Monday, January 13, 2014

वायुसेवा अनुमति नवीकरणमा कडा सर्त

काठमाडौं,२५पुस
एक विदेशी हवाई विज्ञले औंल्याएका मापदण्ड ६ दिनभित्र पूरा नगरे नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुकका सबै वायुसेवा कम्पनीको वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) अनिश्चितकालका लागि नवीकरण नगर्ने निर्णय गरेको छ। सिंगापुर उड्डयन प्राधिकरणका एओसी विज्ञ एलन ट्याङले पुस १९ देखि २५ सम्म एक साता नेपाल बसेर तयार पारेको मापदण्ड पूरा नगरे उड्डयन प्राधिकरणले सबै वायुसेवाको एओसी नवीकरण नगर्ने निर्णय गरेको हो। ट्याङले नेपाली वायुसेवा कम्पनीका लागि मापदण्डको 'चेकलिस्ट' बनाएर प्राधिकरणलाई दिएका छन्।
'ट्याङको चेकलिस्ट पूरा नगर्ने वायुसेवाको अनुमति प्रमाणपत्र नवीकरण नगर्ने निर्णय भएको छ,' उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले भने, 'यसबारे सबै वायुसेवालाई बिहीबारै पत्राचार भइसकेको छ। उनीहरूले कुनै पनि हालतमा ६ दिनभित्र ट्याङको चेकलिस्ट पूरा गर्नुपर्‍यो।'
सुमनका अनुसार ट्याङको चेकलिस्ट पूरा गरेपछि वायुसेवा कम्पनीले त्यसको जानकारी प्राधिकरणलाई दिनुपर्छ। त्यसपछि प्राधिकरणले सबै अध्ययन गर्छ। 'उनीहरूले पूरा गरेको मापदण्डबारे हामी सन्तुष्ट भयौं भनेमात्र अनुमति नवीकरण हुन्छ, अन्यथा हुँदैन,' उनले भने।
सुमनका अनुसार ट्याङले प्राधिकरणका सबै कागजपत्र, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नेपालसम्बन्धी कागजपत्र, नेपालका सबै वायुसेवा कम्पनीका अनुममति प्रमाणपत्र अध्ययन गरेका थिए। उनले आइकाओको मान्यताअनुसार सबै कागजपत्र अध्ययन गरेका थिए। आइकाओका अडिटरसमेत रहेका ट्याङले त्यसपछि चेकलिस्ट तयार पारेका हुन्।
उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई प्रत्येक वर्ष असार मसान्त तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई प्रत्येक अंग्रेजी वर्षको अन्तिम महिना डिसेम्बरभित्र अनुममति प्रमाणपत्र नवीकरण गर्ने म्याद दिएको छ। तर, पछिल्लो पटक युरोपेली आयोगले उडान सुरक्षाको विषय उठाउँदै नेपालका सबै वायुसेवालाई कालोसूचीमा राखेपछि प्राधिकरण थप कडा नीतिमा उत्रिएको हो।
युरोपेली आयोगले गत मंसिर २० मा नेपालका सबै वायुसेवा कम्पनीलाई युरोपेली युनियन (इयु) अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरिएको 'इयु हवाई सुरक्षा सूची' सार्वजनिक गरेको थियो। त्यसैगरी आफ्ना नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्न पनि आयोगले आग्रह गरेको थियो।
'युरोपको कालोसूचीबाट हट्न पनि अहिले ट्याङले तयार पारेको चेकलिस्ट सबै वायुसेवाले पूरा गर्नुपर्‍यो र प्राधिकरणलाई सन्तुष्ट पार्नुपर्‍यो,' महानिर्देशक सुमनले भने, 'त्यही भएर अनुमति प्रमाणपत्रको पुरानो म्याद हटाएर नयाँ समय दिएका हौं। माघ १ भित्र चेकलिस्ट पूरा गरेकै हुनुपर्छ।'
ट्याङले तयार पारेको चेकलिस्टमा आइकाओको मान्यताअनुसार संगठनात्मक संरचना छ/छैन, दक्ष जनशक्ति, तालिम उपलब्ध छ/छैन, उडान सुरक्षा अधिकारी तोकिएको छ/छैन, त्यस्ता अधिकारी दक्ष छन् या छैनन्, छन् भने कस्तो तालिम लिएका छन्, कर्मचारीले काम गरेका छन्/छैनन्, कसैले गल्ती गरेको छ भने कारबाही भएको छ वा छैन, जहाज र हेलिकोप्टरमा मुख्य–मुख्य उपकरण छ/छैन लगायत मापदण्ड तोकिएका छन्।
