Wednesday, March 31, 2021

 महंगा गाडी आयातमा लगाइएको प्रतिब्न्ध हट्यो 

अब ५० हजार डलरमाथि धेरै मुल्यका गाडी ल्याउन पाइने

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं

सरकारले महंगा गाडी आयातमा लगाईएको प्रतिबन्ध हटाएको छ । गत वर्ष कोरोना महामारिका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकारले २०७६ सालको १६ चैतदेखि ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका मंहगा गाडी आयातमा रोक लगाउने निर्णय गरेको थियो । 


गत वर्षको ११ चैतदेखि मुलुकमा लकडाउन सुरु भएपछि विदेशी मुद्राको खर्चलाई रोक्न सरकारले महंगा गाडीको आयातमा प्रतिवन्ध लगाएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपषिद् बैठकले ५० हजार डलरभन्दा बढी मूल्यका सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध हटाउने गर्ने निर्णय गरेको हो । मन्त्रालयले सोमबार राजपत्रमा यस्तो सूचना प्रकाशित गरि अब जतिसुकै महंगा गाडीको आयात खुला भएको जानकारी गराएको छ ।  

कोरोना संक्रमणको दर विस्तारै घटेर अहिले वैदेशिक मुद्रा संचितमा सुधार आएसँगै सरकारले एक वर्षपछि महंगा गाडीको आयातमा लगाईएको प्रतिवन्ध  खुला गरेको हो । गत वर्षको ११ चैतमा लकडाउन गरेपछि १६ चैतमा सरकारले ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध लगाएको थियो । अत्यावश्यकीय आयातमा खुकुलो नीति लिएर वैदेशिक मुद्रा मौज्दातमा दबाब पर्ने भएकाले सरकारले महँगा गाडी आयातमा रोक लगाएको जनाएको थियो ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गरी आयातमा लगाइएको प्रतिबन्ध हटाइएको सरकारले जनाएको छ । कोरोनाको विश्वब्यापी प्रकोपका कारण गत वर्ष झण्डै तीनमहिना भन्दा बढी समय नेपाल लगायतका धेरै देशले मुलुक पूर्ण रुपमा लकडाउन गरेका थिए । नेपाली वैदेशिक रोजगारीमा जाने तथा रोजगारदाता मुलुहरुले पनि लकडाउन गरेको र रोजगारी कटौती गर्न थालेपछि सरकारले वैदेशिक आय प्रभावित हुने अनुमान लगाउँदै महंगा गाडी आयात रोक्ने निर्णय गरेको थियो । त्यसबेला सरकारले वैदेशिक मुद्रा संचितिको दर नघटाईकन अत्यावस्यक सामान आयातमा खर्च गर्नकालागि यस्तो महंगा गाडी लगायत विभिन्न विलासिताका बस्तु आयातमा प्रतिवन्ध लगाएको थियो ।  

गत वर्ष लकडाउन सुरु गरेको महिना चैतसम्म कुल विदेशी मुद्रा सञ्चिति ९ अर्ब ४९ करोड डलर थियो । अहिले १२ अर्ब ५७ करोड डलर सञ्चिति छ । यसलाई नेपाली रुपैयाँमा हिसाव गर्दा सो समय ११ खर्ब ५५ अर्ब ९० करोडको वैदेशिक मुद्रा सञ्चिति रहेकोमा अहिले बढेर १४ खर्ब ६२ अर्ब ३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यसबेला यस्तो महंगा गाडी आयातमा प्रतिवन्ध मात्र होइन सरकारले सुन आयातको कोटा पनि घटाएको थियो । दैनिक २० केजी सुन आयात गर्न पाइनेमा सो परिमाण घटाएर १० केजीमा झारेको थियो । त्यसैगरि, सरकारले त्यतिबेला छोकडा, ल्वाङ, सुकमेल जस्ता मसलाजन्य बस्तुको आयातमा पनि प्रतिवन्ध लगाएको थियो । 

