Thursday, June 3, 2021

 अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाउँदै ‘ट्राभल एड्भाइजरी’ जारी गर्यो, पर्यटन क्षेत्रमा धक्का

मधुजंग पाण्डे÷राजधानी

काठमाडौं 


नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाउँदै बुधबार ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ ।

संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमणको क्रममा रहेका आफ्ना नागरिकलाई पनि उच्च सुरक्षा सचेतना अपनाउन सुझाएको छ । विगत केही दिनयता नेपालमा लगातार कोरोना संक्रमितको संख्या बढेर दैनिक ९ हजार ४ सय नाघेको र मृत्युदर पनि उच्चदरले वृद्धि भई दैनिक २ सय २५ जना पुग्न थालेको भन्दै अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि यस्तो आग्रह गरेको हो । उसले हाल नेपाललाई लेभल–४ मा अर्थात् भ्रमण नगर्न सुझाव दिने मुलुकको सूचीमा राखेको छ ।

अमेरिकाले बुधबारदेखि आफ्ना नागरिकलाई थप सचेत रहन आग्रह गर्दै जारी गरेको ‘ट्राभल एड्भाइजरी’ले नेपालको पर्यटन क्षेत्रमा थप धक्का पु¥याएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमबाट बच्न नेपाल सरकारले पनि गत २३ वैशाखदेखि नै काठमाडांैबाट हुने सबै नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ । यसैगरी, गत २० वैशाखदेखि नियमित आन्तरिक हवाई उडान पनि बन्द गरी अहिले स्वास्थ्य सामग्री बोक्ने तथा उद्धार उडान मात्र सञ्चालन गर्न दिएको अवस्था छ ।

यस्तो अवस्थामा नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग नेपालमा रहेका आफ्ना नागरिकलाई जतिसक्दो छिटो चार्टर्ड विमानको सहयोगमा अमेरिका लैजाने वातावरण बनाइदिन प्रस्ताव गरेको छ । तर, अमेरिकी दूतावासको यस प्रस्तावको विषयमा नेपाल सरकारले अहिलेसम्म कुनै जवाफ नदिएको सो दूतावासले जनाएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी०ले ‘ट्राभल एड्भाइजरी’ जारी गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले अब आफ्ना नागरिकलाई चार्टर्ड उडानबाट अमेरिका लैजाने तयारी गरेको छ । दूतावासले बुधबार जारी गरेको सूचनामा नेपाल सरकारसँग चार्टर्ड उडानमा आफ्ना नागरिकलाई लैजान छलफल भइरहेको जनाएको छ ।

दूतावासले नेपाल छाड्न चाहने अमेरिकी नागरिकलाई अनलाइन फारम भर्नसमेत अनुरोध गरेको छ । नेपाल सरकारबाट चार्टर्ड उडानको अनुमति पाएमा थप जानकारी पठाउने दूतावासले जनाएको छ । अमेरिका जान चाहने नागरिकका लागि पीसीआर परीक्षण अनिवार्य रहेको र त्यसको जिम्मा व्यक्ति आफैंले लिनुपर्ने सो दूतावासले आफ्ना नागरिकलाई जानकारी गराएको छ ।

हाल नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएसँगै यसअघि आफ्नो घर फर्किनका लागि नाम दर्ता नगराएका व्यक्तिले आफ्नो नाम दर्ता गराउन पनि दूतावासले आग्रह गरेको छ । आफ्नो प्रस्तावबारेमा अब नेपाल सरकारले अनुमति दिएको अवस्थामा दूतावासले अमेरिकी नागरिकलाई जतिसक्दो छिटो आफ्नो मुलुक फर्काउने विषयमा पनि जानकारी गराउने बताएको छ ।

अमेरिकाको विदेश मन्त्रालयअन्तर्गतको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले लेभल–४ को भ्रमण सूचना जारी गरेको हो । यसैगरी, अमेरिकाले हाल नेपाल र भारतमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोनाको संक्रमण निकै जोखिमपूर्ण बताएको छ । अमेरिकाले अर्को सूचना जारी नभएसम्म आफ्ना नागरिकलाई सचेत गराउँदै नेपाल भ्रमण नगर्न आग्रह गरिएको बताएको छ ।

अमेरिकाको यस्तो निणर्यले हाल विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा रहेका र अन्य काम विशेषले नेपालमा रहेका पर्यटकलाई पनि थप सचेत हुन बाध्य बनाएको छ । यसको असर नेपालको पर्यटन क्षेत्र निकै लामो समयसम्म रहने सम्बन्धित व्यवसायी एवं सरोकारवालाको भनाइ छ । उनीहरूले यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटकीय भ्रमणको सुरक्षा अवस्थाबारे ठूलो हलचल हुने बताएका छन् । पर्यटन व्यवसायी तथा सरोकारवालाले गत वर्षदेखि विश्व महामारिका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

व्यवसायी तथा सरोकारवालाका अनुसार कोरोना प्रभावका कारण अहिले मुलुकको पर्यटकीय गतिविधि ठप्प भएको छ । होटल तथा रेस्टुरेन्ट विगत एक वर्षदेखि नै धरासायी भएका थिए । गत १६ वैशाखदेखि जारी निषेधाज्ञा भन्दा केही महिनाअघि न्यून संख्यामा होटल तथा रेस्टुरेन्ट खुले पनि पर्यटनसम्बन्धी धेरै क्षेत्र बन्द भएको थियो ।

No comments:

Post a Comment