Wednesday, December 23, 2015

पर्यटन बोर्डका नवनिुक्त सिइओ जोशीद्धारा पदभार ग्रहण, निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता

काठमाडौ, ८ पुस – नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बुधबार पदभार ग्रहण गरेका छन् । गत साता संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको पर्यटन बोर्ड बैठकले जोशीलाई सिइओमा नियुक्त गरेको थियो । पदभार सम्हालेपछि नवनियुक्त सिइओ जोशीले निजी क्षेत्रको सहकार्यमा नै पर्यटन बोर्डको आगामी कार्यक्रम अघि बढ्ने बताए । उनले सरकार र निजी क्षेत्रसँगको आपसी सहकार्यमा मुलुकको पर्यटन प्रवद्र्धनमा जुट्ने प्रतिवद्धता जनाए । उनले आफ्नो चार वर्षे कार्यकालमा विभिन्न चारओटा रणनीति बनाएर बोर्डको भावी कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने आफ्नोे योजना रहेको बताए ।
 उनले गत बैशाखमा गएको विनाशकारी भूकम्प, नाकाबन्दी र विभिन्न बहानामा हुने गरेका बन्द हडतालका कारण अहिले स्वाटै घटेको पर्यटक बढाउने अभियान आफ्नो पहिलो चुनौती भएको बताए । यो चुनौतीसँगसँगै बोर्डमा अपनत्व महशुस नगरेको निजी क्षेत्र र सरकारबीच पुलको रुपमा काम गर्नुपर्ने आफ्नो अर्को दायित्व रहेको भन्दै उनले अहिले मुलुकको पर्यटन गम्भिर संकटमा परेकाले पहिलो प्राथमिकता मुलुकको पर्यटन बचाउनु नै रहेको बताए । उनले सन् २०१६ लाई इयरर्स अफ सर्भाइभलको रुपमा लिएका छन् । उनले अहिले वार्षिक पर्यटक आगमनको संख्या निकै घटेर जम्मा तीन लाखमा झरेको पर्यटकलाई फेरी ८ लाख पु¥याउने पहिलो लक्ष्य रहेको बताए । यसैगरी,उनले २०१७ लाई इयर अफ रिभाइभल भनेका छन् । त्यसैगरि सन २०१८ लाई इयर अफ रिभाइन रिग्रेसन र सन २०१९ लाई बिल्डिङ ब्याक बेटर वर्षका रुपमा मनाउने आफ्नो ब्यक्तिगत योजना रहेको जानकारी दिए । बुधबार राजधानीमा आयोजित सो कार्यक्रममा बोर्डका संस्थापक सदस्य एवं बरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्रले पहिले जुन उद्देश्य लिएर बोर्डको गठन गरिएको थियो अहिले नयाँ सिइओले सोही उद्देश्य प्राप्तीमा अघि बढ्नुपर्ने बताए । पर्यटन क्षेत्रको विकास भएमा मात्र स–सानादेखि ठेला नेपालीलाई पाल्न सक्ने बताउँँदै उनले सरोकारवाला सबै मिलेर पर्यटन प्रवद्र्धनमा जुट्न आग्रह गरे ।

अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले आफ्नो दायित्व राम्रोसँग निभाउन नवनियुक्त सिइओ जोशीलाई सुझाव दिए । ‘हामीले तपाईसँग धेरै अपेक्षा गरेका छौं’ उनले भने, ‘हाम्रो आशालाई निरासामा परिणत हुन नदिनुहोला’।
बोर्ड सञ्चालक समितिका सदस्य  समेत रहेका न्यौपानेले छिट्टै बोर्डको बैठक बसेर पर्यटन प्रवद्र्धनका लागि बजेट र कार्यक्रमहरु बनाउन आग्रह गरे । ट्रेकिङ एजेसिज् एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले निजी क्षेत्रको मनोवल बढाउने गरी काम गर्न जोशीलाई सुझाव दिए । ‘बन्द हडताल, नाकाबन्दीले हाम्रो आत्मवल गिरेको छ, विगतमा बोर्डले निजी क्षेत्रलाई टाढा बनायो’ उनले भने, ‘पछिल्लो समयमा बोर्डको बिग्रिएको छबी सुधार्दै निजी क्षेत्रलाई सँगसँगै लिएर पर्यटन अघि बढ्नुहोला’ । सो कार्यक्रममा नयाँ सिइओ छनोट समितिका संयोजक एवं बोड सञ्चालक समितिका सदस्य घनेन्द्रबहादुर श्रेष्ठ, अर्का बोर्ड सदस्य राजेन्द्रप्रसाद सापकोटा लगायतले सिइओ जोशीको आगामी ४ वर्षे कार्यकाल निकै राम्रोसँग बित्ने अपेक्षा गरेका थिए ।


Tuesday, December 22, 2015

लाङटाङ भ्रमण गर्न चुले निम्तो

काठमाडौ, ७ पुस –गत बैशाखमा गएको बिनासकारी भूकम्पका कारण मुलुकको आकर्षक पदयात्रा पर्यटकीय गन्तव्य रसुवाको लाङटाङ क्षेत्रले अत्यधिक क्षति व्यर्होयो । विनासकारी भूकम्पसँगै गएको हिउँ पहिरोका कारण लाङटाङ क्षेत्रमा मात्रै त्यसबेला एक सय ७५ जना स्थानियको अकालमै ज्यान गएको थियो । पर्यटकीय सम्पदा एवं त्यहाँका अघिकाँश होटल लजहरु ध्वस्त भएको थियो । पदयात्रा मार्ग हिँउ पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएको थियो । सो भूकम्पपछि गठित लाङटाङ पुनस्थापना समितिका अनुसार पुरै गाउँ नै बगाउनेगरि आएको हिमपहिरोमा चेपिएर ८० जनाभन्दा बढी विदेशी पर्यटक एवं करिब एक सयजना पर्यटन मजदुर, गाईड तथा पर्यटकका सहयोगीहरुले ज्यान गुमाएका थिए । मानविय क्षतिको आँकडा तीन सय ५५ हुँदा करोडौँ भौतिक क्षति हुन पुग्यो । बिनासकारी भूकम्प गएको अहिले ८ महिना बितिसक्दापनि त्यहाँका भूकम्प पिडितले सरकारले भत्कीएका घर बनाउनकालागि दिने भनिएको २ लाख रुपैयाँ अझै पाएका छैनन ।  यति धेरै क्षति व्यहोरेकोे पर्यटकीय गन्तव्य अहिले भूकम्पले भत्कीएका बिनासको धुलो टक्टक्याउँदै अघि बढ्ने प्रयत्न गर्दै छ । त्यहाँका स्थानीयवासी, नुवाकोट र धादिङका पर्यटन व्यवसायी एवं अन्य सरोकारवालाहरु अहिले भूकम्पले भत्कीएका संरचना निर्माणसँगै विभिन्न मुलुकबाट आउने विदेशी र स्वदेशी पर्यटकलाई सकेसम्म छिटो लाङकाङको पदयात्रा भ्रमणको चुले निम्तो बाँडिरहेका छन ।  सोही चुले निम्तो स्वरुप मंगलबार राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट –नेपाल)ले लाङटाङको पछिल्लो वस्तुस्थिति समेटेर तयार पारिएको ‘वाकिङ एण्ड वाकिङ’ नामक बृतचित्र प्रदर्शन ग¥यो । युवा पत्रकार अशोक सिलवालद्धारा निर्देशत सो बृतचित्रले बिनासकारी भूकम्पले क्षतबिक्षत पारेको  आकर्षक पर्यटकीय गन्तब्यस्थल लाङटाङ क्षेत्र पदयात्रा भ्रमणकालागि निकै सुरक्षित रहेको र अहिले त्यहाँको पर्यटकीय गतिविधी बिस्तारै बौरिँदै गरेको दृष्यसहितको सकारात्मक सन्देश प्रवाह गरेको थियो । 
भूकम्पपछि निकै सकसकासाथ लाङटाङका हरेक कुना कन्दरामा पुगेर स्थलगत रिपोटिङ गरी आफ्नो क्यामेरामा कैद गरिएका दुष्यहरु र त्यस क्षेत्रका स्थानिय एवं भ्रमणमा पुगेका विदेशी पर्यटकको स्थलगत अनुभव र पुर्नरस्थापनाका सहानुभूतिहरु समेटेर तयार पारिएको सो बृतचित्र हेरेका  सबैलाई पत्रकार सिलवालले त्यहाँको बास्तबीक जानकारीसहित सकेसम्म छिटो जान चुले निम्तो दिएका थिए ।  बृतचित्रले क्षतिग्रस्त लाङटाङको पछिल्लो बस्तुस्थिति प्रस्ट देखाएको छ । क्षतिग्रस्त क्षेत्रहरु पुर्नरनिर्माण हुँदैगरेका, मानिसहरु विस्तारै सहजताको स्थितिमा फर्किन खोजेका, पर्यटकले अहिले त्यहाँको अवस्थालाई निकै सहज एवं सकारात्मक रुपमा ग्रहण गरेका र घुम्न जान थप पे्ररित गरेका दृश्य सो बृतचित्रमा समेटिएको छ । स्थानियसावीहरु पनि पर्यटक भित्रिाउन निकै आतुर देखिएका दृष्यहरु पनि सो बृतचित्रले प्रश्ट देखाएको छ । समग्रमा बृतचित्रले बिस्तारै पहिलेकै अवस्थामा फर्किरहेको लाङटाङको पछिल्लो बस्तुस्थितिलाई सक्दो समेट्ने प्रयास गरेको छ । सो बृत्तचित्रका अनुसार  लाङटाङमा अब पर्यटक जान पहिलेको जस्तो पुरै सुविधा नभए पनि अप्ठ्यारो स्थिति छैन । ‘लाङटाङ भर्खर ब्यूँझेको छ, अब हिँडन खोज्दैछ ।’ सो बृतचित्र निर्देशन गरेका सिलवालले भने, ‘ अहिले लाङटाङ निर्भिक रुपमा उज्यालोतर्फ लम्केको छ’। 
निट नेपालका अध्यक्ष एवं टानका पूर्व अध्यक्ष दिपक महतका अनुसार शाहसिक पर्यटनमा निश्चित हुन नसके पनि अब लाङटाङमा घुम्न जान कसैलाई डराउनुपर्ने अवस्था छैन् । ‘ढुक्क भएर गए हुन्छ’ उनले भने । लाङटाङ पुनरुत्थानका लागि छुट्टै गुरुयोजना आवश्यक रहेको बताए । सरकारले आगामी २०१६ लाई भिजिट लाङटाङ वा मिसन लाङटाङ अभियान वर्ष घोषणा गर्नुपर्ने उनको भनाई थियो ।
लाङटाङ पुनर्निर्माण समितिका अध्यक्ष तेम्बा लामाले हिमपहिरोका कारण विस्थापित भएर राजधानीमा शरण लिईरहेका अधिकांश स्थानिय बासिन्दा घर फर्किसकेको बताउँदै लाङटाङ विस्तारै पहिलेकै अवस्थातिर लम्किन खोजेको दावी गरे । अहिले अधिकांश स्थानियहरु घर आफ्ना फर्किसकेका छन्, होटल पुनः सञ्चालन भएका छन भन्दै लामाले  अब आफुहरु पर्यटकलाई सेवा दिन आतुर रहेको बताए ।  लाङटाङ पुनरुत्थानका लागि सरकार तथा सरोकारवाला निकायले चासो नदेखाएकोमा निकै दुःख लागेको बताउँदै  लामाले भने, यो नेपाल सरकारको कमजोरी हो’। सोही अवसरमा लाङटाङ पुर्नरनिर्माण समितिले सो बृत्तचित्रका निर्देशक सिलवाललाई लाङटाङको पर्यटन प्रवद्र्धनकालागि सद्भावना दूत नियुक्त गरेको छ । सो कार्यक्रममा नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी र विभिन्न संस्थाका प्रतिनिधी र सभासदहरु सहभागी थिए ।


