत राखेका थिए । तर, प्रतिस्थापन बजेट आउनुपूर्व राष्ट्र बैंकले मौद्रिक नीति ल्याइसकेको थियो । सो मौद्रिक नीतिले निजी क्षेत्रको कर्जा विस्तारलाई १९ प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । 

त्यसबाहेक कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि लागू गरेको अवस्था थियो । जसले आगामी दिनमा लगानीयोग्य रकमको चरम अभाव हुने संकेत गरेको थियो । बैंकहरुलाई १९ प्रतिशतमा कर्जा सीमित गर्न र सीडी रेसियो कायम गर्न कम चुनौति थिएन । सो समय मौद्रिक नीति आएको एक महिनामै बैंकहरुले निजी क्षेत्रतर्फको कर्जा विस्तार ३३ प्रतिशत पु¥याइसकेका थिए ।

निजी क्षेत्रको संधिय प्रतिनिधीमुलक छाथा संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले यो सरकारले बेलैमा अहिलेको अवस्थाबाट बच्ने उपाए गर्न नसकेको बताएका छन । यसैगरि, अर्थविज्ञ डा. पोषराज पाण्डेले पनि २०७८ को सुरुवातदेखि नै उत्साहजनक आयात र बीचमै अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्य आकाशिँदा भुक्तानी सन्तुलनमा पहिलो पटक यति धेरै दबाब पर्न गएको बताए । 

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पछिल्लो आठ महिनाको वित्तीय विवरण अनुसार  देसको भुक्तानी सन्तुलन २ खर्ब ५८ अर्ब रुपैयाँले घाटामा छ । त्यति मात्रै होइन्, विदेशी मुद्रा सञ्चितिमा समेत ठूलो दबाब परेको अवस्था छ । सो तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को वितेका आठ महिना गत फागुनमसान्तसम्मको अवस्था अनुसार आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलब ४ महिनाको वस्तु आयात र करिब ६ महिनाको वस्तु तथा सेवा आयात धान्ने क्षमता मात्र छ । त्यपिछि यस्तै अवस्था कायम रहेको खन्डमा भने देसले औषधी लगायत अत्यावस्यक बस्तु समेल आयत गर्न नसक्ने अवस्था भोग्नुपर्ने छ ।  

अर्थविद् पाण्डेका अनुसार सरकारले निकै चलायमान  भइसकेको अर्थतन्त्रलाई अहिलेको संकटपूर्ण  अवस्थामा आउन नदिन बेलैमा सरकारले राम्रो कदम चालेको भए मनौवैज्ञानिक असर पर्दैन थियो र नेपालीले श्रीलंकासँग तुलना गर्ने अवस्था नै आउने थिएन । 

सामान्यतया सम्पत्ति वा रकम एउटा मुलुकबाट अर्को मुलुकमा बाहिरिने प्रक्रियालाई पुँजी पलायन भन्ने गरिन्छ । हाल नेपालबाट पनि पुँजी पलायन भइरहेको सर्वत्र चर्चा भइरहेको छ । अर्थमन्त्री शर्माले नै सार्वजनिक कार्यक्रममा बोल्दै नेपालबाट पुँजी पालयन भइरहेको जानकारि गराएका थिए । 

क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपरफन्ट लगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेको अर्थमन्त्री शर्माले विगत केही महिना देखि नै सुनाउँदै आएका थिए । त्यति मात्र नभएर अर्थमन्त्री शर्माले क्रिप्टोकरेन्सी, हाइपरफन्ट लगाायतका माध्याम मार्फत नेपालबाट ठुलो मात्रामा पूँजी पलायन  भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएको समेत बताएका थिए । उनले नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर नेपालबाट पूँजी पलायन हुने गरेको आफुले जानकारी पाएको दावी गर्दै आएपनि किन त आफैं नियमनकारी निकाय अर्थमन्त्रीको पदमा बसेर पनि यस्तो कार्यलाई नियन्त्रण गर्न सकेनन् त भन्ने प्रस्न पनि उठिससकेको छ । 

