Wednesday, December 4, 2013

विमानस्थलबाटै फर्काए तीनसय कामदार

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १७ मंसिर
वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जान लागेका करिब ३ सय जना कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कर्मचारीले विमानस्थलबाटै फर्काइदिएका छन । आइतबार र सोमबार गरि विभिन्न मेनपावर मार्फत सबै कागजात लिएर विदेश जाँदै गरेका करिब ३ सय कामदारलाई अध्यागमन कर्मचारीले विमानस्थलबाटै फर्काइदिएका हुन । सोमबार मात्र करिब १ सय ६० जना भन्दाबढी कामदार विमानस्थलबाट फर्किएका थिए ।  स्वदेशमा रोजगारी नपाएपछि आफ्ना घर खेत नै बन्धकी राखेर विदेश जान श्रम स्टिकर लगाएका राहदानी, भिसा, रोजगारदाता कम्पनीको एग्रिमेन्ट पेपर लगायत आवस्यक सबै कागजात लिएर जाँदै गरेका कामदारलाई विमानस्थलका अध्यागमन कर्मचारीले सक्कल भिसा नलिएको भन्दै फर्काएको हो । गत १४ कात्तिकमा विभागले १ डिसेम्वर ( आइतबार ) देखि लागुहुनेगरि वैदेशिक रोजगार विभागले यूएई जान अन्तिम स्वीकृति दिएकालाई पनि सक्कल भिसा बिना जान अनुमति नदिने निर्णय गरेकाले अहिले विमानस्थलमा यस्तो अवस्था उत्पन्न भएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव एवं प्रवक्ता रोहण गुरुङले करिब ९० प्रतिशत कामदार युएईमा कार्यरत हुँदाहुँदै पनि विभागले सो निर्णय गर्दा व्यवसायी र संघलाई कुनै जानकारी नदिएकाले विमानस्थलमा यो समस्या आएको बताए । विभागले गरेको सो निर्णय सुनेपछि गत १४ मंसिरमा संघका व्यवसायी प्रतिनिधीले अध्यागमन विभागका महानिर्देशक सरदचन्द्र पौडेललाई भेटेर इलेक्ट्रोनिक्स भिसा प्रमाणित भएको अवस्थामा त्यसैलाई सक्कल भिसाको मान्यता दिई जान दिने भन्ने निर्णय भएपनि अहिले अध्यागमन कर्मचारीले सो निणर्यलाई लत्याउन खोजेकाले अहिले धेरै कामदार फर्किन बाध्य भएको बताए ।  विभागको सो कार्यबाट उत्पन्न समस्या समाधन गर्न सोमबार पुन संघका प्रतिनीधी विभाग पुगेर इ भिसालाई मान्यता दिन आग्रह गरेको बताए । उनले सोही आग्रह अनुसार सोमबार विभागका महानिर्देशक पौडेल र व्यवसायीबीच इ भिसालाई पनि मान्यता दिने सम्झौता भएको जानकारी दिए । उनले मंगलबारबाट विमानस्थलमा यस्तो समस्या नहुने समेत जानकारी दिए । उनले इ भिसा र अनलाइन इम्लोइमेन्ट भिसालाई कामदारसँग भएको कागजात रुजु गर्दा सबै विवरण वेभसाइडमा नदेखिएपनि सबै पहिचाहन खुलेपछि मान्यता दिई पठाउने सम्झौता भएको बताए ।
व्यवसायीले घेरे अध्यागमन विभाग
 ‘इ–भिसा’लाई मान्यता दिने

काठमाडौ÷रास– वैदेशिक रोजगार विभागले विदेश जान अन्तिम स्वीकृति दिए पनि अध्यागमन विभागले रोकेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले केही समय अध्यागम विभाग घराउ समेत गरेका थिए ।  दुबईको सरकारी कम्पनी इमिरेट्स पेट्रोलियम प्रोडक्ट कम्पनी (इप्को) लगायतका कम्पनीमा काम गर्न वैदेशिक रोजगार विभागबाट अन्तिम स्वीकृति लिएर विमानस्थल पुगेका कामदारलाई अध्यागमन विभागले रोकेपछि वैदेशिक रोजगार व्यवसायीहरु सोमबार दिनभर आन्दोलनमा उत्रिएका हुन् । यूएईमा ई–भिसा मार्फत काम गर्न जान लागेका नेपाली कामदारलाई अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएपछि सोमबार दिनभर व्यवसायी र अध्यागमन कर्मचारीबीच विवाद भएको थियो । ई–भिसाबाट जान लागेका कामदारको अध्यागमन सिष्टममा सम्पूर्ण विवरण नभेटिएपछि फिर्ता गरिएको विभागका महानिर्देशक शरदचन्द्र पौडेलको दावी छ । अध्यागमनले आइतबार र सोमबार दिउ“सो २ बजेसम्म करिब ३ सय कामदार फिर्ता गरेको व्यवसायीहरुले बताएका छन् । विनाकारण अध्यागमन विभागले कामदारलाई रोकेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले सोमबार अध्यागमन विभागमा कालोपट्टी बा“धेर विरोध प्रदर्शन गरेका थिए । केही समयको बिवादपछि वैदेशिक रोजगार व्यवसायीसंघका प्रतिनिधीले विभागका महानिर्देशक पौडेललाई भेटेर इ भिसा लिएर विमानस्थल पुगेका कामदारलाई छाडिदिन आग्रह गरेका थिए ।  महानिर्देशक पौडेलले प्रक्रिया नमिल्दासम्म छाड्न नमिल्ने बताएका थिए । महानिर्देशकको त्यस्तो प्रतिक्रियापछि व्यवसायीहरु थप आक्रोसित बनेका थिए । त्यसबेला व्यवसायीहरु पनि कालो ब्यानर लिएर अध्यागमन विभागमा पुगेका थिए । ई–भिसा लिएर एकैपटक विमानस्थल पुगेका ६० जना कामदारमध्ये ३ जनालाई विदेश जान अनुमति दिइएको र  ५७ जनालाई फर्काइएको भन्दै व्यवसायीहरुले यसबाट कर्मचारीको नियत प्रष्ट्र झल्किने आरोप समेत लगाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यÔ बलबहादुर तामाङले अध्यागमनका कर्मचारीका अनावस्यक झमेलाले व्यवसायी र कामदार  निकै मारमा परेको बताए । उनले अध्यागमनका कर्मचारी रातारात धनी बन्न खोज्दा अहिले यस्तो समस्या उत्पन्न भएको बताए ।  विभागका महानिर्देशक पौडेलले भने व्यवसायीको आरोपलाई  अस्वीकार गरे । कर्मचारीबाट कुनै गल्ती नभएको बताउ“दै उनले कामदारको कागजपत्र नपुगेर अध्यागमनले रोकेको स्पष्ट्र पारे  । दुबईका कम्पनीहरुले पठाएको ई–भिसामा त्यस्तो समस्या देखिएको हो। संघका अध्यÔ तामाङले भने, ‘वैदेशिक रोजगार विभागले कागजपत्र पुग्यो, काम गर्न जाउ भन्छ, अध्यागमन विभागले कागजपत्र पुगेन जान पाउ“दैनौ भन्छ’ जसले व्यवसायीलाई मार परेको छ ।’ ई–भिसाको सक्कल कागज कम्पनीमै हुने हु“दा आफुहरुले चाहेको खण्डमा देखाउन नसक्ने व्यवसायीको भनाइ छ । भिसा नम्बर राखेर सिष्टममा हेरेपछि सबै प्रमाण देखिने उनीहरुको दाबी छ । कामदारले जहाजको टिकट खरिद गरेर जान लाग्दा विमानस्थलबाट फर्किएपछि  त्यसको भार व्यवसायीले बोक्नुपर्ने गुनासो पनि उनले गरे ।

Monday, December 2, 2013

विभाग कर्मचारीको ढिलासुस्तीले कामदार कोटा नै गुम्ने खतरा, भिसा र हवाई टिकटसमेत रद्द हुन थाले