Wednesday, December 2, 2015

‘संविधान नेपालका लागि ठूलो कोसेढुंगा’

मंसिर ७, २०७२- संयुक्त राज्य अमेरिकाकी नयाँ राजदूत अलाइना बी. टेप्लेट्जले डेढ महिनाअघि कार्यभार सम्हाल्दै गर्दा नेपाल नयाँ संविधान र त्यससँगै उत्पन्न राजनीतिक तनावमा जेलिन थालेको थियो । सन् १९९१ देखि अमेरिकाको वैदेशिक सेवामा आबद्ध रहेकी टेप्लेट्ज ढाका र काबुलमा काम गरेको ‘दक्षिण एसियाली अनुभव’ बटुल्दै काठमाडौं आइपुगेकी हुन् । नेपालसँग अमेरिकाको सात दशक पुरानो सम्बन्ध, यसका बहुमुखी आयाम, नयाँ संविधानको घोषणा, मधेसमा जारी तनाव, भारतको नाकाबन्दी, सम्भावित मानवीय संकटको अवस्था आदिलाई उनले कसरी हेरेकी छन् ? प्रस्तुत छ, राजदूत टेप्लेट्जसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश :

नेपालमा अमेरिकाको विदेश नीतिको उद्देश्य राजनीतिक र आर्थिक विकासको प्रबद्र्धन गर्नु, मानवीय सहायतामा हाम्रो परनिर्भरता कम गर्नु र क्षेत्रीय सुरक्षामा सकारात्मक योगदानका लागि क्षमता अभिवृद्धि गर्नु हो भनिएको छ । के अहिले पनि अमेरिका यही नीतिमा अडिग छ ?
हो । अहिले पनि नेपालमा हाम्रो उद्देश्य भनेको समृद्धि प्रोत्साहन गर्नु, लोकतन्त्रको थप विकास र स्थिरता नै हो । यस वर्षको सुरुमा आएको भूकम्प कैंयौ अर्थमा प्रलयकारी घटना थियो । भूकम्पको परिणामस्वरूप आर्थिक मुद्दाका सवालहरू पछाडि पर्नेप्रति निश्चय नै हामी सचेत छौं । त्यसकारण यस बिन्दुमा हाम्रो उद्देश्य भनेको स्थितिलाई पुरानै अवस्थामा ल्याइपुर्‍याउन सघाउनु हो । किनभने हामी अझै नेपाललाई यस्तो देख्न चाहन्छौं, जसलाई हाम्रो सहयोगमा भर पर्नु नपरोस् । स्थिरताको सवालमा मेरो विचारमा ऐतिहासिक सन्दर्भमा कुरा गर्ने हो भने यदि नेपाल लोकतन्त्रको बाटोमा अगाडि जान्छ भने यो संविधान साँच्चै एउटा महत्त्वपूर्ण कोसेढुंगा हो ।


नेपाल–अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता उच्चस्तरका भ्रमणहरू भए र १९६० मा स्थापित फुलब्राइट कार्यक्रम तथा पिसकोर नेपालले यो सम्बन्धलाई सुदृढ बनाए । अहिलेको समयमा यो सम्बन्धको बृहत् राजनीतिक आयाम कस्तो देख्नुहुन्छ ?

हाम्रो सम्बन्ध असाधारण रूपले बलियो रहिआएको छ । यूएएसआईडीका प्रशासक, विभिन्न सहायक मन्त्रीहरू, सेनाका विभिन्न सदस्यलगायतले नेपाल भ्रमण गरेका छन् र यस्ता भ्रमणहरू निरन्तर जारी छन् । नियमित तालिकाको यो एउटा संकेत मात्रै हो, बलियो साझेदारीका लागि सदैव क्रियाकलापहरू हुन्छन् र त्यो भइरहेका छन् । केही समयका लागि पिसकोरले नेपाल छाडेको थियो र अहिले त्यो फर्केको छ । यसमा हामी साँच्चै प्रसन्न छौं । हामीले सोचेको हाम्रा साझा रुचिको प्रतिक्रियाको संकेत हो यो ।


त्यसो भए हामी बृहत्तर रूपमा सही दिशातर्फ अगाडि बढिरहेका छौं त ?
हो । साझेदारीको सन्दर्भमा हामी सही दिशामा अघि बढिरहेका छौं । यिनीहरू गतिशील कुराहरू हुन्, अचल होइनन् । हामीले आजको आवश्यकता के हो भन्ने हेर्नुपर्छ, यस विपरीत ५० वर्ष पहिले सायद हाम्रा लय फरक हुन सक्थे ।

अहिले नेपालले मानवीय संकट भोगिरहेको छ । औषधि, इन्धन, दैनिक उपभोग्य बस्तुको चरम अभाव छ, जसले हाम्रा नियमित विकास कार्यलाई मात्रै बाधा पुर्‍याएको छैन, भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा समेत असर परेको छ । यसबारे तपाईंको के भनाइ छ ?
तपाईंको यो भनाइमा म सहमत हुनैपर्छ कि पुनर्निर्माणको काममा ठूलो असर परिरहेको छ । र, हाम्रा आफ्नै कार्यक्रमहरू हेर्दा पनि हामीले जुन रफ्तारमा चाहेका छौं, त्यो भइरहेको छैन । बरु कतिपय (कार्यक्रम) असाध्यै ढिला भइरहेका छन् । स्पष्टै छ, भूकम्पबाट प्रभावित अति दुर्गममा उपभोग्य र अन्य सामान पुर्‍याउने क्षमतामा पनि आवश्यक वस्तु अभावले अवरोध पुर्‍याएको छ, यो राम्रो कुरा होइन । नोभेम्बर ५ को हाम्रो वक्तव्यले पनि स्पष्ट पारेको छ कि अहिले (नेपालमा) संकट परेको छ र यसमा हामी चिन्तित छौं । त्यसकारण हामीले यसको समाधानको मार्ग पत्ता लगाउन सचेत हुनुपर्छ, ताकि दोस्रो मानवीय संकटको अवस्था नहोस् । र, त्यहाँसम्म जाने बाटो भनेको सार्थक संवाद नै हो ।

