Tuesday, September 6, 2016

चन्द्रमामा पहिलो पाइला टेक्ने बजले गरे लुम्बिनी भ्रमण

मधुजंग पाण्डे÷राजधानी 
काठमाडौ, २० भदौ चन्द्रमामा पहिलो मानव पाइला टेकेका जीवित अन्तरिक्षयात्री एवं नासाका ६ जना वैज्ञानिकहरुले सोमवार धार्मिक पर्यटकीय गन्तब्यस्थल तथा विश्वशान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको भ्रमण गरेका छन्। आजभन्दा करिब ४७ वर्षअघि चन्द्रमामा पहिलो मानव पाइला टेक्ने एकमात्र जीवित अन्तरिक्षयात्री एवं नासाका बैज्ञानिक बज अल्ड्रिनको नेतृत्वमा नेपाल भ्रमणमा आएका ६ जनाको समुहले लुम्विनीको स्थलगत अवलोकन भ्रमण गरेका हुन् ।

चन्द्रमामा पहिलो मानव पाइला टेक्ने ८७ वर्षीय एकमात्र जीवित अन्तरिक्षयात्री एवं नासाका बैज्ञानिक बजलाई काठमाडौको दरबारमार्गस्थित बेष्ट फ्लाई ट्राभल र एभरेष्ट साइन्स सेन्टरले अहिले नेपालको पर्यटकीय भ्रमण गराएको हो । 
सन् १९६९ मा अपोलो–११ अन्तरिक्ष यान मार्फत अमेरिकी वैज्ञानिक निल आर्मस्टङको नेतृत्वमा ८७ वर्षीय एकमात्र जीवित अन्तरिक्षयात्री बज अल्ड्रिन सहितका नासाको टोली चन्द्रमामा पुगेको थियो । त्यो समयभन्दा केही महिनापछि देखि नै विश्वको सर्बोच्च शिखर सगरमाथाको देस नेपालको पर्यटकीय भ्रमण गर्ने इच्छा राखेका विश्व अन्तरिक्षयात्री एवं नासाका बैज्ञानिक बजको समुहलाई बेष्ट फ्लाई ट्राभल र एभरेष्ट साइन्स सेन्टरले सोमबार बिहान काठमाडौंबाट बुद्ध एयरको नियमित उडान नम्बर–८५१ बाट गौतमबुद्ध विमानस्थल भैरहवा पु¥याएको थियो ।
बेष्ट फ्लाई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले ८७ वर्षिय बृद्ध अन्तरिक्षयात्री बज सहित मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्ष समेत रहेका अर्का वैज्ञानिक अल्ड्रिनका छोरा डा. एन्ड्रयु अल्डिभ, नासाका अध्यक्ष एलिजावेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङले संयुक्त रुपमा मुलुकको धार्मिक पर्यटकीय गन्तब्यस्थल लुम्विनीको अवलोकन भ्रमण गरेको जानकारी दिए । उनले अहिले अन्तरिक्षयात्री बज सहितको अमेरिकी वैज्ञानिकहरुको समुह नितान्त निजी भ्रमणमा नेपाल आएको बताए ।  उनले ती वैज्ञानिकहरुलाई उनीहरुकै चाहना अनुसार नेपाल आएलगत्तै सबैभन्दा पहिले लम्बिनीको पर्यटकीय भ्रमण गराएर भगवान बुद्धको जीवनी र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्विनीको विकासक्रम बारे जानकारी दिएको बताए ।  अन्तरिक्षयात्री बज काठमाडौबाट भैरहवा विमानस्थल पुग्दा समेत त्यहाँको विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरु, रुपन्देहीका सुरक्षा अधिकारी एवं लुम्विनी विकास कोषका पदाधिकारी कसैले पनि पतै पाएका थिएनन्।
बेष्ट फ्लाई ट्राभलका प्रमुख कार्यकारी अधिकृत सापकोटाले बज अल्ड्रिनको समुहले लुम्विनी भ्रमणपछि मंगलबार सुनसरीको अमाहीबेन्हा सीतागन्जस्थित एभरेष्ट साइन्स सेन्टरको अवलोकन भ्रमण गर्ने जानकारी दिए । उनले बजको समुह मंगलबार बिहान बुद्ध एयरको विमानबाट बिराटनगर जाने कार्यक्रम तय भएको बताए ।  उनले पाँच दिने नेपाल भ्रमणमा रहने चन्द्रमामा पहिलो मानव पाइला टेक्ने जीवित अन्तरिक्षयात्री बजको समुहले बिराटनगरबाट काठमाडौ फर्किएपछि बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा  एभरेष्ट साइन्स सेन्टर र बेष्ट फ्लाई ट्राभलको आयोजनामा हुने विशेष कार्यक्रममा भाग लिने बताए । उनले सोही कार्यक्रममाअन्तरिक्षयात्री बजले पहिलोपटक चन्द्रमामा मानव पाइला राख्ने क्रममा भोगेका र नेपाल भ्रमणमा देखिएका आफ्ना अनुभव सुनाउने कार्यक्रम तय भएको समेत जानकारी दिए । आइतबार नेपाल भ्रमणमा आएका सो समुह बिहीबार बेलुका नै अमेरिका फर्किने बताईएको छ । 

