Sunday, December 23, 2012

राजनीतिक अन्योलताका कारण पर्यटन दूरदृष्टि अन्योलमा
लुम्बिनी भ्रमण वर्ष नारामै सीमित

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ४ पुस
राजनीतिक संक्रमणकालीन अवस्थाले लुम्बिनी भ्रमण वर्ष–२०१२ का कार्यक्रम नारामै सीमित हुन पुगेका छन् । भ्रमण वर्ष सकिन केही दिन मात्र बाँकी रहँदासम्म भ्रमण वर्ष उद्घाटनको कार्यक्रमबाहेक अरू कुनै प्रवद्र्धनका कार्य हुन सकेका छैनन् ।
राजनीतिक अन्योलताकै कारण लगानी वर्ष–२०१२÷१३ का पूर्वलक्षित कार्यक्रममा पनि असर परेको छ ।
निर्माण कार्य थालनी भइसकेका ठूला आयोजना तथा राष्ट्रिय गौरवका कार्यक्रम लक्ष्यअनुरूप सञ्चालन भएका छैनन् ।  यति मात्र होइन, अझै यस्तो संक्रमणकालीन अवस्था लम्बिइरहे सरकारले अघि सारेको नेपाल पर्यटन दूरदृष्टि (भिजन–२०२०) अभियानका विविध कार्यक्रम कार्यान्वयनमा पनि कठिनाइ उत्पन्न हुने देखिएको छ ।
आर्थिक वर्ष सुरु भएको सात महिना बित्न लाग्दा पनि पूर्ण बजेट ल्याउन नसक्नु, हरेक ६÷६ महिनामा मन्त्री र सचिव फेरिने परिपाटी, पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गर्नेहरूले पनि दलीय स्वार्थका पछि लागेर नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोषमा अनावश्यक राजनीतिक हस्तक्षेप गर्नेजस्ता कारणले भिजन–२०२० को पूर्वलक्षित अभियानका विविध कार्यहरू प्रवाभित बनेका सम्बन्धित सरोकारवाला नै बताउँछन् ।  
सन् २०११ को पर्यटन वर्षमा १० लाख पर्यटक भित्राउने लक्ष्य राखिए पनि जम्मा ७ लाख ३६ हजार २ सय १५ जना मात्र पर्यटक आएको भन्दै उनीहरूले सन् २०१२ को लुम्बिनी भ्रमण वर्षका कार्यक्रम पनि केबल नारामै सीमित भएको बताए ।
लुम्बिनी विकास कोषका सदस्य–सचिव अजितमान तामाङले लामो समयदेखि जारी राजनीतिक अन्योलता एवं संक्रमणकालीन अवस्थाका कारण लुम्बिनी भ्रमण वर्ष लक्ष्यअनुरूप सफल हुन नसकेको बताए ।
उनले लुम्बिनी भ्रमण वर्ष मनाउन सरकारले हतारमा निर्णय गरेकाले उपयुक्त पूर्वाधार र प्रचार–प्रसारको अभावका कारण लक्ष्यअनुरूप पर्यटक भित्राउने दृष्टिले असफल भएको जिकिर गरे । 
उनले लुम्बिनी धार्मिक दृष्टिकोणले बुद्ध मार्गीहरूको आस्थाको केन्द्र भएकाले पर्यटकीय सम्भावना अझै पर्याप्त भइनसकेको बताए । 
कोषका सदस्य सचिव तामाङले असहज संक्रमणकालीन राजनीतिक अवस्था रहे पनि लुम्बिनीको विकासमा सर्वदलीय राजनीतिक समूह रहेकाले केही सहज भएको बताए । अहिले लुम्बिनीमा चिनियाँ, भियतनामी, श्रीलंकन, थाइल्यान्डलगायतका बौद्ध धर्मावलम्बी पर्यटक आउनेक्रम राम्रो भए पनि अझै अपेक्षित रूपमा नआएको जानकारी दिए ।
सरकारले लुम्बिनी भ्रमण वर्षका कार्यक्रमलाई अझै एक वर्षका लागि निरन्तरता दिने योजना बनाए पनि सो योजनाले  पर्यटन दूरदृष्टि अभियानअन्तर्गत सन् २०१३ का लागि पूर्वघोषित सिस्ने, जलजला, ढोरपाटन र कर्णाली पर्यटन वर्षका कार्यक्रम प्रभावित नहुने धारणा राखे  । उनले अझै लुम्बिनी दशक घोषणा गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।
सरकारले सन् २०२० सम्म  पर्यटन दूरदृष्टि अभियानअन्तर्गत सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष, सन् २०१३ लाई कर्णाली पर्यटन वर्ष, सन् २०१४ लाई विशेष मिथिला र सहलेस पर्यटन वर्ष, सन् २०१५ लाई विराट मेची पहाडी पर्यटन वर्ष, सन् २०१६ लाई रुरु–रेसुङगा पोखरा, अन्नपूर्ण वर्ष, सन् २०१७ लाई सिम्रौनगढ, काठमाडौं लाङटाङ पर्यटन वर्ष, सन् २०१८ अरुण सगरमाथा पर्यटन वर्ष, सन् २०१९ मा  चिसापानी खप्तड पर्यटन वर्ष र सन् २०२० लाई आन्तरिक भ्रमण तथा नागरिक उड्डयन वर्ष घोषणा गरेको छ ।
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमले पर्यटन दूरदृष्टि अभियानलाई कार्यान्वयन गर्न निजी क्षेत्रसँगको छलफलपछि ठोस रणनीति बनाउने तयारीमा सरकार रहेको बताए । उनले पर्यटन दूरदृष्टि अभियानको ढाँचामा केही परिवर्तन गर्ने योजनामा आफूहरू रहेको  बताए ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलाले सरकारको दूरदृष्टि अभियानलाई सफलतापूर्वक  कार्यान्वयनमा ल्याउन कुनै अप्ठ्यारो अवस्था नरहेको बताए । 
उनले अहिले पर्यटन बोर्डको बजेट पास भइसकेकाले पर्यटन प्रवद्र्धनका कार्यक्रममा कुनै समस्या नहुने दाबी गरे । अहिले बोर्डमा प्रवद्र्धनका कार्यक्रमका लागि कुनै असहज अवस्था नरहेको जानकारी दिँदै निरौलाले भने, ‘पूर्वाधार विस्तार, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, हवाई सेवाको संख्या थप भएको अवस्थामा सन् २०२० सम्ममा २० लाखभन्दा बढी पर्यटक भित्राउन  खासै समस्या नपर्ला ।’ 
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सिज (नाट्टा) का अध्यक्ष पवित्रकुमार कार्कीले  पर्यटन दूरदृष्टि अभियानअन्तर्गत लुम्बिनी भ्रमण वर्ष पनि कार्यक्रम र योजनाविहीन भएकाले ओझेलमा परेको बताए । कार्कीले राजनीतिक फेरबदलको प्रभाव नेपालको पर्यटन क्षेत्रमा पनि परेको बताए । निजी क्षेत्रसँगको छलफल र सहकार्य गरेर दूरदृष्टि अभियान ल्याएको भए सफल हुने धारणा राख्दै उनले यसको सफलताका लागि अब निजी क्षेत्रसँगको सहकार्य जरुरी भएको जानकारी दिए ।

No comments:

Post a Comment