नेपालको नयाँ संविधानबारे अमेरिकाको के धारणा छ ?
संविधान घोषणा भएपछि हामीले स्वागत गर्‍यौं र यो कोसेढुंगा हो भन्यौं । मैले पहिले उल्लेख गरेजस्तै यो संविधानलाई ऐतिहासिक सन्दर्भमा हेर्दा नेपालका लागि ठूलो कोसेढुंगा हो र नेपालीको अधिकारको आधार हो । हामी विश्वास गर्छौं कि सबै नेपालीको आकांक्षा यसले प्रतिबिम्बित गर्नुपर्छ । यस बिन्दुमा संविधानको कार्यान्वयन सरकारका लागि एकदमै ठूलो काम हो र यस्तो अवस्थामा जुनसुकै सरकारले सामना गर्ने चुनौती यही हो । फेरि पनि हाम्रो लामो साझेदारी र यहाँको हाम्रो कामलाई हेर्दा, संविधानको कार्यान्वयनमा केन्द्रित हुनका लागि हामी सहयोग उपलब्ध गराउन तयार छौं । तर वास्तवमा त्यहाँ केही बृहत्तर लोकतान्त्रिक आकांक्षाहरू हुनाले त्यो कार्य गम्भीर हुन जाने छ ।

संविधान नेपालका लागि कोसेढुंगा हो भनेर तपाईंले उल्लेख गर्नुभयो । के यो कथनका आधारहरू स्पष्ट गरिदिन सक्नुहुन्छ ?


(नेपालमा) धेरैपटक लोकतान्त्रिक निर्वाचनहरू भए । तर सन् २००८ र २०१३ मा भएका संविधानसभाका निर्वाचनहरू महत्त्वपूर्ण छन् र (त्यसबाट निर्मित) संविधान भनेको एउटा दस्ताबेज हो, जसले हरेकलाई निर्देशित गर्न सहयोग गर्छ । यसले आधारभूत नियम तयार पार्छ । संयुक्त राज्य अमेरिकामा हामीले सन् १७८७ मा हाम्रो संविधान निर्माण गर्‍यौं र त्यसयता अहिलेसम्म त्यसको प्रयोग गरिआएका छौं । तर त्यसमा केही सुधार गरिएको छ (त्यसमा अहिलेसम्म २७ संशोधन भएका छन्), जसले समाजका रूपमा हामी कसरी अन्तरक्रिया गर्छौं र हाम्रा राज्यहरूले संघीय सरकारसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने तय गर्छन् । हरेक निर्णय र विधायकी कार्यका लागि यिनीहरू स्रोत दस्ताबेज हुन् जसले हाम्रो देशलाई नियमन गर्छ । नेपालको सन्दर्भमा हरेकका लागि पूर्ण आधाररेखा स्थापित गर्दै यहाँको समाजका अधिकारहरूको प्रत्याभूतिसहित जनतालाई त्यो मानक प्रदान गर्न संविधान एकदमै महत्त्वपूर्ण छ । भनिन्छ, त्यहाँबाट अझै प्रशस्त कानुनहरू आउन बाँकी छन् र त्यसलाई विकसित हुन पनि केही समय लाग्ने छ । यी कानुनहरू कस्ता हुन्छन् भन्नेबारे जनता साँच्चिकै सावधान हुनुपर्छ ।

संविधान आएपछि उत्पन्न धारणाहरूमा व्यापक अन्तर छ, खासगरी काठमाडौं र नयाँदिल्लीका बीचमा । भारतले अरू कुरासँगै नाकाबन्दी गरेर प्रतिक्रिया जनाएको छ, जसले नेपालमा मानवीय संकट पैदा गरेको छ । यसमा अमेरिकाको भनाइ के छ ?यसको जवाफका लागि पनि नोभेम्बर ५ को (हाम्रो) वक्तव्यमा जानुपर्छ । सीमा क्षेत्रको उतारचढाव हेर्दा, स्थिरताको अभावमा र लोकतान्त्रिक पक्षमा जुन प्रगति हुनुपथ्र्यो, त्यसको अभाव देखिँदा हामीले प्रत्येकलाई समाधानको बाटो खोज्न उत्प्रेरित गरेका छौं । र हामीले लगातार भन्दै आएका छौं कि शान्तिपूर्ण लोकतान्त्रिक समाधानले नै मुलुकलाई दीर्घकालीन समृद्धि प्रदान गर्छ । हामी आज पनि यसैमा विश्वास गर्छौं । हामीले निश्चय पनि जनताले आफ्नो अधिकारलाई शान्तिपूर्ण रूपमा अभिव्यक्त गर्ने कुरालाई समर्थन गरेका छौं, तर हिंसात्मक रूपमा होइन । संवादलाई ठाउँ दिनु गम्भीर रूपले महत्त्वपूर्ण छ । राजनीतिक दलहरू र विरोधमा उत्रेका समूहहरू वार्ताको टेबलमा आउनुपर्छ, वास्तविक संवाद हुनुपर्छ, विश्वास र हार्दिकता हुनुपर्छ । र त्यसरी नै प्रतिफल प्राप्त हुने छ । त्यसकारण हामी यसमा संलग्न सबैलाई फेरि पनि समस्याको समाधान खोज्न आग्रह गर्छौं ।

बढ्दो मानवीय संकटको कुरा गर्दा, औषधि बोकेर काठमाडौं आउँदै गरेको ट्रकलाई समेत प्रदर्शनकारीहरूले जलाइदिएका छन् ?

फेरि पनि उनीहरूको आकांक्षा मेल भएन होला । नेपालका जनताको आकांक्षा परिभाषित गर्ने संयुक्त राज्य अमेरिकाले होइन । तर यदि उनीहरूको आकांक्षा मेल खाएन भने त्यसलाई प्राप्त गर्ने उपाय अहिंसात्मक हुनुपर्‍यो, विध्वंसात्मक हुनु भएन । औषधि बोकेका ट्रक जलाउनु, विद्यालयहरू बन्द गर्नुलाई हामी वास्तविक राजनीतिक संवादका लागि रचनात्मक मार्गका रूपमा हेर्दैनौं ।


तपाईंले भन्नुभएको गहिरिँदो मानवीय संकटबारे प्रकाश पारिदिनुहोस् न ? भविष्यमा कस्ता प्रकारका परिदृश्य आउने देख्नुहुन्छ ?भूकम्पपछि निश्चय पनि ठूलो विनाश भएको छ, जहाँ ८ लाख घरहरू ध्वस्त भए । मानिसहरूले आफ्नो बासस्थान मात्रै गुमाएनन्, रोजीरोटी पनि त्यससँगै गुमाएका छन् । स्कुलहरू, प्रहरी चौकीहरू र जिल्ला सदरमुकामहरू ध्वस्त भएका छन् । त्यसकारण हाम्रो पहिलो रेस्पोन्स भनेको तात्कालिक सहायता पुर्‍याउनु थियो र ती मानिसहरूलाई आफ्नो शिर ढाक्ने सानो भए पनि शिविर र उनीहरूका थालमा थोरै भए पनि खाना पुर्‍याउने कुराको सुनिश्चितता गर्नु थियो । त्यसकारण संयुक्त राष्ट्रसंघ र अरू संघसंस्थासँगै हामीले ती आवश्यकता पूरा गर्न सहयोग गर्‍यौं । र, अहिले हामी त्यस्तो चरणमा आइपुगेका छौं कि हामीले आशा गरेका थियौं अहिलेसम्म सबै अस्थायी शिविरहरू स्थायी संरचना बनिसक्ने छन्, जस्ताको बेरो स्थायी गारो बनिसक्ने छ । तर हामीले त्यो भएको देखेका छैनौं ।

निश्चय पनि आपूर्तिको अभावमा यसमध्ये केही अवरुद्ध भएका छन् । दातृ सहायता संयोजनका लागि सहयोग र विकेन्द्रीकरण गर्न र त्यसलाई दिशा देखाउन व्यापक अधिकारको आवश्यकताबारे हामी चुप बसेका छैनौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विधेयक पारित भएको हामीले देख्न चाहेका छौं । यो सीमामा भएको अभावमात्रै होइन, हामीलाई यस प्रकारको व्यापक नेतृत्व पनि चाहिन्छ र पीडितलाई गर्ने रेस्पोन्सका लागि हामीलाई सक्षम पनि बनाउँछ । र, फेरि पनि हामीले सहयोग प्रदान गर्ने उपायहरूमा कुनै ढिलाइ गरेका छैनौं, चाहे त्यो सीपमूलक व्यक्तिगत तालिम दिने कुरा होस्, उनीहरूलाई वातावरणबारे जानकार बनाउने कुरा होस् अथवा हाम्रा स्वास्थ्य र पोषणजस्ता यथावत् कार्यक्रमहरू त्यसमा समायोजन गर्ने कुरा होस् । हामी भूकम्पबाट प्रभावित क्षेत्रमा विशेष आवश्यकता पुर्‍याउने कुरामा निरन्तर लागिरहेका छौं । हामीले चाहेजस्तो गरी रफ्तारमा काम भइरहेको छैन, केही केसहरूमा आपूर्तिको अभावले गर्दा अवरोध पुगेको छ तर हामी निरन्तर काम गरिरहेका छौं । त्यसकारण गहिरिँदो मानवीय संकटले हामी व्यापक प्रभावितहरूका लागि पुनर्निर्माण गर्ने अर्को आवश्यकीय चरणमा पुग्न सकिरहेका छैनौं ।