कोरियन भाषा परीक्षा उत्तीर्णको स्वास्थ्य परीक्षण ४ असोजबाट, नेपाली प्रशिक्षार्थी कामदार जनवरीदेखि जान थाल्ने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १८ भदौ
वैदेशिक रोजगारीकालागि आकर्षक गन्तब्यमुलुक दक्षिण कोरियामा नेपाली कामदार पठाउन रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत लिईएको कोरियन भाषा परीक्षा उत्तिर्णहरुको स्वास्थ्य परीक्षण आगामी ४ असोजबाट सुरु हुने भएको छ । यसवर्ष सो भाषा परीक्षामा  तीन हजार पाँच सय १७ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । उनीहरुको नामावली रोष्टरमा चढ्नका लागि मेडिकल पास हुुनैपर्नेछ । त्यसपछि उनीहरुले रोजगार आवेदन फारम भर्नुपर्नेछ । लगत्तै उनीहरुको सीप परीक्षण गरिने इपीएस कोरिया शाखाले जनाएको छ  ।
इपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले आगामी असोज ४ पछि तोकिएका सरकारी अस्पतालहरुमा भाषा परीक्षा उत्तिर्ण भएकाहरुको स्वास्थ्य परीक्षण सुरु हुने जानकारी दिए । गत ४ र ५ असारमा ईपीएस मार्फत नेपाली प्रशिक्षार्थी कामदार दक्षिण कोरिया पठाउनकालागि लिईएको भाषा परीक्षाको नतिजा  गत ११ साउनमा प्रकाशीत भएको थियो । सो परिक्षाकालागि यस वर्ष कुल ५७ हजार एक सय २९ जना सहभागी भएका थिए । सन् २०१७ को जनवरीदेखि अहिलेको भाषा परिक्षा उत्तिर्ण भएकाहरु दक्षिण कोरिया जान थाल्नेछन् ।
जसकालागि कोरियाले छनौटको प्रक्रिया असोजपछि सुरु गर्नेछ । दक्षिण कोरियाले नेपाललाई यस वर्ष जम्मा तीन हजार एक सय कोटा मात्र छुट्याएपनि अझ केही थप गरि ३ हजार ५ सय जनालाई भाषा परीक्षा उत्तिर्ण गराएको छ । यसवर्षको भाषा परीक्षामा कोरियाले माग गरेको प्रशिक्षार्थी नेपाली कामदार कोटाभन्दा ४ सय १७ जना बढी उत्तिर्ण भएका छन् । जसमध्ये कुल २ हजार एक सय ४० जना कृषि क्षेत्रमा र १ हजार तीन सय ७७ जना उत्पादनमुलक क्षेत्रमा कोरिया जानकालागि  भाषा परिक्षा उत्तिर्ण भएका हुन् । दक्षिण कोरिया र नेपालबीच भएको दुई पक्षिय श्रम सम्झौता अनुसार रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कामदार जाँदा अन्य ठाउँको भन्दा न्युन लागतको खर्च हुने र धेरै आम्दानी गर्न पाउने भएकाले अहिले कोरिया जानेहरुको आकर्षण बढेको हो ।


