Sunday, December 23, 2012

पर्यटन बोर्ड नेतृत्वबिहिन भएकाले व्यवसायी मारमा
काठमाडौं÷रास– नेपाल एसोसियसन अफ टुर अपरेटर्स ( नाटो) का अध्यक्ष अशोक पोखरेलले विगत १६ महिनादेखि खाली रहेको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनोट प्रक्रिया अझै अन्योलग्रस्त रहेकाले पर्यटन व्यवसायी मारमा परेको बताएका छन् । 
शनिबार नगरकोटमा आयोजित पिकनिकमा पोखरेलले बोर्डमा नेतृत्व नहुँदा पर्यटन व्यवसायीले लक्ष्य अनुरुप काम गर्न नपाएको बताए ।
व्यवसायीबीचको आत्मियता बढाई सरकारी र अन्य सरोकारवालासँगको आपसी सहकार्यलाई थप विस्तार गर्ने उद्देश्यले नाटोले हरेक वर्ष अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसरमा सदस्य व्यवसायीलाई एकै ठाउँमा भेला गराएर पिकनिक कार्यक्रम गर्दै आएको जानकारी दिँदै उनले सन् २०१० देखि सुरु भएको यस मनोरञ्जनात्मक कार्यक्रममा पर्यटनसँग सम्बन्धित सबै व्यवसायी र सरोकारवालाको बाक्लो उपस्थिती भएको बताए ।
नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य समेत रहेका पोखरेलले लामो समयदेखि पर्यटन बोर्डको सिइओ छनोट नभएकाले अन्तर्राष्ट्रिय स्तरको प्रवद्र्धन  कार्यक्रम प्रभावित भएको बताए । बोर्डले गत वर्ष विभिन्न अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमार्फत गरेको विज्ञापनको बिल भुक्तानी समेत गर्न नपाएको बताए ।
उनले अहिलेसम्म सरकारले नेपाल भित्रिने पर्यटकको कुल बसाई अवधी १२ दशमलब ७  दिनबाट थप लम्बाउने खालका कुनै गतिविधी गर्न नसकेकाले व्यवसायी मारमा परेको बताए । उनले लामो समयदेखि जारी राजनीतिक अस्थितरता एवं संक्रमणकालिन अवस्थाले पर्यटन क्षेत्र धेरै प्रभावित भएको बताए । 
पर्यटन प्रवद्र्धनकालागि अहिलेसम्म भएका  सरकारी नीति नै स्पष्ट्र नभएकाले व्यवसायी थप अन्योलमा परेको बताए । कार्यक्रममा सहभागी व्यवसायीहरु जोय देवान, सुमन पाण्डे, विक्रम पाण्डे, अच्चुत गुरागाइँ, अमरबहादुर साही लगायतले नयाँ पर्यटन बहान आयात गर्दा लाग्ने भन्सार मुल्याङकन शुल्क छुट नभएकाले महँगो गाडी ल्याएर व्यवसाय गर्दा निकै मर्का परेको बताएका थिए ।
सो कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्य, नेपाल वायुसेवा निगमका निमित्त महाप्रवन्धक राजुबहादुर केसी लगायत करिब डेढसय जना सहभागी थिए ।    
कार्वन उत्सर्जन न्युनिकरण गरि परम्परागत इट्टा बनाइने
राजधानी समाचारदाता
काठमाडौ, ६ पुस
नेपाल घरेलु तथा साना उद्योग महासंघलाई दिगो निर्माण अभ्यास परियोजनाबाट ५ ओटा कम्प्यूटर, प्रिन्टर र एक थान ल्यापटप हस्तान्तरण गरेको छ । 
महासंघका अध्यक्ष सुरेश प्रधानलाई परियोजना प्रवन्धक श्यामप्रसाद गिरीले करिब साढे तीनलाख रुपैयाँ बराबरको कम्प्युटर, प्रिन्टर र ल्यापटप हस्तान्तरण  गरेका हुन ।  घरेलु तथा साना उद्योग महासंघ स्थानिय साझेदार रहेको जर्मनीको डिएमएएन र स्वीजरल्याणको एसकेएटी फाउन्डेसनको संयुक्त साझेदारीमा सञ्चालीत यस परियोजनाले सो कम्प्युटर उपकरणहरु विभिन्न ५ जिल्लामा रहने जिल्ला अधिकृतहरुको कामलाई सहज बनाउन उपलब्ध गराएको हो ।
यस परियोजा स्विच एसिया कार्यक्रम ‘दिगो उत्पादन तथा उपभोग’ अन्र्तगत  युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालित छ ।
परियोजना प्रबन्धक गिरीले ४० महिनाको अवधी रहेको परियोजनाले नेपालका निर्माण क्षेत्रमा भईरहेको कार्वन उत्सर्जन न्युनिकरण गरि परम्परागत इट्टा बनाउने कार्यलाई परिमार्जन गरि वातावरण अनुकलको बनाउने कार्यमा सहयोग गर्दै आएको बताए ।
