Tuesday, October 14, 2014

बिग्रिएको सडक तत्काल मर्मत गर्न माग

मधुजंग पाण्डे÷राजधानी
नुवाकोट,२५ असोज 
नुवाकोटका स्थानीय व्यवसायी एवं सरोकारवालाहरुले त्रिशुली –काठमाडौ र रसुवाको धुन्चे जोड्ने ‘पासाङ ल्हामु राजमार्ग’ अन्र्तरगत विभिन्न भागमा बिग्रिएको सडक तत्काल मर्मत गर्न माग गरेका छन । 
उनीहरुले काठमाडौ त्रिशुली जोडने पासाङ ल्हामु राजमार्ग अन्तरगतको ७२ किमी सडक खण्ड मध्ये मदानपुर गाविसको पाखुरे र बेतिनी खोलामा विगत केही सातादेखि भत्कीएको सडक अझै नबनाईएकाले तत्काल बनाउन माग गरेका हुन । सो राजमार्गको पाखुरे र बेतिनी खोलामा अहिले  माथीबाट पानी बगिरहेको खोलाको पिच सडकको करिब आधा भन्दाबढी भाग तलबाट खोलिएर माथी २ इन्चको ढलान मात्र बाँकी रहेकाले जुनसुकै बेला त्यहाँ सवारी दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासी एवं यात्रुहरुले यस्तो माग गरेका हुन । 
नुवाकोटका स्थानीय व्यवसायी बैकुण्ठ भण्डारीले पाखुरे र बेतिनी खोलामा निकै डरलाग्दोगरि भत्कीएको सडकमा अहिलेसम्म सामान्य ढुँगा समेत नराखेर जर्बरजस्ती सवारी साधन गुडाईरहँदा त्यसठाउँमा निकै ठुलो दुर्घटना भएर मानविय क्षति हुनसक्ने त्रासले धेरैपटक सम्बन्धीत निकाएलाई जानकारी गराउँदा अहिलेसम्म बनाउने काम सुरु नभएको बताए ।
उनले त्रिशुली– काठमाडौ जोड्ने ७२ किमी सडकखण्ड मध्ये त्यो ठाउँमा माथीबाट सडकको २ इन्चको ढलानमात्र बाँकी रहेर तलको पुरै वाल भित्रभत्रै खोलिएका कारण दैनिक सयौंको संख्यामा सवारी साधन ओहोर दोहोर गर्ने पाखुरे र बेतिनी खोला क्षेत्रको सडक निकै जोखिमपूर्ण भएकाले अहिले आफुहरुले तत्काल बनाउन माग गरेको बताए ।
उनले यी दुबै खोलाबाट सवारी आवत– जावत गर्दा यो सडक मार्गबाट यात्रा गर्ने यात्रुहरु मात्र नभएर अहिले स्वयंम सवारी चारक समेत निकै आत्तिने गरेकाले यस राजमार्गबाट यात्रा गर्ने सवारी यात्रु र स्थानीयवासीहरुले सम्बन्धीत निकाएसँग जोडदार माग गर्दा पनि अझै मर्मत कार्य सुरु नभएको बताए ।
अहिले यस सडक खण्डमा सबैभन्दा डरलाग्दो गरि बिग्रिएको ठाउँ यी दुई खोलामा मात्र रहेको जानकारी गराउँदै भण्डारीले राजधानीसँग भने, ‘ अझै केही दिनमा पनि यो भित्रभित्रै खोलिएको सडक मर्मत गरिएन भने यहाँ ठुलो सवारी दुर्घटना हुने देखिन्छ ’ । उनले बेलैमा यो भत्कीएको सडक बनाईयो भने यस राजमार्गबाट यात्रा गर्नेहरुले केही सुरक्षित यात्रा गर्न पाउने बताए ।
अर्का स्वानीयवासी एवं व्यवसायी कृष्णलाल श्रेष्ठले पनि अहिले तत्कालकालागि यी दुबै खोलामा भत्कीएको सडक मर्मत नै गर्न नसकिएपनि भित्रभित्रै खोलिएको भागसम्म माथीबाट देखिनेगरि चिनो मात्र लगाईदिएपनि यहाँबाट गुड्ने सवारी चालकले बिग्रिएको सडकमा केही होसियार भएर सवारी चलाउने बताए । नत्र यस भागमा अँध्यारोको बेला एवं भित्रभित्रै सडक खोलिएर माथीको पिच भाँचिन लागेको थाहा नपाउनेहरुले सोझै गाडी हाल्दा ठुलो दुर्घटना हुनसक्ने निकै जोखिम बढेको बताए । 
उनले अहिले यस सडकखण्डमा धेरै ठाउँमा सडक बिग्रिएपनि यहाँ सबैभन्दा खर्तरनाक भएकाले तत्काल सम्बन्धीत निकाएको ध्यान जानुपर्ने बताए । उनले यहाँका विभिन्न स्थानमा बिग्रिएको सडक दसैं र तिहार जस्तो महत्वपूर्ण चार्डपर्वमा समेत मर्मत नभएको देख्दा निकै अचम्म लागेको बताए ।
२०२४ सालमा बनेको त्रिशुली जलविद्युत केन्द्र निर्माण गर्ने क्रममा भारत सरकारले सो जलविद्युत केन्द्रलाई आवस्यक ठुला मेसिन एवं अन्य औजार र निर्माण समाग्री ओसार्न खनिदिएको गोरेटो बाटो अहिले काठमाडौ–त्रिशुली –रसुवा जोड्ने पासाङ ल्हामु राजमार्ग  भएको हो । यसअघि पनि यहाँका विभिन्न स्थानमा भएका कहालि लाग्दो भीरमा फलामे रेलिङ राख्न माग गर्दा पनि अहिलेसम्म कुनै सुनुवाई नै नभएको अधिकाँश व्यवसायी एवं यात्रुहरुको भनाई छ ।
त्रिशुली जलविद्युत केन्द्र बनाउने बेला भारत सरकारले निर्माण सामाग्री ओसार पसार गर्न खनेको अस्थायी बोटोमा हाल जिल्लाकै सबैभन्दा धेरै सवारी सञ्चालन हुने गर्दछ । सो राजमार्ग लामो समयदेखि पक्कि भएपनि साघुरो र धेरै घुम्ति एवं मोडहरु भएकाले सवारी साधन सञ्चालनकालागि निकै डरलाग्दो छ । यस सडकमा अन्य रुटमा चलाउने चालकले सवारी चलाउन निकै डराउने गरेको अधिकाँश स्थानीयवासीको कथन छ । उनीहरुले यस सडक खण्डमा पर्ने आरकोटे भीर र सिस्नेरी भीर लगायत ठुला मोडहरुमा बलियो फलामको रेलिङ राखिएमा यस क्षेत्रको यात्रा निकै सुरक्षित हुने दावी गरेका छन ।
सोही रुटमा विगत १४ वर्षदेखि बस चलाउँदै आएका चालक रामचन्द्र लामाले अहिले तत्कालकालागि पाखुरे र बेतिनी खोलामा बिग्रिएको सडक तत्काल मर्मत गरि अन्य ठाउँमा पनि बिस्तारै बनाउँदै जानुपर्ने बताए । उनले यस भत्कीएको सडक मर्मतसँगै यस राजमार्गका केही डरलाग्दो भीरमा बलियो रेलिङ राखिए हाल भईरहेको सवारी दुर्घटनामा निकै कमी आउने बताए ।

No comments:

Post a Comment