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १५ मंसिर
वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीको ढिलासुस्तीका कारण अहिले वैदेशिक रोजगार व्यवसायीलाई विभिन्न मुलुकबाट ल्याएको कामदार कोटा गुम्ने चिन्ता भएको छ । विभागका कर्मचारीले एकछिनमा सकिने कामलाई तीन दिन लगाइदिने, सबै कागजात पूरा भएको फाइलमा पनि यो भएन त्यो पुगेन भनेर त्यसै अल्झाएर राख्ने, श्रमस्वीकृति लिने कार्यलाई पनि व्यवस्थित गर्न नसकेर उत्पन्न ढिलासुस्तीका कारण अहिले व्यवसायीलाई आफूले बल्लतल्ल ल्याएको कामदार कोटा नै गुम्ने चिन्ता भएको हो ।
विगत केही सातादेखि लथालिंग अवस्थामा सञ्चालित श्रमस्वीकृति दिने कार्यलाई विभागले व्यवस्थित बनाउन नसकेपछि अहिले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिन राजधानीको तीनकुनेस्थित वैदेशिक रोजगार विभागमा कामदारहरूको अत्यधिक भीड लागिरहेको छ ।  धेरै समयसम्म कुर्दा पनि कामदारहरूले समयमै काम हुन नसक्दा आङ्खनो हवाई उडान समयसमेत गुमाउनुपरेको भन्दै तीव्र आक्रोश व्यक्त गरिरहेका छन् भने व्यवसायीले पनि विभागको ढिलासुस्तीका कारण उत्पन्न समस्या समाधान गर्न निकै सास्ती भोग्नु परिरहेको छ ।  उनीहरूले विभागले श्रमस्वीकृति दिने कार्यमा गरिरहेको ढिलाइले विभिन्न देशका रोजगारदाता कम्पनीले आफूहरूलाई किन मान्छे पठाउन ढिला गरेको भन्दै उताबाट धेरै पटक गाली गरेर अब कामदार कोटा नै पठाउदिन भन्नेसम्मको चेतावनी दिएकोसमेत जानकारी दिएका छन् ।
समयमै काम हुन नसक्दा व्यक्तिगत श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदार अहिले बिहान चार बजेदेखि नै विभागमा लाइन लागिरहेका छन् । बिहान लाइनमा ढिलो पुग्दा एक दिनमा हुने कामलाई तीन दिन लाग्ने उनीहरूको भनाइ छ ।  विभागमा भेटिएका नवलपरासीका खगेन्द्र तिवारीले सबै कागजात लिएर पुनः श्रमस्वीकृतिका लागि आएको तीन दिन भइसक्दा पनि अझै काम नसकिएको बताए । कतारबाट दसैंतिहार र निर्वाचनका लागि यहाँ आएर फेरि जाने तयारीमा रहेका तिवारीले भने, ‘बिहान सात बजेदेखि लाइनमा बसेको थिए“, भौचर भर्ने काम भयो अझै श्रमस्वीकृति पाउन सकिएन ।’ कतार जान आवश्यक कागजात बनाउन शुक्रबार दिनभर विभागमा लाइन बस्दै गरेका तिवारीले बिहानैदेखि लाइनमा बस्दा पनि आफ्नो काम पूरा नभएकाले फेरि अर्को दिन पनि यसैगरी दुःख पाउनुपर्ने बताए । 
उनले विभागभित्र रहेको एकमात्र बैंकको काउन्टरमा कल्याण कोÈका लागि रकम जम्मा गर्दा पाँच घन्टा लागेको र श्रमस्वीकृति लिने लाइन झन् ठूलो भएकाले दिनभर काम हुन नसकी त्यसै फर्किनुपरेको बताए । अहिलेसम्म विभागले एउटै मात्र बैंकलाई सो कोषमा रकम जम्मा गर्ने जिम्मा दिएकाले पनि सेवाग्राहीले यस्तो समस्या भोग्नुपरेको उनको भनाइ छ । अर्का कामदार दिनेश गौतमले पनि श्रमस्वीकृति दिने कार्यमा विभागका कर्मचारीको ढिलाइका कारण आफू समयमै यहाँको काम सकेर विदेश जान नपाएको बताए । बुटवलबाट आएका गौतमले विगत एक सातादेखि गोंगबुको होटलमा बसेर यहाँ धाउँदा अहिले बेखर्ची बनाएको बताए । उनले श्रमस्वीकृति दिने कार्यमा विभागका कर्मचारीबाट भइरहेको ढिलासुस्तीले  आफू जाने रोजगारदाता कम्पनीको निकै गाली खानुपरेको बताए । तिवारी र गौतम त प्रतिनिधि पात्र मात्र हुन् । विगत लामो समयदेखि विभागका कर्मचारीको ढिलासुस्तीका कारण अहिले हजारौं कामदारले यस्तो अनावश्यक सास्ती भोग्नुपरेको अधिकांश व्यवसायीको भनाइ छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले पनि विभागका कर्मचारीको ढिलासुस्तीले व्यवसायीलाई आफ्ना कामदार भनेको समयमा पठाउन निकै मुस्किल भइरहेको बताए । सो ढिलासुस्तीले विभिन्न मुलुकका कामदार कोटा नै गुम्ने अवस्था आएपछि संघले गत बिहीबार विभागलाई सार्वजनिक बिदाका दिन पनि कार्यालय सञ्चालन गर्न आग्रह गरेअनुरूप शनिबार दिनभर विभाग खुला रहेको जानकारी दिँदै उनले पुराना फाइलको काम सकिएपछि विस्तारै केही सहजीकरण हुने बताए । उनले हाल विभागमा भइरहेको अत्यधिक भीडको समस्यालाई समाधान गर्ने उपायस्वरूप संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनसमेत आग्रह गरेको जानकारी दिए । 
आशा इन्टरनेसनल प्रालिका प्रवन्ध निर्देशक अम्बिका शर्माले विभागका कर्मचारीको ढिलाइका कारण धेरै कामदारको भिसा र बुकिङ भइसकेका जहाजका टिकटसमेत रद्द भइरहेको बताइन् । पहिले दुई दिनमा अन्तिम र एक दिनमा पूर्वस्वीकृति निकाल्ने विभागले अहिले सोही काम गर्न दुई महिनाभन्दा बढी समय लगाउने गरेकाले व्यवसायीलाई कामदार कोटा गुम्ने चिन्ता भएको बताइन् । उनले विभागमा भइरहेका यस्ता गतिविधिले व्यवसायीलाई मात्र नभएर सबैभन्दा बढी सास्ती कामदारले नै भोग्नुपर्ने बताइन् ।
विभाग परिसरको एभरेस्ट बैंकको एक्सटेन्सन काउन्टरका अनुसार एकदिनमा व्यक्तिगत  र संस्थागत गरी करिब ३५ सय कामदारले वैदेशिक रोजगार कल्याणकारी कोÈमा बैंक भौचरमार्फत रकम जम्मा गरिरहेका छन् । सो कल्याणकारी कोÈका लागि हरेक कामदारले १ हजारका दरले रकम जम्मा गर्नुपर्ने प्रावधानअनुसार सो रकम जम्मा भएको सो काउन्टरले जनाएको छ । अहिले विभागले दैनिक व्यक्तिगत र संस्थागत गरी ३ हजारभन्दा बढी कामदारलाई सेवा दिँदै आएको जनाएको छ । समयमै काम हुन नसकेको आरोप लगाउ“दै केही म्यानपावर कम्पनीका एजेन्टले आक्रोशित हुँदै गत बिहीबार विभागको संस्थागत श्रमस्वीकृति शाखाको भm्यालका सिसा तोडफोडसमेत गरेका थिए ।  विभागले एकपटक विदेश गएर आएका  कामदार फेरि फर्कंदा पुनः श्रमस्वीकृति लिन राहदानीसहित आफैं उपस्थित हुनुपर्ने नियम कडाइका साथ लागू गरेपछि अहिले पुनः श्रमस्वीकृति लिन कामदारहरू रातिदेखि नै लाइनमा बस्नुपर्ने अवस्था आएको हो । सबै रित पु¥याएर काम गर्न समय लाग्ने हु“दा कतिपय कामदार दिनभर लाइन बसेर पनि साँझ खालिहात फर्किरहेका छन् । केही म्यानपावर व्यवसायी र बिचौलियास“ग अवैध रूपमा टेबुलमुनिबाट पैसा लिएर प्रक्रिया नै पूरा नगरी श्रमस्वीकृति दिएको अभियोगमा विगत केही महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका केही कर्मचारीलाई छानबिनका लागि पक्राउ गरेपछि विभागले पुनः श्रमस्वीकृति लिन राहदानीसहित अनिवार्य कामदार उपस्थित हुनुपर्ने नियममा कडाइ गरेको हो ।
विभागमा कामदारको चापअनुरूप पर्याप्त कर्मचारी नहु“दा सेवाग्राही मारमा परेका हुन् । विभागले थालेको पछिल्लो कदमले कामदार ठगिने सम्भावना ‘अन्डरटेबल’ लेनदेन र ‘बिचौलिया व्यवसाय’ भने केही हदमा रोकिएको भए पनि अझै कामदारले सहज रूपमा सेवा पाउन सकिरहेका छैनन् । पहिले म्यानपावर व्यवसायी र एजेन्टले विभागका कर्मचारीसमेतको मिलेमतोमा तयार पारेको सेटिङमार्फत काम गर्दा भीडभाडको समस्या थिएन । त्यसबेला एकैजनाले सयौं कामदारको राहदानी लगेर श्रमस्वीकृति निकाल्थे । त्यसोगर्दा कामदारले बिचौलियालाई निश्चित रकम दिन्थे । कामदारले दिएको रकम विभागका कर्मचारीसम्म पुग्थ्यो । विदेशमा काम गरेर फर्केका कामदार फेरि विदेश जा“दा पुनः श्रमस्वीकृति लिनुपर्ने प्रावधान छ । अहिले विभागमा चाडपर्व र निर्वाचनका लागि घर आएर फर्कने कामदारको संख्या निकै बढी छ ।
अहिले दैनिक करिब २ हजारले पुनः श्रमस्वीकृति लिइरहेको विभागले जनाएको छ । हाल नया“ कामदार डेढ÷२ सयजना मात्रै हुने र पुनः जानेको संख्या धेरै रहेको विभागले जानकारी दिएको छ ।  विगतका वर्षको तुलनामा अहिले वैदेशिक रोजगारीमा जाने को संख्यामा पनि वृद्धि भएका कारण श्रमस्वीकृति लिनेको संख्या पनि बढेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीपछि  विभागले श्रमस्वीकृति दिन ढिलासुस्ती गरेको त्यहाँ जाने अधिकांश सरोकारवालाहरूको गुनासो छ । लामो समय कुर्दा पनि विभागबाट पूर्व र अन्तिम स्वीकृति ननिस्किँदा समयमै भिसा लगाउन नसकिएको र समयमै रोजगारदाता कम्पनीलाई कामदार पठाउन नसकिएको भन्दै अहिले व्यवसायीहरू दैनिक विभाग धाउने गरेका छन् ।