उद्धार मिसन र अरू सहायताका सन्दर्भमा भूकम्पपछि प्रतिक्रिया जनाउने पहिलो देशहरूमध्ये अमेरिका एउटा थियो । तर अहिले हामीले अनुभव गरेका छौं कि दातृ समुदाय हाम्रो प्रगति र पुनर्निर्माणको कानुनको अभावले गर्दा खासै खुसी छैन । हाम्रो तर्फबाट भविष्यमा के भएको देख्न चाहनुहुन्छ ? पुनर्निर्माण विधेयक पारित भए त्यसले व्यापक अधिकार प्रदान गथ्र्यो र त्यो अगाडि जाने उत्तम बाटो हुन्थ्यो । तपाईंले उल्लेख गर्नुभएजस्तै यहाँ धेरै दाताहरू छन् र धेरै लाइन मन्त्रालयहरू छन्, जसले दाताका प्राथमिकता र आवश्यकताको व्यवस्थापन गर्न सहयोग पुर्‍याउँदै आएका छन् । तर त्यहाँ अति धेरै मानिसहरू संलग्न छन् । एउटै अधिकारसम्पन्न प्राधिकरणले यसलाई छिटो अनुमति दिन सहयोग गर्छ । पुनर्निर्माणको प्रयास दीर्घकालीन हुन्छ । यो एउटा सानो आयोजना मात्रै होइन, जुन अचानक सकियोस् । यो दीर्घकालीन हुन्छ, बहुविषयगत हुन्छ र यसले धेरै क्षेत्रहरूलाई पार गर्छ । त्यसकारण त्यसखालको एउटा केन्द्रीय प्राधिकरण मेरो विचारमा अति आवश्यक छ । 
अमेरिका अति महत्त्वपूर्ण द्विपक्षीय दातामात्र नभई, पश्चिमा विश्वको अगुवा र यहाँको प्रभावकारी बहुपक्षीय दाता पनि हो । पुनर्निर्माणका सन्दर्भमा यी सबै दृष्टिले अमेरिकाको भूमिकालाई कसरी हेर्नुहुन्छ ?हाम्रो सुरुको छलफलको आधारमा र लामो साझेदारीको इतिहासलाई हेर्दा र एउटा राजदूतका रूपमा, म यस प्रयासमा हामीलाई अगुवाकै रूपमा देख्दछु । गत वर्ष हामीले १३ करोड अमेरिकी डलर छुट्याएका थियौं, जुन धेरैजसो भूकम्पपीडितहरूको आवश्यकता पूरा गर्नतिर केन्द्रित रह्यो । यो हाम्रो प्रतिबद्धताको सुरुवात मात्र हो । हाम्रा सबै वचन पूरा गर्ने योजना छ । प्राकृतिक प्रकोपका कारण परेको आपतकालीन अवस्थामा प्रभावकारी रूपमा काम गर्न यहाँ अवस्थित परिपक्व सहायक कार्यक्रमहरूको ठूलो हात पनि रह्यो । हाल यी अवस्थित कार्यक्रमहरूलाई चिरपरिचत आवश्यकता पूरा गर्न, थप प्रभावकारी बनाउन मार्ग हेरिरहेका छौं । आखिरमा सरकार र जनताले ठम्याएका आवश्यकता हेर्नु हाम्रो जिम्मेवारी हो । त्यसैले द्विपक्षीयका साथै तपाईंले दर्शाएझैं बहुपक्षीय संघसंस्थाबाट गरिने दाताबीच प्रमुख रहेकाले हामी यसमा पहिलेझैं प्रमुख कर्ताकै रूपमा रहने छौं ।
 नेपालको पुनर्निर्माणका सन्दर्भमा हालको अवस्थाबाट सन्तुष्ट हुनुहुन्छ ?
पुनर्निर्माण कार्यमा दुइटा अवरोधहरू छन् । एउटा, (नेपाल–भारत) सिमानामा भइराखेको ढिलासुस्तीले पुनर्निर्माणका लागि चाहिने सरसामानको अभाव हुनु र अर्को, समन्वयकर्ता निकायको नहुनु । लामो अवधिकालसम्म प्रभाव पार्न समन्वयकर्ताको भूमिका धेरै महत्त्वपूर्ण हुनेबारे हामी कहिल्यै न मौन रहेका छौं न त पछि नै हटेका छौं ।

भारतीय नाकामा गतिरोध भइरहेको सन्दर्भमा नयाँदिल्ली र काठमाडौंसँग तपार्इंको कस्तो कुराकानी भइरहेको छ ?छिटोभन्दा छिटो समाधानको मार्गमा जान हामीले नेताहरूसँग कुरा गरेका छौं । यो समन्वयको दृष्टिकोणले मात्र नभई विधि निर्माणको स्थापना, अनुमोदन र परियोजना अनुमतिका लागि पनि हो, जुन हरेक परियोजनालाई सफल कार्यान्वयनका निम्ति अत्यावश्यक हुन्छ । समन्वयताका लागि हामीले अरू दाताहरूसँग पनि छलफल गरेका थियौं, जसका कारण हाम्रो प्रयत्न सही स्थानमा लक्षित होस् भन्ने हो नकि एकअर्काको प्रयत्नको नक्कल गर्न । अनि भूकम्पपछि नेपालको यात्रा समृद्धितिर लम्कियोस् भन्ने हाम्रो संयुक्त चासो हो । हाम्रो उद्देश्य पनि नेपालका लागि यही नै हो ।
 भारतसँग तपाईंको कुराकानी कस्तो रह्यो ?
अरू सरकारहरूसँग झैंभारत सरकारसँग पनि भूकम्प पूर्वोत्तर सवालहरूबारे कुराकानी भइराखेको छ । मलाई के लाग्छ भने हामी सबै दातृ आकांक्षाअनुसार एउटै दिशातिर अगाडि बढेका छौं ।
 यहाँ यस्तो पनि धारणा छ कि नयाँदिल्ली र वासिङ्टन यस क्षेत्रका रणनीतिक साझेदारहरू भएकै कारण सायद अमेरिकाले दिल्लीलाई नेपालको सवालमा नेतृत्व वा अगुवाइ गर्न दिन्छ, त्यसैले भारतीय नाकाबन्दीबाट यहाँका जनताले भोग्नुपरेको समस्यालाई अमेरिका मानवीय संकटका रूपमा खुलेर बोल्न चाहेको छैन ?

अमेरिकाको नेपालसँग रहेको ७० वर्षे लामो सम्बन्धलाई हेरेर पनि तपाईंहरूले यहाँको अवस्थामा हाम्रो स्वतन्त्र दृष्टिकोण रहेको बुझ्न सक्नुहुन्छ । अमेरिकाको रुचि क्षेत्रीय हिसाबले हेर्दा समृद्ध दक्षिण एसिया हो । आर्थिक संघटनमा नै नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेशलगायत यस क्षेत्रका सबै जनताका लागि ‘विन–विन सिचुएसन’ प्राप्त गर्न सकिनेछ । यस साझेदारी समृद्धिको धारणाबाट सबैले केही न केही उपलब्धि पाउने छौं । यो भनेर के स्पष्ट पार्छु भने हाम्रो बाह्य नीति/वैदेशिक नीतिलाई कसैले निर्देशित गरिराखेको छैन । हामीले यहाँको अवस्थालाई आफ्नै दृष्टिकोणबाट हेरिरहेका छांै । नेपालसँगको लामो सम्बन्ध र साझेदारीलाई बुझेर नै ठम्याइएका मानवीय आवश्यकताहरूप्रति हामी कसरी उत्तरदायी हुने भन्नेबारे हेरिरहेका छौं ।