Saturday, August 27, 2016

ग्राउन्डेड विमान आजबाटै उड्ने, दोब्बर दस्तुर बुझाई सिम्रिकले नबिकरण ग¥यो इजाजतपत्र

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ८ भदौ
समयमा इजाजतपत्र नविकरण नगरि आफ्ना सबै विमान ग्राउण्डेड गराएको निजी वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सले तोकिएको भन्दा दोब्बर दस्तुर बुझाएर इजाजत पत्र नविकरण गरेको छ । सिम्रिकले विविध कारणले नविकरणमा ढिलाई हुन गएको भन्दै एकपटककालागि दोब्बर दस्तुर बुझाएर भएपनि नविकरण गरिदिन सरकार समक्ष आग्रह गरेको थियो।  सिम्रिकको सो आग्रह सहितको निवेदनमाथि बुधबार बसेको मन्त्रीपरिषदको बैठकले एकपटकका लागि मात्र नविकरण गरिदिने निर्णय गरेसँगै विगत दशदिनदेखि सबै विमान ग्राउन्डेड भएका विमान पुनः सञ्चालनमा आउने भएको छ । सिम्रिकले अहिले इजापतपत्र नविकरण भएकाले आफ्ना सबै ग्राउन्डेड विमानहरु बिहीबारदेखि नै उड्ने बताएको छ ।
यहाँको हवाई उड्डयन नियम अनुसार सिम्रिकको इजाजत पत्र २०७२ साल वैशाखमै  नविकरण गरिसक्नु पर्ने थियो । उसले आफ्नो इजाजतपत्र नविकरण गर्नुपर्ने अन्तिम म्याद समाप्त भएको १ वर्ष ४ महिना नाघिसकेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लिएको इजाजतपत्र नविकरण नभएका कारण उडान अनुमतीपत्र (एओसी) नविकरण गरेको थिएन । सोही कारण गत ३० साउनदेखि सिम्रिकका विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएका हुन । गत २९ असारमा एक महिनाकालागि प्राधिकरणले सिम्रिकको एओसी नविकरण गरेको थियो । तर गत ३० साउनबाट थप भएको एओसी नविकरणको समय समेत सकिएको र पुनः नकिवरण गर्नकालागि प्राधिकरणले नमिल्ने बताएपछि सिम्रिकका सवै विमान ग्राउन्डेड भएका थिए ।

