Sunday, December 23, 2012


संक्रमणकालीन अवस्थाको निकासका लागि सहमति आवश्यक छ 
राजेन्द्र शेरचन
अध्यक्ष, खिचापोखरी व्यापार संघ
एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य

२०१६ सालमा बागलुङ जिल्लाको बागलुङ बजारमा जन्मिएका व्यवसायी
राजेन्द्र शेरचन खिचापोखरी व्यापार संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य हुन् ।
राजधानीको सुन्धारास्थित धरहरा नजिकैको खिचापोखरी प्रवेश मार्गमा शेरचन इम्पोरियम नामक तयारी पोसाक बिक्री केन्द्र स्थापना गरी विगत ३२ वर्षदेखि व्यापारिक क्षेत्रमा सक्रिय शेरचन एक सफल उद्यमीका रूपमा परिचित छन् । शेरचन इम्पोरियमका प्रबन्ध सञ्चालक राजेन्द्र लामो समयसम्मको व्यापारिक अनुभव र व्यवसायीबीचको एकता एवं समाजसेवी भावनाकै कारण राजधानीको व्यापारिक मुटु खिचापोखरी व्यापार संघका अध्यक्ष भएका हुन् । अहिलेसम्म उनी यस संघमा लगातार तीन पटक अध्यक्ष पदमा निर्वाचित भई कुशलतापूर्वक काम गरिरहेका छन् । उनी संघको संस्थापक अध्यक्ष हुन् ।
बुबा तेजेन्द्रबहादुर शेरचन र आमा भीमकुमारी शेरचनको कोखबाट जन्मिएका राजेन्द्रले आफ्ना बुबाले बागलुङबाटै सञ्चालन गरेको थकालीको पुख्यौली पेसा तयारी पोसाक बिक्री गर्ने कार्यबाटै व्यापारिक क्षेत्रमा प्रवेश गरेका हुन् । जन्मथलो बागलुङबाट पोखरा हुँदै काठमाडौं आएर विगत तीन दशकभन्दा बढी समयदेखि खिचापोखरीमा व्यापार जमाएर बसेका शेरचनले  त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका छन । व्यापारिक क्षेत्रको सफलतासँगै विशेषगरी सामाजिक कार्य गर्न रुचाउने शेरचनले हाल काठमाडांै महानगरपालिका–२२ को टोल सुधार समितिको सदस्यको जिम्मेवारी पनि सम्हालेका छन् । राजधानीको व्यापारिक केन्द्र खिचापोखरी र न्युरोड क्षेत्रमा छरिएर रहेका सबै व्यवसायीलाई एकजुट गराई संघको माध्यामबाट व्यवस्थित रूपमा राजस्व संकलन गर्ने काममा सरकारलाई सघाइरहेको उनी बताउँछन् । उनी कार्यरत संघको कार्यक्षेत्र ६ ओटा समूहमा विभाजन गरिएको छ । जसमा न्युरोड, खिचापोखरी, सुन्धारा, पाको न्युरोड, धर्मपथ, रणमुक्तेश्वर रहेका छन् । उनले हाल यस संघमा करिब ६ सय व्यापारिक संस्थाका प्रतिनिधि सदस्य रहेको जानकारी दिए । शेरचनका अनुसार यस क्षेत्रमा जुत्ताचप्पल, सुनचाँदी, औषधि, इलेक्ट्रोनिक्स, तयारी पोसाकजन्य वस्त बिक्री गर्ने, रेस्टुरेन्ट होटल एवं सेवासम्बन्धी कुनै पनि व्यापारिक संस्थाका प्रतिनिधि संघमा आबद्ध छन् । अधिकांश मासुपसल र पुराना घर भएको खिचापोखरी क्षेत्रलाई सरसफाइ गरी उत्कृष्ट व्यापारिक हबका रूपमा विस्तार गर्न आफूले २०३७ सालबाट निरन्तर प्रयास गरी अहिलेको यस अवस्थामा आइपुग्न सफल भएको बताउने शेरचनलाई यस पटक हामीले हिँड्दा हिँड्दै स्तम्भमा स्थान दिएका छांै ।

तपाईं आफ्नो परिचय कसरी दिनुहुन्छ ?
–म सधैं व्यापारिक क्षेत्रको हकहितमा लाग्ने सामाजसेवी मान्छे हुँ ।
जीवन के हो ?
– जीवन निरन्तर चल्ने सिकाइको यात्रा हो ।
प्रेरणाको स्रोत ?
– बुबा तेजेन्द्रबहादुर शेरचन र आमा भीमकुमारी शेरचन र अन्य व्यवसायी साथीहरू ।
तपाईं जीवनको उपलब्धि केलाई ठान्नुहुन्छ ?
–मैलै अहिलेसम्म जे प्राप्त गरें त्यसैलाई उपलब्धिका रूपमा लिएको छु । जीवनको उपलब्धि आफूले जानेका सबै कुरा व्यवहारमा उतारी अरूलाई दिन सकियो भने म त्यसैलाई ठूलो उपलब्धि मान्दछु । 
प्रेम के हो ?
–निश्वार्थ भावना नै प्रेम हो । प्रेम दुई मुटुलाई एक आपसमा बाँध्ने निश्वार्थपूर्ण भावना हो ।
तपाईंको सबैभन्दा नजिकको मान्छे ?
– बुबा–आमा र श्रीमती सविना शेरचन ।
कर्म के हो ?
– पहिचाहन नै कर्म हो ।
तपाईं कर्ममा विश्वास गर्नुहुन्छ कि भाग्यमा ?
– म कर्म र भाग्य दुवैमा वि    श्वास गर्दछु ।
तपाईंलाई मनपर्ने पार्टी र नेता ?
–अहिलेसम्म कुनै पनि छैन ।
तपाईंको जीवनको  दुःखद क्षण ?
 – जीवनमा दुःख सुख हुँदै जान्छ । म बुबा आमाको निधन हुँदा धेरै रोएको छु । 
देशको मनपर्ने स्थान ?  
– पोखरादेखि मुस्ताङका सबै क्षेत्र
मुलुकको सबैभन्दा ठूलो समस्या ?
– लामो समयदेखि जारी राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा ठूलो समस्या हो ।
सोख ?   
– भ्रमण र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने । 
विवाह लभ कि एरेन्ज
– एरेन्ज हो  ।
युवापुस्ताले गर्नुपर्ने मुख्य काम ?
– नयाँ विचार र सोचका साथ  अर्काको पछि नलागी आत्मनिर्भर बन्नुपर्छ ।

नयाँ पुस्तालाई के सन्देश दिनुहुन्छ ?
–इमानदार र कामप्रति लगनशील हुनुपर्छ ।
लक्ष्य ?
– मलाई अथाह सम्पत्ति कमऊँ भन्ने छैन । त्यसैले समाजसेवी बन्ने लक्ष्य छ ।
राजनीतिक संक्रमणको निकास के हो ?
–दलका नेताहरूले  व्यक्तिगत स्वार्थमा नलागी देशका लागि सोच्नुपर्छ । सहमती नै संक्रमणको निकास हो ।
 देशको वर्तमान राजनीतिक अवस्थाप्रति के भन्नुहुन्छ ?
–अहिले मुलुकको राजनीतिक अवस्था अन्योलपुर्ण छ । जसका कारण देशको औद्योगिक वातावरण बिग्रिएको छ । अहिले धमाधम युवा कामको खोजीमा बिदेसिन बाध्य छन् । 
प्रस्तुति ः मधुजंग पाण्डे÷राजधानी

No comments:

Post a Comment