वायुसेवा कम्पनीले ती सबै मापदण्ड ६ दिनभित्र पूरा गरेर माघ १ मा प्राधिकरणलाई बुझाउनुपर्छ। उनीहरूले बुझाएका मापदण्डप्रति प्राधिकरण सन्तुष्ट भएमात्र अनुमति प्रमाणपत्र नवीकरण हुन्छ। 'जबसम्म वायुसेवाले ट्याङको मापदण्डप्रति हामीलाई सन्तुष्ट पार्दैनन्, तबसम्म उनीहरूको अनुमति प्रमाणपत्र नवीकरण हुँदैन,' सुमनले भने, 'वायुसेवालाई मापदण्ढ पूरा गर्न केही सहयोग चाहिए हामी उपलब्ध गराउँछौं तर, हामीले तोकेकै समयभित्र उनीहरूले काम पूरा गर्नुपर्छ।'
हाल मुलुकमा १० जहाज कम्पनी र ७ हेलिकोप्टर कम्पनीले उडान गरिरहेका छन्। १० जहाज कम्पनीतर्फ नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, सिमि्रक एयरलाइन्स, सीता एयर, एयर काष्ठमण्डप र गोमा एयर सञ्चालनमा छन्। अग्नि एयर बन्द भइसकेको छ भने गुण एयरलाइन्सलाई सिमि्रक एयरलाइन्सले खरिद गरेपछि गुण बन्द भएको हो।
त्यसैगरी हेलिकोप्टर कम्पनीतर्फ श्री एयरलाइन्स, फिसटेल एयर, सिमि्रक एयर, एयर डाइनेस्टी, माउन्टेन हेलिकोप्टर्स, मुक्तिनाथ हेलिकोप्टर्स लगायत छन्। 
युरोपेली टोली माघ १८ मा
नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपाली वायुसेवा कम्पनीको अवस्था जाँच गर्न युरोपेली आयोगको एक टोली नेपाल आउने निश्चित भएको छ।
युरोपेली आयोगको उड्डयन सुरक्षा समितिका ६ जना अधिकारी सहभागी टोली माघ १८ मा काठमाडौं आइपुग्ने प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले जानकारी दिए। 'उनीहरू माघ १८ मा आइपुग्छन्, १९ मा आफैं बैठक बस्छन् र २० बाट २५ सम्म सबै वायुसेवाको अवस्था जाँच गर्छन्,' उनले भने, 'नेपाली वायुसेवालाई युरोपको कालोसूचीबाट हट्न आफू योग्य छु भनेर प्रमाणित गर्ने यो सुवर्ण अवसर हो। यसमा सबै वायुसेवाले सहयोग र सहकार्य गर्नुपर्‍यो।'
उनका अनुसार माघ २० पूरै दिन युरोपेली टोलीले प्राधिकरणको अवस्थाबारे जाँच गर्नेछ। त्यसको भोलिल्टबाट उनीहरू दुई–दुईजनाको टोली बनाएर ६ वटा वायुसेवा कम्पनीको अवस्था जाँच गर्न जानेछन्। टोलीले नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, सिमि्रक एयरलाइन्स र श्री एयरलाइन्सको उडान सुरक्षादेखि सम्पूर्ण अवस्था जाँच गर्नेछन्।
आइकाओका अनुसूची १, ६ र ८ अनुसार युरोपेली टोलीले नेपाली वायुसेवाको अवस्था हेर्नेछन्। अनुसूची १ मा अनुमति प्रमाणपत्र, ६ मा उडान सञ्चालन र ८ मा उडान योग्यता पर्छन्।
'नेपालको नागरिक उड्डयन नियमावली, कार्यविधि, नियम तथा आइकाओले नेपालसम्बन्धी तयार पारेको पछिल्लो प्रतिवेदनलाई आधार मानेर युरोपेली टोलीले यहाँ काम गर्छन्,' महानिर्देशक सुमनले भने, 'सिंगापुरे हवाई विज्ञ एलन ट्याङले बनाएको चेकलिस्ट पूरा गरी अनुमति प्रमाणपत्र नवीकरण भए वा नभएको समेत उनीहरूले हेर्छन्। ज–जसको अवस्था चित्तबुझ्दो भेटिन्छ, तिनलाई कालोसूचीबाट हटाउने र अरूको यथावत राख्ने बताएका छन्।'
युरोपेली आयोगले कालोसूचीमा राखेको पाँच दिनपछि गत मंसिर २५ मा एक टोली पठाएर प्राधिकरणसहित सबै वायुसेवाको अवस्था जाँच गर्न नेपाललाई पत्राचार गरेको थियो। त्यसपछि प्राधिकरणले सबै वायुसेवा सञ्चालकसँग छलफल गरेर मिति टुंगो लगाउने जवाफ पठाएको थियो।
युरोपेली टोलीले भने फेब्रुअरी २ देखि ८ (माघ १९–२५) र फेब्रुअरी ६ देखि १६ (माघ २५ देखि फागुन ४) मध्ये नेपालको अनुकुलताअनुसार टोली खटाउने उल्लेख गरेको थियो।  सुमनका अनुसार कालोसूचीबाट हट्ने वा यथावत रहने निर्णय भएपछि युरोपेली टोलीले नेपालको उड्डयन सुरक्षा सुधारका लागि क्षमता अभिवृद्धि गर्न सहायता परियोजना दिने जनाउसमेत दिएका छन्।

No comments:

Post a Comment