Wednesday, August 17, 2016

इजाजतपत्र नविकरणमा ढिलाईले सिम्रिकका सबै विमान ग्राउण्डेट

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३१ साउन
निजी क्षेत्रको लगानीमा सञ्चालित आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सले समयमा इजाजत–पत्र नविकरण गर्न नसकेका कारण आफ्नो सबै उडान सेवा बन्द गरेको छ । नियमित उडान सेवा गत शनिबारदेखि नै बन्द भएपछि अहिले सिम्रिकका सबै विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा ग्राउण्डेट भएको छ । चार वटा फिक्सविङ्ग विमान मार्फत नियमित र चाटर्ड उडान भर्दै आइरहेको सिम्रिक एयरलाइन्सले संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट लिएको इजाजतपत्र समयमै नविकरण नगरेका कारण अहिले सबै विमान विमानस्थलमा ग्राउण्डेट भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्यले सिम्रिकले समयमा आफ्नो इजाजतपत्र नविकरण नगरेकै कारण अहिले उसका सबै उडान रोकिएको बताए । उनले यस मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हवाई उडान अनुमतिकालागि लिएको इजाजतपत्र नविकरण नभएसम्म यात्रु विमा र जहाजको विमा दावी समेत नपाउने भएकाले सिम्रिक आफैंले सबै विमान ग्राउण्डेट गराएको हुन सक्ने बताए । उनले इजाजतपत्र नविकरण भएपछि उसले तत्काल नियमित उडान सञ्चालन गर्ने बताए ।
सिम्रिकले ४ वर्षअघि मन्त्रालयबाट लिएको हवाई उडान अनुमति इजाजतपत्रको म्याद एक महिना अघि सकिएको थियो । मन्त्रालय स्रोतका अनुसार, त्यसताका सिम्रिकलाई गैर सैनिक हवाई उडान नियमन गर्ने निकाय नेपाल नागरिक उडड्यन प्राधिकरणले एक महिनाकालागि समय दिएको थियो ।
‘एक महिनाभित्र मन्त्रालयलबाट इजाजतपत्र नविकरण गछौं भनेपछि एक महिनाकालागि मात्र उडान सञ्चालनको पत्र बनाइदिएको जानकारी गराउँदै प्राधिकरण स्रोतले भन्यो, ‘सिम्रिकले अहिलेसम्म इजाजतपत्र नविकरण गरिसकेको रहेन छ , उसले एक्कासी शनिबारदेखि आफैं सबै उडान बन्द गरि विमान ग्राउन्डेड गरेको खबर पायौं’।  प्राधिकरणका अनुसार अहिलेसम्मको नियम बमोजिम पर्यटन मन्त्रालयको हवाई उडान अनुमतिपत्र बिना नागरिक उड्डयनसँग सम्वन्धित कम्पनी सञ्चालन गरी हवाई यात्रु र कार्गो ओसार–पसार गर्नु अवैध मानिन्छ ।