उनले गत अप्रिलदेखि घरेलु महासंघसँगको सहकार्यमा काम थालेको परियोजनाले ४० करोड लगानीमा कार्बन उत्सर्जन न्युनिकरण काममा सहयोग पु¥याउँदै आएको जानकारी गराए । उनले सो परियोजनाको ४० महिने अवधीमा करिब १० हजार जनालाई न्युनतम वर्षको १० महिना काममा बेस्त रहने प्रवन्ध मिलाउने लक्ष्यकासाथ आफुले काम गरेको दावी गरे । 
परियोजना प्रवन्धक गिरीले अहिले मकवानपुर, नवलपरासी, तनहुँ, कपिलबस्तु र काठमाडौमा परियोजनाले घरेलु महासंघसँगको सहकार्यमा काम गरिरहेको बताए । उनले इट्टा बनाउने कार्य र सिमेन्टको वातावरण अनुकुल कंक्रिटबाट किफाएति भवन बनाउने कार्यमा सहयोग गर्दै आएको जानकारी दिए ।  
महासंघका अध्यक्ष सुरेश प्रधानले उपकरण उपलव्ध गराएकाले न्युन लगानीमा सञ्चालित उद्योगहरुको प्रवद्र्धनमा निकै राहत मिल्ले अपेक्षा गरिएको बताए । 
महासंघका महासचिव बिष्णु वहादुर लुइटेलले महासंघले पयिोजनासँग गर्दै आएको विविध कार्यको जानकारी दिँदै  सहयोग स्वरुप  उपलब्ध सूचना प्रविधीजन्य उपकरण प्राप्त भएपछिको फाईदाका बारेमा जानकारी दिएका थिए ।

संक्रमणकालीन अवस्थाको निकासका लागि सहमति आवश्यक छ 
राजेन्द्र शेरचन
अध्यक्ष, खिचापोखरी व्यापार संघ
एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य

२०१६ सालमा बागलुङ जिल्लाको बागलुङ बजारमा जन्मिएका व्यवसायी
राजेन्द्र शेरचन खिचापोखरी व्यापार संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य हुन् ।
राजधानीको सुन्धारास्थित धरहरा नजिकैको खिचापोखरी प्रवेश मार्गमा शेरचन इम्पोरियम नामक तयारी पोसाक बिक्री केन्द्र स्थापना गरी विगत ३२ वर्षदेखि व्यापारिक क्षेत्रमा सक्रिय शेरचन एक सफल उद्यमीका रूपमा परिचित छन् । शेरचन इम्पोरियमका प्रबन्ध सञ्चालक राजेन्द्र लामो समयसम्मको व्यापारिक अनुभव र व्यवसायीबीचको एकता एवं समाजसेवी भावनाकै कारण राजधानीको व्यापारिक मुटु खिचापोखरी व्यापार संघका अध्यक्ष भएका हुन् । अहिलेसम्म उनी यस संघमा लगातार तीन पटक अध्यक्ष पदमा निर्वाचित भई कुशलतापूर्वक काम गरिरहेका छन् । उनी संघको संस्थापक अध्यक्ष हुन् ।
बुबा तेजेन्द्रबहादुर शेरचन र आमा भीमकुमारी शेरचनको कोखबाट जन्मिएका राजेन्द्रले आफ्ना बुबाले बागलुङबाटै सञ्चालन गरेको थकालीको पुख्यौली पेसा तयारी पोसाक बिक्री गर्ने कार्यबाटै व्यापारिक क्षेत्रमा प्रवेश गरेका हुन् । जन्मथलो बागलुङबाट पोखरा हुँदै काठमाडौं आएर विगत तीन दशकभन्दा बढी समयदेखि खिचापोखरीमा व्यापार जमाएर बसेका शेरचनले  त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका छन । व्यापारिक क्षेत्रको सफलतासँगै विशेषगरी सामाजिक कार्य गर्न रुचाउने शेरचनले हाल काठमाडांै महानगरपालिका–२२ को टोल सुधार समितिको सदस्यको जिम्मेवारी पनि सम्हालेका छन् । राजधानीको व्यापारिक केन्द्र खिचापोखरी र न्युरोड क्षेत्रमा छरिएर रहेका सबै व्यवसायीलाई एकजुट गराई संघको माध्यामबाट व्यवस्थित रूपमा राजस्व संकलन गर्ने काममा सरकारलाई सघाइरहेको उनी बताउँछन् । उनी कार्यरत संघको कार्यक्षेत्र ६ ओटा समूहमा विभाजन गरिएको छ । जसमा न्युरोड, खिचापोखरी, सुन्धारा, पाको न्युरोड, धर्मपथ, रणमुक्तेश्वर रहेका छन् । उनले हाल यस संघमा करिब ६ सय व्यापारिक संस्थाका प्रतिनिधि सदस्य रहेको जानकारी दिए । शेरचनका अनुसार यस क्षेत्रमा जुत्ताचप्पल, सुनचाँदी, औषधि, इलेक्ट्रोनिक्स, तयारी पोसाकजन्य वस्त बिक्री गर्ने, रेस्टुरेन्ट होटल एवं सेवासम्बन्धी कुनै पनि व्यापारिक संस्थाका प्रतिनिधि संघमा आबद्ध छन् । अधिकांश मासुपसल र पुराना घर भएको खिचापोखरी क्षेत्रलाई सरसफाइ गरी उत्कृष्ट व्यापारिक हबका रूपमा विस्तार गर्न आफूले २०३७ सालबाट निरन्तर प्रयास गरी अहिलेको यस अवस्थामा आइपुग्न सफल भएको बताउने शेरचनलाई यस पटक हामीले हिँड्दा हिँड्दै स्तम्भमा स्थान दिएका छांै ।

तपाईं आफ्नो परिचय कसरी दिनुहुन्छ ?