अर्थमन्त्रीको भनाई जस्तै नेपालबाट क्रिप्टोकरेन्सी, हाइपरफन्ट लगायत क्षेत्रमा पूँजी पलायन भइरहेको योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पनि बताएका छन । उनले दुई चार पैसा भएका र बचत गर्न सक्नेहरुले क्रिप्टोकरेन्सीमा लगानी ग¥यो भने नाफा हुने रहेछ भनेर उक्सिएर लुकिछिपी लगानी गरेका छन् भन्ने आफुले पनि सनेको बताए ।  जसका कारण नेपालबाट अन्य देसमा विस्तारै पूँजी पलायन भईरहेको उनको अनुमान छ । अर्थमन्त्री शर्मा र  पूर्व गर्भनर क्षेत्रिले बताएझैं हाल    नेपाली अर्थतन्त्रका अधिकांश परिसूचकहरु घटेका छन् । 

व्यापार घाटा हालसम्मकै उच्च छ । शोधानान्तर स्थितिको अवस्था पनि उस्तै छ । मूल्य वृद्धि पनि ७ प्रतिशत भन्दा बढी नाघेको छ । रेमिट्यान्स आप्रवाह पनि १ दशमलब ७ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव उस्तै छ । रेमिट्यान्स मार्फत आउने पैसा विलासी वस्तु सुनचाँदी, ल्यापटप, महँगा मोबाइल लगायत मार्फत नेपाल भित्रिएको हुने सक्ने उनीहरुको अनुमान छ । 

अर्थमन्त्री शर्माले पनि केही साता अघि मात्र नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका थिए । पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा आफूले खोज्न थालेको बताउँदै अर्थमन्त्री शर्माले भनेका थिए, ‘पुँजी कतै हराइरहेको त छैन? ।  हाल बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा आफु लागेको बताउँदै गरेका अर्थमन्त्री शर्माले बोले अनुसारको काम व्यवहारमा नगरिदिएकाले अहिले देसको अवस्था यो हालतमा पुगेको अधिकाँश सरोकारवालाहरुको भनाई छ । उनीहरुले बैंकिङ प्रणालीमा पैसा नआउनुमा आगामी ३० चैतमा हुने भनिएको स्थानीय तहको निर्माचनमा खर्च गर्नका लागि राजनीतिक दलका शीर्ष नेताहरुले घरघरमा पैसा राखेको समेत आरोप लगाएका छन । 

यति मात्र नभएर हाल नेपालमा देखिएको तरलतासम्बन्धी समस्याको प्रमुख कारणमध्ये एक पुँजी पलायन नै रहेको स्पष्ट बुझ्न सकिने अर्थविद्हरु बताउँछन् । त्यस्तै, नियमित रूपमा हुने आयातको मात्रा नेपालको निमित्त पुँजी पलायनको कारण बनेको देखिन्छ । नेपालीहरुले विलासीका वस्तुहरु खरिद गर्दा पूँजी बाहिने क्रम बढेको उनीहरुको तर्क छ ।

उनीहरुका अनुसार नेपालीको क्रयशक्ति कृत्रिम रुपमा बढाईएको छ । यसो हुनुमा बैंक तथा वित्तीय संस्थाहरुले सस्तो दरमा कर्जा दिएर नै हो  । बैकहरुले सस्तो ब्याजदरमा ऋण दिएर घर घडेरीमा लगानी गर्नेदेखि शेयर, गाडी लगायत खरिद गर्न पाउनु पर्छ भन्ने खालको काम गरियो । नसले गर्दा पनि गाडी लगायत विलासीका वस्तु खरिद गर्न ठूलो विदेशी पुँजी गइरहेको हुन सक्ने उनीहरुको अनुमान छ ।   