विभागका महानिर्देशक फेरिए
काठमाडौ÷रास– वैदेशिक रोजगार विभागका महानिर्देशक विनोद केसी त्यहाँबाट सरुवा भएपछि अहिले विभागमा उपराष्ट्रपतिको कार्यालयका सह सचिव रवीन्द्रमोहन भट्टराई आइपुगेका छन । नवनियुक्त महानिर्देशक भट्टराइले गत बिहीबारदेखि नै विभागमा सो पदको जिम्मेवारी सम्हालेका छन् । केसी शान्ति तथा पुर्नरनिर्माण मन्त्रालयमा सरुवा भएका छन् । यसैगरि, विभागमा करिब २ महिनायता ५ जना निर्देशक पनि थपिएका छन् । अहिले विभागमा महानिर्देशक, ९ निर्देशक, काजका २ सहित जम्मा ९९ जना कर्मचारी भएका छन्। नवनियुक्त महानिर्देशक भट्टराईले अहिले विभागमा श्रम स्वीकृत लिने कामदारको चाप अत्यधिक भएकाले व्यक्तिगत श्रम स्वीकृति तर्फ बिहान र बेलुका २÷२ घन्टा कार्यालय समय थपेर भएपनि सेवाग्राहीलाई छिटै पठाउने बताए । सोही भनाई अनुसार अब विभाग बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने छ । दसैं–तिहार, छठपर्व लगायतका चाडपर्व र गत ४ मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनका गतिविधीले गर्दा अहिले कामदारको चाप अत्यधिक बढ्ेको जानकारी दिँदै उनले  हाल कर्मचारीले जति गर्दा पनि नभ्याएपछि दैनिक ४ घन्टा समय थपेर सेवाग्राहीलाई सुविधा दिन लागेको बताए । पहिला पेन्डिङ कामलाई सामान्य बनाएपछि कामदारलाई सहज बनाउने अन्य उपायतर्फ लाग्ने उनको भनाई छ । लामो समयदेखि कर्मचारी ढिलासुस्ती एवं लथालिँग अवस्थाबाट गुज्रिरहेको विभागमा अब नया“ महानिर्देशक आएपछि निकै सुधार आउने अपेक्षा गरिएको छ । केही दिन अघिमात्र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको एक प्रतिनिधिमण्डलले श्रम तथा रोजगार मन्त्रालयमै गई विभागको अवस्थाबारे जानकारी गराउ“दै आवश्यक कर्मचारी पठाउन माग गरेको थियो । त्यसबेला मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले विभागमा थप निर्देशकहरु सहित नया“ महानिर्देशक पठाउने तयारीबारे जानकारी सो प्रतिनिधिमण्डललाई दिएका थिए । गत भदौको पहिलो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन निर्देशक रमेश मैनाली सहित विभागका डेढ दर्जन कर्मचारीलाई पक्रउ गरी कारबाही अघि बढाएपछि विभागका महानिर्देशक केसी विभागीय नेतृत्वको दायित्वबाट बिस्तारै पन्छिँदै आएका थिए ।

शनिबारपनि खुल्यो विभाग
काठमाडौ÷रास– लामो समयदेखि पूर्व तथा अन्तिम श्रमस्वीकृति लिने कार्यमा भइरहेको ढिलाइका कारण उत्पन्न समस्यालाई केही हदसम्म समाधान गर्ने उद्देश्यले सार्वजनिक बिदाका दिन शनिबार दिनभर वैदेशिक रोजगार विभाग खुलेको थियो ।
शनिबार विभागका कर्मचारीले पहिले पेन्डिङ अवस्थामा रहेका पुराना फाइनलका काम मात्र  सिध्याउने प्रयास गरेका थिए । सबै काम नसकिएपछि आइतबार पनि पुरानै फाइलका काम हुने र सकिएन भने अर्को शनिबार पनि खुलाएर भए पनि सबै काम सिध्याउने विभागले जनाएको छ । यसअघि, यहाँको ढिलाइले वैदेशिक रोजगारमा जाने कामदारहरूको समयमा उडान गराउन नसक्दा वैदेशिक रोजगार व्यवसायीहरूले निकै समस्या भोग्नु परेको थियो ।
सोही विषयलाई लिएर सार्वजनिक बिदाका दिन शनिबार पनि कार्यालय सञ्चालन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जोडदार माग गरेको थियो । व्यवसायीको सोही मागअनुसार विभागले शनिबार दिनभर काम सुचारु गरेर सेवाग्राहीलाई आफ्नो सेवा दिएको थियो ।

