Tuesday, December 18, 2012


बढ्दो लोडसेडिङले होटलको अपरेटिङ कष्ट बढ्यो
व्यवसायी घाटामै कारोबार गर्न बाध्य 

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,२ पुस
होटल व्यवसायीले बढ्दो लोडसेडिङका कारण अपरेटिङ कष्ट बढेको बताएका छन । उनीहरुले हाल सञ्चालित दैनिक १० घण्टे लोडसेडिकले लागत मुल्य बढ्न गई व्यवसाय सञ्चालन गर्न मुस्कील परेको बताएका छन । प्राधिकरणले मंसिर देखि नै लोडसेडिङको समय थप गरि दैनिक १० घन्टा पु¥याएको छ ।
पर्यटकलाई सेवा दिन सञ्चालित राजधानीका ठुला तारे होटल देखि स– साना पर्यटकीय रेस्टुरेन्ट एवं होटलका व्यवसायीहरु अहिले खल्तिको पैसा झिक्न बाध्य भएको होटल एसोसियसन अफ नेपाल ( हान) ले जनाएको छ ।
हानका कार्यकारी व्यवस्थापक प्रवेश अर्यालले बढ्दो लोडसेडिङका कारण होटल व्यवसायी मारमा परेको बताए । उनले मंसिरदेखि नै दैनिक १० घण्टा लोडसेडिङको मार खेप्न बाध्य व्यवसायी आगामी सुक्खा याममा बढ्ने लोडसेडिङको अवस्था सुन्दैमा अत्यासिन थालेको बताए । लोडसेडिङ बढेको बेला व्यवसायीले पाउनालाई सम्झौता बमोजिम गुणस्तरीय सेवा दिँदा भोग्नुपर्ने अनेकौ पिडाबारे जानकारी दिँदै  उनले विद्युत आपुर्ति नभएको समय होटलमा भएका सबै विद्युतीय सामाग्री चलाउन प्रयोग गरिने जेनेरेटर, इन्भटर र युपिएस लगायतका वैकल्पीक उर्जाजन्य उपकरण चलाउदा अपरेटिङ कष्ट निकै बढेको बताए । लोडसेडिङ नभएको समयमा भन्दा अहिले ठुला पाँच तारे होटलदेखि स–साना पर्यटकीय रेस्टुरेन्ट एवं बार सबैमा करिब २७ देखि ३५ प्रतिशत अनावस्यक खर्च ( अपरेटिङ कष्ट) बढेको बताउँदै अर्यालले  भने, ‘ अहिले व्यवसायीले कम नाफाबाट होटल सञ्चालन गरिरहेका छन’ ।
उनले विगत केही वर्ष देखि लगातार होटल सञ्चालनकालागि आवस्यक उपभोग्य बस्तु, खाद्यान्नको भाउ लगायत सबै खर्च बढेपनि अझै व्यवसायीले कोठा र खानाको रेट बढाउन नसकेको बताए ।
अपरेटिङ कष्ट बढेपनि खाना लगायत अन्य सेवा बापत पर्यटकसँग बढी रकम लिएमा हाल आईरहेका पर्यटक पनि फेरी नआउने सम्भावना रहेकाले व्यवसायी लोडसेडिङ अवधीभर खल्तिकै पैसा झिकेर भएपनि होटल चलाउन बाध्य भएको उनको भनाई छ ।
नेपाल विद्युत प्राधिकरणबाट उपलब्ध विद्युत उपयोग गर्दा प्रति युनिट ९ रुपैयाँ मात्र तिर्नु परेकामा लोडसेडिङका बेला जेनेरेटर प्रयोग गर्दा प्रति युनिट २८ देखि ३२ रुपैयाँ पर्ने गरेको जानकारी गराउँदै कार्यकारी व्यवस्थापक अर्यालले भने , ‘लोडसेडिङले होटल व्यवसायी घाटामा छन’।
विद्युत नभएको बेला डिजेलबाट जेनेरेटर चलाउदा बढेको लागत मुल्य एकैपटक पर्यटकमाथी खन्याउँदा राम्रो नभएको भन्दै व्यवसायीले आफुले घाटा खाएर होटल सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
पर्यटकको सेवामा सञ्चालित होटलमा हुने गरेको बढ्दो लोडसेडिङ एवं श्रम व्यवस्थापनको समस्याले होटल क्षेत्र नै धरासायी हुन लागेको जानकारी दिँदै उनले होटललाई पनि अन्य उद्योगकै सरह विद्युत महसुल दर कायम हुनुपर्ने व्यवसायीको माग रहेको बताए ।
विद्युत अभावबाट उत्पन्न समस्या अन्य उद्योगको भन्दा होटल क्षेत्रको धेरै ठुलो रहेको दावी गर्दै अर्यालले भने, ‘ विद्युत नभए युरोपियन शैलिमा सञ्चालित होटलका कुनैपनि काम चल्दैन’ । त्यसैले लोडसेडिङको मारमा परेका होटल व्यवसायीको समस्या प्रति सरकार गम्भिर हुनुपर्ने अधिकाँश व्यवसायीको भनाई छ । 
यसअघि हिउँदमा मात्र लोडसेडिङ बढ्ने गरेकामा अहिले मंसिरबाटै दैनिक १० घन्टे लोडसेडिङको मार खेप्न बाध्य व्यवसायीले फागुन,चैत र बैशाखमा दैनिक १८ घण्टाबढीको लोडसेडिङको मार खेप्नुपर्ने भन्दै सो गुनासो गरेका हुन । यसपालीको सुक्खा याममा दैनिक १८ घण्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले अहिले नै जानकारी गराईसकेको छ ।
नाङलो होटलका सञ्चालक एवं हानका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले लोडसेडिङले होटल सञ्चालनको लागत मुल्यमा ठुलो प्रभाव पारेको बताए । अन्य उद्योग भन्दा होटल उद्योग निकै खर्चिलो रहेको दावी गर्दै उनले विद्युत बिना फ्रिज, एसी लगायत धेरै खाना स्वथ्यकर राख्ने उपकरणहरु नचल्ने बताए । जसका कारण धेरै लगानीमा तयार पारिएको खानाका परिकार समेत बिग्रने उनको भनाई छ । विद्युत उपयोग गर्दा प्रति युनिट ९ रुपैयाँ मात्र तिर्नु परेकामा लोडसेडिङका बेला जेनेरेटर सञ्चालन गर्दा प्रति युनिट ३५ रुपैयाँ लागत पर्ने गरेको जानकारी दिँदै उनले उद्योग विभागमा दर्ता भएका होटलले अन्य उद्योगसरह छुटको माग गरेपनि अझै पुरा नभएको बताए ।
ठमेल स्थित होटल बैसालीका कार्यकारी निर्देशक बिसालकुमार कैंथले दैनिक १० घन्टे लोडसेडिङका कारण आफ्नो होटलमा दैनिक ५० हजार रुपैयाँ थप आर्थिक भार परेको बताए । अहिले दैनिक ५० लिटर डिजेल जेनेरेटर चलाउँदा सकिने गरेको जानकारी गराउँदै उनले लोडसेडिङ नभएको बेलामा भन्दा अहिले दैनिक ५० हजार रुपैयाँको अपरेटिङ कष्ट बढेको बताए । यसले अधिकाँश व्यवसायी मर्कामा परेको उनको भनाई छ । विद्युत प्राधिकरणले गत मंसिर देखि नै लोडसेडिङको समय बढाएर दैनिक १० घन्टा पु¥याएकाले व्यवसायी थप मारमा परेको उनले जानकारी गराए ।

No comments:

Post a Comment