यसैगरि, नेपालमा आयातमूखि व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले विदेशमा नेपालीहरुले कमाएको पैसाको दुरुपयोग गर्न थालेकालाई नेपालमा रेमिट्यान्स कम आएको उनीहरुको अनुमान छ । व्यापारीले वैद्यानिक च्यानहरुबाट रकम पठाउँदा केहि महँगो पर्ने भएकोले विदेशमा रहेका नेपालीहरुको कमाई उनीहरुले खरिद गरेको समानको भुक्तानीका रुपमा प्रयोग गर्न अवैध च्यानलबाट पैसा पाइरहेका छन् । यसको मतलब नेपालमा रेमिट्यान्सको आँकडा नबढ्नुमा रेमिट्यान्सको सट्टा हुण्डीको कारोबार बढेको र सरकारले पुँजीगत खर्च नबढाउनु मुख्य तरलता अभावको कारणका रुपमा देखिको उनीहरुको दावी छ ।  यसैगरि, राजनीतिक रुपमा अस्थिरता र व्यवसाय गर्ने व्यापारीको सम्पत्तिको सुरक्षामाथी खतरा देखिदै गएपछि आफ्नो सम्पतिको सुरक्षा गर्न उनीहरुले सुरक्षित स्थानमा पैसा स्थानान्तरण गरिरहेको हुन सक्ने अर्थविद् एवं सम्बन्धीत सरोकारवालाहरुको अनुमान छ । 

अर्थमन्त्री शर्माले गत सोमबार मात्र अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्ता कार्यमा संलग्नहरुले नेपालबाट दुवईमा पैसा लगेर ठूला ठूला भिल्ला खरिद गरेको समेत बताएका थिए । अर्थमन्त्री शर्माले नै सो कार्यक्रममा भनेका थिए ‘नेपालमा किन तरलताको अभाव भइरहेको छ । विदेशबाट रेमिट्यान्स किन नेपालमा आउन कम भइरहेको भन्ने खोज्न दुबईमा नेपालीले खरिद गरेको भिल्ला तिर भेटिन्छ ।’


लयमा फर्कंदै पर्यटन

मधुजंग पाण्डे/राजधानी

बेला–बेला आइपर्ने प्राकृतिक विपत्तिलगायत मानव घटनाबाट कहिल्यै अछुतो नभएको नेपालको पर्यटनले २०७२ वैशाखको भूकम्पपछि ११ चैत २०७६ देखि लामो समय कोरोना संक्रमणकाल झेल्नुप–यो ।

विश्व महामारी कोरोनाबाट आफ्ना नागरिकलाई बचाउने प्रयासबापत गरिएको लकडाउनका बेला होटल, कलकारखना, पसल, उद्योगलगायत क्षेत्र पूर्ण बन्द भए । त्यो समय सरकारले हवाई उडानलगायत सम्पूर्ण पर्यटकीय गतिविधि ठप्प पारेर साता हुँदै महिना, चार महिना, ६ महिना र वर्षदिनसम्म पनि घरभित्र बस्न ‘सर्कुलर’ जारी ग¥यो ।


लकडाउनका बेला अत्यावश्यक कामबाहेक सडकमा निस्कनसमेत दिइएन । पहिलो र देस्रो चरणमा फैलिएको उच्चकोरोना संक्रमणका समय पर्यटन क्षेत्र सम्बन्धित होटल र ट्राभल, ट्रेकिङ, बैंक तथा अन्य वित्तीय संस्था, सवारी साधनलगायत हरेक क्षेत्र ठप्प भए । हाल, सञ्चालित होटललगायत क्षेत्र तथा उद्योगले संक्रमणदर उच्च भएको बेला धेरै कामदार कर्मचारी हटाए भने कैयौं होटलले कामदार कटौती गरी सीमित पारे ।