सिम्रिक एयरलाइन्ससँग हाल दुइटा डोर्नियर र दुइवटा बिचक्राफ्ट गरी चारवटा विमान आन्तरिक उडानमा सञ्चालित छन् । यी विमानबाट सिम्रिकले काठमाडौबाट पोखरा, जोमसोम, भैरहवा, लुक्ला, सिमरा र माउन्टेन (पर्वतीय) गरी दैनिक करिब २८÷३० वटा नियमित एवं चाटर्ड उडान भर्दै आएको थियो ।
सिम्रिक एयरलाइन्सले सोमबार विज्ञप्ति जारी गरि अहिले आफ्ना सबै जहाज ग्राउण्डेट हुनुमा गत वर्ष गएको विनासकारी भूकम्पका कारण र भर्खरै सरकार परिवर्तन भएको कारण पर्यटन मन्त्रालयको इजाजतपत्र समयमै नविकरण नभएको बताएको छ ।   विगत ७ वर्षदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण सुरक्षा सम्बन्धी मापदण्डहरु एफएए र इएसए द्धारा निर्देशित सँधै अक्षरस पालना गर्दै भएको भएपनि अहिले आएर विविध कारणले केही समय इजाजतपत्र नविकरण गर्ने कार्यमा ढिलाई भएको भन्दै उसले विज्ञप्ति मार्फत अहिले केही दिनकालागि मात्र आफ्ना जहाज ग्राउन्डेट भएको स्पष्ट्र पारेको छ । अब नयाँ पर्यटनमन्त्री आउने वित्तिकै इजाजतपत्र नविकरण गरि छिट्टै आफ्नो सेवा सुचारु गर्दे प्रतिवद्धता जनाएको छ ।
सिम्रिकले पर्यटन मन्त्रालयलमा आवश्यक पर्ने सबै कागजात पु¥याइसकेकाले नयाँ पर्यटन मन्त्री नियुक्ति भएपछि नविकरण हुने दाबी गरेको छ । ‘पहिलेकै मन्त्रीकै कार्यकालमा  नविकरणकालागि आवस्यक सबै काम हुँदै थियो, एकाएक सरकार परिवर्तन भएपछि आफ्नो इजाजतपत्र नविकरणको काम रोकिएको सिम्रिक एयरलाइन्सले जनाएको छ । उसले मंगलबार मन्त्रिपरिषद विस्तार भए बुधबारदेखि आफ्नो उडान शुचारु हुने दावी गरेको छ ।
हाल मुलुकमा हवाई उडानसँग सम्वन्धित इजाजपत्र दुईवटा निकायले मात्र दिन्छ । पर्यटन मन्त्रालय र प्राधिकरणले दिने दुई वटा इजाजतपत्र अनिवार्य हुन्छ । मन्त्रालयले दिने राष्ट्रिय इजाजत हो भने प्राधिकरणले दिने एयर अपरेटर्स सर्र्टििफकेट (एओसी) अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डमा आधारित भएर दिइने इजाजतपत्र हो । सो इजाजतपत्र विना कुनैपनि कम्पनीले नेपाली आकासमा विमान उडाउन पाउने छैन । यदि जर्बरजस्ती उडाएमा त्यो कानुन विपरित हुने प्राधिकरणले जनाएको छ ।