आठ मुलुक अझै श्रमसहचारी बिहिन
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १५ मंसिर
५ हजारभन्दा बढी कामदार रहेका मुलुकमा सरकारले श्रम सहचारी राख्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै त्यस्ता मुलुकमा सरकारले श्रम सहचारी राख्न सकेको छैन ।
५ हजारभन्दा भन्दा बढी कामदार रहेका मुलुक बहराइन, जापान, लेवनान, ओमान, इजराइल, अफगानिस्तान, इराक र मकाउमा सरकारले अझै श्रम सहचारी नियुक्त गर्न नसकिरहेको अवस्था छ । जसका कारण त्यहाँ कार्यरत कामदारहरूले सानोतिनो समस्यामा पनि निकै सास्ती भोग्दै आइरहेका छन् ।
श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले अहिलेसम्म मुलुकले भोग्नुपरेको राजनीतिक अस्थिरताका कारण उत्पन्न समस्या र आवश्यक बजेट अभावमा ती मुलुकहरूमा श्रम सहचारी पठाउन नसकिएको जनाएको छ । सरकारले कम्तीमा अधिकृतस्तरका कर्मचारीलाई श्रम सहचारी नियुक्त गर्नसक्ने व्यवस्था रहेको छ । अहिलेसम्म विभिन्न देशमा नियुक्त भएका सहचारीहरूले दूतावास कार्यालयबाट मात्र सेवा दिने गरेका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, बहराइनमा ३३ हजार, ओमानमा १७ हजार, लेवनानमा १० हजार, इजराइलमा ७ हजार, अफगानिस्तानमा ६ हजार र जापानमा ५ हजार ५ सयजना कामदार श्रमस्वीकृति लिएर गएका छन् ।
अहिलेसम्म सरकारले कतार, मलेसिया, साउदी अरब, कुबेत, संयुक्त अरब इमिरेट्स ( यूएई)  र दÔिण कोरियामा मात्र श्रम सहचारी पठाएको छ । यसैगरी,  मलेसियामा ७ लाख ७३ हजार, कतारमा ६ लाख ९० हजार, साउदीमा ५ लाख र यूएईमा ३ लाख १३ हजार कामदार कार्यदरत छन् । श्रमस्वीकृति लिएका करिब २५ लाख युवायुवती  विदेशमा कार्यरत रहेको विभागको अनुमान छ । अहिलेसम्म सरकारले संसारभरका १ सय ८ मुलुकमा मात्र वैदेशिक रोजगारीका लागि कामदार पठाउने अनुमति दिएर श्रमस्वीकृति दिने व्यवस्था
गरेको छ ।
सरकारले विदेशमा कार्यरत कामदारलाई उनीहरूलाई परेको बेला आवश्यक सहयोग गर्न श्रम सहचारी नियुक्तिको व्यवस्था गरेको हो । नेपालबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने दुई तिहाईभन्दा बढी कामदार अदÔ छन् । अधिकांश नेपाली कामदार अशिÔित भएका कारण कानुनले पाएको अधिकारबाट समेत वञ्चित भई उनीहरू श्रम र आर्थिक शोÈणमा पर्ने गरेको गुनासो आइरहेको छ ।
५ हजार भन्दा बढी कामदार रहेको मुलुकमा एक मात्र श्रम सहचारी अधिकृतले दिने सेवा निकै अपर्याप्त भएको त्यहाँ कार्यरत कामदारहरूले बताउँदै आएका छन् । त्यहाँ कार्यरत कामदारहरूले अब गठन हुने नयाँ सरकारले छिट्टै अहिलेसम्म श्रम सहचारीविहीन मुलुकहरूमा सहचारी पठाएर आफ्ना नागरिकको सुरक्षा नीति अपनाउने अपेक्षा गरेका छन् । 
मागपत्र र भिसामा फरक आएकालाई मान्यता दिएपछि व्यवसायी उत्साहित
 काठमाडौ, १५ मंसिर
समान प्रकृतिको पेसामा डिमान्ड लेटर (मागपत्र) र भिसामा फरक आए पनि मान्यता दिनुपर्ने मागलाई सरकारले मान्यता दिएपछि अहिले वैदेशिक रोजगार व्यवसायी उत्साहित भएका छन् । वैदेशिक रोजगार व्यवसायी संघको निरन्तरको दबाबपछि गत महिना बल्ल सरकारले वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई केही सरलीकृत गर्न यस्तो मान्यता दिएपछि व्यवसायी उत्साहित भएका हुन् । धेरै समयको दबाबपछि सरकारले कात्तिक अन्तिम साता मात्र बल्ल यसलाई सम्बोधन गरेको थियो ।
श्रम तथा रोजगार मन्त्रालयले गत २५ कात्तिकमा राजपत्रमै सो जानकारी प्रकाशित गरेर समान प्रकृतिको पेसामा मागपत्र र भिसामा फरक आए पनि अन्तिम स्वीकृति दिने बताएको थियोे । मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा १९ मा रहेको श्रमस्वीकृतिको निस्सा ( स्टिकर) लगाउनेसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा देखिएका कठिनाइ हटाई तत्कालका लागि बाधाअड्काउ फुकाउन यस्तो निर्णय गरेको जनाएको छ । सो राजपत्रमा अबदेखि समान प्रकृतिको पेसामा डिमान्ड लेटर (मागपत्र) र भिसामा फरक आए पनि मान्यता दिनुपर्ने उल्लेख छ । यसअघि, वैदेशिक रोजगार विभागबाट प्रदान गरिने अन्तिम स्वीकृतिमा समान प्रकृतिको भए पनि मागपत्र र भिसामा फरक भएमा झमेला हुन्थ्यो ।
यसअघि,  मागपत्रमा लेबर आउने तर भिसामा हेल्पर वा सर्भेन्ट भए पनि अस्वीकृत गर्ने अधिकार वैदेशिक रोजगार विभागका अधिकारीलाई थियो । जसका कारण अहिलेसम्म धेरै व्यवसायीले ल्याएका यस्ता प्रकृतिका माग अस्वीकार हुने गरेका थिए । समान प्रकृतिको पेसामा पनि अन्तिम स्वीकृति नदि“दा धेरै व्यवसायीको लगानीसमेत डुबेको थियो । कतिपय अवस्थामा कामदारसमेत विमानस्थलबाटै फर्किनुपर्ने अवस्था  थियो । यसअघि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका कर्मचारीलाई अनियमितता गरेको भन्दै केही कर्मचारीलाई पक्राउ गरेपछि यो समस्या झन् बिकराल भएर आएको थियो ।
राजपत्रमार्फत सरकारले सो जानकारी गराएपछि भने अब अहिलेसम्म भोग्दै आएका समस्या सुल्झाउन वैदेशिक रोजगार व्यवसायीलाई केही हदसम्म सहज हुने बताइएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि त्यसैबेला पत्रकार सम्मेलन गरी गरेको सोही निर्णयले व्यवसायीलाई केही राहत भएको भन्दै स्वागत गरेको थियो । संघका अध्यक्ष बलबहादुर तामाङले सरकारी  कदमको स्वागत गर्दै अहिले यही समस्याका कारण करिब ३० हजार कामदार भिसा आएर पनि जान नसकिरहेको जानकारी दिए । उनले यस निर्णयले व्यवसायीलाई उत्साही बनाएको समेत जानकारी दिएका छन् । सरकारी सो निर्णयपछि अब रोकिएका ३० प्रतिशत समस्या समाधान हुने भन्दै उनले अब यस समस्याबाहेक अन्य सुविधा वैदेशिक रोजगार विभागले नै फुकाउन सक्ने अवस्था रहेकाले सबैको सहयोग आवश्यक भएको बताए । उनले संघको लामो समयको दबाबले बल्ल मान्यता पाएको बताए ।
यसले वैदेशिक रोजगारीमा देखिएको समस्यालाई हल गर्ने विश्वास लिएको दाबी गर्दै संघका अध्यÔ तामाङले भने, ‘यसले धेरै व्यवसायीलाई राहत भएको छ ।’ यसले कामदारलाई आश्वस्त भएर वैदेशिक रोजगारीमा जाने बाटो खुलेको पनि उनले जानकारी दिए । यसैगरी, सरकारले ग्रुप अफ होल्डिङ कम्पनीभित्र रहेका कुनै पनि कम्पनीको भिसालाई मान्यता दिने निर्णयसमेत गरेको छ । सम्बन्धित मुलुकमा रहेको दूतावासको प्रमाणीक™णपछि भिसा दिइने पनि सो निर्णयमा उल्लेख छ । अझै व्यवसायीले वैदेशिक रोजगार ऐनमा रहेका दफा १५ देखि १९ सम्मका अव्यावहारिक विÈयलाई सरलीकृत गर्न माग गर्दै आएका छन् । अझै यी बु“दामा सुधार हुन सकेमा वैदेशिक रोजगार व्यवसायमा देखिएका समस्या सहज हुने अधिकांश व्यवसायीको कथन छ । उनीहरूले यो निर्णय तत्कालका लागि समस्या समाधान गर्न मात्र सरकारी निर्णय उन्मुख भएको भन्दै २०६४ को ऐन नै संशोधन हुनुपर्ने बताएका छन् ।

भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलका लागि टेण्डर

भैरहवा १६ मंसिर- वर्षौदेखि स्तरोन्नतीको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध विमानस्थलको टेण्डर आब्हान गरिएको छ। विमानस्थललाइ स्तारोन्नती गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया स्वरुप बिहीबार बोलपत्र आब्हान गरिएको गौतमबुद्ध विमानस्थल स्तरोन्नती परियोजनाका निमार्ण आयोजना प्रमुख मुरारी भण्डारीले बताए।
मंसिर १३ गतेदेखि बोलपत्र खुला गरिएको हो। 'बोलपत्र दाखिलाका लागि ४५ दिने म्याद तोकिएको छ। सन २०१४ को जनवरी ११ सम्म बोलपत्र दाखिला गर्नु पर्नेछ,' आयोजना प्रमुख भण्डारीले भने।
दुई चरणमा निर्माण सम्पन्न गर्ने कार्य योजना अनुरुप टेण्डर आब्हान गरिएको बताइएको छ। सिभिल वर्क र बिद्युतीय तथा अन्य प्राविधिक उपकरणका लागि छुट्टा छुट्टै टेण्डर गरिने कार्ययोजना अनुरुप हाल सिभिल वर्कका लागि बोलपत्र आब्हान गरिएको भण्डारीले जनाकारी दिए। उनका अनुसार पहिलो चरणमा सिभिल वर्क अन्तरगत पुर्वाधार निमार्ण सम्बन्धी सम्पूर्ण कार्य पूरा गर्नुपर्ने छ। ३ हजार मिटरको रनवे, कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्यारलल ट्याक्सी वे, अग्नि नियन्त्रण भवन,एयर कार्गो भवन, एयरपोर्ट एक्सेस रोड, मेन्टिनेन्स भवन, आन्तरिक तथा बाह्य सडक,  सुरक्षा पोष्ट भवन,प्रशासकीय भवन, नदि डाइभर्सन लगायतका आवश्यक सम्पुर्ण भौतिक निमार्णका कामहरु सम्पन्न गरिने छ।
सिभिल वर्कका लागि दाखिला भएका बोलपत्रमा दादृ निकाय एसियाली विकास बैंक तथा नागरिक उड्ययन प्राधिकरणकाबीच छलफल र  सहमतिमा योग्य ठेकेदार कम्पनीको छनौट गरीने छ। ठेक्केदार कम्पनीको छनौट सगैं २०१४ को जुनबाट भौतीक निमार्णको काम सुरु भइसक्ने बताइएको छ।
पुर्वाधार निमाणका काम सकिए लगत्तै दोश्रो चरणमा धावन मार्ग तथा भवनमा जडान गर्नुपर्ने उपकरण तथा अन्य प्राविधिक कुराहरुको व्यवस्थापन तथा खरिदका लागि अर्को बोलपत्र आब्हान गरिनेछ। सन १०१७ सम्ममा विमानस्थलको सम्पूर्ण निमार्ण कार्य सम्पन्न गरिसक्ने लक्ष्य प्राधिकरणको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा स्तरोन्नती गर्न लागिएको गौतमबुद्ध विमानस्थलमा काठमाडौंमा ओर्लिने सबै बिमानहरु अवतरण गर्न सक्ने छन्।
एसियाली विकास बैंकबाट थप आथिर्क सहयोगबारे टुंगो लागेपछि  टेन्डर प्रक्रिया अघि बढेको हो। सन २०१० मा गौतमबुद्ध बिमानस्थललाई मध्यमस्तरको विमानस्थलका रुपमा विस्तार गर्ने योजना सहित सरकार र एसियाली विकास बैंक एडीवीबीच ३५ मिलियन डलर ऋण सम्झौता भएको थियो। तर पछिल्लो समयमा विश्वभरी रहेका गौतमबुद्धका अनुयायी तथा बाह्य पर्यटकलाइ सहज रुपमा लुम्बिनी भित्र्याउन भैरहवामा सुविधा सम्पन्न अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्ने माग चर्को रुपमा उठ्न थालेपछि सरकारले क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने योजना सहित एडीवी सँग थप ३० मिलियन अमेरिकी डलरको ऋण सहयोग माग गरेको थियो। परियोजनाका अनुसार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागि ९० मिलियन डलर खर्च लाग्ने अनुमान गरिएको छ। एडीवीले उपलब्ध गराउने ऋण बाहेकको रकम नागरिक उड्यन प्राधिकरण तथा सरकारले बेर्होने बताइएको छ।  बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धारको रुपमा रहेको भैरहवामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनेपछि  बाह्य पर्यटकहरुलाइ सोझै लुम्बिनीसँग जोड्न सकिने भएकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने आशा लिइएको छ।

