Monday, September 29, 2014

विविध कार्यक्रमकासाथ विश्व पर्यटन दिवस मनाइयो

काठमाडौ, ११ असोज  –विविध कार्यक्रमकासाथ ३५ औं विश्व पर्यटन दिवस मनाईएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने पर्यटकलाई माला लगाएर स्वागत गरेको थियो ।
पर्यटन मन्त्रालय र निजी क्षेत्रको सहकार्यमा ‘पर्यटन र समुदायको विकास’ भन्ने नाराका साथ शनिबार मनाईएको विश्व पर्यटन दिवसका कार्यक्रममा विगतका वर्षहरुको जस्तो तामझान थिएन । केही महिनाअघि जेटिसीसिमा आवद्ध पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डबीचको बिबादबाट उत्पन्न प्रभावका कारण यसवर्षको विश्व पर्यटन दिवसका गतिविधी नै ओझेलमा परेको सम्बन्धीत व्यवसायी एवं सरोकारवालाहरुको भनाई छ ।
उनीहरुले लामो समयदेखि निस्क्रीय अवस्थामा रहेको बोर्डको गतिविधीले यसपालीको विश्व पर्यटन दिवसका कार्यक्रम विगतका वर्षहरुको जस्तो नभएको बताए ।    ‘पर्यटन र समुदायको विकास’ भन्ने नाराका साथ मनाइएको सो दिवसको अवसरमा पर्यटन मन्त्रालय र पर्यटन बोर्ड लगायत अन्य निजी संघसंस्था सम्मिलित मूल समारोह समितिले शनिबार बिहान राजधानीका विभिन्न स्थानमा प्रभातफेरी  आयोजना गरेको हो ।
राजधानीको पर्यटकीय बजार ठमेल स्थित त्रिदेवी मार्गबाट सुरु भएको सो प्रभातफेरी दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, भद्रकाली मन्दिर, सहिदगेट, सुन्धारा र न्यरोड हुँदै बसन्तपुरमा पुगी कोणसभामा परिणत भएको थियो । यसैगरि दिवसकै अवसरमा शनिबार साँझ ठमेल पर्यटन विकास परिषदले ठमेल सडक महोत्सव आयोजना गरेको थियो ।  सो कार्यक्रममा ठमेलमा भएका विविध पर्यटकीय गतिविधीका बारेमा जानकारी गराईनुकासाथै साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।
सोही अवसरमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च ( भिटोभ) को प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं नेपाल पर्यटन बोर्डका अध्यक्ष सुरेशमान श्रेष्ठले लमजुङ जिल्लाको ‘काउलेपानी गाउँ’ लाई सन् २०१४÷१५ का लागि विश्व पर्यटन दिवस गाउँ घोषणा गरे । सचिव श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई विकासको गतिमा अघि बढाउन सरकारी तथा निजी क्षेत्रबीच समन्वयको आवश्यकता रहेको बताए । उनले पछिल्लोपटक नेपाल पर्यटन बोर्डभित्र देखिएका विभिन्न समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने प्रतिवद्धता जनाए ।
उनले पर्यटन प्रवद्र्धनका लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण हुने समेत दावी गरे ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भटोभ) का अध्यक्ष चित्रबहादुर गुरुङले ग्रामीण भेगमा पर्यटकीय पूर्वाधार विकासका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए । उनले नेपालको पर्यटन सहर भन्दा पनि गाउँ केन्द्रित हुनुपर्ने बताए ।
सर्वप्रथम स्न १९७९ को सेप्टेम्बरमा स्पेनमा भएको संयुक्त राष्ट्र विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को पहिलो सभाले गरेको निर्णयअनुसार (युएनडब्लुटिओ) स्थापना दिवसकै रूपमा २७ सेप्टेम्बरका दिन १९८० मा पहिलोपटक विश्व पर्यटन दिवस मनाइएको थियो । विश्व पर्यटन दिवसको विश्वव्यापी आयोजनाले पर्यटनको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक महत्वका बारेमा अन्तर्राष्ट्रिय समुदायबीच जनचेतना जगाउने उद्देश्य राखेको छ ।  पर्यटन मन्त्रालयको तथ्याङक अनुसार अघिल्लो आर्थिक वर्षमा नेपालमा ८ लाख पर्यटक भित्रिएका थिए भने यस वर्ष ९ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । दिवसका अवसरमा ७५ ओटै जिल्लामा शनिबार विविध कार्यक्रम गरिएको थियो ।  मन्त्रालयद्धारा गठित दिवस मूल समारोह समितिले साँझ दीपावलीसमेत गरेको थियो। 

No comments:

Post a Comment