अन्तर्राष्ट्रिय समुदायका प्रमुख सदस्यहरू नेपालमा भूकम्पका कारण पहिलो मानवीय संकट आइपर्दा सहयोगका लागि संयुक्त रूपमा आएका थिए । हालको राजनीतिक समस्या र नाकाबन्दीको समाधानका लागि प्रमुख अन्तर्राष्ट्रिय पात्रहरू सँगै अगाडि आउने देख्नुहुन्छ ?केही सातायता अमेरिकालगायत अरू थुप्रै देशहरूले नेपालको अवस्थाबारे विज्ञप्ति जारी गरेका छन् । संयुक्त राष्ट्रसंघले पनि यसबारे बोलेको छ । सीमाको परिस्थितिले कसैलाई मद्दत पुर्‍याएको छैन भन्ने निरन्तरको चुनौतीलाई यसमा औंल्याइएको छ । यसले मानवीय संकटका साथै कुनै दूरगामी अज्ञात परिघटनातर्फ पनि लैजाँदै छ । यसले आर्थिकलगायत अन्य क्षेत्रमा पार्ने विनाशकारी असरबारे तपाईं अनुमान लगाउन सक्नुहुन्छ । (यसबीच) जारी गरिएका विज्ञप्तिहरूले सबै दलहरूलाई सँगै मिलेर संकट समाधान गर्न आह्वान गरिरहेका छन् । यो राजनीतिक मुद्दा हो, त्यसैले यो सवाललाई सुल्झाउन राजनीतिक अग्रसरताकै खाँचो पर्छ । यसलाई समाधान गर्ने भनेकै राजनीतिक संवादबाट पहिले नसमेटिएका आकांक्षाहरूलाई सम्बोधन गरिने सहमतिबाट हो ।
त्यसो भए, अमेरिकाले नयाँदिल्ली र बेइजिङसँग पुनर्निर्माण कार्यमा मात्र नभई त्यसभन्दा परका विषयमा पनि क्षेत्रीय साझेदारी गरिराखेको छ त ?भारत, चीनका साथै सबै दक्षिण एसियाली राष्ट्रहरू र दाताहरूसँग हाम्रो संवाद चलिराखेको छ । त्यसैले हो, हामी यी सबै समस्या र सवालबारे यस क्षेत्रका साझेदारहरूसँग छलफल गरिराखेका छौं : हामी नेपाल सरकार, गैरसरकारी संघसंस्थाहरू, राजनीतिक दलहरू तथा सबै सरोकारवालाहरूसँग संवादमा छौं । त्यसैले, म फेरि भन्छु, यी सवालहरूको बारेमा सही संवाद गर्न, सम्बन्धित चासो र मुद्दाहरूमा छलफल गर्न र यी सबै कार्य हिंसारहित वातावरणमा हुनुपर्ने आवश्यकताबारे बोल्न पछि हटेका छैनौं ।


ठूला सहयोगको कुरा गर्दा, विशेषत द्विपक्षीय सम्बन्ध, नेपाल र अमेरिकाबीचको रक्षा सम्बन्धबारे केही भन्न चाहनुहुन्छ ?

हामीले धेरै विकास सहायताबारे कुरा गर्‍यौं तर हाम्रो साझेदारीको केही भाग बलियो सैन्यदेखि सैन्य सम्बन्ध हो । स्वाभाविक नै हो, हामी नेपाली सेनालाई प्रकोप प्रतिकार्य क्षमतामा सुधार ल्याउन गरेको मद्दतमा गर्व गर्छौं । हामीले यस क्षेत्रमा गरिएको लगानीले कति राम्रो परिणाम र सुधार ल्यायो भन्ने प्रत्यक्ष देखेका छौं । त्यसैले क्षमता अभिवृद्धि गर्ने यस्तो सम्बन्ध जारी छ । त्यसका साथै नेपाली सेनाको नेतृत्व क्षमता अभिवृद्धिमा पनि धेरै लगानी गरेका छौं । यसले प्रकोप प्रतिकार्यको क्षमता बढाउने छ । हामी गर्व गरिरहेको अर्को सम्बन्ध–क्षेत्र भनेको ‘पिस किपिङ अपरेसन’ सम्बन्धी क्रियाकलापमा यहाँका सैनिकहरूलाई दिइरहेको सहायता पनि हो । नेपाल सबैभन्दा ठूला शान्ति सैनिक समूह पठाउने राष्ट्रमा पर्छ । यसले अन्तराष्ट्रिय शान्ति र स्थिरतामा भीषण योगदान पुर्‍याएको छ । त्यसैले मेरो विचारमा नेपाली सेना सक्षम र निकै व्यावसायिक छन् । यसमा उनीहरूलाई सहयोग गर्न सक्ने हाम्रो क्षमताले नेपालमा मात्र नभई विश्वव्यापी रूपमा हामीले देख्न चाहेको स्थिरता र आर्थिक समृद्धिजस्ता उद्देश्य प्राप्त गर्न मद्दत पुर्‍याएको छ ।


सन् १९४०/५० तिर अमेरिका–नेपाल सम्बन्ध सुरु हुँदा सायद कल्पना नगरिएको एक आयाम, जुन लामो समयदेखि चल्दै आएको छ, त्यो हो अमेरिकाले नेपाली विद्यार्थीलाई गर्न सकेको आकर्षण । लामो कालमा अमेरिका–नेपालबीचको सम्बन्धमा यसले कस्तो प्रभाव पार्ला ?अन्तत: म यसलाई राम्रै कुराका रूपमा नै हेर्छु । उत्कृष्ट शिक्षा हासिल गर्न नेपाली विद्यार्थीका लागि यो ठूलो अवसर हो । अवश्य नै, हाम्रो आशा भनेको उनीहरू फर्केर नेपाल आऊन् र यहीँ योगदान गर्न विभिन्न तरिका अपनाऊन् भन्ने हो । साथै, उनीहरू नयाँ–नयाँ विचार भित्र्याउन अमेरिकासँग पनि सम्बन्ध कायम राखिराखून् र विश्वमा भइरहेको क्रियाकलापबारे जानकार रहिरहून् भन्ने हाम्रो आशा हो । त्यसैले, विदेशमा पढ्ने अवसर मिल्नु, ती सम्बन्ध बचाइराख्नु अनि ज्ञान, जानकारी र सायद केही प्रेरणाका साथ घर फर्किनु, मेरो विचारमा अद्भुत राम्रो चीज हो ।

अमेरिकाले नेपालमा आफ्नो भूमिकालाई कसरी हेर्छ– पश्चिमको अत्यन्त महत्त्वपूर्ण सदस्यका हैसियतमा वा स्वतन्त्र रूपमै देखिन चाहन्छ ?

अमेरिका आफूलाई ‘प्यासिफिक रिम कम्युनिटीको’ भाग ठान्छ । हामी दक्षिण एसिया, दक्षिण पूर्व एसिया र इन्डो–प्यासिफिक इकोनोमिक करिडोरको धारणामा आफूलाई कसरी संघटन गर्ने भन्नेबारे गम्भीर रूपमा सोचिराखेका छौं । त्यसैले कसरी परिभाषित गरिन्छ त्यसका आधारमा रहेर हामी आफूलाई थुप्रै समुदायका सदस्यका रूपमा देख्छौं । भौगोलिक रूपमा प्रत्यक्ष छिमेकी भएनौं भन्दैमा हामीबीच आपसमा मिलेर लक्ष्य हासिल गर्न सकिने आपसी चासोका विषय छैनन् भन्ने होइन । हाम्रो ७० वर्ष लामो सम्बन्ध भनेको राम्रो साथी बन्नु मात्र होइन । अमेरिकाले आर्थिक रूपले समृद्ध र दक्षिण एसियामा थप संघटन भएको नेपालमा अवसरहरू देखेको छ । हामी एसिया र एसियाली क्षेत्रमा गहन रूपमा केन्द्रित छाैं । उदाहरणका लागि यो सम्बन्ध सुदूरपूर्वमा रहेको चीन या दक्षिण एसियामा
रहेको भारतसँगको सम्बन्धमा मात्र केन्द्रित नभई सबै राष्ट्रहरूसँग हो ।

तपार्इंको कार्यकालमा व्यक्तिगत रुचिका क्षेत्रहरू के रहने छन् ?नेपालमा आउने म पहिलो महिला अमेरिकी राजदूत नभए पनि म महिला हुँ, मेरा विशेष रुचि छन् । पहिलो हो लैंगिक समानता, जुन राष्ट्रपति भण्डारीका साथै अरू थुप्रै महत्त्वपूर्ण नेपालीसँग मिल्छ भन्ने ठान्छु । महिलाहरूलाई राजनीतिक रूपमा सशक्त बनाउने मात्र नभई लैंगिक सवाल र मुद्दाहरूमा सुधार ल्याउनुका साथै उनीहरूका आकांक्षा पूरा गर्नतिर लाग्ने इच्छा छ । साथै महिलामाथि तत्कालीन प्रभाव पार्ने लैंगिक हिंसा र बेचबिखनका सवालमा जोड दिनुपर्ने जरुरी देख्छु । सायद मेरा लागि यो क्षेत्रमा सकारात्मक प्रभाव पार्न अद्वितीय अवसर पनि मिलेको छ । किनभने, यो सवाल लामो समयदेखि अमेरिकी सरकारको रुचिको क्षेत्र हो । त्यसैले सायद म लैंगिक समानताका क्षेत्रमा विशेष दृष्टिकोण र जोड दिन सफल हुने छु, सायद ।
साभारः ई कान्तिपुर

