Wednesday, March 31, 2021

 खराब मौसमले विमानस्थलको उडान प्रभावित

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं 


खराब मौसमका कारण काठमाडौंको हवाई उडान अझै प्रभावित भइरहेको छ । शुक्रबार बिहानदेखि आकाशमा बाक्लो तुवाँलो भरिएर विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको हो ।   खराब मौसमका कारण दुई दिनदेखि विमानस्थलको उडान प्रभावित भएसँगै हवाई यात्रु पनि समस्यामा परेका छन् । मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह्य दुवै उडान दैनिक केही समय प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थल कार्यालयका अनुसार शनिबार बिहान केही अन्तर्राष्ट्रिय उडानका विमान काठमाडांै अवतरण हुन नसकेपछि अन्य विमानस्थलतर्फ डाइभर्ट गर्नुपरेको थियो भने आन्तरिकतर्फ पनि झन्डै एक दर्जन उडान डिले भएका थिए । दिउँसो ३ बजेपछि भिजिबिलिटीको मात्रा केही बढेसँगै रोकिएको उडान सुरु भएको थियो । विमानस्थलबाट शनिबार बिहान प्रस्थानतर्फ केही उडान भए पनि दिउँसो ३ बजेपछि यान्त्रिक पद्धति (आईएफआर)बाट मात्रै उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । महाप्रबन्धक तिवारीका अनुसार विमानस्थलमा भिजिबिलिटी कम भएकाले दिउँसो आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान आईएफआरबाट मात्रै भएको थियो । उनले हवाई सुरक्षाका कारण केही समय विमानस्थलको उडान बन्द गरिएको जानकारी दिए । यसअघि शुक्रबार बिहान केही संख्यामा उडान भए पनि दिउँसो ३ बजेदेखि साँझ साढे ५ बजेसम्म सबै उडान प्रभावित भएका थिए । 

शुक्रबार दिउँसो एक्कासी मौसममा आएको खराबीका कारण विमानस्थलको हवाई उडान साढे दुई घण्टासम्म बन्द गरिएको थियो । विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण विमानस्थलको हवाई उडान केही समय बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ । यन्त्रमा आधारित अवतरण प्रणाली जडान भएका विमानले मौसममा केही सुधार भएपछि उडान–अवतरण गर्न थालेको विमानस्थल कार्यालयले जनाएको छ ।   

खराब मौसमका कारण शुक्रबार तीन बजेदेखि बन्द गरिएको विमानस्थलको हवाई उडान साँझ साढे ५ बजेदेखि सञ्चालनमा आएको थियो । विमानस्थल कार्यालयका अनुसार विमान अवतरणका लागि आन्तरिक उडानका साना जहाजलाई न्यूनतम १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ भने अन्तर्राष्ट्रिय ठूला विमानका लागि २८ सय मिटर भिजिबिलिटीको मात्रा हुनुपर्दछ । आईएफआर (उपकरणको माध्यमबाट हुने उडान तथा अवरतरण) मा पनि भिजिबिलिटीको न्यूनतम ८ सय मिटरसम्म हुनुपर्छ । तर, काठमाडौंमा शुक्रबार र शनिबार त्योभन्दा न्यून भिजिबिलिटी थियो ।  काठमाडौंको आकाशमा प्रदूषणसहितको बाक्लो तुवाँलो फैलिएका कारण हवाई उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । 

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ दैनिक १० वटा हेलिकोप्टरसहित १९ हवाइसेवा प्रदायक कम्पनीले नियमित उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियतर्फ ३ वटा स्वदेशी वायुसेवा कम्पनीसहित ३० वायुसेवा प्रदायक विमानले दैनिक नियमित व्यावसायिक उडान भर्दै आएका थिए । अहिले कोभिड–१९ महामारीपछि भने अन्तर्राष्ट्रियतर्फ जम्मा १९ वटा वायुसेवा कम्पनीले मात्र उडान भरिरहेका छन् । 