–म सधैं व्यापारिक क्षेत्रको हकहितमा लाग्ने सामाजसेवी मान्छे हुँ ।
जीवन के हो ?
– जीवन निरन्तर चल्ने सिकाइको यात्रा हो ।
प्रेरणाको स्रोत ?
– बुबा तेजेन्द्रबहादुर शेरचन र आमा भीमकुमारी शेरचन र अन्य व्यवसायी साथीहरू ।
तपाईं जीवनको उपलब्धि केलाई ठान्नुहुन्छ ?
–मैलै अहिलेसम्म जे प्राप्त गरें त्यसैलाई उपलब्धिका रूपमा लिएको छु । जीवनको उपलब्धि आफूले जानेका सबै कुरा व्यवहारमा उतारी अरूलाई दिन सकियो भने म त्यसैलाई ठूलो उपलब्धि मान्दछु । 
प्रेम के हो ?
–निश्वार्थ भावना नै प्रेम हो । प्रेम दुई मुटुलाई एक आपसमा बाँध्ने निश्वार्थपूर्ण भावना हो ।
तपाईंको सबैभन्दा नजिकको मान्छे ?
– बुबा–आमा र श्रीमती सविना शेरचन ।
कर्म के हो ?
– पहिचाहन नै कर्म हो ।
तपाईं कर्ममा विश्वास गर्नुहुन्छ कि भाग्यमा ?
– म कर्म र भाग्य दुवैमा वि    श्वास गर्दछु ।
तपाईंलाई मनपर्ने पार्टी र नेता ?
–अहिलेसम्म कुनै पनि छैन ।
तपाईंको जीवनको  दुःखद क्षण ?
 – जीवनमा दुःख सुख हुँदै जान्छ । म बुबा आमाको निधन हुँदा धेरै रोएको छु । 
देशको मनपर्ने स्थान ?  
– पोखरादेखि मुस्ताङका सबै क्षेत्र
मुलुकको सबैभन्दा ठूलो समस्या ?
– लामो समयदेखि जारी राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा ठूलो समस्या हो ।
सोख ?   
– भ्रमण र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने । 
विवाह लभ कि एरेन्ज
– एरेन्ज हो  ।
युवापुस्ताले गर्नुपर्ने मुख्य काम ?
– नयाँ विचार र सोचका साथ  अर्काको पछि नलागी आत्मनिर्भर बन्नुपर्छ ।

नयाँ पुस्तालाई के सन्देश दिनुहुन्छ ?
–इमानदार र कामप्रति लगनशील हुनुपर्छ ।
लक्ष्य ?
– मलाई अथाह सम्पत्ति कमऊँ भन्ने छैन । त्यसैले समाजसेवी बन्ने लक्ष्य छ ।
राजनीतिक संक्रमणको निकास के हो ?
–दलका नेताहरूले  व्यक्तिगत स्वार्थमा नलागी देशका लागि सोच्नुपर्छ । सहमती नै संक्रमणको निकास हो ।
 देशको वर्तमान राजनीतिक अवस्थाप्रति के भन्नुहुन्छ ?
–अहिले मुलुकको राजनीतिक अवस्था अन्योलपुर्ण छ । जसका कारण देशको औद्योगिक वातावरण बिग्रिएको छ । अहिले धमाधम युवा कामको खोजीमा बिदेसिन बाध्य छन् । 
प्रस्तुति ः मधुजंग पाण्डे÷राजधानी
राजनीतिक अन्योलताका कारण पर्यटन दूरदृष्टि अन्योलमा
लुम्बिनी भ्रमण वर्ष नारामै सीमित

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ४ पुस
राजनीतिक संक्रमणकालीन अवस्थाले लुम्बिनी भ्रमण वर्ष–२०१२ का कार्यक्रम नारामै सीमित हुन पुगेका छन् । भ्रमण वर्ष सकिन केही दिन मात्र बाँकी रहँदासम्म भ्रमण वर्ष उद्घाटनको कार्यक्रमबाहेक अरू कुनै प्रवद्र्धनका कार्य हुन सकेका छैनन् ।
राजनीतिक अन्योलताकै कारण लगानी वर्ष–२०१२÷१३ का पूर्वलक्षित कार्यक्रममा पनि असर परेको छ ।
निर्माण कार्य थालनी भइसकेका ठूला आयोजना तथा राष्ट्रिय गौरवका कार्यक्रम लक्ष्यअनुरूप सञ्चालन भएका छैनन् ।  यति मात्र होइन, अझै यस्तो संक्रमणकालीन अवस्था लम्बिइरहे सरकारले अघि सारेको नेपाल पर्यटन दूरदृष्टि (भिजन–२०२०) अभियानका विविध कार्यक्रम कार्यान्वयनमा पनि कठिनाइ उत्पन्न हुने देखिएको छ ।
आर्थिक वर्ष सुरु भएको सात महिना बित्न लाग्दा पनि पूर्ण बजेट ल्याउन नसक्नु, हरेक ६÷६ महिनामा मन्त्री र सचिव फेरिने परिपाटी, पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गर्नेहरूले पनि दलीय स्वार्थका पछि लागेर नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोषमा अनावश्यक राजनीतिक हस्तक्षेप गर्नेजस्ता कारणले भिजन–२०२० को पूर्वलक्षित अभियानका विविध कार्यहरू प्रवाभित बनेका सम्बन्धित सरोकारवाला नै बताउँछन् ।  