Tuesday, April 21, 2015

काठमाडौं संसारको १९औं उत्कृष्ट पर्यटकीय गन्तव्य

काठमाडौ, ११ चैत–
गत शुक्रबार सम्पन्न प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरको कार्यक्रममा सहभागी भएका अर्थमन्त्री डा.रामशरण महतले पनि काठमाडौं दक्षिण एशियाको उत्कृष्ट पर्यटकीय राजधानी भएको दाबी गर्दै थिए । ट्रिप एडभाइजरको सूचीले काठमाडौं दक्षिण एशियाको मात्र नभई विश्वकै पर्यटकीय केन्द्र भएको पुष्टी गरेको छ । पर्यटकले काठमाडौंलाई एतिहासिक स्थलहरु, पुराना मठ, मन्दिर, कला संस्कृतिले भरिपूर्ण चारैतिर अग्ला डाँडाले घेरिएको सुन्दर उपत्यकाका रुपमा चित्रण गरेका छन् । काठमाडौं सांस्कृतिक रुपमा पनि विश्वकै धनी शहर हो । यसैगरि, पुरानो शहर काठमाडौंलाई मन्दिरै मन्दिर भएको शहरका रुपमा पनि चिनिन्छ ।
ट्रिप एडभाइजरले विश्वसम्पदा सूचीमा परेका ठाउँहरुको अवलोकन, स्थानीय बजारमा पैदल यात्रा तथा नजिकका डाँडाबाट सूर्योदय र सूर्यास्त हेर्न पाउनु यहाँको विशेषताका रुपमा पनि थप उल्लेख गरेको छ । काठमाडौंको स्वयम्भूनाथ, पशुपति, बौद्धनाथ, बसन्तपुर दरवार संरक्षण क्षेत्र, पाटन दरबार संरक्षण क्षेत्र र भक्तपुर दरबार संरक्षण क्षेत्र लगायतका विश्व सम्पदा सूचिमा सूचिकृत क्षेत्रको पदयात्रा भ्रमण निकै रोमाञ्चक हुने बताइएको छ ।
ट्रिप एडभाइजरले यहाँको हस्तकला तथा मुर्तिकलाको बारेमा पनि उत्तिकै बयान गरेको छ । यहाँको हस्तकला विश्वमै सबैभन्दा उत्कृष्ट मानिन्छ । काठमाडौंको मौसम समेत पर्यटकमैत्री रहेको  बताईएको छ ।  न चिसो, न तातो यहाँको जस्तो मौसम विश्वका विरलै शहरमा पाइने उसको दावी छ । काठमाडौं आसपासको क्षेत्रमा पदयात्रा, हाइकिङ, साइट सिन, क्यानोनिङ, रक क्लाइम्बिङ, माउन्टेन लाइट, प्याराग्लाइडिङ लगायतका गतिविधिमा रमाउन पाइने ट्रिप एडभाइजरले आफ्नो साइटमा राम्रोसँग वर्णन गरेको छ ।
ट्रिप एडभाइजरले छनोट गरेको उत्कृष्ट गन्तव्य एवं पर्यटकको पहिलो रोजाइमा मोराक्कोको मराकेच शहर पर्न सफल भएको छ । यसैगरि, २५औं उत्कृष्ट गन्तव्यमा अष्ट्रेलियाको राजधानी सिड्नी परेको छ । त्यसैगरि, एशियाका उत्कृष्ट गन्तव्यका रुपमा चिनिएको थाइल्यान्ड १८ औं नम्बरमा र हङकङ २३ औं नम्बरमा परेको छ ।

विश्वभर भ्रमण गरेका पर्यटकहरुको समिक्षाका आधारमा ट्रिप एडभाइजरले उत्कृष्ट गन्तव्यहरु सार्वजनिक गर्दछ । सो ट्रिप एडभाइजरका अनुसार विश्वका लाखौं पर्यटकले काठमाडौंलाई उत्कृष्ट गन्तव्यका रुपमा औंल्याउँदै भ्रमणका लागि सिफारिस समेत गरेका छन् । ऐतिहासिक, धार्मिक, सांस्कृति लगायत विभिन्न पक्षबाट अग्रस्थानमा रहेको काठमाडौंले पर्यटकको मन जित्न सफल भएको छ ।
– नेपालको राजधानी काठमाण्डौ संसारका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा परेको छ । प्रख्यात ट्राभल अनलाइन ‘ट्रिप एडभाइजर’ले सार्वजनिक गरेको विश्वभरका २५ उत्कृष्ट गन्तव्यमा काठमाडौंलाई १९ औं नम्बरमा परेको हो ।

पर्यटनको भरपुर उपयोग गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौ, १६ चैत –
सोमाबार राजधानीमा सम्पन्न पर्यटन पत्रकार मञ्च ( टिजेएफ–नेपाल) को प्रथम वार्षिक साधारण सभामा अर्थमन्त्री महतले यस्तो सुझाव दिएका हुन ।  बन्द हड्ता जस्ता गतिविधी नभए पर्यटनले त्यसै फड्को मार्ने दावी गर्दै उनले सरकारले पूर्वाधारको विकासमा सक्दो सहयोग गर्ने बताए । उनले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको व्यवस्थापन निकै कमजोर भएकाले सरकारले त्यसतर्फ विशेष ध्यान दिएको जानकारी गराए । काठमाडौलाई दक्षिण एसियाकै नमुना पर्यकीय शहर बनाउन सरकारले विशेष पहल गरेको बताउँदै अर्थमन्त्री महतले काम गरेर देखाउने पर्यटकीय पूर्वाधार विस्तारका आयोजनालाई सरकारले प्रोत्साहना स्वरुप थप बजेट विनियोजन गरिने जानकारी गराए । उनले मुलुकको पर्यटन विकासकालागि लगानीको क्षेत्र अझ फराकिलो पार्न समेत व्यवसायीलाई आग्रह गरे । उनले यहाँका पुराना सम्पदालाई संरक्षण गर्न पनि सरकारले थप बजेट विनियोजन गर्ने बताए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले सरकारसँग पूर्वाधार विस्तारका गतिविधीसँगै पर्यटक बहानकालागि छुुट्टै पार्किङस्थलको माग गरे । उनले अहिले राजधानीका विभिन्न सडक छेउमा सवारी साधन राखैरै भएपनि पर्यटकलाई सेवा दिईरहेको जानकारी गराए । टिजेएफका अध्यक्ष शिव अधिकारीले मुलुकको पर्यटन विकासमा सञ्चार जगतले खेलेको विविध गतिविधी एवं भूमिकाबारे जानकारी गराउँदै अपेक्षाकृत पर्यटन प्रवद्र्धनकालागि  सरकारको ध्यानाकर्षण गराएका थिए । सो साधारण सभामा मञ्चले बरिष्ठ पर्यटन व्यवसायी दिपक महतलाई मानार्थ सदस्यमा मनोनित गरेको थियो ।
साधारण सभामा सभासद् एवं पूर्व मन्त्री मोहनसिँह राठोर, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, संयुक्त पर्यटन समन्वय समितिका संयोजक डिबी लिम्बू, काठमाडौँ २ नम्बर सडक डिभिजन कार्यालयका प्रमुख कर्णबहादुर रानाभाट लगायतले मुलुकको पर्यटन प्रवद्र्धनका लागि सबैको सहकार्य जरुरी भएको बताएका थिए । सो साधारण सभामा टिजेएफले मृगौला रोगबाट ग्रसित पुराना पर्यटन पत्रकार हरिराज जोशीलाई नगद २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो । यसैगरि सोही कार्यक्रममा टिजेएफले मुलुकको पर्यटकीय क्षेत्रमा विशेष योगदान पु¥याउने व्यवसायी एवं सम्बन्धीत सरोकारवालाहरुलाई सम्मान गरेको थियो । सो कार्यक्रममा ठमेल पर्यटन विकास परिषदका नव निर्वाचित पदाधिकारीहरुलाई पनि बधाई तथा सम्मान गरेको थियो । 
अर्थमन्त्री डा. रामशरण महतले पर्यटन मुलुकको आधुनिकीकरणकालागि महत्वपूर्ण अंग भएकाले सम्बन्धीत व्यवसायी एवं सरोकारवालाहरुलाई पर्यटनको भरपुर उपयोग गर्न सुझाव दिए । पर्यटनको उचित रुपमा सदुपयोग गर्न सकिए देस सजिलै आर्थिक सम्बृद्धिमा जाने भन्दै उनले संसारमा नभएको प्राकृतिक सम्पत्ति एवं ऐतिहासिक सम्पदा नेपालमा मात्र भएकाले यसलाई भरपुर मात्रामा उपयोग गर्न व्यवसायीलाई आग्रह गरे ।