विलासिताको बस्तु भन्दै सो समय सरकारले  विदेशी मदिरा आयातमा पनि पूर्ण रुपले प्रतिवन्ध लगाएको थियो । प्रतिवन्धीत मदीराको आयात भने गत दसैअघि मात्र खुलेको थियो । सुन आयातको कोटालाई अझै यथावत राखेको छ । 

प्रतिवन्ध लगाएको एक वर्षपछि यस्तो महंगा गाडी आयातमा लगाईएको प्रतिवन्ध हटेसँगै अब जतिसुकै बढी मूल्यका गाडीहरु आयात गर्न पाइने भएको छ । महंगा गाडी आयातमा पुर्व अर्थमन्त्री डा.युवराज खतिवडा अनुदार देखिएका थिए । त्यही भएर व्यवसायीहरुले पटक पटक माग गर्दा पनि यस्तो सीमा हटेको थिएन । अब महंगा गाडी ल्याउनेलाई फाइदा हुने अनुमान गरिएको छ ।

यसैगरि, सरकारले विभिन्न चार प्रकारका बस्तुको आयात खुला गर्दै निश्चित परिमाण ल्याउन पाउने गरि राजपत्रमा प्रकाशित गरेको छ । दुईसाता अघि मन्त्रिपरिषद् बैठकले मरिच, केराउ, सुपारी र छोकडाको आयात खुला गर्दै परिमाणात्मक बन्देज भने लगाएको थियो । तर, यी वस्तुको आयात गर्ने वार्षिक कोटा भने सरकारले निर्धारण गरिदिएको छ । 

सोमबार प्रकाशित राजपत्र अनुसार चालु आर्थिक वर्ष २०७७÷७८का लागि केराउ ८० हजार टन, सुपारी २५ हजार टन, छोकडा ५ हजार टन र नधुल्याएको मरिच १५ हजार टन ल्याउन पाइने छ । 

सरकारले एक वर्षपछि केराउ, मरिच, छोकडा र सुपारीमा परिमाणात्मक बन्देज लगाउँदै आयात खुला गरेको हो । सरकारले गत वर्ष २०७६ सालको १६ चैतपछिका प्रतीतपत्र (एल्सी) बाट आयात गरिएका यि चारवटै बस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । 

सरकारले गत वर्ष चारवटै वस्तुको आयातमा रोक लगाएपछि बजारमा अभाव र मूल्यवृद्धि चुलिएको छ । गत वर्ष चैतको पहिलो साता सुपारीको मूल्य प्रति केजी ३ सय ५० रुपैयाँ रहेकोमा अहिले ७ सय ५० रुपैयाँ पुगिसकेको छ । गत वर्ष चैत महिनामा हरियो केराउको मूल्य प्रति केजी ७५ रहेकोमा हाल १ सय ३० पुगिसकेको छ । यसैगरि, सेतो केराउको मूल्य प्रति केजी ५५ रुपैयाँबाट १ सय १५ र मरिचको मुल्य प्रति केजी ५ सय ५० बाट ७ सय ५० रुपैयाँ पुगेको छ । त्यसैगरि,राम्रो छोकडाको मूल्य एकवर्षमा प्रति केजी १ सयबाट १ सय ६० रुपैयाँ र कम गुणस्तरको प्रति केजी ४० रुपैयाँबाट ८० रुपैयाँ पुगेको थियो । सम्बन्धीत सरोकारवालाहरुले प्रतिवन्धीत यस्ता बस्तुको आयात हुन थालेपछि अब विस्तारै अहिलेको तुलनामा बजार मुल्य पनि घट्दै जाने अपेक्षा गरेका छन । उनीहरुले आयात बढेसँगै माग कम हुन थालेपछि स्वतः मुल्य घट्दै जाने दावी गरेका छन । 


No comments:

Post a Comment