सन् २०११ को पर्यटन वर्षमा १० लाख पर्यटक भित्राउने लक्ष्य राखिए पनि जम्मा ७ लाख ३६ हजार २ सय १५ जना मात्र पर्यटक आएको भन्दै उनीहरूले सन् २०१२ को लुम्बिनी भ्रमण वर्षका कार्यक्रम पनि केबल नारामै सीमित भएको बताए ।
लुम्बिनी विकास कोषका सदस्य–सचिव अजितमान तामाङले लामो समयदेखि जारी राजनीतिक अन्योलता एवं संक्रमणकालीन अवस्थाका कारण लुम्बिनी भ्रमण वर्ष लक्ष्यअनुरूप सफल हुन नसकेको बताए ।
उनले लुम्बिनी भ्रमण वर्ष मनाउन सरकारले हतारमा निर्णय गरेकाले उपयुक्त पूर्वाधार र प्रचार–प्रसारको अभावका कारण लक्ष्यअनुरूप पर्यटक भित्राउने दृष्टिले असफल भएको जिकिर गरे । 
उनले लुम्बिनी धार्मिक दृष्टिकोणले बुद्ध मार्गीहरूको आस्थाको केन्द्र भएकाले पर्यटकीय सम्भावना अझै पर्याप्त भइनसकेको बताए । 
कोषका सदस्य सचिव तामाङले असहज संक्रमणकालीन राजनीतिक अवस्था रहे पनि लुम्बिनीको विकासमा सर्वदलीय राजनीतिक समूह रहेकाले केही सहज भएको बताए । अहिले लुम्बिनीमा चिनियाँ, भियतनामी, श्रीलंकन, थाइल्यान्डलगायतका बौद्ध धर्मावलम्बी पर्यटक आउनेक्रम राम्रो भए पनि अझै अपेक्षित रूपमा नआएको जानकारी दिए ।
सरकारले लुम्बिनी भ्रमण वर्षका कार्यक्रमलाई अझै एक वर्षका लागि निरन्तरता दिने योजना बनाए पनि सो योजनाले  पर्यटन दूरदृष्टि अभियानअन्तर्गत सन् २०१३ का लागि पूर्वघोषित सिस्ने, जलजला, ढोरपाटन र कर्णाली पर्यटन वर्षका कार्यक्रम प्रभावित नहुने धारणा राखे  । उनले अझै लुम्बिनी दशक घोषणा गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।
सरकारले सन् २०२० सम्म  पर्यटन दूरदृष्टि अभियानअन्तर्गत सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष, सन् २०१३ लाई कर्णाली पर्यटन वर्ष, सन् २०१४ लाई विशेष मिथिला र सहलेस पर्यटन वर्ष, सन् २०१५ लाई विराट मेची पहाडी पर्यटन वर्ष, सन् २०१६ लाई रुरु–रेसुङगा पोखरा, अन्नपूर्ण वर्ष, सन् २०१७ लाई सिम्रौनगढ, काठमाडौं लाङटाङ पर्यटन वर्ष, सन् २०१८ अरुण सगरमाथा पर्यटन वर्ष, सन् २०१९ मा  चिसापानी खप्तड पर्यटन वर्ष र सन् २०२० लाई आन्तरिक भ्रमण तथा नागरिक उड्डयन वर्ष घोषणा गरेको छ ।
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमले पर्यटन दूरदृष्टि अभियानलाई कार्यान्वयन गर्न निजी क्षेत्रसँगको छलफलपछि ठोस रणनीति बनाउने तयारीमा सरकार रहेको बताए । उनले पर्यटन दूरदृष्टि अभियानको ढाँचामा केही परिवर्तन गर्ने योजनामा आफूहरू रहेको  बताए ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलाले सरकारको दूरदृष्टि अभियानलाई सफलतापूर्वक  कार्यान्वयनमा ल्याउन कुनै अप्ठ्यारो अवस्था नरहेको बताए । 
उनले अहिले पर्यटन बोर्डको बजेट पास भइसकेकाले पर्यटन प्रवद्र्धनका कार्यक्रममा कुनै समस्या नहुने दाबी गरे । अहिले बोर्डमा प्रवद्र्धनका कार्यक्रमका लागि कुनै असहज अवस्था नरहेको जानकारी दिँदै निरौलाले भने, ‘पूर्वाधार विस्तार, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, हवाई सेवाको संख्या थप भएको अवस्थामा सन् २०२० सम्ममा २० लाखभन्दा बढी पर्यटक भित्राउन  खासै समस्या नपर्ला ।’ 
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सिज (नाट्टा) का अध्यक्ष पवित्रकुमार कार्कीले  पर्यटन दूरदृष्टि अभियानअन्तर्गत लुम्बिनी भ्रमण वर्ष पनि कार्यक्रम र योजनाविहीन भएकाले ओझेलमा परेको बताए । कार्कीले राजनीतिक फेरबदलको प्रभाव नेपालको पर्यटन क्षेत्रमा पनि परेको बताए । निजी क्षेत्रसँगको छलफल र सहकार्य गरेर दूरदृष्टि अभियान ल्याएको भए सफल हुने धारणा राख्दै उनले यसको सफलताका लागि अब निजी क्षेत्रसँगको सहकार्य जरुरी भएको जानकारी दिए ।

Tuesday, December 18, 2012


सन्दर्भ ः अन्तर्राष्ट्रिय आप्रवासन दिवस