शुक्रबार विभिन्न ४ वटा अन्तर्राष्ट्रिय विमान लामो समय आकाशमै होल्ड गर्न बाध्य भएका  थिए । सो समय हङकङबाट काठमाडौं आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल वायुसेवा निगमको विमान, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सको विमानले करिब एक घण्टा आकाशसमै फन्को मार्नुपरेको थियो । भने क्याथे प्यासिफिकको अर्को विमान भारतको दिल्लीतर्फ डाइभर्ट भएको थियो । करिब एक घण्टाभन्दा बढी समय आकाशमा होल्ड गर्न बाध्य भएका हिमालय एयरलाइन्सको विमान, नेपाल वायुसेवाको विमान र एयर इन्डियाको विमानलाई साँझ साढे ५ बजेपछि मात्र काठमाडौं अवतरण गराइएको थियो । यसैगरी, आन्तरिक तर्फका विमान अकाठमाडौंमा अवतरण हुन नसकेपछि अन्यत्र डाइभर्ट भएका थिए । 

शुक्रबार दिउँसो ३ देखि ५ बजेसम्म र शनिबार दिउँसो त्रिभुवन विमानस्थलको धावनमार्गको भिजिबिलिटी जम्मा १ हजार मिटर मात्र रहेको सो कार्यालयले जनाएको छ । आन्तरिक उडान सञ्चालनका लागि आवश्यक भिजिबिलिटीको मात्रा न्यून भएपछि पोखराबाट काठमाडौं आएको यती एयरको विमानलाई जनकपुर पठाइएको थियो । यसैगरी, बुद्ध एयरको पोखरा, जनकपुर र राजविराजबाट आएको तीनवटा विमानलाई पनि सो समय जनकपुर विमानस्थलतर्फ नै डाइभर्ट गराइएको थियो । यसैगरी, नेपालगन्जबाट आएको बुद्ध एयरको अर्को विमानलाई भैरहवा विमानस्थलतर्फ नै पठाइएको थियो । त्यसैगरी, चन्द्रगढीबाट आएको सौर्य एयरको विमानलाई पनि सोही विमानस्थलमा फर्काइएको थियो । सो समय धनगढीबाट काठमाडांै आएको श्री एयरको विमानलाई भैरहवा विमानस्थलतर्फ फर्काइएको थियो । एक्कासी वायुप्रदूषण बढेपछि बन्द भएको अन्तर्राष्ट्रिय विमानस्थलको उडान दिउँसो साढे ५ बजेपछि बिस्तारै सञ्चालनमा आएको थियो ।

विमानस्थल टावर (एटीसी)का अनुसार सो समय काठमाडांैको आकाशमा भिजिबिलिटीको मात्र बढेर १६ सय मिटरभन्दा बढी भएको थियो । भीएफआर उडान तथा अवतरण नभए पनि आईएफआर (उपकरणका माध्यबाट हुने उडान तथा अवरतरण)बाट विस्तारै उडान सुचारु गरिएको थियो ।  

शुक्रबार र शनिबार काठमाडौंको आकाशमा प्रदूषणसहित बाक्लो तुँवालो लागेको थियो  । एक्कासी उपत्यकाको आकाश तुवाँलाले ढाकिएपछि घाम समेत लागेको थिएन । सो समय अन्य दिनको जस्तो हावा पनि चलेको थिएन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको अधिकांशको भनाइ छ । खराब मौसमका कारण विगतका वर्षमा पनि हिउँदको समयमा यस्तै समस्या हुने गरेको भए पनि अहिलेको वर्ष बाक्लो तुवाँलोका कारण दोस्रोपटक हवाई उडान केही समय प्रभावित हुन पुगेको विमानस्थल कार्यालयको दाबी छ । यसअघि गत पुसमा पनि एकदिन यस्तै तुवाँलोले विमानस्थलको उडान प्रभावित भएको थियो । 

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अझै काठमाडांैको आकाशमा बाक्लो तुवाँलो देखिनेक्रम जारी छ ।  


No comments:

Post a Comment