Tuesday, November 26, 2013

१० जना निर्माण व्यवसायी प्रत्यक्ष निर्वाचनमा विजयी

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ९ मंसिर
गत ४ मंसिरमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ चुनावी मैदानमा उत्रिएका करिब २ दर्जन निर्माण व्यवसायी मध्ये १० जनाले विजयी हासिल गरेका छन भने अन्य पराजित भएका छन । प्रत्यक्षतर्फ विभिन्न दलबाट उठेका व्यवसायी मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा), नेपाली काँग्रेस, एमाले र सद्भावना पार्टीका तर्फबाट १० जना व्यवसायीले विजयी हासिल गरेका हुन । संविधानसभा सदस्य पदकालागि मुलुकका विभिन्न स्थानबाट निर्वाचित भएका निर्माण व्यवसायीहरुमा राप्रपाका तर्फबाट चितवन Ôेत्र नं ५ बाट निर्माण व्यवसायी विक्रम पाण्डे विजयी भएका छन । कालिका कन्स्ट्रक्सनका अध्यक्ष एवं कालिका समुहका अध्यक्ष पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री पनि हुन । राप्रपाबाट प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका निर्माण व्यवसायी पाण्डेले उनका निकटतम् प्रतिद्धन्दी वैदेशिक रोजगार व्यवसायी एवं नेकपा एमालेका दान वहादुर तामाङलाई २ हजार ३ सय ७५ मतले पराजित गर्दै विजयी हासिल गरेका हुन । निर्माण व्यवसायी पाण्डेले कुल १० हजार ७ सय ७९ मत ल्याएर विजयी भएका छन । उनी पछि दोस्रो स्थान हासिल गर्ने एमालेका तामाङले ८ हजार ४ सय ४ मत प्राप्त गरेका थिए । पहिलोपटक संविधानसभा सदस्य पदमा निर्वाचित भएपछिको यस जितसँगै अहिले चितवनमा पाण्डेका समर्थक , आफन्तजन एवं शुभचिन्तक लगायत ठुलो संख्यामा भेला भई भब्यताकासाथ विजयी उत्सव मनाइरहेका छन् । निर्माण व्यवसायी पाण्डेले अखन्ड चितवन र विकास निर्माणलाई आङ्खनो मुख्य नारा बनाएर चुनावी मैदानमा उत्रिएका थिए । यसपालीको निर्वाचनमा सबैभन्दा बढी मुलुकको विकास निर्माणलाई विशेष एजेण्डा बनाएका कालिका समुहका अध्यक्ष व्यवसायी  पाण्डे चितवन स्थित कालिका एफ एम ९५ .२ मेगाहर्जका संस्थापक पनि हुन् । चितवन – ५ मा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यÔ एवं अराउन्ड द वल्र्ड सभिर्सेज प्रालिका प्रबन्ध निर्देशक तामाङ एमालेबाट उठेका थिए । तामाङलाई निर्माण व्यवसायी पाण्डेले तिब्र प्रतिस्पर्धाका बाबजुतपनि २ हजार ३ सय ७५ मत बढी  ल्याएर हराएका हुन । सो निर्वाचन क्षेत्रमा वैदेशिक रोजगार व्यवसायी तामाङ दोस्रो स्थानमा थिए भने एकिकृत माओवादीका नेता अमिक शेरचनले जम्मा ४ हजार १ सय ५१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । यसरी विजयी हासिल गर्ने अन्य व्यवसायीहरुमा नेपाली काँग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नं. ३ बाट हिमलुङ एण्ड थोक्कर निर्माण सेवाका प्रवन्ध निर्देशक बहादुरसिंह लामा, काभ्रे क्षेत्र नं. १ बाट कुशेश्वर निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक तिर्थ लामा, स्याङजा क्षेत्र नं. १ बाट राजु थापा, डोटी–१ बाट बीरबहादुर बलायर, रामेछाप–१ बाट आङतावा शेर्पा र मकवानपुर–१ बाट इन्द्र बानियाँ रहेका छन । यसैगरि नेकपा एमाले पार्टीका तर्फबाट प्रत्यक्षमा निर्वाचित हुने व्यवसायीहरुमा रसुवा जिल्लाबाट सूर्यचन्द्र कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक जर्नादन ढकाल र  डोल्पाबाट धनबहादुर बुढा रहेका छन । त्यसैगरि, सद्भावना पार्टीका तर्फबाट धनुषा क्षेत्र नं. ४ मा धुर्बतारा कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक संजय शाह निर्वाचित भएका छन ।  निर्माण व्यवसायीको  क्षेत्रमा देखिएका समस्यालाई आफ्नो पार्टीको तर्फबाट पनि केही गर्न सकिन्छ भन्ने उदेस्यले चुनावी मैदानमा उत्रिएका शाहले उनका प्रतिस्पर्धी काँग्रेसका रामशरोज यादबलाई १ हजार ४० मत बढी ल्याएर हराएका हुन । शाहले १२ हजार ६ सय ६६ मत ल्याएर विजयी  भएका छन भने दोस्रो स्थान हासिल गर्ने यादवले जम्मा ११ हजार ६ सय २६ मत ल्याएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उठेर निर्माण व्यवसायको क्षेत्रलाई माथी उकास्ने उदेस्यकासाथ नेपाली काँग्रेसका तर्फबाट मकवानपुर क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछाने भने पराजित भएका छन । संविधान सभामा व्यवसायीको हक अधिकार स्थापित गर्न चुनावी मैदानमा उत्रिएर पराजित भएका लामिछानेले यस निर्वाचनलाई अहिलेसम्मकै ऐतिहासिक निर्वाचन भनेका छन । उनले सफलतापूर्वक सम्पन्न भएको यस निर्वाचनले अब मुलुकको आर्थिक गतिविधीलाई चलायमान बनाउने कार्यमा छिटै निकास दिन्छ भन्ने अपेक्षा निर्माण व्यवसायी महासंघले लिएको समेत जानकारी गराए । लामिछानेसँगै पराजित हुने अन्य निर्माण व्यवसायीहरुमा काँग्रेसबाटै दोलखा क्षेत्र नं. १ मा उठेका जिपछिरिङ लामा, भक्तपुर–१ बाट कृष्ण भँडेल रहेका छन । यसैगरि प्रत्यक्ष निर्वाचनमा पराजित हुने अन्य व्यवसायीहरुमा  सिन्धुपाल्चोकबाट धर्मराज भण्डारी, धनकुटाबाट धर्मराज राई, सप्तरी–३ बाट जयप्रकाश ठाकुर लगायत छन । सो निर्वाचनमा काभ्रे–१ बाट विजयी भएका व्यवसायी तिर्थ लामाले राजधानीसँग भने, ‘ म स्वयंम व्यवसायी भएकाले अब निर्माण व्यवसाय प्रवद्र्धन अनुकुलको नयाँ संविधान निर्माणकालागि प्रयत्न गर्ने छु’ । 

चुनावमा उठेका ४ वैदेशिक रोजगार व्यवसायी मध्ये गुरुङ मात्र विजयी , लिम्बू, तामाङ र श्रेष्ठ पराजित