कामदारले पठाएको रेमिट्यान्स उत्पादनमुलक कार्यमा लगाउने नीति आवस्यक 

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३ पुस
अधिकारकर्मी एवं सरोकारवालाहरुले विभिभन्न मुलुकमा छरिएरका आप्रवासी कामदारले पठाएको रेमिट्यान्सबाट संकलित आम्दानी स्वदेशमै रोजगारी दिने खालका उत्पादनमुलक कार्यमा खर्च गर्ने नीति ल्याउनु आवस्यक भएको बताएका छन ।  १२ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा उनीहरुले आप्रवासी कामदारले पठाएको रेमिट्यान्स रकम उत्पादनमुलक क्षेत्रमा लगाउने नीति आवस्यक भएको बताएका हुन ।
विदेशमा अलपत्र महिलाहरुको उद्धार कार्यमा सक्रिए महिलाअधिकारकर्मी एवं पौरखी नेपालका संस्थापक अध्यक्ष मन्जु गुरुङले अहिले आप्रवासी कामदारले पठाएको रेमिट्यान्सबाट संकलित आम्दानी स्वदेशमै रोजगारी दिने खालका उत्पादनमुलक कार्यमा खर्च गर्ने नीति ल्याउनु आवस्यक भएको बताइन । संसारभर करिब २१ करोड ४० लाख मान्छे आप्रवासीको रुपमा रहेको जानकारी दिँदै  उनले हाल नेपालबाट विभिन्न मुलुकमा पुगेर कामगर्ने आप्रवासीको संख्या २५ लाख नागिसकेकाले अब उनीहरुले पठाएको आम्दानी उत्पादनमुलक क्षेत्रमा लगाउनु जरुरी भएको बताइन । उनले वैदेशिक रोजगारीमा जाने महिलाहरुलाई सरकारले ३० वर्ष मुनिको उमेर हदबन्दीले बाध्यतावस भारतीय बाटोबाट विदेशीने क्रम बढेको बताइन । जिफन्ट सम्वद्ध महिला अधिकारकर्मी बिन्दा पाण्डेलेपनि विदेशमा अनेक दुःख गरि पठाएको आम्दानी स्वदेसमै रोजगारी पाउने खालका क्षेत्रमा लगाउने निती ल्याउनु आवस्यक भएको बताइन ।
उनले वैदेशिक रोजगारीमा जाने अधिकाँश महिलाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छोडेर दलाल मार्फत विभिन्न प्रलोभनमा परि भारतको बाटोहुँदै जानेक्रम बढेसँगै अहिले घरेलु कामदारको रुपमा कार्यरत महिलाको अवस्था ज्यादै दयनिय रहेको बताईन् । अहिलेको मुख्य चुनौति नै आप्रवासी कामदारको अवस्थालाई कसरी सुरक्षित बनाउने भन्ने नै हो भन्दै उनले आप्रवासी कामदारले पठाएको रकम स्वदेसमै लगानी गर्ने वातावरण मिलाईदिन सरकारसँग आग्रह गरिन । आप्रवासीको आम्दानी स्वदेशी उत्पादनमा लगाउन सकिए ४ वर्ष विदेसमा दुःख काटेर फर्कनेहरुले स्वदेशमै सुरक्षित रुपमा आफ्नो जिविको पालन गर्न सक्ने उनको धारणा छ । उनले अझै वैदेशिक रोजगारीमा धेरै चुनौती रहेको जानकारी दिँदै अब जानेहरुलाई जानुपूर्व विदेशबाट फर्केपछि यस्तो काम गर्छु भन्ने पूर्व तयारीका साथ जान आग्रह गरेकी छिन ।
‘सुरक्षित, मर्यादित र लाभदायक वैदेशिक रोजगार आप्रवासी कामदारको अधिकार’ भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरी मंगलबार सम्पन्न भएको छ । 
गत २८¬ मंसिरदेखि मुलुकका विभिन्न स्थानमा विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा मनाईएको आप्रवास दिवस समापन कार्यक्रममा विभिन्न संघ संस्था वैदेशिक रोजगार कम्पनी तथा सरोकारभएकाहरूको सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ४, २००० मा १८ डिसेम्भ्रलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउने निर्णय गरेदेखि यस दिनलाई संसारभर अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाइँदै आएको छ ।
 श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा  नेपालमा पनि सन् २००० देखि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँदै आएको  छ । सो दिवस मनाउन मन्त्रालएका सचिव सोमलाल सुवेदीको संयोजकत्वमा गठित मुल समारोह समितिको अगुवाईमा मंगलबार विहान राजधानीको भृकुटीमण्डपदेखि रत्नपार्कसम्म विभिन्न चेतनामुलक प्रभातफेदी ¥यारी भएको थियो । सो ¥यालीमा श्रम तथा रोजगार मन्त्री पोष्टबहादुर बोगटी, मन्त्रालयका सचिव सुवेदी, सह सचिव विनोद केसी, वैदेशीक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई,  वैदेशीक रोजगार प्रवद्र्धन बोर्डका निमिक्त कार्यकारी निर्देशक गिरीजा शर्मा, मेनपार व्यवसायी एवं सरोकारवाला विभिन्न संघ–संस्थाका प्रतिनीधीहरु सहभागी थिए ।