Tuesday, April 7, 2015

पर्यटन बोर्डमा ८१ करोड भ्रष्टाचार, दुई सचिवसहित ५० विरुद्ध मुद्दा

२३ जनालाइ बिगो तथा जेल सजाय माग
२७ लाई अनुसन्धानमा सहयोग गरेको भन्दै बिगो मिनाहा गरी सरकारी साक्षीका रूपमा पेस
काठमाडौ,२० चैत–
नेपाल सरकारका दुई बहालवाला सचिव, दुई उपसचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, दुई सहसचिवसहित बोर्डका प्रमुख तथा पूर्वप्रमुखहरूविरुद्ध दायर यो मुद्दा अख्तियारले दायर गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दा हो ।
अख्तियारले मुद्दा दायर गरेलगत्तै नेपाल कानुन आयोगका सचिव रञ्जनकृष्ण अर्याल, वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन, अर्थ मन्त्रालयका सहसचिव डिल्लीप्रसाद सिवाकोटी र वन मनत्रालयका सहसचिव मेघबहादुर पाण्डे स्वत निलम्बनमा परेका छन् ।
अख्तियारका अनुसन्धान अधिकृतद्वय यादव खनाल र सुदर्शन लामिछानेको गत जेठदेखिको गहिरो अनुसन्धानपछि बोर्डमा भएको कहालीलाग्दो भ्रष्टाचार प्रकरणका मतियारहरू कानुनी कारबाहीको दायरामा आउने भएका हुन् ।
अख्तियारले बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत, पूर्वप्रमुख कार्यकारी अधिकृत, पर्यटन मन्त्रालयका पूर्वसचिवसहित  बोर्डमा कुनै न कुनै रूपमा विगतमा संलग्न २३ जनालाई बिगो कायम गर्दै मुद्दा दायर गरेको छ (हेर्नुहोस् बक्समा) । बोर्डमा जागिर खाइरहेका अन्य २७ जनालाई मुद्दामा प्रतिवादी बनाइए पनि बिगो र कारबाहीबाट उन्मुक्ति माग्दै सरकारी साक्षीका रूपमा उभ्याइएको छ ।
कामु कार्यकारी प्रमुख सुवास निरौलाको दबाबमा परेर भ्रष्टाचारमा संलग्न भएको र उनको धम्कीका आधारमा काम गरेको तर्कका आधारमा अख्खितयारले ती कर्मचारीलाई २३ जनाविरुद्ध साक्षीका रूपमा पेस गरका कारण उनीहरू भने निलम्बनबाट जोगिएका छन् । तर, अनुसन्धानका क्रममा अख्तियारका अनुसन्धानकर्मीलाई दिएको बयान विशेष अदालत पुगेर फेरेको खण्डमा भने उनीहरू स्वतः विपक्षी कायम मात्र हुने छैनन्, निलम्बनमा पनि पर्नेछन् ।
उनीहरूलाई निरौलाले कार्यसम्पादन मूल्यांकन नगरिदिनेलगायतका त्रास देखाएर भ्रष्टाचारमा संलग्न गराएको भन्दै अख्तियारमा आफूहरू भ्रष्टाचारमा संलग्न नरहेको, तर अनुसन्धानमा सहयोग गर्ने जनाएपछि प्रतिवादी महलमा नाम उल्लेख गरे पनि बिगोलगायतको सजाय मिनाहाको माग गरिएको अख्तियारले जनाएको छ ।
प्रतिवादी कायम भएर पनि सजाय छुट माग गरिएका बोर्डका कर्मचारीहरूमा उदय भट्टराई, नवीन पोखरेल, शरद प्रधान, प्रदीप पौडेल, गोविन्दराज ओली, मनिराज लामिछाने, सुनिल शर्मा, विकल शर्मा कँडेल, समीर बज्राचार्य, कुन्दन शर्मा, जितेन्द्र भट्टराई, नम्रता श्रेष्ठ, जानकीप्रसाद उपाध्याय, सूर्य थपलिया, सुमन घिमिरे, रानु शाह, रोहिणीप्रसाद खनाल, दिपकराज जोशी, सुदन सुवेदी, सन्तोषविक्रम थापा, लेखनाथ भुसाल, श्रद्धा श्रेष्ठ, प्रदीप बस्नेत, खेमराज तिमल्सिना, अर्चना केसी, उज्ज्वला दली र खङगविक्रम शाह छन् ।
आयोगले बोर्डको आर्थिक विनियमावलीलाई गैरकानुनी रूपमा सच्याएर भ्रष्टाचार गरेको विषयलाई अनुसनधानको मुख्य आधार बनाएको छ । बोर्डका पदाधिकारीविरुद्ध २०६८ सालदेखि अख्तियारमा परेका उजुरीलाई आधार मानेर थालिएको अनुसन्धानले मदिरा खरिद गरेको बिलसमेत बोर्डको काममा खर्च भएर देखाएर रकम हिनामिना गरेको तथ्यसम्म उल्लेख गरेको छ ।
स्थानीय विकास मन्त्रालयका वर्तमान सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा बनेको बोर्डका आर्थिक विनियमावली समिति र समितिले तयर गरेको मापदण्डलाई गैरकानुनी रूपमा सच्याउनु नै बोर्डमा भ्रष्टाचारको सुरुवातका रूपमा अख्तियारले लिएको छ । सो समितिले १ साउन २०७० मा तय गरेको खर्च गर्ने आधारलाई सोही मिति कायम गर्दै निरौला र सचिव अर्यालको अग्रसरतामा लामो समयपछि जथाभावी खर्च मापदण्ड परिमार्जन गरिएको विषयलाई अख्तियारले गैरकानुनी कार्यका रूपमा दाबी लिएको छ ।
भट्टराई समितिले बोर्ड पदाधिकारीले दैनिक टीएडीए भत्ताबापत २४ सय रुपैयाँ लिन पाउने गरी बनाएको मापदण्डलाई अनधिकृत रूपमा सच्याएर सात हजार रुपैयाँ पु¥याउनु भ्रष्टाचारको चरम नमुना भएको जस्ता उदाहरण अख्तियारले विशेष अदालतमा पेस गरेको छ ।
प्रतिवादी बनाइएका पदाधिकारीहरूले विभिन्न समयमा बोर्डका पदाधिकारीले कार्यक्रम नै नगरी बिल मात्र राखी रकम हिनामिना गरेको, सामान खरिद नै नगरी बिल मात्र संलग्न गरी भुक्तानी गरेको, सवारीसाधन भाडामा लिएको, नक्कली विल बनाइ रकम भुक्तानी गरेको जस्ता गैरकानुनी कार्यलाई भ्रष्टाचारको आधार बनाएको छ ।
यसैगरी, मदिरा खरिद गरेको बिलसमेत बोर्डको खर्चका रूपमा संलग्न गरी हिनामिना गरेको, अन्तर्राष्ट्रिय मेलाको नाममा मेला नै नगरी  बिभिन्न निकायलाई रकम भुक्तानी गरी हिनामिना गरेको पनि प्रमाणका रूपमा पेस गरेको छ । व्यक्तिगत कार्यमा खर्च भएको बिल भरपाईसमेत बोर्डका नाममा पेस गरिएको भेटिएपछि बिगोको मात्रा ठूलो बन्न पुगेको अख्तियारको भनाइ छ ।  त्यसो त अख्तियारले बैंक खाताबाट रकमसमेत निकालेर हिनामिना गरेको, नक्कली हवाई बिल पेस गरेको, कार्यालय सहायक तथा कर्मचारीको नाममा चेक काटी भुक्तानी लिई हिनामिना गरेको, नेपाल पर्यटन बोर्ड आर्थिक विनियमावली २०७० लाई संशोधन गरी बढी भुक्तानी गराई तथा बोर्डमा भएको अनियमित खर्च अनुमोदन गरी स्वीकृत गरी हिनामिना गरेकोलगायतका विषयहरू सप्रमाण अदालतमा पेस गरेको छ ।

कसलाई कति बिगो ?
रञ्जनकृष्ण अर्याल, सचिव, नेपाल कानुन आयोग ः ११,९८,९५,०३६
शरदचन्द्र पौडेल, सचिव, वन मन्त्रालयः ६१,२८,२७७
सुशील घिमिरेः पूर्व सचिवः ११,९८,९५,०३६
रतिशचन्द्रलाल सुमन, महानिर्देशक, नागरिक उड्डयन प्राधिकरणः ११,९८,९५,०३६
प्रचण्डमान श्रेष्ठ, पूर्वप्रमुख कार्यकारी अधिकृतः २८,८०,१३०
सुवास निरौला, कामु प्रमुख कार्यकारी अधिकृतः ३३,७२,५५,०२९
डिल्लीप्रसाद सिवाकोटी, सहसचिव, अर्थ मन्त्रालयः ६१,२८,२७७
मेघबहादुर पाण्डे, सहसचिव, वन मन्त्रालयः ११,९८,९५,०३६
रेवतबहादुर थापा, बोर्ड सदस्यः ११,९८,९५,०३६
ध्रुवनारायण श्रेष्ठ, बोर्ड सदस्यः ११,९८,९५,०३६
टीकाराम सापकोटा, बोर्ड सदस्यः ६१,२८,२७७
फुर्वागेल्जे शेर्पा, बोर्ड सदस्यः ११,९८,९५,०३६
पम्फादेवी धमला (पौडेल), बोर्ड सदस्यः ११,९८,९५,०३६
नन्दिनी थापा, निर्देशकः ३,४१,६६२
आदित्य बराल, वरिष्ठ निर्देशकः ४१,७८,०९५
हिक्मतसिंह ऐर, निर्देशकः १६,५४,६३,६१२
अनिलकुमार दास, निमित्त निर्देशक कर्पोरेट महाशाखाः १७,९४,९८,०४३
काशीराज भण्डारी, निर्देशकः ३४,८४,४६५
लीलाबहादुर बानिया, वरिष्ठ प्रबन्धकः १०,००,२६०
ध्रुव राई, निमित्त निर्देशकः ६,२७,३९९
लक्ष्मण गौतम, प्रबन्धकः ३,६८,१५६
दिवाकर राणा, वरिष्ठ प्रबन्धकः २,५५,०४६
महेन्द्र खनाल, ट्राभल एजेन्सीका निर्देशकः ६१,३९,६१०