कोरोना संक्रमित हुनेको संख्या दैनिक बढेको बेला लकडाउन थप कडा पार्ने र संक्रमण हुनेदर केही कम भएपछि विस्तारै लकडाउन खुकुलो पारिए पनि त्योक्रमले झन्डै साढे दुई वर्षभन्दा बढी समय लियो । यस अवधिमा कोरोना संक्रमण फैलिने तरीकाले समेत तीन चरणको स्वरुप परिवर्तन ग¥यो । पर्यटन व्यवसायी, कामदार र उनीहरूका घरपरिवारले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनुप¥यो । 

कोरोना संक्रमणकालका बेला कामबाट हटाइएका तथा कटौतीमा परेका कामदारलाई अहिले अवस्था सहज भएसँगै फर्काउन थालिएको छ । होटल मालिकले ‘दुःखका बेला निकालेको’ भन्दै अझै केही कामदार पहिले आफूले काम गरेको होटलले बोलाइरहे पनि फर्किन मानिरहेका छैनन् । धेरै विदेशिएका छन् । केहीले आफ्नै व्यवसाय थालिसकेको अवस्था छ । यस्ता गतिविधिले अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ ।

गत पुसयता भने तेस्रो चरणमा फैलिएको कोरोना संक्रमणदर विस्तारै घटेको र धेरै नागरिक तथा विदेशीले कोरोनाविरुद्धको डोज पूरा गरेका कारण थलिएको पर्यटन उठ्न थालेको छ ।

पर्यटकीय गतिविधि बढेसँगै विभिन्न देशबाट भित्रिने पर्यटक आगमन संख्या बढिरहेको छ । गत मार्चमा भित्रिएका उत्साहजनक आगमन संख्या आशा लाग्दो छ । नयाँ वर्ष २०७९ सालले अब आमपर्यटन व्यवसायी र समग्र देशले पर्यटकीय गतिविधिबाट मनग्य आम्दानी गर्न पाउनेमा हामी आशावादी छौं ।कोरोना संक्रमणकालका बेला कामबाट हटाइएका तथा कटौतीमा परेका कामदारलाई अवस्था सहज भएसँगै काममा फर्काउन थालिएको छ ।

सात दशकदेखि पर्यटन व्यवसायमा सक्रिय एसियन ट्रेकिङका प्रबन्ध निर्देशक तथा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा कोरोना संक्रमणकालमा जस्तो अप्ठयारो अवस्था ‘अब कहिल्यै भोग्न नपरोस’ भन्ने कामना गर्छन् । कोरोना संक्रमण झन्डै आमनेपालीका लागि निकै कष्टकर र दुःखद् भएर बितेको स्मरण गर्छन्, उनी ।‘नयाँ वर्ष २०७९ ले ती कष्ट र दुःख भुलाएर मुलुकको पर्यटन क्षेत्रका लागि एकदमै सुखद् र सहज हुने सुनौलो बिहानी हुने’ अपेक्षा शेर्पाको छ ।

उनका अनुसार कोरोना संक्रमित संख्या घटेर विस्तारै होटल खुल्न थालेपछि स्वदेशी पर्यटकले काठमाडौं उपत्यका आसपासका होटल, पोखरा, चितवन र लुम्बिनीका होटल भरिन थालेका छन् । ‘हाल स्वदेशीले पनि विदेशीभन्दा बढी खर्च गर्न थालेका छन्,’ उनी भन्छन्, ‘मेरो ललितपुर लाकुरी भञ्ज्याङमा रहेको होटलमा पुग्ने ग्राहकबाट यस्तो महसुस गरेको हुँ ।’

विशेषगरी सेवा तथा आथित्य सत्कार र हिमाल आरोहणलगायत साहसिक गतिविधिसँग जोडिएको पर्यटन वैदेशिक मुद्रा आर्जनका लागि रेमिट्यान्सपछिको नेपालको सबैभन्दा ठूलो उद्योग हो ।