सोही अवसरमा केही सरोकारवालाहरुले  वैदेशिक रोजगार ऐन–२०६४ समेत अझै कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयन ल्याउन आग्रह गरेका छन । 
दिवसका अवसरमा श्रम सचेतनाका लागि वैदेशिक रोजगार विभागको कार्यालय पुगेर मंगलवार एकघण्टा धर्ना दिँदै उनीहरुले यस्तो आग्रह गरेका हुन ।
मानव अधिकारकालागि विश्वव्यापी रुपमा कार्यरत एम्नेस्टी इन्टरनेसनल नेपाल शाखा, श्रम तथा सामाजिक अध्ययन केन्द्र र अन्तर्राष्ट्रिय संयुक्त सञ्जालद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारका लागि अपनाउनुपर्ने सजगताका लागि तयार पारिएको पुस्तिका समेत विदेश जान लागेका युवालाई वितरण गरिएको एमनेस्टीका निर्देशक रामेश्वर नेपालले जानकारी दिए ।
उनले वैदेशिक रोजगारको Ôेत्रमा दलहरुले राजनीतिक भागबन्डा नगरी ठोस रुपमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने, ठगी गर्ने मेनपावर कम्पनी एवं एजेन्टमाथि कारबाही हुनुपर्ने, श्रम ऐन लागू गर्नुपर्ने माग लेखिएको पा“चबु“दे मागपत्र श्रम विभागमा बुझाईएको बताए । आफुहरुले विभागमा बुझाएको सो मागपत्रमा गत चैत देखि विभिन्न राजनीतिक दलका नेता लगायत ३० हजार भन्दा बढीले हस्ताÔर गरिसकेका उनले जानकारी दिए ।
सोही अवसरमा  श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव बुद्धिबहादुर खड्काले कामको खोजिमा वैदेशिक रोजगारीमा जाने क्रम अहिले आप्रवासी समस्याको रुपमा दैनिक बढिरहेको बताए ।
उनले स्वदेशमा रोजगारीको व्यवस्था नहुनु, राजनीतिक अस्थिरता चुलिदै जानु, सीपयुक्त रोजगारमूलक शिक्षा राज्यले प्रत्याभूति नगर्नु नै आप्रबासीको संख्या  बढ्नुको मुख्य प्रमुख कारण भएको  बताए ।
हाल नेपालबाट विभिन्न मुलुकमा पुगेर बस्ने आप्रवासीको संख्या २५ लाख लाको जानकारी दिँदै उनले एसिया तथा प्रशान्त क्षेत्रमा मात्र करिब २५ प्रतिशत मानिसहरू आप्रवासीको रुपमा रहेको अनुमान गरिएको बताए ।
उनले नेपालमा आप्रवासनको बढ्दो क्रमसँगै अहिले विभिन्न समस्या एवं चुनौति थपिदै गएको बताए । जनचेतनाको कमी, विदेशी भूमिको बाटो हुँदै वैदेशिक रोजगारीमा जाने प्रवृत्ति, वैदेशिक रोजगारीमा ठगी पारिश्रमिक र सेवा सुविधा न्यून हुनु, घरेलु महिला कामदार विभिन्न समस्यामा पर्नु लगायतका समस्याले आप्रवासी पीडित हुने क्रम बढेको मन्त्रालयले जनाएको छ ।
नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा आप्रवासीको रुपमा जानेहरूको संख्या चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म २५ लाख ९० हजार ९३ जना पुगेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयको तथ्याङक अनुसार श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जानेहरूको संख्या एकिन हुन नसकेपनि अहिले  भारतीय बाटोहुँदै जाने नेपाली कामदारको सङंख्या करिव ४० लाख नाघेको । जसमा महिलाको संख्या दुई लाख ५० हजार पुगेको अनुमान छ ।  यसैगरि अहिले संसारका १ सय ८ मुलुकमा नेपालीहरू रोजगारीका लागि आप्रवासी बन्ने गरेका छन् । जसमध्ये सबैभन्दा बढी आप्रवासी नेपाली मलेसियामा रहेको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने पाँच प्रमुख गन्तव्य राष्ट्रमा मलेसियामा जाने नेपाली कामदारको संख्या चालु आवको कात्तिक मसान्तसम्म ७ लाख ७३ हजार ९ सय ४० जना रहेको छ ।