साउदीले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध हटायो , नेपालीको माग ह्वात्तै घट्ने व्यवसायीको अनुमान


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३० साउन
नेपाली कामदारकालागि आकर्षक गन्तब्य मुलुक साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ ।  विगत ६ वर्ष देखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले पुनः बंगलादेशबाट आफ्नो मुलुकमा कामदार लिन लागेको हो ।
विभिन्न देसबाट गएका आप्रवासी कामदार घटाउँदै लैजाने नीतिकाबीच बंगलादेशबाट कामदार लिने साउदीको यस नयाँ निर्णयले नेपाली कामदारको माग ह्वात्तै घट्न सक्ने सम्बन्धीत व्यवसायीहरुको भनाई छ ।  उनीहरुका अनुसार बंगलादेशी कामदारपनि नेपाली कामदार भन्दा न्युन पारिश्रमिकमा खाडी जाने गरेका छन् । जसकारण साउदी अरेबियाका रोजगारदाता कम्पनीले बंगलादेशी कामदारलाई प्राथमिकता दिएमा नेपाली कामदारको माग निकै घट्न सक्ने ति व्यवसायीहरुको भनाई छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले बंगलादेसको यस नयाँ निणर्यले अब नेपाली कामदारको माग करिब ७५ प्रतिशत भन्दा बढीले घट्न सक्ने अनुमान गरिएको बताए । उनले अब विशेषगरि नेपाली सुरक्षा गार्डको माग निकै घट्ने दावी गरे । बंगलादेशी कामदार जम्मा सु्ख्खा ७ सय रियालमा नै काम गर्न तयार हुने जानकारी गराउँदै संघका महासचिव गुरुङले भने, ‘ नेपाली सुरक्षा गार्डलाई अनियार्व हवाई टिकट सहित ८ सय रियाल र त्यसमाथी २ सय गरि एक हजार साउदी रियाल दिनु्पर्ने भएकाले बंगालीको माग स्वतः बढ्ने देखिन्छ’। उनले बंगलादेशका कामदारले हवाई टिकट आफैं काटेर जाने भएपनि हाल नेपाली कामदार जाँदा अनिवार्य निःशुल्क भिषा र हवाई टिकट दिनुपर्ने व्यवस्थाले आगामी  वर्ष साउदीकालागि नेपालीको माग हवात्तै घट्ने बताए ।   साउदीको रोजगारीमा नेपाली कामदारको माग घट्न सक्ने सम्भावनाप्रति नेपाल सरकार गम्भिर नभए अब साउदीको सुरक्षा गार्डमा बंगाली लगायत सबै अफ्रिकी मुलुकहरुबाट मात्र आपुर्ति हुन सक्ने अनुमान गरिएको बताए । उनले अब साउदीले बंगलादेश, भारत र पाकिस्तानबाट नेपाली भन्दा बढी कामदार लैजान सक्ने सम्भावनाप्रति सरकारले बेलैमा सचेतना अपनाउनुपर्ने धारणा राखे ।  
गत जुनमा बंगलादेशका प्रधानमनत्री शेख हसिना र साउदीका राजा शेख सलमानबीच भएको बार्तामा साउदी अरेबियाले बंगलादेशी कामदारलाई पुनः मौका दिने सहमति भएको थियो । साउदीको यस नयाँ निर्णयपछि अब बंगलादेशका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार सहित डाक्टर, नर्स, होटल एवं कारखानाभित्र काम गर्ने औधोगिक मजदुर, लगायतले पुनः साउदीमा वैदेशिक रोजगारीकालागि श्रम स्वीकृति लिएर जान पाउने भएका छन् ।
हाल साउदी अरेबियामा रहेका करिब १३ लाख घरेलु कामदार मध्ये अझै पनि ६० हजार बंगलादेशी महिला कामदार रहेका छन् । गत जुनदेखि साउदीले पुरुष घरेलु कामदारका लागि पनि भिसा दिन सुरु गरेको थियो । अब भने सबै कार्य क्षेत्रमा बंगलादेशबाट साउदीले कामदार लैजान थाल्ने सम्बन्धीत व्यवसायी एवं सरोकारवालाहरुको भनाई छ ।