लामो समयदेखि भ्रष्टाचारको दलदलमा फस्दै गएको नेपाल पर्यटन बोर्डका जिम्मेवार पदाधिकारीहरू अन्ततः कानुनी फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डमा चरम आर्थिक भ्रष्टाचार भएको ठहर गर्दै ८१ करोडभन्दा बढी बिगो कायम गरी ५० जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरू कानुनी कारबाहीको दायरामा आउने भएका हुन् ।

तुँदी कन्स्ट्रक्सनले पायो जगदम्बा स्टिल एफक्यान उत्कृष्ट अवार्ड

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, २० चैत
यस वर्षको राष्ट्रिय सम्मान जगदम्बा स्टिल एफक्यान उत्कृष्ट अवार्ड तुँदी कन्स्ट्रक्सन प्रालिले प्राप्त गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले मुलुकभरका व्यवसायीलाई सहभागी गराएर विभिन्न विधामा प्रदान गर्दै आएको क वर्गतर्फको सो अवार्ड स्वदेश र विदेशमा समेत निकै उल्लेखनीय काम गरेबापत तुँदी कन्स्ट्रक्सनले प्राप्त गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधीले निर्माण क्षेत्रमा वर्षभर उल्लेखनीय कार्य गर्ने तुँदी कन्स्ट्रक्सनका अध्यक्ष ऋषि सुवेदी र प्रबन्ध निर्देशक सुमन सुवेदीलाई सो अवार्ड प्रदान गरेका हुन् ।  
यसैगरी, सोही  विधाको सिल्भर अवार्ड नेपाल आदर्श निर्माण कम्पनी प्रालिले पाएको छ । त्यसैगरी, ब्रोन्ज अवार्ड रमण कन्स्ट्रक्सन प्रालिले प्राप्त गरेको छ । उत्कृष्ट ख वर्गका निर्माण कम्पनीका तर्फबाट प्रदान गरिएको जगदम्बा स्टिल एफक्यान गोल्ड अवार्ड हिमडुङ एन्ड थोकर कन्स्ट्रक्सन प्रालिले पाएको छ ।  सोही विधाबाट सिल्भर अवार्ड गीताञ्जली कन्स्ट्रक्सन प्रालिले र ब्रोन्ज अवार्ड शिवशक्ति कन्स्ट्रक्सन प्रालिले पाएको छ ।
महासंघले ग वर्गका निर्माण कम्पनीलाई सहभागी गराएर वितरण गरेको उत्कृष्ट गोल्ड अवार्ड पुष्पाञ्जली निर्माण सेवा प्रालिले पाएको छ । यसैगरी, सोही विधाको सिल्भर अवार्ड शाह निर्माण सेवा सुनसरी र भुवनेश्वरी निर्माण सेवा कैलालीले पाएको छ । त्यसैगरी, शाह निर्माण सेवा सर्लाहीले ब्रोन्ज (कांस्य) अवार्ड जित्न सफल भएको छ । यसैगरी, घ वर्गका निर्माण कम्पनीहरूका तर्फबाट उत्कृष्ट अवार्ड पाउनेहरूमा सुन्दर निर्माण सेवा कास्कीले गोल्ड, गीता कन्स्ट्रक्सन स्याङ्जाले सिल्भर र सुनकोसी कन्स्ट्रक्सन प्रालि काठमाडांैले ब्रोन्ज  अवार्ड पाएका छन् । सोही समूहबाट क्षेत्रगत आधारमा धनञ्जय निर्माण सेवा काठमाडौंले गोल्ड, सुसलिन निर्माण सेवा गोरखाले सिल्ड, सनलाइट कन्स्ट्रक्सन प्रालि अछामले ब्रोन्ज अवार्ड पाएको छ । यसैगरी, क्षेत्रगत आधारमा उमा एन्ड कम्पनी प्रालिले सिल्भर र खनाल कन्स्ट्रक्सनले ब्रोन्ज अवार्ड जित्न सफल भएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले प्रदान गर्ने उत्कृष्ट जिल्ला संघहरूमा यस वर्ष तराईतर्फको उत्कृष्ट संघको अवार्ड बाँके जिल्लाले पाएको छ भने पहाडी जिल्लाहरूका तर्फबाट डडेलधुरा निर्माण व्यवसायी संघले अवार्ड जितेको छ । क्षेत्रीय संघमा पश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघले अवार्ड जित्योे ।  क्षेत्रीय निर्माण व्यवसायी संघको सिफारिसमा घ वर्गको अवार्ड सनलाइट कन्स्ट्रक्सन, सुदूरपश्चिम, धनञ्जय निर्माण सेवा काठमाडौं, मध्यमाञ्चल, सुसलिन निर्माण सेवा प्रालि, पश्चिमाञ्चल, अब्दुल्ला निर्माण सेवा पूर्वाञ्चलले पाएको छ । निर्माण कार्य समाप्त हुनुभन्दा अघि नै  निर्माण कार्य पूरा गरी नेपाल सरकारबाट सम्मान प्राप्त गर्न सफल निर्माण कम्पनी अनक÷तुँदी÷लुम्बिनी जेभी र कालिका कन्स्ट्रक्सन प्रालिलाई विशेष सम्मान गरिएको थियो ।
यसैगरी, मुलुकभरका निर्माण व्यवसायीका छोराछोरीमध्येबाट इन्जिनियरिङमा उत्कृष्ट हुनेमध्ये विना महर्जनलाई महासंघले पुरस्कृत गरेको छ । त्यसैगरी, उत्कृष्ट महिला निर्माण व्यवसायीको सम्मान सम्झना निर्माण प्रालिकी प्रोपाइटर सम्झना भुलनले प्राप्त गरेकी छिन्।
उनीहरूलाई सो अवार्ड सिँचाइमन्त्री एनपी साउद, ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली, मुख्य सचिव लीलामणि पौडेल, महासंघका अध्यक्ष शरदकुमार गौचनलगायतले संयुक्त रूपमा वितरण गरेका थिए । यसैगरी महासंघले यस वर्षको गौरव सम्मान महासंघका संस्थापक अध्यक्ष एवं श्री एयरलाइन्सका सञ्चालक बनवारीलाल मित्तललाई प्रदान गरेको छ । त्यसैगरी महासंघले आफूलाई सहयोग गर्ने विभिन्न मिडियाहरूलाई पनि अवार्ड वितरण गरेको थियो । त्यसैगरी, उत्कृष्ट प्रायोजकको अवार्ड  मोरङ अटो वर्क अन्तर्गतको जेसीबी डिभिजन र सिप्रदी टे«डिङ प्रालिले पाएको छ भने वर्षको उत्कृष्ट कन्स्ट्रक्सन फ्रेन्ड्ली इन्जिनियरको अवार्ड इन्जिनियर किशोरकुमार शाक्यले पाउन सफल भए । उत्कृष्ट परामर्श दिने कम्पनीमा यो वर्षको अवार्ड सिल्ट कन्सल्ट्यान्ट प्रालिले पाउन सफल भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री निधी निर्माण व्यवसायीसँग सरकारले सधैं सहकार्य गरेर जाने र निर्माण व्यवसायीले निर्धारण गरेको पूर्वाधार विकास राष्ट्र निर्माणको आधार बनांै  सर्वपक्ष जिम्मेवार भन्ने नारा अति सान्दर्भिक भएको र यसलाई कार्यन्वयनमा ल्याउन सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले निर्माण व्यवसायीको पक्षमा अध्यादेशबाट सार्वजनिक खरिद ऐन ल्याउने समेत जानकारी दिए ।  राष्ट्रिय निर्माण दिवसको अवसरमा हरेक वर्ष २२ मंसिरमा मनाउँदै आएको सो अवार्ड वितरण कार्य यस वर्ष गत २६ देखि २८ मंसिरमा सम्पन्न १७औं साधारण सभा एवं नयाँ नेतृत्व चयन हुने निर्वाचनका कारण स्थगित भएको थियो ।