बढ्दो लोडसेडिङले होटलको अपरेटिङ कष्ट बढ्यो
व्यवसायी घाटामै कारोबार गर्न बाध्य 

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,२ पुस
होटल व्यवसायीले बढ्दो लोडसेडिङका कारण अपरेटिङ कष्ट बढेको बताएका छन । उनीहरुले हाल सञ्चालित दैनिक १० घण्टे लोडसेडिकले लागत मुल्य बढ्न गई व्यवसाय सञ्चालन गर्न मुस्कील परेको बताएका छन । प्राधिकरणले मंसिर देखि नै लोडसेडिङको समय थप गरि दैनिक १० घन्टा पु¥याएको छ ।
पर्यटकलाई सेवा दिन सञ्चालित राजधानीका ठुला तारे होटल देखि स– साना पर्यटकीय रेस्टुरेन्ट एवं होटलका व्यवसायीहरु अहिले खल्तिको पैसा झिक्न बाध्य भएको होटल एसोसियसन अफ नेपाल ( हान) ले जनाएको छ ।
हानका कार्यकारी व्यवस्थापक प्रवेश अर्यालले बढ्दो लोडसेडिङका कारण होटल व्यवसायी मारमा परेको बताए । उनले मंसिरदेखि नै दैनिक १० घण्टा लोडसेडिङको मार खेप्न बाध्य व्यवसायी आगामी सुक्खा याममा बढ्ने लोडसेडिङको अवस्था सुन्दैमा अत्यासिन थालेको बताए । लोडसेडिङ बढेको बेला व्यवसायीले पाउनालाई सम्झौता बमोजिम गुणस्तरीय सेवा दिँदा भोग्नुपर्ने अनेकौ पिडाबारे जानकारी दिँदै  उनले विद्युत आपुर्ति नभएको समय होटलमा भएका सबै विद्युतीय सामाग्री चलाउन प्रयोग गरिने जेनेरेटर, इन्भटर र युपिएस लगायतका वैकल्पीक उर्जाजन्य उपकरण चलाउदा अपरेटिङ कष्ट निकै बढेको बताए । लोडसेडिङ नभएको समयमा भन्दा अहिले ठुला पाँच तारे होटलदेखि स–साना पर्यटकीय रेस्टुरेन्ट एवं बार सबैमा करिब २७ देखि ३५ प्रतिशत अनावस्यक खर्च ( अपरेटिङ कष्ट) बढेको बताउँदै अर्यालले  भने, ‘ अहिले व्यवसायीले कम नाफाबाट होटल सञ्चालन गरिरहेका छन’ ।
उनले विगत केही वर्ष देखि लगातार होटल सञ्चालनकालागि आवस्यक उपभोग्य बस्तु, खाद्यान्नको भाउ लगायत सबै खर्च बढेपनि अझै व्यवसायीले कोठा र खानाको रेट बढाउन नसकेको बताए ।
अपरेटिङ कष्ट बढेपनि खाना लगायत अन्य सेवा बापत पर्यटकसँग बढी रकम लिएमा हाल आईरहेका पर्यटक पनि फेरी नआउने सम्भावना रहेकाले व्यवसायी लोडसेडिङ अवधीभर खल्तिकै पैसा झिकेर भएपनि होटल चलाउन बाध्य भएको उनको भनाई छ ।
नेपाल विद्युत प्राधिकरणबाट उपलब्ध विद्युत उपयोग गर्दा प्रति युनिट ९ रुपैयाँ मात्र तिर्नु परेकामा लोडसेडिङका बेला जेनेरेटर प्रयोग गर्दा प्रति युनिट २८ देखि ३२ रुपैयाँ पर्ने गरेको जानकारी गराउँदै कार्यकारी व्यवस्थापक अर्यालले भने , ‘लोडसेडिङले होटल व्यवसायी घाटामा छन’।
विद्युत नभएको बेला डिजेलबाट जेनेरेटर चलाउदा बढेको लागत मुल्य एकैपटक पर्यटकमाथी खन्याउँदा राम्रो नभएको भन्दै व्यवसायीले आफुले घाटा खाएर होटल सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
पर्यटकको सेवामा सञ्चालित होटलमा हुने गरेको बढ्दो लोडसेडिङ एवं श्रम व्यवस्थापनको समस्याले होटल क्षेत्र नै धरासायी हुन लागेको जानकारी दिँदै उनले होटललाई पनि अन्य उद्योगकै सरह विद्युत महसुल दर कायम हुनुपर्ने व्यवसायीको माग रहेको बताए ।
विद्युत अभावबाट उत्पन्न समस्या अन्य उद्योगको भन्दा होटल क्षेत्रको धेरै ठुलो रहेको दावी गर्दै अर्यालले भने, ‘ विद्युत नभए युरोपियन शैलिमा सञ्चालित होटलका कुनैपनि काम चल्दैन’ । त्यसैले लोडसेडिङको मारमा परेका होटल व्यवसायीको समस्या प्रति सरकार गम्भिर हुनुपर्ने अधिकाँश व्यवसायीको भनाई छ । 
यसअघि हिउँदमा मात्र लोडसेडिङ बढ्ने गरेकामा अहिले मंसिरबाटै दैनिक १० घन्टे लोडसेडिङको मार खेप्न बाध्य व्यवसायीले फागुन,चैत र बैशाखमा दैनिक १८ घण्टाबढीको लोडसेडिङको मार खेप्नुपर्ने भन्दै सो गुनासो गरेका हुन । यसपालीको सुक्खा याममा दैनिक १८ घण्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले अहिले नै जानकारी गराईसकेको छ ।