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ८ मंसिर
गत ४ मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका ४ जना वैदेशिक रोजगार व्यवसायी मध्ये एकजनाले विजयी हाँसिल गरेका छन भने तीन जनाले सफलता पाउन सकेका छैनन् ।   
प्रत्यक्षतर्फ विभिन्न दलबाट उठेका व्यवसायी मध्ये नेपाली काँग्रेसका तर्फबाट मनाङ जिल्लाबाट टेकबहादुर गुरुङ विजयी भएका छन । मुलुककै सबैभन्दा कम मतदाता भएको र जिल्लाभर एउटा मात्र क्षेत्र रहेको हिमाल पारीको जिल्ला मनाङमा वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङले १ हजार ५ सय २७ मत ल्याएर विजय हाँसिल गरेका हुन । राप्रपा नेपालका तर्फबाट उठेका अर्का पर्यटन व्यवसायी भुजुङ गुरुङ र राप्रपाका त्रिपाल गुरुङबीच भएको तिब्र प्रतिस्पर्धामा वैदेशिक रोजगार व्यवसायी टेकबहादुरले ६ सय १६ मत बढी ल्याएर विजयी भएका हुन । उनीसँगै दोस्रो स्थान हासिल गरेका राप्रपाका त्रिपाल गुरुङले ९ सय ११ मत ल्याएका थिए भने तेस्रो स्थान हासिल गरेका ठमेल स्थित मनाङ होटलका सञ्चालक भुजुङ गुरुङले जम्मा ४ सय ५० मत मात्र ल्याएका थिए ।  
वैदेशिक रोजगारीकौ क्षेत्रमा देखिएका समस्यालाई आफ्नो पार्टीको तर्फबाट पनि केही गर्न सकिन्छ भन्ने उदेस्यले नेपाली कांग्रेसले मनाङ जिल्लाबाट हिमाल मेनपावर सभिर्सेजका प्रबन्ध निर्देशक टेकबहादुर गुरुङलाई प्रत्यÔ उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको थियो । वैदेशिक रोजगार व्यवसायी गुरुङले तिब्र प्रतिस्पर्धाको बाबजुत पनि नेपाली काँग्रेस पार्टीबाट सजिलै जित्न सफल भएका हुन् । कांग्रेस मनाङ जिल्लाको सभापतिसमेत रहेका व्यवसायी गुरुङ विगतदेखि नै नेपाली कांग्रेसमा सक्रिय थिए ।
दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उठेर वैदेशिक रोजगारीको क्षेत्रलाई माथी उकास्ने उदेस्यकासाथ चारजना वैदेशिक रोजगार व्यवसायी चुनावी मैदानमा उत्रिएका थिए । संविधान सभामा व्यवसायीको हक अधिकार स्थापित गर्न नेकपा एमालेले तीन र कांग्रेसले एक जना व्यवसायीलाई निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएर उठाएको थियो । एमालेले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बूलाई झापा क्षेत्र नं. ५ बाट उम्मेदवार बनाएको थियो । लिम्बुलाई झापा क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसका केशवकुमार बुढाथोकीले जम्मा २ सय ४० मतले उछिनेर हराएका हुन । सो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका बुढाथोकीले १६ हजार ५ सय ८७ मत ल्याएर विजयी भएका छन भने व्यवसायी लिम्बुले १६ हजार ३ सय ४७ को झिनो मतले मात्र हारेका हुन । मतगणनाको अन्तिम परिणाम सार्वजनिक नभएसम्म वैदेशिक रोजगारी व्यवसायीबीच झापा क्षेत्र नं. ५ बाट लिम्बुले नै चुनाव जित्ने आँकलन गर्दै आएका थिए । तर अन्तमा आएर व्यवसायीको सो आँकलन पुरा हुन सकेन ।   नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यÔ एवं ग्लोबल एलायन्स कन्सल्टेन्सी मेनपावरका अध्यÔ लिम्बूलाई एमालेले सर्वसम्मत रूपमा सो क्षेत्रमा प्रत्यक्ष तर्फको उम्मेदवार उठाएको थियो ।
यसैगरी, चितवन क्षेत्र नं. ५ मा वैदेशिक रोजगार व्यवसायी संघकै पूर्वअध्यÔ एवं अराउन्ड द वल्र्ड सभिर्सेज प्रालिका प्रबन्ध निर्देशक दानबहादुर तामाङ एमालेबाट उठेका थिए । तामाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उठेका निर्माण व्यवसायी विक्रम पाण्डेले २ हजार ३ सय ७५ मतले उछिनेर चुनावी प्रतिस्पर्धामा हराएका हुन । कालिका कन्स्टक्सनका अध्यक्ष पाण्डेले १० हजार ७ सय ७९ मत ल्याएर चितवन क्षेत्र नं. ५ बाट विजयी हाँसिल गरेका छन । सो निर्वाचन क्षेत्रमा वैदेशिक रोजगार व्यवसायी तामाङले ८ हजार ४ सय ४ मत ल्याएर दोस्रो स्थानमा थिए भने एकिकृत माओवादीका नेता अमिक शेरचनले जम्मा ४ हजार १ सय ५१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । सो क्षेत्रमा वैदेशिक रोजगारीको क्षेत्रबाट निकै लोकप्रियता कमाएका भएपनि निर्वाचित नभएका व्यवसायी तामाङ नेपाल भलिबल संघका केन्द्रीय अध्यÔ पनि हन् ।
यसैगरी, एमाले पार्टीकै तनहुँ क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ चुनावी मैदानमा उत्रिएका वैदेशिक रोजगार व्यवसायी कृष्णकुमार (किसान) श्रेष्ठले पनि सफलता पाउन सकेनन । नेपाली काँग्रेसका पार्टी उप सभापति एवं बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भएको तिब्र प्रतिस्पर्धामा उनले दोस्रो स्थान हासिल गर्न सफल भएका छन । तनहुँ क्षेत्र नं. २ मा भएको तिब्र प्रतिस्पर्धामा काँग्रेस नेता पौडेलले ६ हजार ४ सय १० मतले श्रेष्ठलाई उछिनेर विजयी भएका हुन । सो क्षेत्रमा निर्वाचित भएका पौडेलले कुल १८ हजार १ सय ४९ मत ल्याएका थिए भने दोस्रो स्थान हासिल गर्न सफल व्यवसायी श्रेष्ठले ११ हजार ७ सय ३९ मत ल्याएका थिए । यसैगरि सोही क्षेत्रमा तेस्रो स्थानका एकिकृत माओवादीका ओमराज आलेले जम्मा ४ हजार ४ सय ९३ मत मात्र ल्याएका थिए ।  यसपालीको निर्वाचनमा निकै प्रयास गर्दा झिनो मतले हारेर असफलता हातलाए पनि वैदेशिक रोजगारी क्षत्रेको योगदानलाई कदर गर्दै र पार्टी  र समाज सेवामा खेलेको भूमिकालाई समेत मूल्यांकन गरी एमालेले व्यवसायीहरु लिम्बू, तामाङ र श्रेष्ठलाई प्रत्यक्षतर्फको चुनावी मैदानमा उतारेको थियो । 
रेमिट्यान्सको माध्यमबाट मुलुकको अर्थतन्त्र मजबुत बनाउन योगदान दिए पनि वैदेशिक रोजगारीको Ôेत्रमा देखिएका समस्या समाधानका लागि अझै कहिँकतैबाट ठोस पहलकदमी नभइरहेको बेला यी व्यवसायीले प्रत्यक्षतर्फबाट चुनाव जिते भने धेरै राम्रो गर्ने अपेक्षा व्यवसायीको थियो । तर, अहिले उनीहरुको अपेक्षा पुरा हुन सकेन । चुनावी मैदानमा उत्रिएका यी व्यवसायीहरूले वैदेशिक रोजगार व्यवसायीले दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्न पाए स्वभाविक रुपमा नै मुलुकको अर्थतन्त्रको मेरुडण्डको रूपमा रहेको वैदेशिक रोजगार Ôेत्रका विÈयमा आवाज बुलन्द हुने बताउँदै आएका थिए । चारजना मध्ये एकजना विजयी भएपनि अब वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या केही हदसम्म सम्बोधन हुने अधिकाँश व्यवसायीको  अपेक्षा छ । 

पर्यटन व्यवसायीको अपेक्षा संविधान लेखन र आर्थिक क्रान्ति

काठमाडौं, ७ मंसिर –गत मंगलबार सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनपछि विभिन्न संगठनमा आबद्ध  पर्यटन व्यवसायीले संविधान लेखन र आर्थिक क्रान्तिको अपेक्षा गरेका छन् । निर्वाचनपछि अहिले उनीहरू पर्यटन विकास हुनेमा आशावादी नै देखिएका छन् । इतिहासमै सबैभन्दा बढी उत्साहपूर्वक मतदान गरेर अहिले धमाधम मुलुकभरका मत परिणामको नतिजा सार्वजनिक भइरहँदा व्यवसायीले यस्तो अपेक्षा गरेका हुन । ट्राभल व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट) ले बिहीबार विज्ञप्तिमार्फत व्यवसायीको अपेक्षाबारे जानकारी गराएको हो ।
नाट्टाले ४ मंसिरमा नेकपा–माओवादीलगायत ३३ दलीय मोर्चाले निर्वाचन विथोल्न गरेको १० दिने यातायात बन्दका बाबजुत पनि मुुलुकभर एकैसाथ अत्यन्तै उत्साहजनक, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न निर्वाचनपछि व्यवसायीलाई अब छिट्टै पर्यटनमैत्री संविधान बन्ने अपेक्षा गरिएको उल्लेख छ । नाट्टाका अध्यक्ष पवित्रकुमार कार्कीद्वारा जारी विज्ञप्तिमा मुलुकमा व्याप्त लामो बन्द र चक्काजामका बाबजुद आम–निर्वाचन सम्पन्न गराउन जनमानसमा स्वतः स्पूmर्तरूपमा देखा परेको उत्साह स्तुत्य रहेको र यसरी नै राष्ट्रिय मुद्दाहरूमा सम्पूर्ण नेपाली जनता गोलबद्ध हुँदै गएमा राष्ट्र विकासका कामहरू द्रुत हँुदै जाने सुनिश्चित देखिएको उल्लेख छ । यसैगरी,  विगतको द्वन्दकालमा मुलुकको पर्यटन उद्योगले भोग्नुपरेका यावत् पीडा बिर्संदै शान्ति स्थापनापश्चात् यस क्षेत्रमा केही सुधारका संकेत देखिँदै आएको सन्दर्भमा अब मुलुकले संविधान लेखनका साथै राजनीतिक स्थायित्व पाउँदै जाने र तोकिएकै समयभित्र सम्पूर्ण देशवासीको चाहना प्रतिविम्बित हुने गरी नयाँ नेपालको नयाँ संविधान लेखिने र मुलुकमा लामो समयदेखि अपेक्षा गरिएको पर्यटन विकासका माध्यमबाट सहमति एवं सहकार्यका आधारमा मुलुक आर्थिक क्रान्तिमा होमिँदै जाने पर्यटन व्यवसायीको अपेक्षा भएको पनि नाट्टाले जनाएको छ । 
राजनीतिक स्थायित्व र आर्थिक विकासको मुख्य आधार नयाँ संविधान तोकिएको समयमा बन्ने अपेक्षा हुँदाहुँदै पनि अहिले एकीकृत माओवादीले गरेको मतगणना बहिष्कारले भने अझै आफूहरूको आशामा अन्योल उत्पन्न भएको पर्यटन व्यवसायीको भनाइ छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पनि संविधानसभा निर्वाचन सम्पन्न भएकामा खुसी व्यक्त गरेको छ । टान अध्यÔ रमेश धमलाले चुनाव सम्पन्न भए पनि मतगणनाका क्रममा एमाओवादीले देखाएको असहमतिले फेरि  नेपालको पर्यटन उद्योगमा अपेक्षाकृत विकास हुन्छ भन्नेमा व्यवासयी आशावादी नभएको बताए । उनले माओवादीको असमतिकै कारण अझै आर्थिक क्रान्तिका लागि सहमतिको प्रयासमा केही तुषारापात भएको बताए । एमाओवादीले मतगणना स्थल छाडेर जानुले नेपाली राजनीति पुनः अप्ठ्यरो बाटोमा हि“ड्न लागेको आशंकाले भने पर्यटन व्यवसायीलाई चिन्तित बनाएको उनको भनाइ छ ।  होटल एसोसियसन अफ नेपाल (हान) का अध्यÔ श्यामसुन्दरलाल कÔपतिले पनि गत मंगलबार निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनले धेरै आशा जगाउने काम गरेको बताए । अहिले राजनीतिक शून्यता तोडिएको उनको भनाइ छ । उनले चुनावभन्दा पहिले नेकपा माओवादीको ३३ दलीय मोर्चाले चुनाव बिथोल्छ कि भन्ने चिन्ता रहेकामा निर्वाचन अनुमान गरिएभन्दा निकै उत्साह र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै कÔपतिले भने, ‘अब चुनावपछि बाहिर बसेको पÔलाई मिलाउनुपर्छ भन्ने लागेको थियो । तर, अहिले चुनावभन्दा पहिलेका ठूला पार्टीले नै यसरी मतगणना बहिष्कार गरेर जनमतको उपेक्षा गर्नु राम्रो होइन ।’ उनले पनि एमाओवादीले पछिल्लो समय देखाएको यस्तो क्रियाकलापले नयाँ सरकार गठन र संविधान निर्माणमा केही समस्या पर्ने बताए । मुलुकमा स्थायी शान्ति र स्थिरता नहुन्जेल पर्यटन विकासको कल्पना गर्न नसकिने भन्दै उनले एमाओवादीको असहमतिका गतिविधिले पनि पर्यटनमा गम्भीर प्रभाव पर्न सक्ने बताए ।