Saturday, July 9, 2016

सिम्रिकले ग¥यो अमेरिकी वायुसेवासँग अन्तर्राष्ट्रिय उडानको सम्झौता

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ असार
आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सले अमेरिकी वायुसेवासँगको सहकार्यमा अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । संयुक्तराज्य अमेरिकाको वायुसेवा कम्पनी सफायर ग्लोबल एयरवेज सँगको सहकार्यमा सिम्रिकले अन्तर्राष्ट्रिय उडान भर्ने सम्झौता गरेको हो । शुक्रबार भएको सो सम्झौतापत्रमा सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र सफायर ग्लोबल एयरवेजका अध्यक्ष क्याप्टेन राहुल एस पुरानिकले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् । सिम्रिक इन्टरनेसनल कार्गो एयरलाइन्स र सफायर ग्लोबल एयरवेजको संयुक्त लगानीमा नेपालबाट यस वायुसेवा सञ्चालन हुने गरी दुईपक्षीय सम्झौता भएको हो ।
सिम्रिकसँग भएको सम्झौतापत्रमा उल्लेख भएअनुसार यस वायुसेवाले नेपालमा यात्रु उडान नभएर कार्गो उडान गर्ने भएको छ । आगामी एक वर्र्षिभत्रमा दुईवटा बोइङका ७७७–वाइवडवडी विमानमार्फत कार्गो उडानसमेत भर्ने जानकारी राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा अमेरिकी वायुसेवा कम्पनी सफायरका अध्यक्ष राहुलले गराए ।
उनले नेपालमा कार्गो उडानको राम्रो सम्भावना भएकाले आफ्नो कम्पनीले यहाँको आन्तरिक वायुसेवा कम्पनी सिम्रिक सँगको सहकार्यमा काठमाडौं उडान भर्न चाहेको बताए । उनका अनुसार यस वायुसेवाले १५ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । करिब १६ अर्ब रुपैयाँको लगानीमा सञ्चालन हुने यस उडानमा ७० प्रतिशत सफायरको र ३० प्रतिशत सिम्रिकको हुने बताइएको छ । त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थललाई मुख्य आधार बनाएर उडान भर्ने यस नयाँ वायुसेवाले विस्तारै हाल निर्माणाधीन अवस्थामा रहेका पोखरा, भैरहवा र निजगढ अन्तर्र्रािष्ट्रय विमानस्थलमा समेत उडान सेवा विस्तार गर्ने योजना बनाएको सिम्रिक एयरलाइन्सले जनाएको छ ।
सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सिम्रिक गु्रपले कार्गो उडानबाट अन्तर्र्रािष्ट्रय गन्तव्यमा आफ्नो उडान पहुँच पु¥याउन अमेरिकी वायुसेवा कम्पनी सफायरसँग साझेदारी गरिएको बताए । उनले यात्रु उडानको तुलनामा कार्गो उडानलाई नेपाल सरकारबाट लिने अनुमति पनि सहज हुने बताए । शुक्रबार भएको दुईपक्षीय सम्झौतापछि अब सिम्रिकले अन्तर्र्रािष्ट्रय उडान अनुमतिको प्रक्रियासमेत अघि बढाउने उनले जानकारी दिए ।
सिम्रिकको अमेरिकी वायुसेवा सँगको सहकार्यले नेपालबाट लामो दूरीको गन्तव्यमा उडान भर्न पनि सहज हुने बताइएको छ । अब यस वायुसेवाले उत्तरपूर्वी एसियाका गन्तव्यबाट उडान सुरु गर्ने र विस्तारै युरोपेली मुलुकमा उडान विस्तार गर्दै जाने लक्ष्य लिएको पनि सो कार्यक्रममा जानकारी गराइएको थियो । यो वायुसेवाले कार्गो उडानमा केन्द्रित गर्ने भएपछि सिम्रिकको आन्तरिक उडानको व्यापारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । यात्रु उडानमा सञ्चालित वायुसेवाले यात्रुमा मात्रै केन्द्रित गर्ने र कार्गो उडानलाई कार्गो उडानमा मात्रै केन्द्रित गरी सेवा दिने गर्छ । यस वायुसेवाले गर्ने कार्गो उडान भने नियमति उडान नभएर चार्टर हुने बताइएको छ ।
सिम्रिकसँग सहकार्य गरेको यस सफायर वायुसेवा अमेरिकाको स्वानी ग्रुप अफ कम्पनीको भगिनी संस्था हो । यस कम्पनी सन् १९९८ देखि सञ्चालित कम्पनी हो । स्वानी ग्रुपले हवाईसेवासँगै विगत १८ वर्षदेखि सफलताका साथ रियल स्टेट, हस्पिटालिटी, कन्ट्रक्सन वेभरेज लगायतमा पनि आफ्नो व्यवसाय केन्द्रित बनाउँदै आएको छ ।
अहिले नेपालमा हवाई कार्गोको माग उच्च रूपमा बढ्दै गइरहेकाले यसतर्फ व्यवसाय केन्द्रित गरिएको सिम्रिक र सफायरको संयुक्त विज्ञप्तिमा उल्लेख छ । सिम्रिक ग्रुपअन्तर्गत हाल सिम्रिक एयरलाइन्स, सिम्रिक हेलिकोप्टर सेवाका साथै पर्यटकीय क्षेत्रमा होटल तथा रिसोर्ट रहेका छन् । यसैगरी, यस ग्रुपले पछिल्लो सयम सञ्चार क्षेत्रमा पनि हात हालेको छ ।