नाङलो होटलका सञ्चालक एवं हानका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले लोडसेडिङले होटल सञ्चालनको लागत मुल्यमा ठुलो प्रभाव पारेको बताए । अन्य उद्योग भन्दा होटल उद्योग निकै खर्चिलो रहेको दावी गर्दै उनले विद्युत बिना फ्रिज, एसी लगायत धेरै खाना स्वथ्यकर राख्ने उपकरणहरु नचल्ने बताए । जसका कारण धेरै लगानीमा तयार पारिएको खानाका परिकार समेत बिग्रने उनको भनाई छ । विद्युत उपयोग गर्दा प्रति युनिट ९ रुपैयाँ मात्र तिर्नु परेकामा लोडसेडिङका बेला जेनेरेटर सञ्चालन गर्दा प्रति युनिट ३५ रुपैयाँ लागत पर्ने गरेको जानकारी दिँदै उनले उद्योग विभागमा दर्ता भएका होटलले अन्य उद्योगसरह छुटको माग गरेपनि अझै पुरा नभएको बताए ।
ठमेल स्थित होटल बैसालीका कार्यकारी निर्देशक बिसालकुमार कैंथले दैनिक १० घन्टे लोडसेडिङका कारण आफ्नो होटलमा दैनिक ५० हजार रुपैयाँ थप आर्थिक भार परेको बताए । अहिले दैनिक ५० लिटर डिजेल जेनेरेटर चलाउँदा सकिने गरेको जानकारी गराउँदै उनले लोडसेडिङ नभएको बेलामा भन्दा अहिले दैनिक ५० हजार रुपैयाँको अपरेटिङ कष्ट बढेको बताए । यसले अधिकाँश व्यवसायी मर्कामा परेको उनको भनाई छ । विद्युत प्राधिकरणले गत मंसिर देखि नै लोडसेडिङको समय बढाएर दैनिक १० घन्टा पु¥याएकाले व्यवसायी थप मारमा परेको उनले जानकारी गराए ।
१४ औं पोखरा सडक महोत्सव हुने
काठमाडौ, १ पुस
आगामी १३ देखि १७ पुससम्म ‘१४ औं पोखरा सडक महोत्सव’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसियसन अफ नेपाल ( रेवान) पोखरा च्याप्टरको आयोजनामा हुने पाँचदिने सो महोत्सवमा स्वदेशी र विदेशी गरी करिब ४ लाख दर्शकको सहभागिता रहने बताईएको छ ।
नेपाली खानाका विभिन्न परिकार र खाने संस्कार एवं तरिकाबारे जानकारी दिने उदेस्यले आयोजना हुन लागेको महोत्सवमा करिब ४५ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक संस्था रेवानले जनाएको छ । 
महोत्सव तयारी पुरा भएको जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक भिमसेन भुजेलले महोत्सव अवधीभर बाहिरबाट जाने पर्यटकलाई यात्रा र होटल बसाईमा आकर्षण बढाउन स्थानीय व्यवसायीहरुले छुटको व्यवस्था मिलाएको बताए । उनले विगत १३ वर्षदेखि गर्दै आएको निरन्तरता स्वरुप यसपाली विशेष कार्यक्रममा साथ स्थानीय व्यवसायीको सक्रिएतामा महोत्सव सम्पन्न गर्न गालेको जानकारी दिए ।
उनले विगत १३ वर्षदेखि अंग्रेजीको नव वर्ष र क्रिमसको अवसरमा पोखरा सडक महोत्सव गर्दै आएको जानकारी दिँदै उनले अझै यस कार्यलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गर्न सबैको सहयोग आवस्यक भएको बताए ।
रेवान पोखरा च्याप्टरका अध्यक्ष गोपीबहादुर भट्टराईले महोत्सवको आकर्षण एवं विशेषताहरुका बारेमा जानकारी दिँदै महोत्वसवमा सहभागी हुने जाने पाहुनालाई स्थानीय व्यवसायीले आकर्षक छुटको प्याकेजमा सेवा गर्ने बताए ।
कार्यक्रममा रेवान केन्द्रिय अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले नेपाली खानाका परिकार र खाने तरिकाबारे जानकारी दिने उदेस्यले आयोजना हुने महोत्सव यहाँको खानाको संस्कृतिलाई जर्नेना गर्न   निकै उपयोगि र फलदायी हुने अपेक्षा गरिएको बताए ।
उनले मुलुककै उत्कृष्ट पर्यटकीय गन्तब्यस्थल पोखरामा रमाउने पर्यटकलाई थप मनोरञ्जन दिन महोत्सवमा मुख्य बजार क्षेत्रका ३ किमी दुरीको सडकमा विविध खानाका परिकार राखेर मरमग्दुर आनन्द दिने  बताए ।
सो कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक दोय आदित्य बराल र काशीराज भण्डारीले पोखराको गरिमालाई अन्तर्राष्ट्रिय क्षेत्रमा थल लोकप्रिय बनाउन महोत्सव फलदायी हुने अपेक्षा गरिएको बताए ।