यातायात बन्द र निर्वाचनले सुनसान राजधानीका रेस्टुरेन्ट सामान्य बन्दै

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ५ मंसिर
नेकपा–माओवादी लगायत ३३ दलिय मोर्चाले गरेको १० दिने यातायात बन्द र निर्वाचनका कारण केही दिन सुनसान भएको राजधानीका रेस्टुरेन्ट बुधबारदेखि सामान्य बन्दै गएको छ ।   दोस्रो संविधानसभा निर्वाचनमा भाट हाल्न राजधानीबाट धेरै मान्छे बाहिरिएपछि यहाँका साना होटल एवं रेस्टुरेन्ट विगत केही दिन देखि सुनसान भएका थिए । निर्वाचनको समय नजिकि“दै गर्दा गाउ“–गाउ“मा चहलपहल बढे पनि राजधानीका रेस्टुरा“हरुमा भने चिया समेत पाकेको थिएन । जसका कारण त्यसबेला व्यवसायीले सुनसान भएको रेस्टुरेन्ट केही समय मात्र खोलेर बसिरहेका थिए ।  ४ मंसिरको निर्वाचनकै लागि विभिन्न दलका नेता–कार्यकर्ता एवं  शुभचिन्तकहरु गाउ“ गएपछि राजधानीका रेष्टुरा“मा चहलपहल घटेको व्यवसायीहरुले जानकारी दिएका छन । उनीहरु विगत एक महिना अघिसम्म निर्वाचनका लागि टिकट लिन गाउ“–गाउ“बाट नेता–कार्यकर्ता ओइरि“दा राजधानीका रेस्टुरा“ खचाखच भरिएका थिए । अहिले सो अवस्था फेरिएको अधिकाँश व्यवसायीहरुको भनाई छ । उनीहरुले निर्वाचनकालागि जनमत जित्न उम्मेदवार भोट माग्न र मतदाता भोट दिन गाउ“ गएपछि अहिले राजधानीमा सञ्चालित स– साना होटल तथा रेस्टुरा“को व्यापार घटेको जानकारी दिएका छन । 
गोंगबु स्थित नार्गाजुन रेस्टुरेन्टका सञ्चालक ज्ञानेन्द्र श्रेष्ठले गत साता देखि नै ग्राहक आउने क्रम निकै घटेपनि अहिले बिस्तारै सामान्य बन्दै गएको बताए । उनले अझै मुलुकभरका निर्वाचनको मत परिणामको नतिजा नआउन्जेलसम्म यहाँका रेस्टुरेन्टमा   ग्राहकको भिड नहुने जानकारी दिए । यसैगरि ठमेल स्थित ग्लेन्चि रेष्टुरेन्टका सञ्चालक कृष्ण मानन्धरले पनि पहिले दैनिक ८०–९० हजार रुपैया“सम्म कारोबार हुने यस रेष्टुरेन्टमा अहिले १२ हजार रुपैया“को कारोबार हुन पनि मुस्कील भईरहेको बताए ।
मुलुकभरका रेस्टुरेन्ट व्यवसायीको छाता संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल ( रेवान) का अध्यÔ तेजेन्द्रनाथ श्रेष्ठले निर्वाचनमा धेरै मान्छे आ–आफ्ना गृह जिल्ला गएको र दसैंदेखि गाउँ पुगेका पनि अझै नआईसकेकाले विगत केही दिनदेखि सुनसान राजधानीका रेष्टुरा“ विस्तारै सामान्य उन्मुख भएको बताए । उनले अहिले राजनीतिक दलका नेता–कार्यकर्ता मात्रै नभएर उपत्यकाबाहिर घर भएका धेरै ग्राहक गाउ“मै रहेकाले यहाँका रेस्टुरा“ सुनसान भएको बताए ।  नेकपा–माओवादी सहित ३३ दलीय मोर्चाले गत २५ कात्तिकदेखि गरेको  १० दिने यातायात बन्द र मुलुकका विभिन्न ठाउँमा श्रृंखलाबद्ध रुपमा भइराखेका बम विस्फोटनका आतंकले पनि यस क्षेत्रमा गम्भिर असर परेको उनले दावी गरे । उनले अहिले यो अवस्था राजधानीमा मात्र भए पनि मोफसलका अन्य शहरहरुमा भने थप चहलपहल बढेको बताए ।
(रेबान) का अनुसार राजधानीमा करिब २ हजार भन्दा बढी रेष्टुरा“ सञ्चालीत छन् । यि रेष्टुरा“ तथा साना होटलहरु एक दिन मात्र बन्द हु“दा ८ देखि १० करोड रुपैया“ नोक्सान हुने सम्बन्धीत व्यवसायीको दाबी छ । माओवादी सहित ३३ दलीय मोर्चाको १० दिने यातायात बन्द मंगलबार साँझ देखि नै सकिएको छ । सोे बन्दले मुलुकको पर्यटन Ôेत्र समेत निकै प्रभावित भएको अधिकाँश पर्यटन व्यवसायीको भनाई छ ।  पर्यटनको मुख्य मौसममा भएको निर्वाचन र लामो यातायात बन्दले पर्यटकको चाप घटेकाले यस व्यवसायमा निकै समस्यामा परेको उनीहरुको भनाई छ । ठमेल स्थित अर्थबाउन्ड एक्सपीडिसन ट्रेकिङका अध्यक्ष  एवं मम हटका सञ्चालक राजन सिंखडाले बन्दको त्रासले अमेरिका लगायत विभिन्न मुलुकहरुले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा उच्च सुरक्षा सचेतना अपनाउन गरेको आग्रह (ट्राभल एड्भाइजरी) ले पर्यटक आगमन न्युन हुनुका साथै आएका पर्यटकले पनि बसाई अवधि छोट्याएर फर्किन थालेकाले पर्यटन क्षेत्र नराम्रोसित प्रभावित भएको बताए ।