पछिल्लो समय यो क्षेत्र विदेशी मुद्रा आर्जन र राजस्वको प्रमुख स्रोत पनि बनिरहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत संसारका १० उच्च हिमाल नेपालमै छन् । पर्वतारोहण र रक क्लाम्बिङ, क्यानोनिङ, चट्टान तथा हिमशिखर आरोहणका लागि नेपाल उच्चत्तम तथा प्रमुख गन्तव्यसमेत हो ।

अनेकौं पर्यटकीय गतिविधिलाई नै आयआर्जनको उचित सम्भावना ठानेर अहिले स्वदेशी र विदेशी लगानीकर्ता पर्यटन क्षेत्रमा धमाधम ठुलो लगानी गरिरहेका छन । यो लगानी त्यसै खेर जान नदिने वातावरण बनाउने दायित्व र संकल्प सरकारले गर्नुपर्छ ।

सम्भावना र आशाबीच लगानीकर्ताले कोरोना संक्रमणकालमा समेत पर्यटन उद्योगमा थप लगानी बढाउने, पूर्वाधार विस्तार र नयाँ प्रविधिसहित निजी क्षेत्रको लगानी विस्तार हुनेक्रमले तीव्रता पाइरहेको छ । यो अवधिमा सरकारले पर्यटन पूर्वाधारका लागि अत्यावश्यक ठानिएका क्षेत्रा नयाँ विमानस्थल बनाउने, सडकमार्ग, पदमार्ग, पर्यटन गन्तव्य विकासलाई विशेष प्राथमिकतामा राखेको छ ।

गौतमबुद्ध विमानस्थलमा उडान

२०७९ प्रारम्भदेखि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय व्यवसायिक हवाई उडान सुरु हुने छ । त्यसपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान पहुँच विस्तार अभियानमा सरकार तीव्रतासाथ निर्माण काम अघि बढिरहेको छ । यसलाई पनि आमपर्यटन व्यवसायीले पर्यटक आगमन संख्या वृद्धिमा ठूलो महŒव राख्ने अपेक्षा गरिरहेका छन् ।

पर्यटक वृद्ध १३८.६५ प्रतिशत

सन् २०२२ को मार्चसम्मको बितेका तीन महिनाको अवधिमा पर्यटक संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको छ । सन् २०२२ मार्चमा मात्र कुल ४२ हजार ६ पर्यटक हवाई मार्गबाट भित्रिएका थिए ।पर्यटक आउनेक्रम बढेसँगै हेलिकोप्टर व्यवसायमा समेत चहलपहल बढेको छ । जसकारण अहिलेदेखि नै हिमाली क्षेत्रमा जाने उडान समय पाउनै मुस्किल हुन थालिसकेको अवस्था छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२२ को गत मार्चमा मात्रै ४२ हजार ६ जना विदेशी पर्यटक नेपालमा आएका छन् । सन् २०२१ को सोही महिना कुल १४ हजार ९ सय ७७ पर्यटक भित्रिएका थिए भने २०२२ फेब्रुअरीमा १९ हजार ७ सय ६६ पर्यटक आएका थिए । यो संख्या गत महिनाभन्दा २२ हजार २ सय ४० जनाले बढी हो ।गत वर्षभन्दा ७ गुणाले पर्यटक भित्रिएसँगै अहिले हेलिकोप्टर क्षेत्रमा पनि व्यवसायीबीच नयाँ आशा जागेको छ ।

विगत दुई वर्षको तुलनामा अहिले धेरै पर्यटक आएको र व्यवसायीमा थप उत्साह जागेको कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे बताउँछन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढेको हवाई इन्धनको मूल्यवृद्धिमा हेलिकोप्टर क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको पनि उनले सुनाए । अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाले पछिल्लो केही साता हिमाली जिल्लामा मौसममा समस्या आउँदा अन्य जहाज जान नसकेको र हेलिकोप्टर प्रयोग बढेकाले व्यस्तता देखिएको बताए ।