आन्तरिक हवाइ भाडा घट्यो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १९ असार
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै आन्तरिक हवाई भाडा पनि घटेको छ । वायुसेवा सञ्चालक संघ–नेपाल(आयोन) ले आन्तरिक उडान तर्फको हवाई भाडा केही घटाउने निणर्य गरेको हो । संघको सो निर्णय अनुसार आन्तरिक वायुसेवा कम्पनीहरुले देसभरका विभिन्न रुटका हवाइ भाडा घटाएका हुन् । संघले हवाई इन्धनको मुल्य घटेपछि सोमबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर कायम गरेको हो । संघका प्रवक्ता घनश्याम आचार्यले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार आइतबार बसेको संघको बैठकले आन्तरिक हवाई भाडा घटाउने निर्णय गरेको बताए । उनले हवाई इन्धनको भाउ घटबढ हुँदा यसअघिदेखि गरिदै आएको स्वचालित मुल्य अनुसार हवाई भाडा पनि सोही अनुरुप समायोजन हुँदै आएको जानकारी दिए  । उनले भाडा घटेपछि आन्तरिक उडान भर्ने यात्रुलाई केही राहात मिलेको बताए ।
संघका अनुसार काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमराकालागि प्रतियात्रु १ सय १५ रुपैयाँ घटाइएको छ ।  यसैगरि, सबैभन्दा टाढाको गन्तव्य धनगढीकालागि ३ सय ८५रुपैयाँ घटाइएको छ । यसैगरी, काठमाडौंबाट हरेक दिन विहानको समय हुँदै आएको माउन्टेन उडानमा प्रति यात्रु ३ सय ७५ रुपैयाँ घटाइएको छ । नेपाल आयल निगमले गत शुक्रबार देखि नै लागु हुनेगरि हवाइ इन्धनको भाउ आन्तरिक उडान तर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर ९९ रुपैयाँ कायम गरेको थियो । निगमले हवाइ इन्धनको भाउ  घटाएपछि आफुहरुले पनि यात्रुलाई इन्धन बापत लिइँदै आएको शुल्क कटौती गर्ने निर्णय गरेको संघले जनाएको छ ।  सिम्रिक एयरलाइन्सका बरिष्ठ बजार प्रवन्धक प्रज्जवल थापाले संघको निणर्य अनुसार आन्तरिक हवाई भाडा घटाईएको बताए । उनले अहिले आन्तारिक उडानमा प्रति यात्रु न्युनतम १ सय ५० देखि ३ सय ७५ रुपैयाँसम्म भाडा घटेको जानकारी दिए  । उनले यस नयाँ भाडादर सोमबारदेखि लाग हुने बताए । उनले आयल निगमले हवाइ इन्धनको भाउ घटाएसँगै आफुहरुले फ्युल सरचार्ज पनि घटाएको बताए ।  जसका कारण हवाइ भाडा केही घटेको उनको भनाई छ ।  उनले आन्तरिक वायुसेवा सञ्चालकहरुले फ्युल  सरचार्ज बढ्दा भाडा बढाउने र घट्दा घटाउने गरिएको बताए ।  निगमले गत शुक्रबार साँझसम्म १ सय ९ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको हवाइ इन्धको मुल्य मध्यरातिदेखि लागू हुनेगरि ९९ रुपैयाँमा झारेको थियो ।
यसअघि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए । संघले प्रतियात्रु प्रतिमिनेटका दरले लामो तथा छोटो दुरीको गन्तव्यका आधारमा हवाई भाडा घटबढ गर्दै आएको छ ।
घटेको नयाँ भाडा दर 
देखि      सम्म    घटेको रकम  नयाँ भाडादर 
काठमाडौं पोखरा १६५   ४२३०
काठमाडौं भैरहवा २०५   ५३००
काठमाडौं बिराटनगर २३५   ६०५५
काठमाडौं भरतपुर १३५   ३०९०
काठमाडौं भद्रपुर २७५   ७३८५
काठमाडौं धनगढी ३८५   १०६०५
काठमाडौं नेपालगञ्ज २९५   ७९५५
काठमाडौं जनकपुर १५०   ३५९५
काठमाडौं माउन्टेन उडान ३७५   ९०१०
काठमाडौं तुम्लिङटार २०५   ४९८५
काठमाडौं सिमरा ११५   २६५०