काठमाडौंका होटल खचाखच

हिमाल आरोहण र पदयात्रा अनुकुल मौसम भएकाले काठमाडौंका होटलमा झन्डै ८० प्रतिशतसम्म ‘अकुपेन्सी’ रहेको होटल संघमा आबद्ध व्यवसायी बताउँछन् । पछिल्लो समय सबैभन्दा बढी भारतीय पर्यटक आएको उनीहरूले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका सात महिनाको आर्थिक तथ्यांक हेर्दा आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । कोभिडपछि पर्यटन आय ८० प्रतिशतले घटेको जानकारी गराउँदै गोल्छाले थपे, ‘यस्तो अवस्थाबाट पर्यटकीय गविविधि पहिलेकै अवस्थामा फर्काउन हामी पर्यटक ल्याउँछौं ।’

अर्थतन्त्रमा निजी क्षेत्रको लगानी ७७ प्रतिशत र करिब ७५ प्रतिशत रोजगारी व्यवसायीले नै सिर्जना गरेकाले आगामी दिन सरकारले व्यवसायीको हितअनुकुल काम गरिदिनुपर्नेमा गोल्छाको जोड छ ।

हाल, देशको रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ४ सय ७५ अर्ब पुगिसकेकाले अब रेमिट्यान्सले घाटा थेग्न नसक्ने उनी बताउँछन् । ‘अब जतिसक्दो मुलुकमा पर्यटक भित्र्याएर वैदेशिक मुद्रा आर्जन गर्नुभन्दा विकल्प छैन,’ गोल्छा भन्छन् ।

पछिल्लो दुई वर्ष कोभिड पुनरुत्थानका लागि राष्ट्र बैंकमार्फत प्राप्त सहयोगले व्यवसायीलाई तङ्ग्रिन केही सहज भए पनि कोरोना संकट सहज हुनेबित्तिकै हाल सरकारबाट भएका निर्णयले ‘अन्योल’ खडा गरेको गोल्छाको कथन छ । ‘हामी बिजुलीमा आत्मनिर्भर मात्रै होइन, निर्यात गर्न सक्ने भयौं भनिरहँदा एकाएक उद्योगमा बिजुली काट्न थालिएका छ,’ उनी भन्छन्, ‘यसरी पिकआवरमा विद्युत् अवरोध हुँदा जेनेरेटर नचलाई सुखै छैन ।’

गभर्नर यसो भन्छन्

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र लामो समय कोरोना महामारीले थला पारेको पर्यटन क्षेत्रमा संक्रमणदर घटेर पर्यटकीय गतिविधि बढ्न थालेसँगै ‘अब केही समय तन्काएर छाडेको रबर्डजस्तै सामान्यीकरणपछि आर्थिक क्षेत्र विस्तारै पुरानै लयमा फर्किने अपेक्षा’ रहेको बताउँछन् ।

‘आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले पनि पर्यटन क्षेत्रमात्र नभएर पूरै देशकै अर्थतन्त्र चलायमान बनाइरहेको छ । त्यसैले अब विदेशी मुद्रा भित्र्याउन र सञ्चितीको मात्रा जोगाउन जेजे गर्न सकिन्छ गर्दै जानुपर्छ,’ उनी भन्छन्, ‘रेमिट्यान्स आप्रवाह बढाउन अहिले दिइएको थप एक प्रतिशत ब्याजदर प्रभावकारी नभए अन्य उपाय अपनाएर, हुन्डीलगायत कारोबारलाई निरुत्साहित गर्न नीतिगत तथा प्रशासनिक तवरबाट काम सर्न सरकार अघि बढ्नुपर्छ ।’

गैरआवासीय नेपाली (एनआरएन)लाई स्वदेशकै बैंक खाता खोलेर आफूले विदेशमा कमाएको पैसा पठाउनेतर्फ पनि सरकारले कदम चाल्नुपर्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र उनको जोड छ ।